hongkong


आफ्नै अँगालोमा तीन अभिभावक गुमाउँदा म कसरी भाग्यमानी?


राजेन्द्र थापा
काठमाडौं, असार १०

हङकङमा बाबासँग लेखक राजेन्द्र थापा

‘बाबाका तीन श्रीमती थिए। म जेठीबाट जन्मिएको छोरो। माइली आमाको बच्चा भएनन् अनि कान्छी आमापट्टि ४ बहिनी र भाइ। माइली आमाको विवाह, मेरो जन्मभन्दा पहिले भएको थियो भने कान्छी आमाको बिहे मेरो जन्मपछि।’

बाबा भारतीय जलसेनामा कार्यरत भएकाले विवाहपछि आमालाई पनि कलकत्ता लिएर जानुभयो। दिनभरि कोठामा केही नगरी बस्नुपर्ने हुनाले बाबासँग सल्लाह गरेर आमा पनि भारतस्थित बर्माको राजदूत निवासमा भान्सेको सहयोगीका रूपमा काम गर्न थाल्नुभयो। कोलकाता बसाइकै क्रममा ३ छोरा र २ छोरी गुमाएकी मेरी आमाको मानसिक अवस्था कमजोर भएपछि बाबा जागिरबाट राजीनामा गरेर २०२२ सालतिर नेपाल फर्कनु भयो। र, वन विकास आयोजनामा जागिर सुरु गर्नुभयो।

मेरो जन्मपश्चात् आमाले भारतमा लिएको ज्ञान उपयोग गर्दै विभिन्न परियोजनामा नेपाल आएका विदेशीहरूको घरमा भान्सेको काम गर्न थाल्नुभयो। उतिबेला पश्चिमी खाना बनाउने भान्सेको कमीले गर्दा पैसा र सुविधा बाबाकोभन्दा आमाको बढी थियो। साथै छुवाछुत अनि उँचनीच हेर्ने नजर पनि अररू छिमेकीको भन्दा फरक थियो। काठमाडौंका नेवारले खेतबारीमा काम गर्न आउने जो भए पनि शे (भोटे) भनेर बोलाउने अनि क्षेत्री–बाहुनले यस्ता कामदारलाई घरमा खाना खान दिँदा आफ्नो भान्छाभन्दा टाढा राखेर खुवाउँथे तर मेरी आमाले भने भान्छामा सँगै राखेर खुवाउनुहुन्थ्यो। कामदारहरू भने असजिलो मान्थे।

आमा भन्नु हुन्थ्यो, ‘कसैले कसैलाई छोए वा भान्छा छोए, कसैको जात सानो हुँदैन। हरेक मानवमा एउटै भावना हुन्छ, सबैलाई मिठो खान, राम्रो लाउने अनि राम्रो घरमा बस्ने रहर हुन्छ। कहिल्यै कसैको पनि कुभलो नचिताउनु, सके सहयोग गर्नु नसके कुरा नकाट्नु।’

यस्ता शिक्षा आमाबाट लिँदै म हुर्किएँ। कामको चाप, धेरै बच्चाको जन्म अनि बाथ रोगका कारण आमा त्यति बलियो हुनु हुन्थेन। बाँचेको एक्लो छोरा भएका कारण मैले घरका सबै काममा आमालाई सघाउन थालें। त्यसैले सानै उमेरदेखि खान पकाउने, घर सफा गर्ने, कपडा धुनेजस्ता काम मैले गरें। बाबाआमा दुवै जना छिमेकी तथा साथीहरूसँग कुरा गर्दा ‘छोराको काखमा मर्न पाऊँ’ भन्नुहुन्थ्यो। सधैँ बिरामी शरीर अनि घरको हेरचाह गर्ने मान्छे नभएकाले एसएलसी परीक्षापछि बिहे गर्न पाए घरमा कुरा गर्ने मान्छे हुन्थ्यो भन्दै आमाले मलाई विवाह गर्न आग्रह गर्न थाल्नुभयो। केही दिन त टारें तर आमाले बिरामी शरीरले काम गरेको देखेर अन्ततः म बिहे गर्न राजी भएँ।

२०४५ सालमा डाक्टर अवनिभूषण उपाध्यायले आमाको मुटु सुन्निएको जानकारी दिए र ‘अब उपचार सम्भव छैन’ भन्दै आमाका सबै इच्छा पूरा गरिदिन भने। सोहीबमोजिम आमाको चाहनाअनुसार पूजाअर्चना आदि कार्य गर्न थालियो। हातखुट्टा सुन्निन थाल्यो अनि आमालाई गाह्रो पनि हुन थाल्यो। एक साँझ आमाले मलाई मामाहरू र पुरोहितलाई बोलाउन अह्राउनुभयो। मामाहरू, बाबा अनि पुरोहितको उपस्थितिमा आमाले ‘अब म बाँच्दिनँ, मेरो गाई दान गर्ने इच्छा छ’ भन्नुभयो। भोलिपल्ट सोहीअनुररूप सम्पूर्ण पूजापाठ गरियो। पूजा गर्दागर्दै होस हराएको हुनाले आमालाई भुइँ तलाको कोठामा राखिएको थियो। दिउँसो ३ बजेतिर आमा अचानक उठ्नुभयो र लोलाउनुभयो। हिन्दु धर्मशास्त्रअनुसार आमालाई बोकेर आँगनको तुलसीको मोठमा लैजाँदै गर्दा मेरो हातमा आमाको अन्तिम सास चल्यो। अनि म टुहुरो बनें।

बाबाका तीन श्रीमती थिए। म जेठीबाट जन्मिएको छोरो। माइली आमाको बच्चा भएनन् अनि कान्छी आमापट्टि ४ बहिनी र भाइ। माइली आमाको विवाह, मेरो जन्मभन्दा पहिले भएको थियो भने कान्छी आमाको बिहे मेरो जन्मपछि। म सानो छँदा मेरी आमाले मलाई भन्ने गर्नुहुन्थ्यो, ‘बाबु, मैले त तँलाई जन्ममात्र दिएको हुँ, हुर्काउने काम त सावित्री (माइली आमा) ले गरेकी हुन्। त्यसैले यसलाई कहिल्यै नरुवायस्।’

तर बाबासँग मन नमिलेपछि माइली आमा काठमाडौंको डिल्लीबजारमा बस्न थाल्नुभएको थियो। आमाको निधनपछि मैले माइली आमालाई बाबाको सहमतिबिना घरमा लिएर आएँ। अनि फेरि आमाको माया पाउन थालें। माइलीआमा पनि कुरा गर्दा म छोराको काखमा मर्न पाऊँ भन्नुहुन्थ्यो। दैवको खेल होला, जुन प्रकारको रोग मेरी आमालाई लागेको थियो, त्यही रोग माइली आमालाई पनि लाग्यो। फलस्वरूप फेरि डाक्टर अवनिभूषण उपाध्यायको क्लिनिकमा उपचारका लागि माइली आमा लागि लिएर गएँ। उहाँको पनि मुटु सुन्निएको पाइयो।

एकदिन म फिल्म हेर्न भीसीआरमा चक्का मिलाउँदै थिएँ। माइली आमा तल आँगनतिर झर्नुभएको थियो। अचानक भाडामा बस्ने सेती दिदी ‘राजेन्द्र भाइ आमा बेहोस हुनुभयो’ भन्दै चिच्याउनुभयो। म दगुरेर तल गएँ, अनि माइली आमालाई बोकेर तुलसीको मोठ भएतिर लगें। तर तुलसीको मोठ पुग्नुभन्दा पहिल्यै माइली आमाले संसार छाड्नुभयो र म फेरि टुहुरो भएँ।

माइली आमा बित्नु भएको केही वर्षपछि बाबाले जागिरबाट अवकाश लिनुभयो। अनि कान्छी आमा र भाइबहिनीहरूसँग बस्न भनेर बर्दिया बसाइँ सर्नुभयो। बाबा उता जानुभएको केही समयपछि म पनि हङकङ आएँ। त्यसपछि बाबासँग फोनमा कुरा गर्ने अनि नेपाल गएका बेलामा मात्र भेट्ने गरियो। सन् २०१३ मा बाबाको हङकङ आईडी बनेपछि उहाँ पनि हङकङ आउनुभयो। अनि त्यति नै बेला हामी अष्ट्रेलिया पनि गयौं। तर बाबा खुसी हुनुहुन्नथ्यो, उहाँ बर्दियामै बस्न मन पराउनुहुन्थ्यो। त्यसैले मैले कहिल्यै बाबालाई काठमाडौं अथवा हङकङ बस्नुस् भनेर कर गरिनँ।

सन् २०१७ मेमा बाबाले खोकी धेरै लाग्न थाल्यो भन्नुभयो। मैले चुरोट न पिउनुस् अनि डाक्टरलाई देखाउनुस् भनें। अस्पतालले टीबी देखाएछ र औषधि दिएछ। तर २ महिना औषधि खाँदा पनि खोकी कम नभएपछि मैले बाबालाई काठमाडौं जान भनें। बाबालाई भक्तपुर ठिमीको टीबी अस्पताल लगेर जँचाइयो। त्यहाँका डाक्टरले पनि नेपालगन्जका डाक्टरले दिएको औषधिलाई नै निरन्तरता दिन भनेछन्। काठमाडौंमा छोटो बसाइपछि बाबा फेरि बर्दिया फर्किनुभयो।

खोकी झन् बढेपछि बाबालाई अर्को अस्पताल लगियो जहाँ फोक्सोको क्यान्सर भएको देखियो। यति समयसम्म अस्पतालले गलत औषधि चलाइराखेको रहेछ। अन्ततः भाइ सुनिलले बाबालाई चितवन क्यान्सर अस्पताल लिएर गयो। क्यान्सर अस्पतालमा बेड छैन प्राइभेटमा जचाउँनुस् भन्ने सल्लाह पाएपछि अस्पतालकै डाक्टरको प्राइभेट क्लिनिकमा बाबालाई लगियो। सम्पूर्ण परीक्षण गरिसकेपछि केही औषधि दिएर केही दिनपछि आउनु भनेर घर फर्काइयो। बाबाको स्वास्थ्य दिनप्रतिदिन खराब हुँदै गएपछि म पनि नेपाल गएँ। अनि भाइलाई बाबालाई लिएर चितवन आउन भनें। बाबासहित डाक्टरलाई भेटेपछि बाबाको स्वास्थ्यबारे बढी जानकारी पाएँ। उहाँको खाना नली र फोक्सोको नलीमा प्वाल परेको रहेछ। त्यसैले जे खाए पनि फोक्सोमा जाँदोरहेछ, अनि खोकी लाग्नेरहेछ।

यतिबेला क्यान्सर अन्तिम चरणमा पुगिसकेको रहेछ। मैले कस्तो प्रकारको उपचार सम्भव छ भनेर डाक्टरलाई सोध्दा ‘आल्मुनियमको पाइप खाना नलीमा छिराएर प्वाल टालेर गरिने उपचार सम्भव छ’ भने र यो उपचारपछि बाबा कम्तीमा ६ महिना बाँच्नुहुन्छ भन्ने सल्लाह पाइयो। मैले तुरुन्त यो शल्यक्रिया गर्न भनें। तर शल्यक्रियाका लागि आवश्यक आल्मुनियम पाइप चितवनमा नपाएपछि साथी बद्री जोशीको सहयोगमा भोलिपल्ट काठमाडौंबाट फ्लाइटमार्फत मगाइयो र साँझ शल्यक्रिया भयो। त्यसको भोलिपल्ट बिहान बाबाले धेरै आराम महसुस गर्नुभयो र खोकी पनि थिएन। बिहान दूध र बिस्कुट खुवाएँ। तीन महिनापछि यो नै पहिलो खाना थियो बाबाको। डाक्टरले बिहान जाँचेपछि बाबालाई अस्पतालबाट छुट्टी दियो।

तिहारका बेला भएकाले प्लेन टिकट पाउन सम्भव भएन, त्यसैले आफ्नै गाडीमा बाबालाई लिएर नेपालगन्जको घरतर्फ लागियो। भालुवाङ पुगेर बाबाले दालभात र सागसहितको खाना खानुभयो। साँझ घर पुगेपछि म, भाइ, बहिनी ज्वाइँ र भान्जाभान्जीहरूसँग भेटघाटमा व्यस्त भएँ भने बाबाचाहिँ घर छेउछाउ टहल्न थाल्नुभयो। रातिको भलाकुसारीमा अष्ट्रेलिया गएको नातिसँग भेट्ने तीव्र इच्छा भएको बताउनुभएपछि म छोरा लिएर छिट्टै फर्कने वाचासहित जरुरी कामहरू गर्न भोलिपल्ट बिहानै काठमाडौं हिँडे।

मैले घर छाडेको केही घण्टापछि बाबाको स्वास्थ्य फेरि बिग्रन थालेछ। तीन दिनपछि छोरा अष्ट्रेलियाबाट फर्कियो, अनि हामी दुवै नेपालगन्ज लाग्यौं। बाबाको छाती दुखाइ बढेको हुनाले बाटोमा बाबाको क्यान्सर उपचार गर्ने डाक्टरसँग दुखाइ कम गर्ने औषधि पनि लिएँ। साँझ घर पुगेर पहिला दुखाइ कम गर्ने औषधि खुवाएर थोरै दूध बिस्कुट पनि खुवाएँ। बाबालाई सलाइन पानी चढाइएको थियो, तर पानी नसाभित्र जान सकिरहेको थिएन। साँझको खान खाइसकेपछि भाइ सुनिलले ‘तपाईं बाबाको हेरविचार गर्नुस्, म खेतमा गएर दिउँसो काटेको धानको रेखदेख गर्छु’ भनेर खेततिर गयो।

राति करिब ११ बजे सलाइन पानी बाबाको नसाभित्र छिर्न नसकेपछि मैले पाइप र सियो बाबाको शरीरबाट हटाइदिएँ। बाबाले म सुत्न सक्दिनँ, ढाडमा अडेस लाउने केही राखिदेउ भन्नुभयो। मैले बाबालाई सजिलो हुने व्यवस्था गरें। एकछिनपछि आराम गर्न कान्छी आमा भुइँमा ओछ्यान राखेर पल्टनुभयो। बाबा पनि आँखा चिम्लने कोसिस गर्दै हुनुहुन्थ्यो।

अनि म पनि दिनभरि गाडी चलाएको थकाइले आँखा खुला राख्न नसक्ने अवस्थामा पुगें र मेरा आँखा पनि लोलाएछन्। अचानक कान्छी आमाले ‘बाबु बुबाको शरीर कमजोर भयो हेर त’ भन्नुभयो। हत्तपत्त बाबालाई बोकेर बाहिर तुलसीको मोठ लगें, अनि कान्छी आमा भुइँमा केही ओछ्याउँदै हुनुहुन्थ्यो। तर बाबाले मेरो हातमा अन्तिम सास लिनुभयो। मेरो भाइ जसले सधैं बाबाको स्याहारसुसार गर्थ्यो, ऊ बाबाको अन्तिम अवस्थामा सँगै बस्न पाएन।

मेरा दुई आमा र बाबाको छोराको काखमा अन्तिम सास लिने इच्छा त पूरा भयो, तर तीन अभिभावक मेरै अँगालोमा गुमाउनुको पीडा म कसरी व्यक्त गरूँ? सबैले मलाई ‘भाग्यमानी छोरा, जसले बाबाआमाको अन्तिम स्वास जाने बेला सँगै रहने मौका पायो’ भन्छन्। तर आफ्नै अँगालोमा भएपनि मातापिता गुमाउनु केको भाग्यमानी?

मेरो अन्तिम इच्छा पनि सन्तानकै काखमा मर्नेछ। मेरो यो इच्छा पूरा होस् तब न म भाग्यमानी!

असार १०, २०७६, मंगलबार
Building Future

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

FT 3 G/F Bo Lun Building, 28-34 Battery Street,
Yau Ma Tei, Kowloon Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Executive Editor
Thira Lal Bhusal

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors