गत भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनको घटना लगत्तै बागमती प्रदेश प्रदेश सभामा रहेका सांसदहरुले सामाजिक सञ्जालमार्फत भटाभट राजीनामाको घोषणा गरे।
बागमती प्रदेश सभाका तत्कालिन सभामुख भुवनकुमार पाठकले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत नै राजीनामा दिएको घोषणा गरे। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री समेत रहेका पाठक भदौ महिनाभित्रमा देशमा राजसंस्था कायम हुनेमा ढुक्क देखिन्थे।
देशको अवस्था राप्रपाले सोचेजस्तो नबनेपछि बागमती प्रदेश सभामा राजीनामा बुझाएनन्। भदौ २४ गतेको घटनापछि राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले प्रतिनिधि सभा र प्रदेश सभामा रहेका सबै सांसदहरुले पदबाट राजीनामा दिई सांसद पदबाट बाहिरिने निर्णय गरेको भन्दै प्रेस विज्ञप्ति जारी गरेका थिए। ‘जे–जी पुस्ताको मागको सम्बोधन र नवीन समझदारीको दिशामा अघि बढ्न राप्रपा सबैमा हार्दिक अनुरोध गर्दछ। जसका लागि राप्रपाको प्रतिनिधि सभामा रहेका सांसद र प्रदेश सांसदहरु फिर्ता हुने निर्णय गरिएको छ,’ श्रेष्ठद्धारा जारी विज्ञप्तिमा भनिएको थियो।
संघीय संसद् विगठन भएपछि प्रतिनिधि सभामा रहेका सांसदहरुको त पद गयो। तर संविधान जोगिएपछि प्रदेश संरचना जोगियो। हतारमा राजीनामा घोषणा गरेका सभामुख पाठकले चर्को दबावकाबीच प्रदेश सभाकी उपसभामुख अप्सरा चापागाईलाई सम्बोधन गरेर लिखित राजीनामा बुझाए। तर सांसद पदबाटै बाहिरिने घोषणा गरेको राप्रपा देशको परिस्थिती आफ्नो दल अनुकुल नभएपछि हच्कियो।
राजीनामा बुझाउने कि नबुझाउने? भन्ने अन्यौलताकाबीच राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा गत असोज २ गते राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्यो। बैठकको ८ बुँदे निर्णय पनि सार्वजनिक गर्यो। तर त्यसमा राप्रपाका सांसदले राजीनामा दिएर बाहिरिने कुरा कतै उल्लेख भएन। बुँदा नम्बर ८ को निर्णयहरुमा प्रदेश संरचना खारेजी, राजसंस्था स्थापना तथा हिन्दुराष्ट्रको कायम गर्नुपर्ने धारणा सार्वजनिक गर्यो। बैठकमा सहभागी एक सांसदका अनुसार भदौ २४ गतेको निर्णय उल्ट्याउँदै प्रदेश सांसदहरुले तत्कालका लागि राजीनामा नदिने निर्णय केन्द्रीय कार्यसम्पादन समितिले गरेको थियो।
सोही अनुरुप प्रदेश सभाबाट बाहिरिने स्टाटस लेखेका दलका नेताले स्टाटस हटाए। आफ्नो दलको पोल्टामा रहेको सभामुख पद भने राप्रपाले ख्यालख्यालमै फुत्कायो। चौतर्फी दबाबकाबीच पाठकले भने लिखित राजीनामा बुझाएको बताइएको छ।
‘भदौ २३ र २४ गतेको अवस्था अर्कै थियो, उतीबेला देश र जनताको विषयमा सोच्नु राप्रपाको धर्म हो, राप्रपा बागमती संसदीय दलका नेता थापाले भने, ‘राप्रपा पनि अन्य दलहरु जसरी नै चुनावी प्रतिस्पर्धामा होमिएर चुनाव जितेर सदनमा पुगेको दल हो। अन्य दलले राजीनामा दिनु नपर्ने। हामीमात्रै किन निस्कनु? सदनमै बसेर प्रदेश प्रदेश खारेजीको मुद्दामा अडिक रहनेछौं।’
बागमती प्रदेश सभामा राप्रपाको १३ सिट छ। जसमा ७ जना प्रत्यक्ष निर्वाचित सांसद हुन् भने ६ जना समानुपातिक सांसद हुन्।
हानेपाको पनि उस्तै चाल
यता, हाम्रो नेपाली पार्टी (हानेपा) ले पनि जेन–जी को भावना र मर्म अनुरुप प्रदेश सभाबाट आफ्नो दल बाहिरिएको घोषणा गर्दै सामाजिक सञ्जाल फेसबुक मार्फत राजीनामाको घोषणा गरेको थियो। लौरो चुनाव चिन्हबाट काठमाडौँको १(८) बाट प्रत्यक्ष निर्वाचित भएर प्रदेश सभामा आएको हानेपाको बागमती प्रदेश सभामा दुई सिट छ। शैलेन्द्रमान बज्रचार्य प्रत्यक्ष निर्वाचित भएका हुन् भने सरिता खड्की समानुपातिक सांसद हुन्।
दुई सिट रहेको हानेपा बागमती संसदीय दलका नेता बज्र्रचार्यले पनि सिर्जित परिस्थिती अनुसार हानेपा बागमती प्रदेश सभाबाट बाहिरिएको घोषणा गरेका थिए। भदौ २४ गते साँझ स्टाटस लेखेका उनले परिस्थिती सहज भएपछि लिखित राजीनामा प्रदेश सभामा पेस गर्ने बताएका थिए। तर उनले पनि असोज अन्तिम साता उक्त स्टाटस हटाएका छन्। राजीनामा दिने आफ्नो निर्णयप्रति आफ्ना शुभचिन्तक, दलका अन्य नेताहरू तथा मतदाताहरुले आपत्ति जनाएको भन्दै राजीनामा नदिने निर्णयमा पुगेको उनले बताए।
‘जेन–जी प्रदर्शनको वातावरण नै त्यस्तै थियो। यस्तो बेलामा सांसद पदमा बसेर के गर्ने? भन्ने लागेर फेसबुकमा स्टाटस लेखेकै हो, नेता बज्रचार्यले भने, ‘तर अब त्यस्तो भयावह स्थिती छैन। धेरैले अप्ठेरो परिस्थितीमा न्याय दिने ठाउँबाटै पछि हट्न हुन्न भन्ने सल्लाह दिनुभयो। अब राजीनामा दिएर होइन, अझ सशक्त भएर काम गर्नेछु।’
त्यसोत, प्रदेश सभामा हालसम्म सभामुख भुवनकुमार पाठकको मात्रै राजीनामा पत्र प्राप्त भएको प्रदेश सभा सचिवालय सचिव रामकुमार पौडेल बताउँछन्। प्रदेश सभामा प्राप्त पत्रलाई मात्रै आधिकारिक मान्न सकिने बताउँदै उनले भने, ‘हालसम्म एउटा मात्रै राजीनामा पत्र प्राप्त भएको हो। उहाँबाहेक कसैको पनि राजीनामा आइपुगेको छैन।’ सामाजिक सञ्जालमा घोषणा गरे पनि पत्र भने आइनपुगेको उनले बताएका हुन्।
११० सदस्यीय बागमती प्रदेश सभामा ७ राजनीतिक दलको प्रतिनिधित्व छ। जसमा नेपाली कांग्रेसको ३७, नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को ३ र हानेपाको २ सिट छ।
Shares

प्रतिक्रिया