बागमती


मतदाता नामावलीमा नाम दर्ता गर्ने युवा भन्छन्- पुराना दल र अनुहारलाई ‘नो भोट’

मतदाता नामावलीमा नाम दर्ता गर्ने युवा भन्छन्- पुराना दल र अनुहारलाई ‘नो भोट’

सुनिता विष्ट
कात्तिक २५, २०८२ मंगलबार १२:२३, हेटौंडा

हेटौंडा उपमहानगरपालिका-१७ निवासी सितु श्रेष्ठ मतदाता नामावली दर्ताका लागि प्रदेश निर्वाचन कार्यालयमा पुगिन्। ४५ वर्षीय श्रेष्ठको यसअघि कहिल्यै भोट हालिनन्। 

तर आगामी निर्वाचनमा भने मताधिकार प्रयोग गर्न उनी निकै उत्साहित देखिएकी छिन्। आउँदो निर्वाचन आफ्नो जीवनमै पहिलो अनुभव रहने उनको भनाइ छ।

काठमाडौँबाट हेटौँडा बसाइँ सरेर आएकी श्रेष्ठले गत भदौमा जेनजी पुस्ताले गरेको आन्दोलन पश्चात् आगामी निर्वाचनमा आफूले मताधिकार प्रयोग गर्ने सोच बनाएर नाम दर्ता आएकी हुन्। यूवाहरुको आन्दोलनलाई समर्थन स्वरुप आफ्नो मताधिकार प्रयोग गरी योग्य प्रतिनिधि छान्ने सोच रहेको उनले बताइन्।

यता, हेटौंडा-४ स्थित प्रदेश निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गराउन पुगेका मकवानपुरको मकवानपुरगढी गाउँपालिका-३ बस्ने २० वर्षीय विश्वास लम्सालमा पनि मतदाता नामावलीमा नाम दर्ता गर्न उस्तै उत्साह छ। 

जेनजी आन्दोलनले धेरै कुरा सिकाएको बताउँदै उनले जेनजी कै उम्मेदवारलाई जिताउन नाम दर्ता गर्न आएको बताए। पुरानै दल र पुरानै अनुहारका नेता चुनावमा उठे आआफ्नो तर्फबाट ‘नो भोट’ हुने चेतावनी दिदैँ उनले भने, ‘जसले हाम्रो पुस्ताको माग सम्बोधन गर्ने अठोट गरेर चुनावमा उठ्छ, उहाँलाई नै समर्थन गर्ने र जिताउने लक्ष्य हो।’

हेटौंडा-८ का १८ वर्षका प्रमित आचार्य अब आउने निर्वाचनमा सही उम्मेदवार छान्ने जिम्मा जेनजी पुस्तालाई रहेको बताउँछन्। जेनजी प्रदर्शनको बलिदानीले तय भएको प्रतिनिधि सभा निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेर देश विकास गर्ने, नयाँ पुस्ताका उम्मेदवारलाई जिताउन नाम दर्ता गर्न आएको बताए। 

जेनजी आन्दोलन र त्यसपछिको राजनीतिक घटनाक्रमले आफ्नो विचार फेरिएको बताउँदै उनले भने, ‘आन्दोलनमा त्यत्तिका मान्छेहरुको ज्यान गएको छ। देशका लागि सहिद हुनेहरुको न्यायको लागि भएपनि असल मान्छेहरुलाई सरकारमा पठाउन पर्छ भन्ने लागेको छ। त्यसमा हामी जनजी पुस्ताको मतले ठूलो भूमिका खेल्छ। पुरानै दल र पुरानै अनुहार उठे भने केही हुन्न। त्यो छान्ने जिम्मेवारी हाम्रो पुस्ताले लिनुपर्छ भन्ने लागेको छ।’

यी उदाहरणहरू हेर्दा मकवानपुरमा आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनको प्रति मतदाताहरुको उत्साह बढेको पाइन्छ। निर्वाचन होला कि नहोला भन्ने अन्यौलता कायमै रहे पनि निर्वाचनमा भाग लिन इच्छुक मतदाताहरु आफ्नो मताधिकार सुनिश्चित गर्न उत्साहित देखिएका हुन्। प्रदेश निर्वाचन कार्यालय, हेटौंडामा मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेहरुको संख्या दिनहुँ बढ्दै गएको छ। 

जेनजी प्रदर्शनले देशको राजनीतिमा नयाँ मोड ल्याएको बताउँदै अब जिताउने उम्मेदवार आफूहरुले छान्न पाउने भन्दै मतदाता नामावलीमा नाम दर्ता गराउन जेनजी पुस्ताहरुमा उत्साह देखिएको पाइएको हो। कार्यालयमा भेटिएका अधिकांश युवाले पुराना राजनीतिक दल र नेताहरूको कार्यशैलीप्रति वितृष्णा जागेको र अब नयाँ तथा सक्षम व्यक्तिलाई मतदान गर्नकै लागि नाम दर्ता गराउन आएको बताएका छन्। 

गत असोज ९ गतेदेखि सुरु भएको मतदाता नामावली संकलनमा हेटौँडामा रहेको प्रदेश निर्वाचन कार्यालयमा आएर उत्साहजनक रुपमा मतदाता नामावली दर्तामा सहभागि भइरहेको निर्वाचन अधिकारी हरिप्रसाद ढकाल बताउँछन्। 

सरकारले आगामी २१ फाल्गुनमा प्रतिनिधि सभा निर्वाचनको घोषणा गरेपछि हाल देशैभर मतदाता नामावली संकलन भइरहदा मकवानपुरमा पनि यसको उत्साह छाएको हो। सो निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता भएका मध्ये फाल्गुन २० गतेसम्म १८ वर्ष पूरा हुने मतदाताले मात्र मतदान गर्न पाउनेछन्। 

जसमा मकवानपुरमा हालसम्मको अवधिमा ३ हजार बढीले आफ्नो नामावली दर्ता गराइसकेको प्रदेश निर्वाचन अधिकारी ढकालले बताए। त्यसोत, आइतबार मात्र झण्डै ३ सय जना बढी नामावली दर्ताका लागि यहाँ आएका  हुन्। उनका अनुसार अद्यावधि गर्न आउनेबाहेक ८० प्रतिशत १७ देखि २५ वर्ष उमेर समूहको रहेको उनको भनाइ छ।  

मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक अनलाइनबाटै गर्न सकिने व्यवस्था गरिएको छ। निर्वाचन आयोगको वेबसाइटमा गएर फारम भरेपछि बायोमेट्रिकको लागि मात्रै निर्वाचन कार्यालय पुग्नुपर्ने बताइएको छ। यसबाट सेवाग्राहीलाई सहजता हुने र आयोगको सेवा प्रवाह डिजिटल रूपमा विस्तार हुँदा मतदाता नामावली अद्यावधिक गर्ने प्रक्रिया छिटो, पारदर्शी र व्यवस्थित भएको निर्वाचन अधिकारी ढकाल बताउँछन्।

मकवानपुरका १० वटै स्थानीय तहहरुबाट नै मतदाता नामावलीमा नाम दर्ता आइरहेको बताउँदै ढकालले भने, ‘हालसम्म ३ हजार बढी नयाँ मतदाता थपिसक्नुभयो। यो अवधिमा २३५ जनाको मत नामावली ठाउँसारी भएको छ। प्रायजसो यहाँबाट काठमाडौँ ठाउँसारी गर्ने मतदाता धेरै हुनुहुन्छ।’ मकवानपुरको जनसंख्या र भौगोलिक परिवेश हेर्दा हालसम्मको नामावली संकलन संख्या सन्तोषजनक नै मान्न सकिने उनको भनाइ छ। 

उनका अनुसार अन्तिम मतदाता नामावली आगामी पुस १५ सम्ममा प्राप्त हुन्छ। मकवानपुरमा कति मतदाता थपिए? मतदान स्थल र मतदान केन्द्र कहाँ? भनेर पुस १५ मा प्रकाशन गरिने उनले बताए। 

मतदाता नामावली प्रक्रिया आगामी कात्तिक ३० सम्म रहेकाले सो मितिसम्म १८ वर्ष उमेर पूरा हुने र नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नेपाली नागरिकलाई नाम दर्ता गराउन समेत उनले आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad