‘ह्या जस्तो भा’नि बूढो त लाहुरे नै हुनुपर्ने रै’छ। कहिलेकाहीँ छुट्टीमा घर आउँदा सँगै हुन सकिने भए पनि एकअर्काप्रति माया र चाख हुने अनि अर्को कुरो– लाहुरे यी चाउरेभन्दा जाँगरिला पनि हुन्छन्। छुट्टीमा आउँदा घर सरसफाइदेखि बालबच्चालाई रेखदेखसम्म त गर्दिन्छन् क्यारे! सबैभन्दा ठूलो कुरो बुढेसकालमा पेन्सन हुन्छ। छोराछोरीले छाडेर लाखपाखा लागे पनि कम्तीमा ओखतीमुलो गर्नी बाटो त हुन्छ नि!’
यति भन्दै मुनाले आफ्नो कुराको बिट मारी।
मुना र म प्रायः सँगै हुन्छौं। छुट्टीको समय सँगै खानु, हिँड्नु, किन्नु यस्तै यस्तै चलिरहन्छ। र, आज फेरि कहाँबाट लाहुरेको भूत चढेछ, मुनेलाई। लाहुरेनी बन्न नसकेकामा ठूलै पश्चताप भएजस्तै गरी आज। उसको कुरा सुनेर मलाई त्यही लाग्यो।
उसका कुरा सुनिसकेर एक घुट्को कफीको चुस्की लगाउँदै निधार खुम्च्याउन सकेँ। सन् २००१ तिर भर्खर बैंसको खुड्किलो उक्लिने बेला सिंगापुरे लाहुरे भेनाले फोटो पठाउन भनेको याद आयो।
त्यो समय एकपल्टमा १६ वटा मात्रै फोटो खिच्ने क्यामराले खाटमा बसेर नक्कल पारेर एक हातमा प्लास्टिकको फूल र अर्को हात चिउँडोमा लगाएर ठूलो भाइलाई फोटो खिच्न लगाएकी थिएँ।
यी सबै पुराना झझल्को क्रमशः आँखामा नाच्न थाले। मलाई एकोहोरो हेरेको कल्पनामा डुबेको देखेर मुना छक्क परी।
खै के सोची?
‘ओई ! मैया तेरो लाहुरे भेनाको याद आयो क्या हो?’ मुनेले मौकामा चौका हान्न के छाड्थी र!
‘हो हो ऊबेला झन्डै लाहुरेनी बन्न लागेको हो नि त म पनि!’ म पनि के कम, फ्याट्ट भनिहालेँ।
मुनेलाई त्यसै त गिज्जिने बहाना चाहिएको। झन् निहुँ पाई।
भन्न थाली– ‘हेर ! ऐले तेरो काठमाडौंमा घर हुन्थ्यो! तँ लाहुरेनी बनेर शानसँग बसीबसी खान पाउँथिस्! पैसा जति भन्यो उति नै लाहुरेले पठाइदिन्थ्यो केरे! तर क्यार्नु ! तेरो भाग्यमा लाहुरेनी बन्न लेखेकै रैनछ।’
यति भनेर सुस्केरासम्म हाली।
‘ह्या भयो के नकरा, मान्छे मरेपछि औषधिको के काम? आगोले घर जलिसकेपछि पानीको के काम?’
उसलाई यी सबै कुरा भन्न मन थियो। तर उसले यति गहिरो अर्थ राख्ने कुरा बुझ्दिन। कहिलेकाहीँ यस्ता कुरा भनिहाले तिमरुजस्तो घुमाउरो कुरा सुन्नु भन्दा नसुनेकै बेस भनेर तर्किन्छे। उसलाई बोल्न मन लागेको बोल्छे, बस्छे। जान्छे। यस्तै छ, उसको आदत।
मान्छेहरू कोही कम बोल्छन्, कोही ज्यादा। कतिले बुझ्छन्, कतिले देख्छन् मात्रै। यस्तै छ।
लाहुर र लाहुरेनीको नखुलेका पाटा अनेक छन्। जस्तै : सिक्काका दुई पाटा हुन्छन्। मान्छेको जिन्दगीका पनि दुइटै पाटा हुन्छन्। एक– जन्म, अर्को– मरण। जिन्दगीका रङ भने अनेक हुन्छन्।
मुनाले देखेकी सुखी लाहुरेनी र मैले देखेकी संघर्षशील लाहुरेनीमा आकाश–जमिनको फरक छ। उसले काठमाडौंमा बस्ने लाहुरेनीहरू मात्रै देख्छे, मैले विकटमा बस्ने एक्ला हल्दार्नी र सिपाहिनी लाहुरेनीरू देखेकी छु।
जसले जीवनका आधा उमेर एक्लै कटाएका छन्। जीवनका ठूलठूला आँधी एक्लै सामना गरेका छन्।
लाहुरे हुन र लाहुरेको गह्रुंगो नाम कमाउन भनेर अर्काको देशका लागि छातीमा तातो गोली थाप्न तयार भएर जान्छन्, लाहुरेहरू। अनि यता छुट्टीमा लाहुरे घर आउला, यस्तो गरौँला, उस्तो गरौँला भन्ने सपना साँचेर बस्छन्, लाहुरेनीरू। तर जब आफ्नो लाहुरेको छातीमा गोली लाग्यो भन्ने खबर पाउँछन्, तब तिनको छाती चर्किएर धाँजा फाटेसमानको त्यो बज्र त मैले मात्र महसुस गर्न सक्छु!
त्यसैले लाग्छ, लाहुरेनी बन्न सजिलो कहाँ छ र! अनि सबै लाहुरेनीका घर काठमाडौंमा कहाँ छ र! सबै लाहुरेका छोराछोरीले महँगा बोर्डिङ स्कुलमा कहाँ पढ्न पाएका छन् र! जंगे मामालाई कस्मिरमा गोली लाग्यो। जंगेनी माइजू ४० नटेक्दै एक्लो बन्नुपरेको! हँसिला खाइलाग्दा जंगे मामाको छातीमा विरानो ठाउँमा गोली लाग्दा संयोगले म हङकङमै ‘गोर्खा पल्टन’ चलचित्र हेर्दै थिएँ।
जुन चलचित्रको एउटा पात्रले जंगे मामाले जस्तै रणभूमिमा होमिनुपर्दा दुश्मनको आक्रमणमा मारिनुपरेको छ। चलचित्रमा त्यो पात्रलाई छातीमा गोली लाग्दा मैले जंगे मामा देखेँ। बेस्सरी छटपटी भो। ती मामाका आमा पनि एकल लाहुरेनी हुनुहुन्थ्यो! बुहारी पनि सासूजस्तै एकल लाहुरेनी हुनुपर्यो!
इतिहासको दस्तावेजमा ओझेल पारिएका वा नामेट पारिन खोजिएका ती एक्ला लाहुरेनीको एक्लोपनको छटपटी, तृष्णा तथा शारीरिक आवश्यकताका पीडा कसैले लेखेन/देखेन। अझ प्राकृतिक कुरा– शारीरिक आवश्यकता त झन् परको विषय। सहजै पूर्ति हुने आवश्यकता भनेको केवल पेन्सन बुझ्ने भाका राखेर ऋण पाउनेसम्म हाे। त्यो पेन्सनले पनि कति दिन नै चल्छ र खर्च! चले पनि जीवनसाथीको आवश्यकता पेन्सनले पूर्ति गर्न सक्छ र!
सँगै दुःखसुख बाँड्ने कल्पना गर्दागर्दै छुट्टीको समय सकिँदा निराश बनेका लाहुरे पनि कतिपल्ट देखेकी छु। भारतीय सैनिकमा जागिरे आफ्नै कान्छा मामा दसैंको बिदामा आउनुहुनथ्यो। तर उता कस्मिर कि सिमला कता आपतकालीन युद्ध सुरु भयाे भनेर मुखैमा आएको चाड अनि आफ्नी अर्धाङ्गिनीको न्यानो अँगालो छाडेर कुद्न बाध्य बन्नुहुन्थ्यो।
इतिहासको दस्तावेजअनुसार राणाकालमा जंगबहादुरले बेलायतसँग मगुरालीको ‘व्यापार’ गरेका थिए। त्यो व्यापारमा आफ्नो देशका विशेष जाति र समुदायको पहुँच राज्यसंयन्त्रसम्म नपुगोस् र तिनको पतन होस् भन्ने नियत थियो। ती जाति अरू कोही नभएर हालका आदिवासी जनजाति नै थिए, जो विभिन्न युद्दकालमा देशबाट बेचिएका थिए। बेचिनुको अर्थ इन्डो–ब्रिटिस सिपाहीमा भर्ती र युद्धमा मारिनु।
अहिले सोच्छु– लाहुरेनी बन्नु, बनिनु हाे कि बेचिएको पहिचान स्विकार्नु हो? इतिहासका लाहुरेजसरी त्यही संस्कार पछ्याएर अहिले लाहुरे बन्नेहरूलाई कसले रोक्ने? राज्यले वा पहिचान र समानताको नारा घन्काउने वर्गले? जसरी भारतीय र बेलायती लाहुरे बन्ने अवसर छ, त्यसरी देशमै रोजगारीको वातावरण छ? राज्यले बनाउन सकेको छ?
यसो हुन्थ्यो भने आज नेपालीहरू विश्वका विभिन्न देशमा बिनापेन्सनका लाहुरे बन्न बाध्य हुने थिएनन्। कोरिया, जापान, खाडी मुलुक, हङकङ, बेलायत पलायन पक्कै हुने थिएनन्। रहरले प्रवासी हुनु र करले प्रवासी हुनुको अन्तर यही हो। आज पनि लाखौं नेपाली भारतका विभिन्न स्थानमा मजदुरी गर्न बाध्य छन्। यूके र हङकङमा नेपालीलाई सपरिवार बस्न मिल्ने वातावरण बन्नु त लाहुरेकै योगदान हो।
बाजेको बाबा र बाजेले एक्ज्याक्ट (ठ्याक्कै) कति वर्ष बेलायती सैनिकमा सेवा गर्नु भो, त्यो त थाहा छैन, तर उहाँ लाहुरे हुनुहुन्थ्यो र नै म यहाँ पेन्सनबिनाको लाहुरेनी बनेर संघर्ष गर्न सकेको छु। भूतपूर्व लाहुरे बाजेले विरासतमा दिएको हकअनुसार भान्जा, नाति–नातिना हङकङको लाहुरे/लाहुरेनी त बन्न सकिएको छ। र, मजस्ता जानेर/नजानेर अभिभावकको पछि लागेर हङकङ आएका छौं।
देशमा अनेक राजनीतिक परिवर्तन भए। दसबर्से जनयुद्धको परिणामस्वरूप राजतन्त्रको पतन र गणतन्त्रको उदय भो। गणतन्त्र, संघीयता स्थापना भयो। तर पनि देशबाट युवा बेचिने भर्ती बन्द हुन सकेन/सकेको छैन।
चाहे त्यो कोरियन वा जापानिज भाषा सिकेर भिसाका लागि कैयौं दिन चिसोमा भोकभाेकै र अनिँदो बसेर लाइन लाग्नुपर्ने वैदेशिक रोजागारी होस् वा छातीमा मार्करले नम्बर लेखाएर सैयौंबाट छानिनुपर्ने बेलायती सेनाकाे भर्ती। बेलाबेला यस्ता भर्ती बन्द गर्नुपर्छ भनेर बोल्नेहरू देखापर्छन्, केवल आफ्नो राजनीतिक अभीष्ट पूर्तिका लागि। त्यसैले तिनले त्यस्ता भर्ती कसरी रोक्ने वा वैकल्पिक अवसर के दिने भन्ने विषयमा कुनै ठाेस तर्क र तरिका बताउँदैनन्/ बताउन सक्दैनन्।
तब मुनालाई भन्न मन लाग्छ– तँ आफैं लाहुरेनी होस त! तेरो पेन्सेन त तैंले काम गरेको तलबबाट काटिने केही प्रतिशतको रकम र कम्पनीले दिने रकमबाट संकलित एमपीएफ हो केटी। रेगुलर काम गर्नेको एमपीएफ त्यही त पेन्सन हो। देशबाट टाढा भएर के भो? जहाँ रहेर पनि देश हामीसँगै बाँचिरहन्छ। अर्को कुरा– हामी सम्पूर्ण मानव जाति विश्व समाजको सदस्य हौं।
हाम्रा बाध्यता खोक्रो आदर्शले हटाउन सक्दैन। भोको पेटमा राष्ट्रवाद बाँच्दैन। मुठ्ठीभर मानिसका लागि स्वर्ग बनेको देशमा आम नागरिक बनेर बाँच्न कति सकस झेल्नुपर्ने हुन्छ, त्यो कसैबाट लुकेको छैन। तिनै मुठ्ठीभरका मानिसले एनआरएनको हैसियतमा डलरको खेती गरिरहेका छन्। तर तिनले हामीजस्ता साधारण प्रवासीको संघर्षपूर्ण जीवनको प्रतिनिधित्व गर्न सक्दैनन्। र, भर्ती बन्द गर्नुपर्छ भन्नेहरूको आदर्श पनि कुनै न कुनै देशमा श्रम गरिरहेका श्रमिक नेपालीको रेमिटान्सले नै चलाउने हो। आफ्ना नागरिकको वैधानिक बेचबिखन गर्ने परराष्ट्र मन्त्रालयले आफ्नै देशभित्र समान अवसरको वातावरण मिलाइदिन सक्छ?
स्वदेशमै समान अवसर र सम्मानित जीवनयापन गर्न पाइने हो भने विदेशमा दोस्रो दर्जाको नागरिक बनेर बाँच्न विवश हरेक नेपाली आफ्नै मुलुक फर्किन पक्कै तयार हुनेछन्। रहरले विदेशिएका बाहेक सबैले आफ्नै देश रोज्ने निश्चित छ।
प्रतिक्रिया