जोन लीको टिमसँग जोडिएको हङकङे नेपालीको भविष्य

जोन लीको टिमसँग जोडिएको हङकङे नेपालीको भविष्य

लेखक कमल पौड्याल, पृष्ठभूमिमा हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट टेक अफ गर्दै जहाज


कमल पौड्याल
कात्तिक १८, २०७९ शुक्रबार ९:१०, हङकङ

हङकङको तुङचुङ सहर र पश्चिमपट्टिको ऐतिहासिक सान्ताउ गाउँको बीचबाट नाम चोङ ३६० भनिने बिग बुद्धसम्मको उकालो पैदलमार्ग प्रकृति प्रेमीहरुको निक्कै रोजाइमा पर्छ। क्याभलिअर रेस्क्यु रुट भनिने यो बाटोबाट देखिने दृश्यहरु साँच्चिकै ३६० डिग्रीकै छन्। त्यो मध्येको हङकङ विमानस्थल पनि एक हो।

पहिलेपहिले बाटो हिँड्दै गर्दा दुईतीन मिनेटमै अजङ्गका हवाईजहाजहरु अवतरण र उडान गरेको देखिने दृश्य गएको दुई वर्ष निकै पातलियो। सेवा सुविधा र प्रविधिको हिसाबले संसारकै अब्बल मानिनेमध्ये एक व्यस्त चेक लाप कोक विमानस्थल यति सुनसान होला भनेर कसैको पनि कल्पनामा थिएन।

हवाईजहाजहरु बाँसको काँइयोझैँ पार्किङ गरेर राखिएको हेर्दै राइट ब्रदर्सको आत्मा पनि दुःखी भयो होला भनेर सहयात्री साथीहरुलाई भन्थेँ म। अझ भनिन्छ, क्याथे प्यासिफिक वायुसेवाको सयौँ हवाईजहाज त हङकङमा ठाउँ नपुगेर अस्ट्रेलिया नजिकैको टापुमा भाडा तिरेर पार्किङ गरिएको थियो अरे।

मूलभूमि चीन र हङकङको पूर्वप्रशासनको कडा जिरो कोभिड नीतिले गर्दा हङकङ झण्डै दुई वर्ष त नाकाबन्दीजस्तै भयो। गत जुलाईमा जोन ली नयाँ कार्यकारी प्रमुख चुनिएर राष्ट्रपति सी चिनफिङबाट शपथ लिनुअगावै पुरानो नीति पुनरवलोकन गर्ने बाचा गरेका थिए जनतालाई। जसअनुसार नीति नियम क्रमशः खुकुलो पारिँदै गएपछि भने विमानस्थलको चहलपहल बढेको छ।

यसैबीच हङकङको सम्प्रभुता मूलभूमि चीनमा फर्केपछिको एउटा ठूलो परियोजना विमानस्थलको तेस्रो धावन मार्ग हालसालै सुचारु भयो। बाँकी काम अझै हुँदै छ। करिब १४१.५ अर्ब हङकङ डलर लागतको यो योजना ६५० हेक्टर समुद्री भूभाग अधिग्रहण गरेर पुरेर निर्माण गरिएको हो।

यो योजनामा कामदार आपूर्ति र निर्माण ठेक्कापट्टामा नेपाली निर्माण व्यवसायी र हजारौँ हङकङे नेपालीहरुले पनि श्रम लगानी गरेका छन्। जसबापत कम्पनी र कामदारहरुले पनि निजी र व्यावसायिक आम्दानी करको एउटा ठूलै हिस्सा हरेक वर्ष हङकङ सरकारलाई बुझाउँछन्।

तेस्रो रनवेको लागत खर्चको केही अंश हवाई यात्रुहरुले पनि बेहोर्न सुरु भैसकेको छ। यात्राको दुरी र कक्षअनुसार न्यूनतम ९० देखि अधिकतम १८० हङकङ डलरसम्म हरेक यात्रुको टिकटको भुक्तानीमै यो रकम जोडिन्छ आजकल।

हाम्रो  देशमा जस्तो हेलिकप्टर, रातो कार्पेट, सलामी, माला, खादा, रिबन, कैँची र भाषणबिनै ८ जुलाई २०२२ को बिहान सांघाइबाट आएको पहिलो क्याथे प्यासिफिकको ७४७ मालवाहक कार्गो जहाजले यो ३.९ किमिको तेस्रो धावनमार्गको भुइँ छोएपछि उद्घाटन भयो है भनेर समाचार बन्यो बस्।

हङकङ र क्याथे प्यासिफिक एकअर्काका पर्यायवाची जस्तै हुन्। दोस्रो विश्वयुद्धपछि पूर्ववायुसेनाका चालकद्वय रोय फेरल र सिड्नी डी केन्जोले सन् १९४६ मा सुरु गरेको यो विमानसेवा सन् १९४८ मा हालको स्वायर ग्रुपको लगानी समेत जोडिएर आधिकारिक रुपमा दर्ता भयो। त्यो बेलादेखि कहिल्यै पछाडि फर्किएर हेर्नु नपरेको यो वायुसेवा कोभिडले गर्दा निकै धरासायी भयो। अन्य व्यवसायलाई जस्तै हङकङ सरकारको आर्थिक नीति अनुदान र सहुलियतले बाँचेको यो हवाई सञ्जाल अब भने जुर्मुराउँदै छ। कोभिडको कारणले धेरै कर्मचारीलाई बेतलबी बिदा र अवकाश दिएको यो वायुसेवाले कर्मचारी भर्नाको लागि दर्खास्त आह्वान गरिसकेको छ।

हङकङका नयाँ कार्यकारी प्रमुख जोन लीको प्रशासनले क्रमशः २१ दिन क्वारेन्टिनलाई चौध, सात, तीन र हाल घरमै तीन दिन निगरानीमा बस्ने नीति लिएपछि क्याथे प्यासिफिकले काठमाडौँसम्म पनि सिधा उडान सुरु गरेको छ। हङकङ काठमाडौं सिधा उडान गर्ने क्याथे ड्रागन कोभिडको कारणले बन्द भएपछि नेपाल एअरलाईन्सको मात्रै उडान थियो। जसका कारण निकै सास्ती खेपेका हङकङका नेपालीहरुलाई क्याथेको यो उडानले निकै राहत महसुस भएको छ।

यसरी हङकङ विमानस्थल र क्याथे प्यासिफिक जुर्मुराउँदै गर्दा सँगैको हङकङ–मकाउ–चुहाइ जोड्ने ५५ किमि लामो समुद्री पुल अझै सुनसान छ। यो पदयात्रा मार्गबाट सफा मौसममा यो पुलको पनि लामै दृश्य देख्न सकिन्छ।

हङकङमा बेलायती शासनकालको अन्त्यपछि निर्माण भएको यो अर्को गौरवशाली मेगाप्रोजेक्ट सन् २००९ डिसेम्बर १५ मा सुरु भएर १६ फेब्रुअरी २०१८ मा पुरा भएको थियो।

पर्ल रिभर डेल्टा वा ग्रेटर बे पनि भनिने यो सेरोफेरोको अझै आर्थिक समृद्धि गर्न र यातायात सहजताको लागि बेइजिङद्वारा सञ्चालित यो परियोजनाको लागत १२७ अर्ब युआन (१८.८ अर्ब अमेरिकी डलर) थियो।

चार वटा मानव निर्मित कृत्रिम टापु र भूमिगत समुद्री मार्गसहितको यो पुल संसारकै पहिलो यस्तो खालको पुल मानिन्छ। बैंक कर्जा, मूलभूमि चीन, मकाउ र हङकङ विशेष प्रशासनिक एकाइको लगानी भएको पुल सुरुमा खुल्दा अचाक्ली भिड भएपछि कोटा प्रणाली लागू गर्नु परेको थियो सवारी वाहनहरुलाई। दुःखको कुरा, नेपाली निर्माण व्यवसायी र धेरै कामदार समेत सहभागी यो पुल निर्माणका क्रममा दुर्घटनामा परी ज्यान गुमाएका १९ जना कामदारमध्ये करिब आधा दर्जन नेपाली थिए।

मकाउ र मूलभूमि चीनमा अझै जारी जिरो कोभिड नीतिले यो पुलको चहलपहल पूर्वअवस्थामा फर्किन भने समय लाग्ने देखिन्छ।

यसैगरी हङकङमा बेलायती झण्डा झरेपछिको अर्को ठूलो गुरुयोजना हङकङ पश्चिम काउलुन–क्वाङचौ द्रूत रेलमार्ग हो। सन् २०१० मा सुरु भएर २३ सेप्टेम्बर २०१८ मा पुरा भएको यो मार्गले हङकङबाट सम्पूर्ण चीनको यात्रा छोटो बनाएको छ। चाइना रेल्वे र हङकङको मास ट्रान्जिट रेल्वेको व्यवस्थापनमा १४२ किलोमिटर लामो यो द्रुतमार्गबाट करिब ४७ मिनेटमै सेन्चेन हुँदै क्वाङचौ दक्षिण रेल्वे स्टेसन पुग्न सकिन्छ। यो योजनामा पनि आवद्ध धेरै हङकङका नेपाली निर्माण कम्पनी, मजदुर प्रदायक व्यवसायीहरु र श्रमिकहरु सबैले राम्रै अर्थोपार्जन गरे।

सञ्चालनमा आएताका अत्याधिक यात्रु चाप बेहोरेको यो द्रुत रेलमार्ग करिब दुई वर्षदेखि शून्यप्रायः छ। बरु १ जुलाई १ २०२२ को हङकङ मूलभूमिमा फर्केको २५औँ वर्षगाँठ दिवसमा भाग लिन हङकङ आएका प्रमुख अतिथि राष्ट्रपति सी चिनफिङ सेन्चेन हुँदै यही रेलबाट हङकङ आएर फर्केका थिए। अहिले पनि हङकङका मूलभूमि छिमेकी सहर र अन्य भूभागमा छिटपुट कोरोना सङ्क्रमण देखिइ रहेकै छ। चीनको जिरो कोभिड नीतिको कारण यो द्रुत रेलमार्ग पुनः पूर्वावस्थामा फर्किन पनि केही समय पर्खिनु पर्ने देखिन्छ।

हङकङका यी केही महत्त्वपूर्ण मेगा प्रोजेक्टको हालको अवस्था यो हो भने अन्य क्षेत्रको त कुरै छाडौँ।

जोर्डन टेम्पल स्ट्रिटको रात्रिकालीन बजारदेखि भिक्टोरिया पिकको हङकङ अवलोकन गृहसम्म पर्यटकको पर्खाइमा छन्।

हुन त गएको दुई वर्ष संसारको कुनै यस्तो क्षेत्र छैन, जसलाई कोभिडले प्रत्यक्ष अप्रत्यक्ष फरक नपरेको होस्। तर हङकङलाई भने कोभिडअगाडिकै करिब १ वर्षको सामाजिक अशान्तिले तहसनहस पारेको थियोे। हङकङजस्तो संसारकै सुरक्षित स्थानमध्ये अग्रस्थानमा आउने सहरमा यस्तो पनि हुनसक्छ भनेर कसैले कल्पना गर्न सकेको थिएन। एक देश दुई प्रणाली अन्तर्गत ‘हङकङ पिपुल रुलिङ हङकङ’ भन्ने मूलभूमिको नारा पछि चाहिँ त्यो अशान्तिको अवस्थामा केही परिवर्तन आएको छ।

हालसालै बेइजिङमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको कंग्रेसमामा एकदेश दुई प्रणाली भने यथावत रहने तर आइन्दा हङकङ र मकाउ प्रशासन प्रमुख वा सहायक हुन चाहनेहरु राष्ट्रभक्त र राष्ट्रवादी हुनै पर्ने राष्ट्रपति सी चिनफिङको भनाइले अबका दिनमा निकै छानिएका राष्ट्रवादी मात्र हङकङको कार्यकारी प्रमुख बन्न सक्ने स्पष्ट सन्देश दिएको छ।

सन् १९९७ जुलाई १ मा हङकङ मूलभूमिमा समाहित भएदेखि हङकङका कार्यकारी प्रमुख व्यावसायिक घराना वा पूर्वप्रशासन चलाएका मध्येबाट हुँदै आएकोमा पहिलो पटक पूर्व सुरक्षा प्रमुख जोन ली का चिउ कार्यकारी प्रमुख बनेको सय दिन नाघेको छ। सन् १९७७ मा प्रहरी सेवाबाट आफ्नो करिअर सुरु गरेका ली प्रहरी प्रमुख र सुरक्षा सचिव हुंदै कार्यकारी प्रमुख हुने पहिलो व्यक्ति हुन्।

हङकङको इतिहासमै निकै कठिन समय पार लगाएकी पूर्व कार्यकारी प्रमुख क्यारी लामकै समयमा प्रशासनको मेरुदण्ड मानिएका ली हङकङलाई गहिरोगरी बुझेका अनुभवी र दक्ष भएकाले नै बेइजिङले उनलाई विश्वास गरेको मान्छन्, राजनीतिक विश्लेषकहरु।

हालसालै आफ्नो प्रशासनको सय दिन पुग्दै गर्दा लीले आफ्ना आगामी योजना सार्वजनिक गरे दुई हप्ताअगाडि। सुरुमै हङकङको आर्थिक वृद्धिलाई बढाउने भन्दै मूलतः विश्वव्यापी दक्ष प्रतिभाहरुलाई हङकङमा स्थायी बसोबासकै सुविधाको आकर्षक योजना अघि सारेका छन् उनले। त्यसरी आउनेहरुले अस्थायी परिचय पत्र हुँदा घर खरिद गरेमा लागेको सरकारी रजिस्ट्रेसन दस्तुर सात वर्षपछि स्थायी परिचय पत्र हुनासाथै फिर्ता गरिने बताइएको छ। यो योजनाले कोभिडको कारणले तल झर्न सक्ने हङकङको प्रपर्टी बजार स्थिर हुन या माथि पनि जान सक्ने बताउँछन् अर्थविदहरु।

हङकङमा बसोबासको ठूलो समस्या हल गर्न आगामी ५ वर्षभित्र सर्वसाधारणको लागि अहिले भन्दा ठूला आकारका करिब ३० हजार बासस्थान युनिट तयार गर्नेदेखि घर पाउन कुर्नुपर्ने समय ६ वर्षबाट घटाएर ४.५ वर्षमा झारिएको छ। लामो समय कुरेकाहरुलाई स्थायी बासस्थान नपाउञ्जेल मासिक घरभाडा सहयोग निरन्तर गरिएको छ। सार्वजनिक यातायातमा आम नागरिकलाई दिइएको पछिल्लो वर्षहरुदेखिको सहुलियत अनुदान यथावत गरिने भएको छ। त्यसैगरि हङकङका ज्येष्ठ नागरिकहरुले मासिक भत्ताबाहेकको स्वास्थ्य सहुलियत भौचर २००० डलरबाट २५०० गरिएको छ।

उपचारका लागि लामो पर्खाइमा रहेका खासगरी ज्येष्ठ नागरिकहरुलाई निजी क्लिनिकहरुमा पनि सहजीकरण गरिने भएको  छ।

यसैगरी पुल रेल र सडक लिंक अझै जोड्दै दक्षिणी लान्ताउको समुद्री भूभाग पुरेर व्यवस्थित रुपमा १२ लाख जनसंख्या बसोबास गराउने क्यारी लाम प्रशासनको योजना पनि अगाडि बढाएका छन् उनले।

कोभिड महामारी प्रतिबन्ध बारे स्पष्ट खाका नआए पनि सङ्क्रमणको स्थिति हेरेर निर्णय लिने उनले बताए। कुनै राजनीतिक कारण नभए भविष्यमा स्थानीय सुरक्षा कानुन ल्याइने उनको प्रशनसनको योजना छ।

आफू सुरक्षा क्षेत्रबाट आए पनि साथमा अर्थविज्ञ अर्थसचिव पल चेन, अनुभवी विषय दक्ष मन्त्रिपरिषद् र विज्ञ सल्लाहकारहरु नियुक्त गरेका जोन लीको सय दिन सन्तोषजनक देखिन्छ।

अहिले यो लेख तयार गरिरहंदा हङकङमा लामो समयपछि आयोजना भएको ‘ग्लोबल फाइनान्सियल लिडर्स इन्भेस्टमेन्ट समिट’मा कार्यकारी प्रमुख जोन ली ले सम्बोधन गर्दै छन्।

समृद्ध, सुरक्षित र शान्त हङकङ यहाँ बसोबास गर्ने नेपाली र उनीहरूका शाखासन्तानको भविष्यसँग पनि जोडिएको छ। त्यसैले कार्यकारी प्रमुख जोन ली र उनको सम्पूर्ण टीमलाई सफल सय दिन पुरा गरेकोमा हार्दिक बधाई र बाँकी कार्यकाल सफलताको शुभकामना! 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .