hongkong


आँसु नसुकी बाबाको अन्तिम सास पर्खंदा


ललित सुब्बा
हङकङ , माघ २९

आमाको आत्मा शान्तिको दीप बाल्न लुम्बिनी जाँदा बाबासँग ललित सुब्बा

‘हङकङ आउने जहाजको सिटमा बसेर बाबा गुमाउँदाको यो संस्मरण लेखिरहँदा मेरो आँखा आँसुले भरिए। जब ककपीटबाट क्याप्टेनले प्राविधिक कारणले गर्दा जहाज काठमाडौं फर्किन लागेको जानकारी दिए, मलाई अब मेरै पालो पो आयो कि जस्तो लाग्यो।’

उपचार गरेर भएपनि दुई चार बर्ष अझै बाबा र आमासँग बिताउने चाहना कोशिश गर्दागर्दै पनि पूरा भएन। अन्ततः दैवले बाबा–आमा बिहिन तुल्यायो। आफ्नो काम र हङकङको बसाईले जतिसुकै कठिन भएपनि पछिल्ला ४–५ महिना नेपालमै बसेको थिएँ। हङकङमा रहेको परिवार र आन्दोलन सम्झिँदा अनि आफ्नो व्यवसाय डामाडोल हुँदा मन वेचैन हुन्थ्यो नेपालमा।

अर्कोतिर सजिलै विश्वास गर्नाले कतिपयबाट आर्थिक विषयमा धोका पाउँदाको समय झन् अविस्मरणीय छँदैछ। ४ महिना नेपाल बसेपछि ३ दिनका लागि हङकङ फर्कनै पर्ने भयो। नेपाल एयरलाइन्स र ड्रागन एयरमा टिकट मिलाउन निकै कोशिश गरें तर पार लागेन। अनि २९ डिसेम्बरमा मालिङ्गो एयरको जहाजबाट मलेसिया हुँदै ८ घण्टाको ट्रान्जिट पार गरेर राती हङकङ उत्रिएँ।

नेपालमा बाबाको स्वास्थ्य अवस्था झन् झन खराब भएको थाहा हुँदाहुँदै पनि बाध्यताले हङकङ आउनै पर्ने थियो। दुर्भाग्य नै भनौं, नेपालबाट मामाको फोन आयो– बाबालाई साह्रो भयो, तत्कालै फर्कनु पर्यो। छाँगाबाट खसेजस्तै भयो। १० घण्टा हङकङ बसेर नेपाल फर्कनु पर्ने भयो, फेशबुकमा त्यही लेखें।

कस्तो बिचित्रको समय भोग्न बाध्य भइयो। आमा बित्नु भएको नौ महिना नपुग्दै, झरेको आँसु सेलाउन नपाउँदै बाबाको अन्तिम सास पर्खनु पर्दाको पीडा कसरी बिसाउने?

lalit2
आमा–बाबासँग ललित सुब्बा

भनिन्छन् नि, अन्तिम अवस्थामा मान्छेले भगवान नै सम्झिन्छ। मैले पनि ‘भगवान मेरो बाबालाई बचाइदेऊ’ भनेर पुकार्दै आँसु रित्याएँ। तर जसरी नौ महिनाअघि आमालाई बचाउन सकेको थिइनँ, यसपाली बाबालाई बचाउन सकिनँ। अन्तिम समयमा बाबाको त्यो पीडा र छट्पटी देख्दा मैले महशुस गरेको पीडा यहाँ म कसरी भनौं? यता दुख्यो, उता दुख्यो भन्दै छट्पट छट्पट गर्दाको अवस्था वर्णन गरेर साध्य नै छैन।

सपना झैं हुँदाहुँदै पनि बाबाको पीडालाई कम गर्न सहयोग गर्यौं। सहयोगी बहिनी र मैले कहिले हातमा कहिले पेट र छातीमा मालिस गर्दागर्दै आँसु झथ्र्यो। नर्सहरूसँग त्यत्तिकै अनुनय विनय गरियो। अन्तिम अन्तिम समयमा बाबाको हात समातेर ‘बाबा एक पटक कान्छा भनेर बेलाउनु न’ भनें तर आँखाको चालले बोलाए पनि बाबाको मुख खुलेन।

Bidhlabmobile bidhlab

आमाले छाडेर गएपनि यति चाँडै बाबाले छोडेर जानु होला भन्ने मैले कल्पनासम्म गरेको थिइनँ। प्रकृतिकै जित भयो। सुनेको थिएँ– काल ठूलो कि निहुँ भनेर। निहुँ नै ठूलो रहेछ भन्ने सावित भयो।

श्रीमती गुमाउनुको पीडा छल्न बाबाले आफ्नो जन्मथलो ताप्लेजुङ जिल्ला चाँगे नेसुममा २–४ महिना बिताउनु भयो। त्यो नै एउटा निहुँ बन्यो। लडेर हल्का घाइते हुनु भएछ। ताप्लेजुङ रेडक्रसको एम्बुलेन्समा धरान झिकाएर उपचार गर्न भारत लगें। तर ठिक नभएपछि काठमाडौं लगेर मेडिसिटी अस्पतालमा सबै चेकजाँच गरियो। कुनै रोग नभए पनि ढाडमा हल्का असर देखिएकाले थेरापी गर्न डाक्टरले सुझाव दिए। त्यसपछि आर्युवेद अस्पताल लगें। ५ दिनसम्म थेरापी गरियो। थेरापीबाट बाबा आफैं निस्कनु हुँदा सान्त्वना मिल्यो। तर ६ दिन पछिबाट बाबाले थेरापी नजाने अड्डि कस्नु भो।

तेह्रथुमबाट दिदी शुशिला र घरमा सहयोगी बहिनी मार्फत जडिबुटीको औषधी चलाएर सन्चो बनाउने कोशिश गरियो। बाबलाई झन् साह्रो भएपछि दाईले फेरि मेडिसिटी अस्पताल लानु भयो। त्यतिबेला मात्र डाक्टरले बाबाको शरिरमा क्यान्सर फैलिएको जानकारी दिए। क्यान्सर अन्तिम अवस्थामा पुगेकाले अब कति समय बाबासँग बिताउन पाइएलाजस्तो भयो।

भगवानसँग प्रार्थना गर्नु बाहेक अरु उपाय बाँकी थिएन।

नेपाल एयरलाइन्सको जहाजको १९बी सिटमा बसेर यो संस्मरण लेखिरहँदा मेरो आँखा आँसुले भरिए। ककपीटबाट क्याप्टेनले आकस्मिक रुपमा प्राविधिक कारणले गर्दा जहाज काठमाडौं फर्किन लागेको जानकारी दिँदा ‘अब मेरै पालो पो आयो कि कि के हो’ भन्ने लागेर झर्न लागेको आँसु पनि डरले रोकियो। काठमाडौंमा ओर्लिएपछि जहाजभित्रबाटै फेशबुकमा लेखें– गइन्छ कि क्या हो?

अलिकति हाँसो पनि लाग्यो। उडिरहेको जहाज प्राविधिक कारणले काठमाडौं फर्किनु पर्ने भन्दा सबै चुपचाप थिए। ओर्लनेबित्तिकै कोही ब्रेकफास्ट, कोही लन्चमा व्यस्त। बाँच्दा मात्र सबै चाहिने रहेछ जस्तो लाग्यो। लन्चपछि हामीलाई अर्को जहाजमा सारियो। लगभग २ घण्टापछि फेरि यो संस्मरण पूरा गर्नतर्फ लागें।

बाबा–आमाको ईच्छा पूरा गर्दा खुशीको सिमा थिएन। मैले मेरो जिम्मेवारी पनि सम्झें– बाबाआमाको खुशी नै मेरो खुशी हो। मैले सकेको सेवा गर्न रत्तिभर बाँकी राखिनँ जस्तो लाग्छ।

बाँचुन्जेल गर्ने हो। मरेर गएपछि मन्दिर बनाएर खुशी हुन खोेज्नु नाटक गर्नु जस्तै हो। मेरो व्यक्तिगत बुझाई हो, मलाई न मन्दिर बनाउनु छ न पुजा गर्नु छ। बाबा–आमाको ईच्छाअनुसार हङकङ र भारतका विभिन्न चर्चित देवस्थलहरू तथा नेपालका पूर्वदेखि पश्चिमसम्मका ठाउँ घुमाउन सकें।

आज मन्दिरमा गएर ढोगेर मैले बाबा–आमा पाउँनदिन। समयमै सकेको गरें, जे गरें ठिकै गरें। अहिले मलाई कुनै पछूतो छैन। मेरो परिवार छोडेर ७ वर्षसम्म बाबा–आमासँग दशैंको टीका र आर्शिवाद थापें। अब लगाउँछु भनेर पनि पाउँदिनँ। मेरो मन्दिर वा भगवान उनै दुई जना थिए। आज म बाबा–आमा बिहिन भएको छु। अब अन्तर आत्माबाटै बाबा–आमाले दिएको मनको आर्शिवाद नै मेरो अहो भाग्य हो।

बाबा–आमाको चाहनाअनुसार नै लिम्बू परम्पराबाट अन्तिम संस्कार गरें। १० लिम्बू, १७ थुमको विधि अनुसार कुल कुटुम्ब, भान्जाभान्जी, छोरीचेली, ईष्टमित्र, दाजुभाइलाई निम्तो गरि शुद्धी काम गरें। अब बाबा–आमाबाट अलग भएर आकाशमा हावाको वेगमा जहाजमा उडिरहेको छु। आफ्नो वेदना कसरी पोखुँ, कसलाई सुनाउँ भइरहेको छ।

मेरा अगाडि अहिले चुनौतीको ठूलो पहाड उभिएको छ। हुन त समस्या भएपछि नै त्यसको सामाधान निस्कन्छ भनिन्छ। म त्यसैमा आशावादी छु।

यतिबेला मलाई सहयोग गर्नु हुने दाजुभाइ, बरखन्तमा सहभागी भएर सान्त्वना र समवेदना दिनु हुने सबैमा हार्दिक आभार व्यक्त गर्दछु। भर्खरै एयर होस्टेसले हङकङ आइपुगेको जानकारी दिएकी छिन्। अब दुखका कुरा यहीं विट मार्दै आफ्नो वेदना टुंग्याउँछु।

(ललित सुब्बा एनआरएनए हङकङका पूर्व अध्यक्ष हुन्)

यो पनि
मेरो आँसु आमालाई माया 

 

माघ २९, २०७६, बुधबार
Building Future

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

FT 3 G/F Bo Lun Building, 28-34 Battery Street,
Yau Ma Tei, Kowloon Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Executive Editor
Thira Lal Bhusal

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors