हङकङदेखि टेम्के चुलीसम्म

हङकङदेखि टेम्के चुलीसम्म

टेम्के चुली


नरजित राई
असार १३, २०८० बुधबार १८:३८, हङकङ

भोजपुर र खोटाङको सिमानामा उभिएको छ टेम्के डाँडा । धार्मिक र पर्यटकीय दृष्टिकोणले यो पूर्वी नेपालकै प्रख्यात ठाउँ हो। यसको उचाई समुद्री सतहबाट ३०१० मिटर छ।

म, मेरो साली शिवदेवी बान्तवा, भान्जा सन्तोष राई, दाइ विष्णुकुमार राई, भतिज ध्यानबहादुर राई र उनकी श्रीमतीसहित ६ जना पर्यटकीयस्थल टेम्के चुली चुम्ने लक्ष्य लिएर निस्किएका थियौँ।

हाम्रो लक्ष्य पैदलयात्रामार्फत् टेम्केको टुप्पोमा पुगी वरिपरिका दृश्यहरूलाई हेर्दै रमाउने थियो। भोलिपल्ट बेलुकी बास बस्ने होटलको बुक पनि नातेदारमार्फत्‌ शिवले पाँचधारेमा गरिसकेकी थिइन्‌।

हामी बसेको होटल गोठेसिङबाट चखेवा भञ्ज्याङ्को ३ किलोमिटर दूरीमा रहेको थियो। यो होटल टेम्के-मैयुङ गाउँपालिका वडा नं. २, छिनामखुमा पर्ने रहेछ।

हामीलाई चखेवा भञ्ज्याङ्सम्म हिँडेर पुग्न थोरैमा पनि डेढ लाग्थ्यो। हिँडेर जाने हो भने हाम्रो शक्ति बाटोमै सकिने अनुमान लगायौँ। त्यसपछि होटल साहुजीलाई बेलुकी नै सवारी साधनको बन्दोबस्त गरिदिन भन्यौँ।

१७ अप्रिल २०२३ को बिहान होटलमा चिया-नास्ता खाएपछि टेम्केतिर लाग्ने तयारीमा जुटयौं। बाटो खाजाका लागि मकै, भमास भुट्न लगायौं। सन्तोष भान्जा तराईमा मात्र हिँडेको र कहिल्यै पहाड नचढेकाले लेक लाग्ने सम्भावनालाई ख्याल गरी उसको गोजीमा भुटेको मकै राखिदियौं।

बिहान ठ्याक्कै ८ बजेको थियो। गाडी पार्किङस्थलमा एउटा टेम्पोले पर्खिरहेको थियो। त्यो टेम्पोमा खाँदाखाँद गरेर बस्दासमेत ४ जना मात्रै अट्न सकिने अड्कल गरियो। अनि, ३र३ जना बाँडिएर खेप लगाउने सल्लाह भयो। टेम्पो ड्राइभरले एकैचोटि ६ जनालाई  चखेवा भञ्ज्याङ पुर्‍याउने तर टिप नगर्ने  कुरा गरे। मैले टेम्पोको भित्री आवरणलाई यसो हेरेँ अन्यभन्दा फरक देखियो। त्यहाँ ६र७  जना दुब्ला(पातला मानिस मज्जाले अट्न सकिने गरी सिटहरू बनाइएको रहेछ। एउटै टिपमा जति धेरै यात्रु बोक्न सक्यो उसलाई त्यति नै फाइदा हुने भएर होला त्यस्तै डिजाइन मिलाएको रहेछ। हामी टेम्पोको अगाडि र पछाडिको सिटमा खाँदाखाँद गरी चढ्यौँ। अनि टेम्पोले उचाल्दै, पछार्दै, थेचार्दै चखेवा भञ्ज्याङ्भन्दा माथिसम्म पुर्‍यायो।

माथि पुगेर आ-आफ्नो सामान चेक गर्दा सन्तोषको मोबाइल भेटिएन। एकछिन अक्क न बक्क भइयो। अनि बाटोमा खस्यो कि भनेर त्यही टेम्पोमा सन्तोषलाई पठाइयो मोबाइल खोज्न भनी। उसको नम्बरमा फोन गर्दा घण्टी बजिरहेको थियो।

केही समयपछि सन्तोषले नै फोन गरेपछि मोबाइल भेटिएछ भन्ने थाहा भयो र ढुक्क भयौँ। नत्र हाम्रो बाँकी यात्रा खल्लो हुने थियो। सन्तोषले जिपबिनाको ज्याकेटको साइड गोजीमा मोबाइल राखेको रहेछ। कच्ची बाटोमा टेम्पोले उचाल्दै, पछार्दै, थेचार्दै गर्दा गोजीबाट जमिनमा हामफालेछ। मानिसहरूको आवतजावत न्यून भएकोले मोबाइल भेट्न सफल भइयो।

हामी ठ्याक्कै ९ बजेर १० मिनेट जाँदा टेम्के डाँडाका लागि उकालो चढ्न थाल्यौँ। अलिकति उचाइमा पुग्दा भतिज ध्यानबहादुरले अर्को पाटोमा देखिएका गाउँहरूको नाम र साप्सु खोलाको उत्पत्तिस्थल साप्सुधाप चिनाए। हामी टेम्केको फेदीमा पुग्दा केही घरहरू देखिए पनि ती रित्ता थिए। ती घर होम स्टेका लागि बनाइएका हुन्‌ वा अन्य प्रयोजनका लागि अड्कल गर्न सकेनौँ।

अहिले टेम्के डाँडाको टुप्पोमा पुग्न कच्ची सडक हुँदै जिप, बाइकबाट यात्रा गर्न सकिने  रहेछ। हामी भने टेम्के डाँडालाई पदयात्राबाट नै छिचोल्न कम्मर कसेका थियौँ। मुन्धुम पदमार्गले गर्दा उकालो बाटोमा बनेका नयाँ स्टेपहरुमा उक्लिन सजिलो भएको थियो।

मैले टेम्केको उकालो चढ्न कठिनाइ महसुस गरिनँ। हङकङका केही डाँडामा कठिन पदयात्रा गरेको छु। त्यसले उकालो चढ्न पोख्त भइसकेको रहेछु। शिवले पनि छमछमी उकालोलाई छिचोलिरहेकी थिइन्‌। भतिज ध्यानलाई टाउको दुखेको र सन्तोषलाई उकालो चढ्न गाह्रो भइरहेको थियो।

हामी बिस्तारै थकाइ मार्दै हिँडिरहेकोले मनमा उत्साह, जोश, जाँगर प्रयाप्त थियो। फोटो खिच्दै, पानी पिउँदै, दृश्यहरूसँग रमाउँदै हिँडिरहेका थियौँ। मैले गणेश रसिक र हिरण्य भोजपुरेले गाउनुभएको ‘हाम्रो घरबाट टेम्के डाँडा आँखाअगाडि उभिएको देखिन्छ, चुलिँदै-चुलिँदै आकाश छोएको देखिन्छ’ भन्ने गीत सुन्दै पाइला चालिरहेँ।

मैले आफ्नो कविता संग्रह ‘मनका नदीहरू’बाट सहयात्रीलाई कविता वाचन गरी हिँडाइका लागि ऊर्जा थपिरहेँ। उकालो हिँडाइमा शारीरिक पीडा भए पनि त्यसलाई दबाउँदै, हाँस्दै, खुइया काढ्दै खुट्टालाई उकालो नाप्न लगाइरह्यौँ।

xxx

टेम्केको वनैभरि सयौँ वर्ष उमेरका लाग्ने खसुर, चिमाल, लालीगुराँसका रुखहरू र ती रुखका आडभरोसा र आङमा नै चढेर रमाइरहेका परजीवी वनस्पतिहरू। चिसो फिर्फिरे बताससँग परजीवीका जरा र पातहरू हल्लिँदै जिस्किरहेका। चट्याङ र डढेलोले धोन्द्रा बनाएर पनि बाँचिरहेका अशक्त झैँ देखिने ठूल्ठूला  रुखहरू। आखिर मिति नपुगुन्जेल जस्तोसुकै अवस्थामा भए पनि बाच्नु नै पर्ने प्राणी र वनस्पतिको निरीह जिन्दगी। वनैभरि रातम्य, सेताम्य फुल्ने लालीगुराँस, चिमाल र चाँप जङ्गलमा कतै कतै मात्र फुलेका देखिन्थे।

हामी उकालो चढ्दै गर्दा बाटो छेउमा मालिङ्गो घारी देखेँ। अनि म सानो हुँदा बाबाले भन्नुभएको कुरा झल्यास्स सम्झिएँ– एकदिन बाबा टेम्के डाँडाको जङ्गलमा मालिङ्गो काट्न आउनुभएको रहेछ। छानीछानी सग्लो, राम्रो काटेर भारी पुर्‍याएपछि बोकेर घरतिर लाग्नुभएछ। तर, निकै टाढासम्म हिँडेजस्तो भए पनि मालिङ्गो काटेकै ठाउँमा आइपुग्नुभएछ। अनि आफूले टेम्केमा वनदेवीको पूजा नगरी मालिङ्गो काटेकोमा क्षमा माग्नुभएछ। त्यसपछि मालिङ्गो बोकी कहीँ नअलमली घर आउनुभएको  थियो रे।

यो सम्झँदै म बाबाले मालिङ्गो, खसुरघाँस काटेर दुस्ख गर्नुभएको टेम्केको जङ्गलमा पदयात्री भई रमाउँदै उकालो हिँडिरहेको थिएँ।

करिब चार घण्टा उकालो हिँडेपछि टेम्के डाँडाको टुप्पोमा पुग्न सफल भयौँ। त्यहाँ चिसो बतास बेजोडले बहिरहेको थियो। हामीले शरीरमा तातो कपडाहरू थप्यौँ। ध्यान भतिज अलिक बिरामी भए पनि टेम्के डाँडाको टुप्पोबाट वरिपरि देखिएका गाउँ-ठाउँहरू चिनाए।

दक्षिण दिशामा अवस्थित स्याल्मे डाँडा टेम्केलाई हेरेर मुस्कुराइरहेको थियो। आफू पनि उचाइमा कम नभएको सन्देश स्याल्मेले दिइरहेझैँ लाग्यो। त्यो दिन बाक्लो  तुवाँलो लागेकाले हिमालय शृङ्खलाका दृश्य अवलोकन गरेर रमाउन भने पाएनौँ। अहिलेको वातावरण प्रदूषणले पहाडी भेगलाई समेत तीव्र असर गरिरहेको छ।

टेम्के डाँडाको टुप्पोमा चट्ट काटेर सम्याएझैँ समथल मैदान रहेछ। टेम्केको एकापट्टि डरलाग्दो भीरमा बडेमानका ढुङ्गाहरू सर्लक्कै अडिएका थिए। मैले टेम्केको भीरलाई जन्मघर कोक्रुवाबाट बाल्यकालमा धेरै पटक हेरेको थिएँ। अनि यसबेला टेम्केको टुप्पोमा बसेर बाल्यकालमा सुनेका ती किस्साहरू सम्झिएँ–

  • पहिले पहिले टेम्के डाँडाको टुप्पोबाट मधेश र कोशी नदी छर्लङ्ग देखिन्थ्यो रे! (सायद त्यो समय वातावरण प्रदूषण थिएन होला)
  • त्यो भीरमा कहिलेकाहीँ ढोल झ्याम्टा बजेको आवाज सुनिथ्यो रे! त्यहाँ किरातहरूका देवीदेउताको समयसमयमा बैठक हुन्थ्यो रे।
  • नोच्छुङहरूलाई किराती मुन्धुमबारे विद्या दिन वनझाँक्रीले त्यही भिरमा लगेर महिनौं दिन सिकाइ निपूण बनाउँथ्यो रे।

बाल्यकालमा नोक्छोङ, धामीझाँक्रीहरू ढ्याङ्ग्रो, थाल ठटाउँदै र बाटोमा धामी नृत्य गर्दै टेम्केतिर लागेको देखेको थिएँ। त्यो ढुङ्गाको भीरमा वनदेवीको मन्दिर रहेछ। त्यहाँ पशुपन्छीको बलि दिई पूजा गर्ने चलन रहेछ।

अहिले टेम्केको पूर्व-दक्षिण स्थानमा एउटा  ठूलो खाल्डो खनेर अलपत्र छोडिएको रहेछ। त्यो खाल्डो वरिपरि सामान्य बारबेर गरिए पनि ढलिसकेका कारण सुरक्षाको दृष्टिले खतरा देखेँ। त्यहाँ चिन्डो आकारको भ्यू टावर बनाउने योजना रहेछ। तर तल्कालै बन्ने कुनै छाँटकाँट देखिएन। यदि बनिहाले पर्यटन प्रवर्द्धनका लागि खुसीको कुरा हुनेछ।

टेम्केमा लगातार चलेको चिसो हावाले अनुहार र ओठ  फुट्ला झैँ भइरहेको थियो। यो यात्रामा टोपीको जोहो नगरेकोमा पछुताएको थिएँ। टेम्केको चिसो हावाले टाउको दुखेर आँखा पनि दुख्ला झैँ भएको थियो। वरिपरिको रमणीय दृश्यले मोहित बनाए पनि ओरालो झर्नु नै लाभदायक थियो।

मैले टेम्के डाँडाका प्रायः ढुङ्गाहरू अन्य ठाउँका भन्दा फरक देखेँ। त्यहाँका प्रत्येक ढुङ्गा घामको प्रकाशमा टिलिक-टिलिक टल्किरहेका थिए। त्यहाँका ढुङ्गालाई एक अर्कामा ठोक्काउँदा कुनै धातुको जस्तो आवाज सुनिन्थो। टेम्के डाँडामा कुनै खनिज पदार्थको खानी हुनुपर्छ भन्ने ठुटे जियोलोजिस्ट भइ टोपलेँ।

हामीलाई उकालोभन्दा ओरालो झर्न निकै गाह्रो भइरहेको थियो। टेम्केको ओरालो नागीहरूमा गाईवस्तुहरू चरिरहेका थिए। हामी जति ओरालो झरिरहेको हुन्छौँ, माथि हेर्दा त्यति नै टेम्के डाँडाका पाटोहरु झन् सुन्दर र रमणीय देखिन्थे।

हाम्रो हिँडाइको गति कछुवा चालमा चलिरहेको थियो। शायद यो भोको पेटको प्रतिफल थियो। केही तल पुग्दा भत्किएका धेरै छाप्रोहरु एक छेउमा छिपछिप पानी भएको सानो पोखरी भेटियो। यो ठाउँमा कुनै तिथिमितिमा ठूलो मेला वा बजार लाग्छ होला भन्ने अनुमान गरियो। अनि त्यहीँ नजिकै आराम गर्दै बाँकी रहेको भटमास चपाएर पानी पिउँदै शरीरमा थोरै ऊर्जा थप्यौँ।

xxx

हामीले खाजाको लागि होटलमा चाम्रे, अचार पकाउन लगाएर बोकेको भए बेग्लै आनन्द हुने रहेछ। यसबारे कसैको दिमागमा घुसेन। भोको पेटमै उकाली-ओराली हिँडेको क्षण सम्झँदा अहिले थकथक लाग्छ।

मलाई ओरालोमा कुनैकुनै बेला घुँडा दुख्ला झैँ हुन्थो। घुँडाको नसा अचानक नतन्कियोस् भनी घुँडालाई मसार्दै, मसाज गर्दै चलाख भएर हिँडिरहेको हुन्थेँ। ओरालो हिँड्दा शिवलाई समस्या आउँछ कि भनी निकै डराएको पनि थिएँ। उनको खुट्टामा राखिएको स्टिललाई अप्रेसन गरी निकालिएको धेरै भएको थिएन। घाउ भर्खरै मात्र ठीक हुँदै थियो। तर उनी भने लठ्ठीको सहयोगमा ओरालोमा पनि छमछमी हिँडिरहेकी थिइन्।

सन्तोष हिँड्न नसकेर हिरिक्कै देखिन्थ्यो भने ध्यान भतिज बिरामी भइसकेको थियो। विष्णु दाइ, बुहारी पनि सजिलैसँग ओरालो हिँडिरहेका थिए। तैपनि हामीलाई उकालोभन्दा ओरालोमा हिँड्न निकै सकस भएको थियो।

झर्दै गर्दा हाम्रो गन्तव्यस्थान पान्धारे बजार देखियो। हामी खुसी भयौँ। मन, दिमागमा छिट्टै पान्धारे पुगिन्छ भनी शरीरमा स्फूर्तिको टुसा पलाएको थियो।

पान्धारेबाट होटल साहुजीले बारम्बार फोन गरिरहेका थिए। दिउँसोको खाना तयार गरेर राख्नू है भनी बिहानै अर्डर गरेका थियौँ। शायद खाना चिसो होला भन्ने उनलाई छटपटाहट भयो होला। हाम्रो पूर्वअनुमान अनुरुप टेम्के डाँडाको टुप्पोमा पुग्न र पान्धारेसम्म झर्न लागेको समय निकै फरक भएको थियो।

पान्धारे बजार पुग्न अझै समय लाग्ने भएकोले बाटोमा थकाइ मार्‍यौं। त्यहाँ अचानक एउटा खैरो रंगको कुकुर पुच्छर हल्लाउँदै आयो। हामीलाई पहिल्यै भेटे, देखे झैँ हामीसँग लुट्पुटिन थाल्यो। हामीले पनि उसलाई  माया गरी ऊसँग फोटोहरू खिच्यौँ।

हामी पछिपछि कुकुर अघिअघि हिँड्न थाल्यो। घरी घरी हामीलाई पर्खने काम पनि  गरिरह्यो। हामी भने ओरालो हिँडाइले किक्रिक्क भइसकेका थियौँ।
पान्धारेमा बुक गरेको होटलमा करिब ४ बजे दिउँसो हिरिक्क हुँदै पुग्यौं। हामी होटल पुग्दा बाटोमा भेटिएको त्यो खैरे कुकुर पनि देखा पर्‍यो। त्यो खैरे कुकुर त होटल साहुको नै पो रहेछ!
हामीलाई स्वागत गर्न त्यति माथिसम्म कुकुर आएकोमा छक्क परियो। त्यो कुकुरले उसको मालिकको होटलमा बास बस्न आउँदैछन् भन्ने कसरी थाहा पायो होला?

xxx

पान्धारेमा अर्थात्‌ पाँच धारामा बाल्यकालमा देखेको धाराभन्दा फरक पाएँ। अहिले पोखरीलाई सिमेन्टेड गरिएको रहेछ। पहिले धारामा नुहाउन भिड हुन्थ्यो। तर अहिले कोही देखिएन। पाँच धाराको शिरमा रहेको कयौँ वर्ष पुरानो रुख भर्खरै काटिएछ। त्यो धाराको पानीको स्रोत शायद त्यही रुख पनि हुन सक्छ!

बाल्यकालमा आमा, आपासँग पान्धारे बजार भर्न आएको झलझली सम्झिएँ। पान्धारेको नाम त्यही धाराबाट रहेको थियो । हामी गलेर थकित भएकाले कतै घुम्न भने निस्किएनौँ। गायिका कला राई बहिनीले गाउनुभएको हिट गीत ‘पान्धारे चौकी’ मनमनै गुनगुनाउँदै ओछ्यानमा ढल्किएँ।

२८ जुन २०२३
तु क्वा वान, हङकङ

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .