नेपाल चेम्बर अफ कमर्स हङकङका वरिष्ठ उपाध्यक्ष धरम गुरुङमाथि अवैध आर्थिक कारोबार (हुण्डी) गरेको आशंकामा हङकङ प्रहरीले छानबिन गरिरहेको छ।
नेपाल एयरलाइन्सको जहाजबाट काठमाडौँ उड्न हङकङ विमानस्थल पुगेका गुरुङलाई प्रहरीले अध्यागमनबाट ५ जुलाईको मध्यरात नियन्त्रणमा लिएको थियो। रातभरि प्रहरी नियन्त्रणमा राखिएका गुरुङलाई चेम्बरका अध्यक्ष लवकुमार गुरुङले दस हजार डलर धरौटी राखेर छुटाएका थिए।
हङकङमा दस हजार डलर धरौटी रकम ठूलो मानिन्छ, जुन गम्भीर अपराधका मुद्दामा लिइन्छ। लामो समयदेखि हुण्डी कारोबार गर्दै आएका धरम गुरुङ यसअघि अवैध रुपमा जुवा–तास खेलाएको लगायतका मुद्दामा पक्राउ पर्दै आएका थिए। केही नेपाली अगुवाहरूको भनाइमा यसअघि पनि हुण्डी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।
हङकङमा मात्रै होइन, नेपालमा पनि उनी अवैध आर्थिक कारोबारमा मुछिएका व्यक्ति हुन्।
नेपाल चेम्बर अफ कमर्स हङकङ, हङकङमा दर्ता भएको नेपालीहरूद्वारा सञ्चालित एक त्यस्तो प्रतिष्ठित संस्था हो, जसलाई यहाँको सरकार र व्यावसायिक क्षेत्रले मान्यता दिएको छ। नेपाली महावाणिज्यदूत संरक्षक रहने यो संस्था हङकङका नेपाली व्यवसायीहरूको छाता संस्था हो, जसले हङकङ सरकार र यहाँका व्यवसायीहरूसँग सहकार्य गर्दै नेपालमा लगानी भित्र्याउने लक्ष्य राखेको छ। त्यस्तै एनआरएनए हङकङ नेपाल सरकारप्रति जवाफदेही अर्को जिम्मेवार संस्था हो।
यसअघि चेम्बरको कोषाध्यक्ष रहेका धरम गुरुङ २५ जुनमा लवकुमार गुरुङको नेतृत्वमा बनेको नयाँ कार्य समितिमा वरिष्ठ उपाध्यक्ष चयन भएका थिए। एनआरएनए हङकङबाट अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य रहिसकेका उनी अहिले सल्लाहकार सदस्य हुन्।
कुनै पनि संस्थाको गरिमा र ओज मुख्यत त्यो संस्थाको नेतृत्व गर्ने अगुवाहरूको गतिविधिले निर्धारण गर्छ। संस्थाको विधान र प्रतिष्ठा जोगाउनु र आफ्नो कार्यकालमा संस्थालाई उचाइमा लैजानु नेतृत्वको प्रमुख दायित्व हुन्छ। त्यसैले आफूमाथि कुनै गम्भीर सार्वजनिक प्रश्न उठेको वा अपराधको आरोप लागेको अवस्थामा संस्थाको नेतृत्व गर्ने व्यक्तिहरू स्वयंले राजीनामा दिने चलन छ। राजीनामा नदिएको अवस्थामा सम्बन्धित संस्थाले उसलाई निलम्बन गरेर छानबिन गर्नुपर्छ।
अवैध आर्थिक कारोबार गरेको गम्भीर आरोपमा प्रहरीले पक्राउ गरेर छानबिन थालेपछि धरम गुरुङले चेम्बरको उपाध्यक्ष वा एनआरएनएको सल्लाहकारको पदमा रहिरहने नैतिक अधिकार गुमाएका छन्। पक्राउ परेको एक सातासम्म पनि उनले राजीनामा नदिएकाले सम्बन्धित संस्थाले धरमलाई निलम्बन गरेर छानबिन थाल्न ढिला भइसकेको छ। तसर्थ संस्थाको साख जोगाउन र यो संस्थालाई थप बलियो बनाउन चेम्बरले उनलाई वरिष्ठ उपाध्यक्ष पदबाट निलम्बन गर्नुपर्छ। प्रहरीको अनुसन्धान जारी रहेकै अवस्थामा चेम्बरले आफ्नो तर्फबाट पनि धरममाथि लागेको आरोपबारे समिति बनाएर छानबिन गर्नुपर्छ, प्रहरी र आफ्नै आन्तरिक छानबिनबाट सफाइ पाएको अवस्थामा उनलाई पुनर्बहाली गर्ने बाटो खुला राख्दै।
धरम गुरुङ हङकङ विमानस्थलबाट पक्राउ परेको र धरौटी राखेर छुटेको रिपोर्ट नेपालखबरमा प्रकाशित भएपछि उनले आफूबाट गल्ती भएको स्वीकार गर्नुको सट्टा हामीलाई धम्क्याउने हर्कत गरेका छन्। ९ जुलाईमा नेपालखबरमा प्रकाशित रिपोर्टलाई लिएर धरमले ११ जुलाईमा प्रधानसम्पादकलाई फेसबुक म्यासेन्जरबाट कल गरेर ‘पिट्छु, मार्छु’ भन्दै धम्की दिएका थिए।
अवैध आर्थिक कारोबार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको रिपोर्टबाट त्रसित भएर पत्रकारलाई मार्ने धम्की दिने व्यक्ति कुनै पनि संस्थाको पदमा रहिरहन योग्य हुँदैन। त्यस्ता व्यक्तिलाई कुनै कारबाही नगरी पदमा राखिरहँदा त्यो संस्थाले आफ्नो प्रतिष्ठा र विश्वास गुमाउँछ। तसर्थ उनलाई निलम्बन गरेर हुण्डी कारोबारसँगै पत्रकारलाई धम्की दिएको विषयमा पनि छानबिन हुनुपर्छ।
गोर्खा सैनिकको इमानदारिताको विरासत र हङकङका नेपाली समुदायको प्रतिष्ठा जोगाउन नेपाली महावाणिज्य दूतावास हङकङले चेम्बरलाई त्यो बाटोमा डोर्याउनु पर्छ।
चेम्बरको नयाँ कार्य समिति समक्ष धरम गुरुङलाई निलम्बन र उनीमाथि छानबिन गरी संस्थागत चरित्र देखाउने एउटा अवसर आएको छ। अन्यथा मौनता साँधिरहेको अवस्थामा संस्थाको नियतमाथि नै प्रश्न उठ्न थाल्ने छ।
प्रतिक्रिया