कुमार पन्तले कसरी हाँक्लान् एनआरएनएको रथ?

कुमार पन्तले कसरी हाँक्लान् एनआरएनएको रथ?

कमल पौड्याल
कात्तिक १६, २०७६ शनिबार ६:२८,

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन एवं अन्तर्राष्ट्रिय अधिवेशन भर्खरै कठमाडौंमा सम्पन्न भएको छ। ‘म, मेरो एनआरएनए र मेरो नेपाल’ नारासहित आयोजित सम्मेलनमा आफ्नो कार्यकालको उपलब्धिको लामो फेहरिस्त स्क्रिनमा देखाएर पढ्दै तत्कालीन अध्यक्ष भवन भट्ट बिदा भए। लामो रस्साकस्सी र चर्चा परिचर्चाबीच सम्मेलनले २ वर्षका लागि कुमार पन्तको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।

हुन त एनआरएनएको सम्मेलनलाई ‘विदेशमा बसेर मनग्गे सम्पत्ति आर्जन गरेका सपन्नहरू २ वर्षमा एकपटक नेपाल आएर देशकै महँगो तारे होटलमा भोज खाएर देखाउने कुम्भमेला’ भनेर टिप्पणी गर्नेहरूको कमी छैन। अरू कतिपयले ‘सुपर रिच क्लब’ वा ‘विदेशमा कमाएको कालो धन तह लगाउन वा सेतो बनाउन आएकाहरू’ जस्ता होलसेल आरोपसमेत लगाए। तर कतिपय त्यस्ता मानिस पनि छन् जो हिजोका दिनमा देशलाई पटकपटक प्राकृतिक विपत्ति पर्दा सहयोग वा ठूलासाना लगानीलगायत सामाजिक कार्य गरेर उचाइ लिएको यो संस्थालाई त्यसरी आरोप लगाउनु अन्याय हुने बताउँछन्।

स्थापना कालदेखि निरन्तर तन, मन, धनसहित लागिपरेका अभियन्ताहरूमध्ये कतिपय बिस्तारै निस्क्रिय हुँदै वा पाखा लाग्दै गएका वा लगाइएका पनि छन्। यसपालिको चुनाव नजिकिँदै गर्दा सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरूमा पहिला-पहिलाभन्दा अलि बढी नै टीकाटिप्पणी पढियो, सुनियो। केन्द्रीय चुनावभन्दा पहिला विभिन्न देशमा आइसीसीको चुनावमा देखिएका हथकण्डा, साम, दाम, दण्ड, भेद हेर्दा करिब-करिब नेपालकै अन्तरपार्टी चुनावको झल्को आउँथ्यो। यसपापालीको केन्द्रीय चुनावमा त झन् यो प्रवृत्ति छताछुल्ल नै भयो। तर कतिपय देशमा भने यस्ता चुनाव शान्त र सभ्य वतावरणमा नभएका पनि होइनन्।

धेरै टाढा नजाँदा, स्थापना कालदेखि केन्द्रमा नै विशेष प्रभाव राख्ने हङकङ आजकल धेरै पछाडि देखिन्छ। महाभूकम्पको समयमा करिब १ मिलियन हङकङ डलर र अन्य सामाग्री पीडितहरूका लागि पठाउन सक्षम संस्थामा पनि कतै अहिलेको केन्द्रकै जस्तो रोग सरेको त हैन? विगतका वर्षहरूमा हङकङेलीलाई हराउन हङकङेली नै सक्रिय हुँदा मतदाता वा उम्मेदवार कसलाई दोष दिने भन्ने यक्ष प्रश्न थियो। करिब ४० हजार नेपाली बसोबास गर्ने ठाउँमा सन् २०१५-१७ को चुनावमा ४ हजार मतदाता मात्र मतदानमा सक्रिय थिए। हङकङमा पहिलोपटक रातभरि बसेर भोट गनिदिनेमा म स्वयं परें। अहिले आएर सदस्य संख्या हजार जनामा झरेको छ। यो संस्थाप्रति वितृष्णा हो वा चुनावताका मात्र जुँगाको लडाइँ र त्यसपछि निष्क्रिय हुने प्रवृत्तिको निरन्तरता?

यो भन्दा अघिल्लो चुनावमै हङकङमा भएका गुटउपगुटका घटनाले धेरैमा निराशा छाएको अनुमान गर्नेहरू पनि छन्। हङकङकै पूर्व अध्यक्ष दुर्गा गुरुङ यस संस्थाप्रति आम मानिसमा आस्था र विश्वास घटेका कारण यस्तो भएको मान्छन्। हङकङ सरकारलाई बर्सेनि राम्रो कर तिर्ने यहाँका एक जना नेपाली निर्माण व्यवसायी भन्छन्, ‘नेपालका राजनीतिज्ञ र प्रशासन रिझाउँदै आफ्नो दुनो सोझ्याउने व्यक्तिहरूका लागि एनआरएनए ठीकै भए पनि उनीहरूको पछि लाग्नेहरूले भने पैसा र समय खर्चेर अरूलाई ठूलो मान्छे बनाउनुको तुक छैन।’

यो संस्था कुनै राजनीतिक, जातीय, क्षेत्रीय नभएर विदेशमा बस्ने सबै नेपालीको साझा संगठन हो भनिन्छ। तर उद्देश्य त्यही भए पनि अहिले आएर तिनै धारणामा यसका सदस्य विभाजन हुँदै गएको बताउँछन्, एनआरएनएमा लागेर धेरै भोटा फटाइसकेका एकजना हङकङेली विज्ञ। यसपालिकै चुनावमा फरक–फरक राजनीतिक दलमा आस्था राख्ने दुई समूह खुला रूपमै प्रस्तुत हुनुले यो कुरा पुष्टि गर्छ। देशमा राजाको सक्रिय शासनकालमा स्थापित यो संस्थालाई उतिबेला कतिपयले राजतन्त्र समर्थक नभनेका पनि हैनन्। हुन पनि देशमा राजतन्त्रविरुद्ध नारा लागिरहेका बेला एनआरएनए आफूलाई गैरराजनीतिक संस्था भन्दै मौन बस्यो। गणतन्त्र आइसक्दा भने अग्रपंक्तिमा देखापर्यो, स्वागत गर्न। तत्पश्चात् विभिन्न सरकारका कार्यकालमा सत्ताधारी पार्टीहरूसँग तारतम्य मिलाएर अघि बढेको देखिन्छ, अहिलेसम्म।

यो संस्था वास्तवमै विदेशमा मनग्गे अर्थोपार्जन गरेर नाम र अरू व्यावसायिक उद्देश्यले देशमै फर्किन खोज्नेहरूद्वारा स्थापना भएकाले राजनीतिक पार्टीहरूसँग नजिक भएर आफ्नो दुनो सोझ्याउनु स्वाभाविक मान्छन्, कतिपय। स्थापना कालदेखि नै यो संस्थामा एक व्यक्ति मात्र हावी हुने र सिंगो समन्वय परिषदका अन्य कार्यकारीहरू छायामा पर्ने धेरै टीकाटिप्पणी भइरहँदा, यो कुरा शतप्रतिशत साँचो मान्छन्, हङकङका पूर्वएन आरएननए अध्यक्ष ललित सुब्बा। तर केन्द्रका अध्यक्षको व्यक्तित्वका कारण त्यस्तो हुन गएको हुन सक्छ भनेर भन्नेहरू पनि छन्। किन त एनआरएनए भन्ने संस्थाको अध्यक्ष मात्र यसको पर्यायवाचीजस्तो देखिन्छन् सधैं? यस्तो सामूहिक संस्थामा सबै सदस्य उत्तिकै महत्वपूर्ण हुनुपर्ने होइन र?

सधैंझैं यसपालिको चुनावमा पनि खालि अध्यक्षका उम्मेदवारद्वयको मात्र चर्चा चुलियो। तर यसरी पार्टीगत समर्थन र विरोध यसपालि मात्र सतहमै आएको भए पनि भित्री रूपमा भने उहिल्यैदेखि नै रहेको कुरा प्रसंगवश उल्लेख गर्न मन लाग्यो। सामाजिक संघ संस्थाभन्दा साहित्य मेरो रुचिको क्षेत्र हो। एनआरएनए हङकङकै पूर्वअध्यक्ष अहिलेका केन्द्रीय सल्लाहकार त्रिलोक गुरुङले उनको कार्यकालमा उपाध्यक्ष पदमा मलाई रोजेका थिए। तर मैले उनको मप्रतिको सद्भावलाई आदर गर्दै उपाध्यक्ष हैन, बरू सल्लाहकारमा बस्ने मनसाय राखें। त्यसपछि लगातार अन्य दुई अध्यक्षको कार्यकालमा म सल्लाहकार रहें।

सन् २०११ को केन्द्रीय सम्मेलन हुँदा पिताजीसँग भेटघाट गर्ने र दसैंको टीका लगाएर यसो सम्मेलनको रमिते बन्ने सोचमा थिएँ। तर भाग्यले साथ दिएन। म नेपाल नपुग्दै पिताजी (केवलपुरे किसान) को निधन भयो। अहिलेका प्रधानमन्त्री, उतिबेला नेकपा एमालेका उपनेता केपी शर्मा ओली हामी काममै बस्दा समवेदना दिन ललितपुर इमाडोलस्थित हाम्रो घर आएका थिए। शोकपुस्तिकामा समवेदना लेखेपछि ओलीले हामीसँग केहीबेर कुराकानी गरे। टेलिभिजनमा एनआरएनएका दुई प्रत्यासीका विषयमा समाचार आइरहेको थियो।

एकजनाको नाम लिएर मैले सोधें, ‘यिनले जित्छन् त?’

ओलीले आफ्नै शैलीमा भने, ‘हामीले जिताए जित्नै त हो नि, नजिताए कसरी जित्ने? हामीले जिताउनुपर्‍याे नि?’

नभन्दै त्यो बेला पनि उनले भनेका उम्मेदवारले बाजी मारे भने यसपालिको त कुरै छाडौं। अहिले त बालुवाटारबाटै आफ्ना पक्षकाहरूलाई जिताउन उनले आदेश दिएको भन्ने सुनियो।

यसै विषयमा एनआरएनएका अग्रज उपेन्द्र महतोले ‘राजनीतिक पार्टीहरूको भात्रृसंगठनको चुनावजस्तो हुन थालेको’ भन्दै सम्मेलन बहिष्कार गरेको भन्ने सुनियो। अक्सर सबैभन्दा बढी यो संस्थाको केन्द्रबिन्दुमा रहेका संस्थापक अध्यक्ष महतोबारे बेलायतवासी एकजना एनआरएन विज्ञ भने नाम नबताउने सर्तमा यसो भन्छन्, ‘उपेन्द्र महतोको नेतृत्वमा रहेको एनआरएनएको शैशवकालमा राजा ज्ञानेन्द्रले राजकीय सत्ता हातमा लिँदा देशमा लगानी भित्र्याउन राजनीतिक स्थिरता चाहिन्छ महाराज, निरंकुशता हैन, कहिल्यै भनेन यो संस्थाले। जोखना मात्र हेरिरह्यो। गणतन्त्रपछि पहिला स्वागत गर्न र बेला मौकामा ठूलो रकमको चेक लिएर देशलाई सहयोग गर्न उपेन्द्रजी कैयौंपटक गणतान्त्रिक राजनेताहरूसँग कान्तिपुरकै पहिलो पृष्ठमा तथा टेलिभिजनमा देखिनुभयो। त्यसबापत असुलउपर पनि राम्रै गर्नुभयो। अझ उहाँले राजाका ज्वाइँ राजबहादुर सिंहसँग व्यापारिक साझेदारी किन, कसरी गर्नुभयो भन्ने थाहा भएकै हो।’

अहिले पहिला–पहिलाजस्तो डाडुपन्युँ आफ्नो हातमा नआउने देखेपछि उपेन्द्र महतोले घुर्की लगाएको मान्छन्, उनी।

यौटा अर्का हङकङेली एनआरएनए अभियन्ता भने यो संस्थालाई जन्माउन हुर्काउन उपेन्द्रको देन रहेको र हरेक कठिन परिस्थितिमा उनले संस्थामा खेलेको अहम् भूमिका वास्तवमै अतुलनीय रहेको मान्छन्। उनी भन्छन्, ‘उपेन्द्र एक जना सफल व्यापारी हुनुहुन्छ, विदेशमा कमाएको धन बाँड्न नभएर देशमै लगानी गर्दा आफू र देशलाई फाइदा हुने हेतुले उहाँ यहाँ आउनुभएको हो। यौटा व्यापारिक धर्मअनुसार जुन देशमा जुन सरकार वा शक्तिमा रहेको व्यक्तिसँग लागेर जता फाइदा हुन्छ उतै लाग्ने हो, जो पनि। यसपालीको सम्मेलनमा उहाँको अनुपस्थिति खट्किएको महसुस भयो।’

हङकङ एनआरएनएकै संस्थापक अध्यक्ष कृष्ण पाण्डेचाहिँ ‘स्वाभाविक रूपमै सबैका आआफ्ना राजनीतिक झुकाव हुने तर यसपालि भने निकै पार्टीगत चलखेल भएको स्वीकार्छन्। यसरी राजनीतिक हस्तक्षेप र चलखेल हुँदै गए भविष्यमा यो संस्था पनि नेपालका राजनीतिक पार्टीको यौटा एनजीओ बन्नसक्ने खतरा औंल्याउँछन्, उनी। दोस्रो कार्यकालका अध्यक्ष देवमान हिराचन ‘लो प्रोफाइल’मा भएका कारण आजकल उनी कहीं–कतै चर्चामा सुनिन्नन्, देखिन्नन्। तेस्रो कार्यकालका अध्यक्ष जिवा लामिछाने पनि खासै सक्रिय देखिन्नन्। चुनावी माहोल र कार्यकालमा राम्रै चर्चा बटुलेका उनी लेखरचना र पुस्तक चर्चाहरूमा भने छाइरहन्छन्।

उपेन्द्र महतोपछि निकै चर्चामा आएका अस्ट्रेलियाकै धनाढ्यमा गनिने शेष घलेको कार्यकाल भने महत्वपूर्ण रह्यो। माथि भनिएझैं हरेक २ वर्षमा संसारका हुनेखाने, सुकिलामुकिलाहरूको यौटा भेला मात्र भनी निकै टीकाटिप्पणी हुन्थे। अझ सम्मेलनका लागि नेपाल सरकारबाटै सहयोग लिएको कुराले धेरै उछितो काटिन्थ्यो। तर सन् २०१५ को महाभूकम्पलगत्तै शेष घलेको अगुवाइमा नगद, जिन्सी, औषधि एवं उपचारका सामाग्रीलगायत सहयोग नेपाल भित्रिएपछि एनआरएनएप्रति आम नेपाली जनताको सम्मान धेरै उचाइमा पुग्यो।

अझ सरकार नै हराएजस्तो बेलामा राहत सामाग्री लिएर जताततै ‘शेष घले’ देखिए। दुई कार्यकाल अध्यक्ष रहेर यति धेरै सामाजिक उचाइ लिएका घलेले फेरि आफुपछि पारिवारिक उत्तराधिकारीजस्तो श्रीमती जमुना गुरुङ (घले) लाई अध्यक्षको उम्मेदवार बनाएर हार बेहोर्दा आफ्नो सम्मान आफैंले घटाए भन्ने टीकाटिप्पणी पनि सुनिए। तर शेष घलेको कार्यकाल र उनले सुरु गरेका योजनाहरू सफल पार्न, गन्तव्यमा पुर्याउन अस्ट्रेलियाकै धनी महिलामा गनिने जमुना घलेलाई ल्याउनु स्वाभाविक मान्छन्, कतिपय।

जापानलाई कर्मथलो बनाएका युवा उद्यमी भवन भट्ट लामै समय यो संस्थाको चर्चाको शिखरमा रहे। कुनै बेला काठमाडौंमा हायात होटलमा भएको उनको विवाहको चर्चाले एनआरएनए अधिवेशनलाई नै जितेको थियो। नेपालका पर्यटन मन्त्रीलाई जापान बोलाएर रिसोर्टको रिबन काट्न लगाउने यी युवा अगुवालाई ज्योतिषी भाषामा भन्दा वायुसेवाचाहिँ अफापसिद्ध देखियो। बीबी एयरवेज नचल्दै गएको चुनावमा नेपाल एयरवेज किन्न दिएको १ करोड बैनाबट्टा हुँदै पछिल्लोपटक जाँदाजाँदै सिल्क एयरवेज घटनाले निकै आलोचित बनायो, उनलाई। यसपालि छापाहरूमा उनका कार्यकालबारे पक्ष–विपक्षमा निकै जुहारी देखियो। तर पनि गोर्खाको साधारण परिवारमा जन्मेर जापान पुगेका युवाले गरेका प्रगति, २ वर्षको कार्यकाल र उनको लगनशीलतालाई सकारात्मक हिसाबले पनि हेर्नुपर्छ भन्ने, ‘हरेक मान्छेले जीवनमा गल्ती गर्छ तर दोहोरिन हुन्न’ भन्दै उनका पक्ष लिनेहरू पनि छन्।

कसैको आग्रहमा अरूकै नाममा भोट हालिदिएर सम्मेलनमा सहभागिता जनाएका एकजना हङकङेली भने माहोल हेर्दा यदि दसैंको छेको पारेर अधिवेशन नगर्ने हो भने अहिलेको उपस्थित संख्या आधीमा झर्ने ठोकुवा गर्छन्। कुमार पन्तलाई नै जिताउन गएका अर्का सहभागी चुनावी परिणाम आइसकेपछि जित्नेले ठूलो युद्ध जितेको शैलीमा पञ्चेबाजा र सिन्दुरेजात्रा गर्ने अनि हार्नेले चाहिँ धाँधली भयो भन्ने चलनले नेपाल गए कपालसँगै, बर्मा गए कर्मसँगै भन्ने उखान चरितार्थ भएको बताउँछन्।

राप्रपामा आस्था राख्ने एकजना हङकङेली सामाजिक अभियन्ता यसपालि र अबको चुनावमा राप्रपाको भोट नै निर्णायक मान्छन्। माथिका टीकाटिप्पणी, राम्रा नराम्रा चर्चाबीच छोटो समयमा उचाइ लिएको संस्था अब एनआरएनए नेकपा, एनआरएनए नेपाली कांग्रेस वा एनआरएनए राप्रपा हुँदै छ त?

मूल कुरा त बूढी मरिन् भन्ने पिरभन्दा पनि काल पल्कियो भन्ने चिन्ता गर्नुपर्छ। नेपाल सरकार र यसकै प्रशासन यन्त्रसँग सहकार्य गरेर अगाडि बढ्ने संस्थामा कुल आचार्य समूहले जितेको भए नेकपा सरकारले कुन रूपमा हेर्थ्यो र सहयोग गर्थ्यो? कथंकदाचित् नेकपा सरकारको सट्टामा यदि नेपाली कांग्रेस वा अरू संयुक्त सत्ता परिवर्तन भएमा कुमार पन्तको टिमलाई सहयोग र सहकार्य जारी रहला?

लामो समय यो संस्थामा लागेर धेरै भोटो फटाएका कुमार पन्तले अब यसको रथ कसरी हाँक्छन् हेर्न बाँकी छ। एनआरएनए कार्ययोजनाका अधुरा काम, आक्षेपमुक्त संस्था बनाउनेदेखि चित्त दुखाएर बाहिर बसेका संस्थापकसम्मलाई भित्र अटाउने वातावरण र अहिलेका आफ्ना प्रतिद्वन्द्वीलगायत उनको टिमलाई  पुनः मूलधारमा समाहित गरेर ‘बाई नेपाली फर नेपाली’ भन्ने भावनालाई पन्तले कसरी साकार पार्लान्? त्यो भविष्यले देखाउला।

अहिलेलाई भने कुमार पन्त र उनको टिमलाई हार्दिक शुभेच्छा तथ बधाई!

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .