hongkong


हङकङमा आङकाजी शेर्पासँग पृथ्वीनारायण बहस


कमल पौड्याल
हङकङ, माघ ५
‘सामाजिक सञ्जालमा र सुनिएका पढिएका आङकाजीभन्दा प्रत्यक्ष भेट्दाका आङकाजी फरक पाएँ। बाहुनको धुँवाधार विरोध गर्ने आङकाजीको त्यो फेसबुक स्टाटसबारे चर्चा परिचर्चा भएछ हङकङका मेलापातमा।’

२०३७/३८ सालतिर कक्षा ९ या १० को पाठ्यक्रममा ‘नेपालकी गुरुआमा’ नाटक या संवाद पढेको सम्झना छ अझै। जसमा स्थान ‘केवलपुरको ठाडे उकालो गाउँ, समय बेलुकी पख’ लेखिएको थियो। नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाह त्यतिबेला ‘तीन सर नेपाल’ भनिने काठमाडौं आउजाउ गोर्खाबाट बैरेनी, कल्लेरीघाट, गोगनपानी, भिरपानी, केवलपुर, पण्डितपौवा, आचार्यपोखरी, जीवनपुर, छत्रेदेउराली हुँदै गर्थे रे। अहिलेको पोखरा जाने बाटोउत्तर नागार्जुन पहाडको पश्चिम बैरेनीसम्म लमतन्न परेको डाँडोलाई समग्रमा लामिडाँडा भनिन्छ। म सानो छँदा गोर्खाबाट यही बाटो हुँदै पैदल हनुमानढोकामा दसैंको फूलपाती भित्र्याइन्थ्यो। अचेल चलन के छ कुन्नि?

केवलपुरको भीमसेन स्थान र सुवेदी थोकभन्दा अलिमाथि गढी भन्ने ठाउँमा रात परेपछि नेवार मूलकी आमाको घरमा पृथ्वीनारायण शाह यौटा बटुवाको भेष र परिचयमा बास माग्न पुगेछन्। आमाले मकै भुट्दै गर्दा उछिट्टिएका मकैका फूल टिपेर हाँडीमा हाल्दै ‘काठमाडौं खाल्डो हाँडीजस्तै छ, खै कसरी लेलान् गोर्खाली राजाले’ भनेर फत्फताइरहँदा उनी झसंग भएछन्। रातिको खानामा थालमा जाउलो दिएपछि पृथ्वीनारायणले थालको बीचबाट खान खोज्दा हात पोलेछ। अनि आमाले भनिछन्, ‘तिमी त कस्ता गोर्खाका राजाजस्तो हत्पते पो रहेछौ। छेउबाट बिस्तारै खानुपर्छ नि, अनि पो पोल्दैन।’

यिनै आमाको अर्तिबाट पृथ्वीनारायणले पहिले काठमाडौंवरिपरिका राज्य जितेर मात्र काठमाडौंमा हात हालेको कहानी छ।

पृथ्वीनारायणलाई गोर्खाकै बिसे नगर्चीले सल्ला/सुझाव दिएको चर्चा पनि सबैले पढे सुनेकै कुरा हो। उनले नेपाल एकीकरणपछि ती आमालाई भेट्न गएका थिए रे। आमाले उनको सफलताका लागि केवलपुरको भीमसेनलाई भाकल गरेको भनेर मन्दिरको टिका लगाइदिइछन्। तब उप्रान्त उक्त मन्दिरमा उनकै सन्तान मात्र पुजारी बन्न पाउने आदेश दिएका थिए भनेर बूढापाका कुरा गर्थे, म सानो छँदा। मैले ३ कक्षामा पढ्दा यिनै आमाका दरसन्तान सहपाठी पूर्णबहादुर श्रेष्ठ बाबाले नभ्याउँदा पुजारी बनेर बसेपछि हामी स्कुलमा जिस्क्याउँथ्यौं– पुजारी बा भनेर।

भर्खरै पुस २७ गते पृथ्वीजयन्ती सकियो। गणतन्त्रपछि वादविवादबीच यो दिवस लगिए पनि सरकारले सार्वजनिक बिदा भने दिएको छैन। वास्तवमै उनले विभिन्न जातजातिका गोर्खाली, नेपाली सेनाको अगुवाई गरेर नेपाल भन्ने भूगोल एकीकरण नगरेका भए आज विश्व मानचित्रमा नेपाल भन्ने देश रहने थिएन भन्दै पृथ्वीनारायणप्रति सम्मान प्रकट गर्नेहरूको संख्या ठूलो छ।

यही दिनको मौकामा ‘राजा आउ देश बचाउ’ भन्दै राजतन्त्रको वकालत गर्नेहरू पनि देखिन्छन्।

केही वर्षदेखि सोही दिन पृथ्वीनारायण शाहलाई सत्तोसराप गर्दै किर्तिपुरेको नाक कटुवा भनेर ढुंगोमा थुक्ने अभियान चलाएका जनजाति अभियन्ता आङकाजी शेर्पाले राम्रा नराम्रा चर्चा परिचर्चा बटुलेका थिए, तर यसपालि यस्तो सुनिएन। गत वर्ष आदिवासी जनजाति युवा महासंघ (हङकङ) को निम्तोमा आएका आङकाजी शेर्पासँग साक्षात्कार भयो। तमू टोह्युल (हङकङ) ले आयोजना गरेको ल्होसार कार्यक्रममा आएका अर्का इतिहा–संस्कृतिविद् प्राध्यापक, डाक्टर जगमान गुरुङको विचार सुन्ने मौका दोस्रोपटक कंगन रेस्टुरेन्टमा जुर्यो।

आङकाजी आएको कार्यक्रममा म सहभागी थिइनँ। गैरआवासीय नेपाली संघ हङकङकी अध्यक्ष टीका गुरुङले उनलाई दिउँसोको खानाका लागि निम्ता गरेकी रहिछन्, एनआरएनएका अन्य पदाधिकारीहरूको साथ कंगन रेस्टुरेन्टमा। वामपन्थी पृष्ठभूमिबाट जनजाति नेता बनेका आङकाजीले पिताजीको प्रगतिशील साहित्य सिर्जना र २००६ सालको हलो क्रान्तिबारे राम्रो जानकारी रहेछ। लौ सुयोग्य पिताको योग्य सुपुत्र भन्दै हात मिलाए। मलाई पनि उनीसँग विचार विमर्श गर्ने मुड जाग्यो। उनले छोटकरीमा जनजाति आन्दोलनसेरोफेरोमा रहेर आफ्ना कुरा राखे।

पालो आयो, मेरो। मैले भनें, ‘राजनीतिज्ञ हैन, राजनीतिको रमिते हुँ। विद्यार्थी कालमा अखिलको झण्डा बोके पनि अहिले मोक्ष प्राप्त गरेको छु, अर्थात् कुनै पार्टीमा आबद्ध छैन, अब भनौं है त?’

‘एकदम, अवश्य,’ उनले भने।

मैले सोधें, ‘उमेर कति भयो?’

‘६१’

त्यसपछि मैले भनें– यौटा नेताले राजनीति गर्नुको उद्देश्य हो– राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री बन्न। तपाईंसँग अब करिब एक दशक समय छ। तपाईंको विचारको मैले विरोध गरेको हैन, तर विरोध सभ्य र शालीन हुनुपर्छ भन्न खोजेको हुँ। सयौं थुँगा फूलका हामी यौटै माला नेपाली भनेर राष्ट्रियगान बज्दा उठेर छातीमा हात राखेर ओठ चलाउँछौं हामी। त्यो माला उनेका नेपाल भन्ने भूगोल निर्माण गरेका त पृथ्वीनारायण शाहले नै हो।

इतिहासको विद्यार्थी भएका नाताले त्यो युद्धको समयमा विभिन्न जाति वा विरोधीप्रति अन्याय भएको मैले पनि पढेको र सुनेको छु। त्यसैलाई कोट्याएर वादविवाद गर्दैमा हामी फेरि बाइसे–चौबीसे राज्यमा जाने कुरा पनि भएन। १७ हजार नेपालीको बलिदानको अगुवाई गर्दै गणतन्त्र ल्याउन सहयोग गर्नेहरूलाई हामीले पञ्चखत माफी दिएर सत्तारोहण गरायौं त?

एकीकरणको समयमा कीर्तीपुरे जनताप्रति अन्याय भएको थियो भनेर तपाईंले केही वर्षदेखि गरेको विरोध होइन, शैलीचाहिँ मन परेन। पहिलो र दोस्रो विश्वयुद्धमा जापानीले गरेका अन्याय÷अत्याचारबारे अहिलेका जापानी प्रधानमन्त्री सिन्जो आवेलाई कोरियन र चिनियाँहरू उनीहरूको देशको भ्रमण हुँदा माफी माग्नुपर्छ भन्दै विरोध प्रदर्शन गर्छन्। यद्यपि सिन्जो आवे अहिलेको सरकारले त्यो गरेको हैन भन्छन्। तर पनि अहिलेको सिन्जो आवेको सरकार भनेको त्यो समयको जापानी सरकारको प्रतिनिधि पुस्ता हो। साँच्चिकै भन्दा पृथ्वीनारायण शाहका प्रतिनिधि पुस्ता भनेका पूर्वराजा ज्ञानेन्द्र शाह हुन्।

आङकाजीले आज कीर्तिपुरको नाककटुवा ढुंगामा थुक्नीभन्दा शीतल निवासमा ढोकामा गएर एकीकरणको समयमा जनजातिलाई परेको अन्यायबारे विरोध वा ज्ञापनपत्र दिँदा बढी बौद्धिक र सान्दर्भिक लाग्छ। त्यस्तै १० बर्से द्वन्द्वकालमा राज्य र विद्रोही पक्षबाट जुन अन्याय÷अत्याचार भयो। जनयुद्ध दिवसमा नेपाली सेनाको मुख्यालय र सिंहदरबारमा वा नेकपाको कार्यालयमा कीर्तीपुरशैलीकै विरोध गर्न तपाईं सक्नुहुन्छ? हिजोका दिनमा गाई काटेर टाउको मन्दिरमा फाल्ने गरेर सत्तारोहण गरेकाहरू आज गाई काटेर खाएमा जेल हाल्नुपर्छ भन्ने कानुनमा ल्याप्चे ठोक्दैछन्।

हिजो पण्डितको टुपी कलमी गर्ने क्रान्तिकारीहरू आज तिनै पण्डित बोलाएर आँगनमा घिउ र अन्न पोलेर बाबुको चौरासी पूजा गर्न थालेका छन्। यस्ता पूर्व क्रान्तिकारीले माक्र्स, लेनिन, स्टालिन र माओत्सेतुङको फोटोमा माल्यार्पण गरेर एकजोर परेवा उडाएर बाबुको चौरासी गरेको भए हुन्थ्यो त। अझै पनि दुईतिहाई कम्युनिस्ट सरकारका मन्त्रीहरू साइत पार्न कालो बोको बलिदिएर मन्त्री क्वार्टर प्रवेश गर्छन्। सांस्कृतिक र धार्मिक हिसाबले हिजो राजा ज्ञानेन्द्रको पदचाप गणतान्त्रिक नेपालको पहिलो महिला राष्ट्रपतिले पछ्याइरहेको देखिन्छ। तीन दशक देशबाहिर बसे पनि मैले तपाईंले जत्तिकै देशको बदलिँदो राजनीतिक घटनाक्रम नजिकबाट नियालेको छु।

अन्यायको विरोध गर्न पाइन्छ, तर त्यो सभ्य र शालीन हुनुपर्छ भन्ने मात्र हो।

उनले आफु हङकङको गोर्खा हाइस्कुलको शिक्षक हुँदादेखि अहिलेसम्मको अनुभव सुनाए। आफ्नो खास जाति, धर्म, सम्प्रदायको विरोध गर्ने शैलीबारे घुमाउरो स्पष्टीकरण दिए। अर्थात् गायक, संगीतकार, लेखक, नेता, अभिनेता सबैले खोज्ने ताली नै हो। जसका लागि अरूको भन्दा केही फरक शैलीको हुनैपर्छ। उनले मेरो सुझाव सान्दर्भिक लागेको बताए। एनआरएनए हङकङले गरेको दिवाभोजमा अरु स्रोता, हामी दुई वक्ताजस्तो पो भयौं। समसामयिक गफ निरन्तर चल्यो। चिया थप्दै ढिलासम्म विचार साटासाट गर्यौं।

एकैछिनमा उनले आफ्नो फेसबुकमार्फत यौटा पोस्ट राखे– ‘अन्याय अत्याचार र बेथितिविरुद्ध हलो क्रान्ति गर्ने धादिङ केवलपुरका कवि केवलपुरे किसानको पुत्रको कंगन रेस्टुरेन्टमा खाना खाइयो।’

मेरो प्रशंसा गरेको भएर हैन, सामाजिक सञ्जालमा र सुनिएका पढिएका आङकाजीभन्दा प्रत्यक्ष भेट्दाका आङकाजी फरक पाएँ। बाहुनको धुँवाधार विरोध गर्ने आङकाजीको त्यो फेसबुक स्टाटसबारे चर्चा परिचर्चा भएछ हङकङका मेलापातमा।

Jagaman

संयोग पनि कस्तो! नयाँ वर्ष २०२० जनवरी १ का अवसरमा तमू टोह्युल हङकङले विशेष अतिथिका रूपमा बोलाएका प्राडा जगमान गुरुङसँग एनआरएनए हङकङले नै अन्तरक्रिया राख्यो, २०१९ डिसेम्बर ३१ राति कंगन रेस्टुरेन्टमा। हुन त उनका लेख, विचार, टेलिभिजन अन्तर्वार्ता प्रशस्तै पढेको/सुनेको थिएँ। यसअघि खासगरी कीर्तीपुरेहरूको नाक काटिएका बारेमा उनको भनाइ फरक सुनेको/पढेको थिएँ। कुरो के रहेछ भने कीर्तिपुर जितिसकेपछि गोर्खाली सेना रातको समयमा मस्त सुतेका रहेछन्। केही कीर्तिपुरे युवाले त्यही मौकामा गएर केही गोर्खाली सैनिक काटेर मारिदिएछन्। त्यसको भोलिपल्ट खोजीनीति गरेर उनीहरूलाई पक्राउ गरिएछ। हरेक दिन नगरा बजाएर युद्ध सुरु र नगरा बजाएरै अन्त्य गरिने परिपाटीमा राति गएर त्यसरी मार्नु युद्ध अपराध मानिँदो रहेछ। त्यो बेलाको नियममा ज्यानको बदला ज्यान अर्थात् मृत्युदण्ड। तर कीर्तिपुर जितिसकेपछि अब पृथ्वीनारायण शाह त्यहाँका पनि राजा भएकाले र राजाले प्रजालाई मार्नु हुँदैन भन्ने तत्कालीन नियमअनुसार ती कीर्तिपुरे युवाको नाकको टुप्पो मात्र काट्ने आदेश दिएछन्। ताकि फेरि कसैले यस्तो युद्ध अपराध नगरुन्। आफ्ना सहकर्मी मारेको रिसमा ती गोर्खाली सैनिकले नाकको टुप्पो मात्र नभएर फेदैसम्म काटिदिएछन्। पछि राजाज्ञा उल्लंघन गरेको अभियोगमा दण्डस्वरूप ती गोर्खाली सेनाको पनि नाक काटिएछ, १७ जनाको। १७ धार्नी नाकका लागि त्यतिबेलाको कीर्तिपुरमा कति हुनुपर्छ जनसंख्या?

यसपालिको अन्तरक्रियामा विश्लेशणात्मक नयाँ कुरा सुनाए। पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरिसकेपछि मल्लकालीन समयदेखि नै त्यहाँ रहेका इसाई पादरीको भेषमा ब्रिटिस सुराकी भएको पत्ता लगाएछन्। उनीहरूलाई देश निकाला गरिएपछि कोही बेतिया र कोही दार्जिलिङ लागेछन्। हुन त एकीकरणको समयमा हिंसा हुँदै नभएको हैन। नेपालबाट निकालिएका तिनै ब्रिटिसले बढाइचढाइ गरेर इतिहास मोडेका हुन्। सत्र जनाबाट सत्र धार्नी!

नेवारी संस्कृति सम्मानपूर्वक मानेर दाम चढाउँदै कुमारीको दर्शन गर्ने उनले सुरु गरेको परम्परा छँदै छ। उनले चाहेका भए नेवार मूलकीलाई हटाएर गोर्खाकै ठकुरी शाह कुमारी राख्न सक्थे। उनका दिव्योपदेश र परराष्ट्र नीति अझै सान्दर्भिक र मननयोग्य रहेको बताए डा गुरुङले।

पशुपति पुराणको नालीबेलीबाट वास्तवमा हिन्दूले शिव भगवान् भनेर पूजा गर्ने शिवजी किराती हुन् भन्ने ठोकुवा गर्दै आर्यन मूलका दक्ष प्रजापतिले उनीसँग विवाह बन्धनमा बाँधिएकी छोरी र उनलाई गरेको अपमान सहन नसकी टाउको काटेर अग्निकुण्डमा हालिदिएको धारा प्रवाह बताउँदा सबै सहभागीले ‘पिन प्वाइन्ट’ सुने।

अर्को चाखलाग्दो कुरा, महाभारतको युद्धमा कौरवका तर्फबाट भाग लिएका किराती यलम्बरको कृष्णको निर्देशनमा अर्जुनले टाउको काटिदिएको पौराणिक इतिहासको चर्चा गरे। युद्धमा वीरगति प्राप्त गरेका यलम्बरको टाउको उतिबेला अहिलेको इन्द्रचोकमा प्रतिस्थापन गरिएको बताउँदै उनले अहिले हिन्दूले शिवजीको अवतार भनेर पूजा गर्ने, नेपाल वायुसेवा निगमअगाडिको चिह्नसमेत आकाश भैरव उनै यलम्बरको भएको चर्चा गरे।

गणतन्त्रपछि धेरै वदविवादमा परेको पृथ्वी जयन्तीको स्मरण गर्दै पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरेका भए के हुन्थ्यो त भन्ने एक सहभागीको प्रश्नमा कूटनीतिक जवाफ दिँदै उनले भने, १८१४ असोज १५ गते नेपाल–अंग्रेज युद्धमा पृथ्वीनारायण शाहले क्याप्टेन किनलोक नेतृत्वको अंग्रेजी सेना हराउन नसकेका भए अहिलेको नेपाल भन्ने देश अस्तित्वमा रहने थिएन।’

नयाँ वर्षको पूर्वसन्ध्यामा अक्सर मदिराका प्याला जुधाएर गीत–संगीतको चर्को ध्वनि गुञ्जिने रेस्टुरेन्टको वातावरण त्यो दिन भने बिलकुल भिन्न थियो। करिब १ घण्टा इतिहास, धर्म–संस्कृतिबारे उनले विश्लेषण÷व्याख्या गरिरहँदा हलमा सन्नाटा छाएको थियो।

अन्त्यमा, २०७६ पुस २६ शनिबार, कान्तिपुरको अन्तर्वार्तामा इतिहासविद् प्राज्ञ दिनेशराज पन्तको विचारको सारांश सापटी लिएर भन्दा अहिले पृथ्वीनारायण शाहलाई एकातिर देवत्वकरण र अर्कातिर दानवीकरण गर्ने चलन छ। हामी शंसोधन मण्डल पद्धतिका मानिसले त्यसबाट टाढा बस्नुपर्छ भनेका छौं। पृथ्वीनारायण देवता बनाउँदैमा ठूला र दानव बनाउँदैमा साना हुने होइनन्। हामी नेपाल चाहँदनौं र नेपाली हुनुमा गौरव गर्दैनौं भने जुन दृष्टिले हेरे पनि भयो। इतिहासले पनि त्यस्तो गर भन्दैन। हामीले पृथ्वीनारायणलाई वस्तुगत ढंगले हेर्नुपर्छ। शाहका विषयमा विश्वविद्यालय र सबै अनुसन्धानकर्ताले अध्ययन गर्न जरुरी छ। उनको एकीकरण अभियानबिना अहिलेको नेपाल सम्भव थिएन।

 

माघ ५, २०७६, आइतबार

कमल पौड्याल हङकङका व्यवसायी र लेखक हुन्
लेखकबाट थप

Building Future

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

FT 3 G/F Bo Lun Building, 28-34 Battery Street,
Yau Ma Tei, Kowloon Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Executive Editor
Thira Lal Bhusal

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors