hongkong


हङकङमा भेटिएकी पविन, विश्वयुद्ध लडेका इन्द्रबहादुर


डम्बरकृष्ण श्रेष्ठ
हङकङ, माघ ९

बेलायत पुगेर उतै सेनामा भर्ती भएकी पविन राई पछि हङकङमा भेटिइन्

‘नेपाली युवा भर्ती लाग्दै आएका भए पनि गोर्खा सैनिकमा भर्ती हुने पहिलो महिला समूहमा पविन परेकी थिइन्। खोज्दै जाँदा फ्रान्सको फ्रेन्च लिजन आर्मीमा समेत धेरै नेपाली भेटिए। अहिले त भारत, सिंगापुर, बेलायत, फ्रान्स मात्र होइन, अमेरिकी सेनामा समेत नेपालीहरु पुगिसकेका छन्।’

संवत् २०५२ मा धरानबाट पत्रकारिता थाल्दादेखि नै धरानेको हङकङ प्रवासन देखेको थिएँ। हङकङमा पूर्व ब्रिटिस गोर्खा सैनिकका सन्तानहरुले स्थायी बसोबासको अनुमति पाएपछि लाहुरेको शहरको रुपमा परिचित धरानबाट जाने छोराछोरीको संख्या बढ्दो थियो। सन् १९८३ भन्दा अघि हङकङमा जन्मिएकाले स्थायी बसोबासको अधिकार (राइट अफ अबोड) पाउने कानुन बेलायती शासनको उत्तराद्र्ध (सन् १९९४) मा बनेपछि हङकङमा नेपालीको बाक्लो उपस्थिति हुन थालेको हो। त्यसअघिसम्म केही लाहुरे परिवार, फाट्टफुट्ट व्यापारी र घरेलु कामदारको रुपमा मात्र नेपालीहरु सीमित थिए।

धरानेहरु हङकङ जाने क्रम बढेपछि स्वाभाविक रुपमा त्यसको प्रभाव धरानमा देखिन थालेको थियो। विगतको जनसंख्या वृद्धिदर अनुसार संवत् २०५८ मा धरानको जनसंख्या १ लाख १६ हजार पुग्नुपथ्र्यो तर हङकङ प्रवासनले गर्दा त्यो ९६ हजारमै सीमित भएको थियो। २०५९ असारको हिमाल खबरपत्रिकामा ‘हङकङ पुगेको धरान’ बारे रिपोर्ट लेखें। यो रिपोर्ट हङकङबाट धरान आएकासँग भेटेर र उतै रहेकासँग फोनमा गरिएको कुराकानीमा आधारित थियो।

धरानमै रहेर हङकङको रिपोर्टिङ गरेको केही समयपछि म ललितपुरको पुल्चोकमा रहेको हिमाल खबरपत्रिकाको कार्यालयमा पुगेको थिएँ। हिमाल खबरपत्रिकाका तत्कालीन सम्पादक राजेन्द्र दाहालसँग एउटा अर्को रिपोर्टको प्रस्ताव गर्दा उहाँबाट आएको जवाफले नै मेरो पत्रकारिताले रिपोर्टिङका लागि विदेश यात्राको बाटो तय गरेको थियो।

Dambar1
हङकङको निर्माण क्षेत्रमा नेपाली कामदारको संख्या ठूलो छ

‘धरानमा बसेर के हङकङको रिपोर्ट लेख्छौ? आफैं हङकङ गएर लेख्नु अनि मज्जाले छापौंला’, त्यसबेला दाहालले भनेका थिए।

धरान फर्केपछि हङकङ कसरी पुग्ने भन्ने ध्याउन्नले फनफनी घुमाउन थाल्यो। म आफैं हङकङबाट प्रकाशित एभरेष्ट पत्रिकामा पनि लेख्ने र हङकङमा भएका धरानेसँग राम्रो सम्पर्क भएकाले यो चाहना असम्भव जस्तो लागेन। टेलिफोनमा एभरेष्टका सम्पादक÷प्रकाशक किसन राईलाई प्रस्ताव राख्दै कसरी हङकङ पुगेर त्यहाँका नेपालीबारे रिपोर्टिङ गर्न सकिएला भनेर छलफल गरें। नभन्दै एभरेष्ट पत्रिकाले नै कार्यक्रमको आयोजना गरेर निम्तो गरेपछि २०६१ मंसिरमा हङकङ नै पुगेर रिपोर्टिङ गर्ने इच्छा पूरा भयो। त्यसबेला हङकङमा एभरेष्टले जनगायक रामेशको सांगीतिक कार्यक्रम, हिमाल एसोसिएसनबाट उपलब्ध वृत्तचित्र तथा धरानका फोटो पत्रकार यात्रा थुलुङ, मोजेश राई र मेरो फोटो प्रदर्शनी सहितको बृहत् कार्यक्रम गरेको थियो।

त्यहीबेला हङकङमा पत्रकारिता गर्न र लेख्न चाहनेहरुका लागि मैले आधारभूत पत्रकारिता र साथी जसकुमार राईले रेडियो उद्घोषण तालिम दिएका थियौं। हङकङमै रहेका साथी देवराज राई, लक्ष्मी राई आदिको सहयोगले कार्यक्रम सफल भएको थियो। फर्केर हिमाल खबरपत्रिका र नेपाली टाइम्समा हङकङका नेपालीहरुबारे लामालामा रिपोर्ट प्रकाशित भए। त्यसपछि वर्ष, दुई वर्षमा म हङकङ पुग्न थालें। संवत् २०६६ मा एक महिना लामो हङकङ यात्रामा लेख्ने मात्र नभई हङकङेली नेपालीको जीवनशैली, काम र नेपाल प्रेमलाई दृश्यमा कैद गरेर वृत्तचित्र समेत बनाएँ।

Dambar2
हङकङमा सन् २००५ अघि घरेलु कामदारका रुपमा पनि नेपाली आउन पाउँथे

पहिलो पटक हङकङ गएको १४ वर्षपछि अहिले म स्वयं यतिबेला हङकङ प्रवासनमा छु। तीन वर्षदेखि हङकङको जीवनशैलीमा अभ्यस्त हुँदैछु। पहिले आपैंmले लगातार रिपोर्टिङ गरेको नेपालीहरुको समाजमा घुल्दैछु। वैदेशिक रोजगारमा खाडी, मलेसियादेखि युरोप–अमेरिकासम्म पुगेर रिपोर्टिङ गरेको अनुभव सँगालेर हङकङबाट नेपाल हेरिरहेको छु।

डेढ सय वर्ष (सन् १८४१–१९९७) बेलायती उपनिवेश रहेको हङकङसँग ब्रिटिस गोर्खा सैनिकका कारण नेपालीको सम्बन्ध गाँसिएको हो। हङकङ सरकारको तथ्यांकमा करिब १८ हजार नेपाली रहे पनि संघसंस्थाहरुको अनुमानमा करिब ३० हजार नेपालीहरु रहेका छन्। धेरै परिवार बेलायत बसाइ सरे पनि नेपालबाट थपिने क्रम बढिनै रहेको पाइन्छ। दैनिक आठदेखि १२ घण्टा काम गरेर बच्ने थोरै समयमा नेपालीहरु संघसंस्था र सामाजिक कार्यदेखि कला–साहित्य, खेलकुदमा समेत सक्रिय छन्। निर्माण क्षेत्र, सुरक्षा र ब्युटी पार्लर, बार–रेस्टुरेन्टमा काम गर्नेदेखि आफ्नै व्यवसाय गर्नेहरु बढेका छन्।

नयाँ पुस्ताका नेपालीहरुले उच्च शिक्षा अध्ययनसँगै सरकारी जागिरमा समेत पहुँच पुर्याउन थालिसकेका छन्। हङकङको कमाइले नेपालको आफ्नो गाउँठाउँमा उदाहरणीय कामसमेत गर्दै आएका छन। धरान हङकङ मञ्चले मायाको चिनो स्वरुप धरानको भानु चोकमा निर्माण गरेको घण्टाघर प्रवासी नेपालीले आफ्नो देश र ठाउँका लागि गरेको योगदानको अनुपम उदाहरण बनेको छ।

Dambar5
हङकङका अघिकांश रेल र सडक सुरुङ नेपालीको समेत श्रममा बनेका हुन्

गोर्खाली शान
संवत् २०७५ जेठको अन्तिम साता सिंगापुरमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ ऊनबीचको वार्ताका क्रममा गोर्खाली वीरताको चर्चा फेरि गरियो। किनभने वार्तास्थलको सुरक्षाको जिम्मेवारी सिंगापुर प्रहरीमा कार्यरत नेपालीले सम्हालेका थिए। हरेक वर्ष नेपालमा खुल्ने भर्तीमा छाती नापेर तन्नेरीहरु अहिले पनि बेलायती, भारतीय सैनिक र सिंगापुर प्रहरीमा भर्ती भइरहेका छन्। बेलायती सेना र सिंगापुर प्रहरीमा भर्ती हुन चाहने नेपाली युवाको पूर्व तयारीबारे २०६२ जेठमा प्रकाशित समाचारमा ‘भर्ती लाग्ने, लगाउने होड’ मा नेपाली युवाको लाहुरे हुने सपनाका बाध्यता उजागर गरिएको छ।

अहिले ब्रिटिस लाहुरेको वैभवशाली जीवनले धेरैलाई लोभ्याएको छ। हरेक वर्ष भर्तीको तयारी गर्ने करिब एक लाख नेपाली युवामध्ये लाहुरे बनेर बेलायत–सिंगापुर पुग्ने साढे तीन सयको हाराहारी मात्रै हुन्छन्। लाहुरे हुन नपाएको पीरमा कुलतमा फस्ने युवाको संख्या पनि कम छैन। भर्तीमा उत्तीर्ण नभएपछि अरु व्यवसाय वा वैदेशिक रोजगारीका अन्य विकल्प रोज्नेहरु पनि धेरै छन्।

गोर्खा फौजकै कारण बेलायतले विश्वका धेरै मुलुकमा आफ्नो साम्राज्य विस्तार गरेकाले पनि नेपालीको गोर्खा पहिचान स्थापित भएको हो। इतिहास अनुसार, नेपाली योद्धा बलभद्र कुँवर पहिलो नेपाली लाहुरे हुन्। उनी लाहोरका शासकको फौजमा भर्ती भएका थिए । उनी पछि मात्र नेपालीको विदेश भर्ती सुरू भएको थियो। नेपालीहरु प्रथम विश्वयुद्ध र दोस्रो विश्वयुद्धमा ब्रिटिस सेनामा भर्ती भएर लडेपछि भाडाका सैनिकका रुपमा नेपाली युवा वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै गयो।

Dambar3
हार्बर पीकबाट देखिने हङकङको दृश्य

शान र साहसको आकर्षक रोजगार बनेको लाहुरे भर्तीको पीडादायी पाटो पनि छ। विश्वयुद्धताका धेरै नेपाली रहरले भन्दा पनि कर र जबर्जस्तीमा भर्ती लगिएका थिए। युद्धपछि बिना पेन्सन खाली खुट्टा फर्कनुपरेका मर्मस्पर्शी कथा धेरै छन्। तीमध्ये इन्द्रबहादुर राई दोस्रो विश्वयुद्धमा इटालीमा जर्मनीसँग लड्दा खुट्टामा लागेको गोलीको घाउ निको हुन नपाई बिते। संवत् २०६१ मा ८३ वर्षका राईलाई मैले धरानमा भेट्दा उनीसँग दोस्रो विश्वयुद्धताका वीरता प्रदर्शन गरेबापत बेलायतबाट पाएका पाँचवटा पदक थिए।

तर, अस्पतालबाटै फकाईएका उनले १२ वर्ष सेवा गरेबापत पेन्सन समेत पाएनन्। शरीरमा सात ठाउँ गोली लागेर बाँचेका उनी उपचारको अभावमा कष्टकर जीवन बिताइरहेका थिए। उनी जस्ताको पीडा देखेर बिना पेन्सन, असमान व्यवहार लगायतका बेलायती सरकारले गोर्खा सैनिकमाथि गरेको विभेदबारे पनि थुप्रै रिपोर्टिङहरु भए। यस्तो विभेद विरूद्ध गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को अगुवाइमा दुई दशकदेखि चलेको आन्दोलनकै प्रतिफल स्वरुप पछिल्लो समयमा भूतपूर्व ब्रिटिस गोर्खा सैनिक र तिनका परिवारले बेलायतमा आवासीय सुविधा पाएका छन्।

Dambar7
हङकङमा वाईबी राईजस्ता आफ्नै व्यवसायमा जम्ने नेपालीको संख्या पनि बढिरहेको छ

एकातिर इन्द्रबहादुर राईको यस्तो दुःखदायी कथा अर्कोतिर बेलायत पुगेर उतै सेनामा भर्ती भएकी पविन राईको लोभलाग्दो जीवन। धरानमै चिनजान भएकी पविनलाई २०६७ भदौमा हङकङमा भेट्नासाथ ‘दाई म ब्रिटिस आर्मीमा भर्ती भएर अहिले अफगानिस्तानमा छु, त्यतैबाट घुम्न यता आएको’ भनेर सुनाउँदा मेरा लागि नयाँ कुरा भयो।

त्यसअघि नेपाली युवा भर्ती लाग्दै आएका भए पनि गोर्खा सैनिकमा भर्ती हुने पहिलो महिला समूहमा पविन परेकी थिइन्। उनको अनुभव हिमाल खबरपत्रिका र वेभ मासिकमा छापिंदा धेरैका लागि यो नयाँ कुरा भएको थियो। खोज्दै जाँदा फ्रान्सको फ्रेन्च लिजन आर्मीमा समेत धेरै नेपाली भएको रिपोर्ट तयार भयो। अहिले त भारत, सिंगापुर, बेलायत, फ्रान्स मात्र होइन, अमेरिकी सेनामा समेत नेपालीहरु पुगिसकेका छन्।

Dambar6

(सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटी, सोसल साइन्स बहाःका लागि हिमाल किताबद्वारा प्रकाशित पत्रकार डम्बरकृष्ण श्रेष्ठको ‘नेपाली प्रवासन : नियति र रहर’ पुस्तकबाट। पुस्तक १० माघ २०७६, शुक्रबार दिउँसो ३ बजे यालमाया केन्द्र, पाटनढोकामा लोकार्पण हुँदैछ।)

 

माघ ९, २०७६, बिहिबार
Building Future

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

FT 3 G/F Bo Lun Building, 28-34 Battery Street,
Yau Ma Tei, Kowloon Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Executive Editor
Thira Lal Bhusal

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors