बागमती


हेटौंडाको सडक विस्तार गर्न टास्क–फोर्स गठन

हेटौंडाको सडक विस्तार गर्न टास्क–फोर्स गठन

नेपालखबर
मंसिर १०, २०८२ बुधबार १८:४, हेटौंडा

लामो समयदेखि सूचनामा मात्रै सीमित हेटौंडाको सडक विस्तार अब कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। जसका लागि प्रहरीदेखि विद्युत प्राधिकरण सम्मका सबै निकाय समेटिएको विशेष टास्क–फोर्स गठन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुधबार (आज) बसेको सरकारी कार्यालयका प्रमुखहरूको बैठकले सडक विस्तारका लागि विशेष टास्क–फोर्स गठन गरेको हो।

सडक डिभिजन कार्यालय मकवानपुरका इन्जिनियर एवम् सूचना अधिकारी यादव सुवेदीको नेतृत्वमा बनेको टास्क–फोर्समा हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालय, खानेपानी व्यवस्थापन बोर्ड, वन कार्यालय, नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरण लगायत सम्बन्धित निकायका प्रतिनिधि सहभागी छन्।

टास्क–फोर्सले बुधबारदेखि नै माइकिङसहित प्रारम्भिक काम सुरु गरिसकेको छ। टास्क–फोर्सको कार्यालय डिभिजनकै परिसरमा रहनेछ। सडक विस्तारका क्रममा विद्युत, खानेपानी, टेलिफोनलगायत सेवामा समस्या नआओस् भनेर निरन्तर समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताए।  

उनका अनुसार टास्क–फोर्सले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत सडक सीमा अतिक्रमण गरी बनेका स्थायी तथा अस्थायी संरचनामा रेखांकन गर्ने, रंग लगाउने र आवश्यक कानुनी कारबाही अघि बढाउने जिम्मेवारी पाउनेछ।

प्रदेश राजधानीलाई बस्न योग्य शहर बनाउने लक्ष्यसहित सडक विस्तार अपरिहार्य रहेको प्रमुख जिल्ला अधिकारी अधिकारीको भनाइ छ। एशियाली विकास बैंक (एडीबी)बाट स्रोत सुनिश्चित भइसकेकाले अब विस्तार कार्य नरोकिने उनले बताए। सीमाभित्र पर्ने घरधनीले स्वयं संरचना हटाइदिए कार्य झनै सहज हुने भन्दै सबैलाई सहयोग गर्न उनले आग्रह गरे।

यसैबीच, सडक डिभिजन कार्यालयले सूचना जारी गर्दै हेटौंडा–१५ रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा बुद्धचोकदेखि सामरी पुलसम्म सडकको मध्येभागबाट २५/२५ गजभित्र निर्माण भएका स्थायी–अस्थायी घर–टहरा र अन्य संरचना १५ दिनभित्र हटाउन अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad