बागमती


जेनजी प्रदर्शनमा फरार कैदी पुनः अपराधमा संलग्न, बागमतीमा ४८० कैदी अझै बाहिर

जेनजी प्रदर्शनमा फरार कैदी पुनः अपराधमा संलग्न, बागमतीमा ४८० कैदी अझै बाहिर

सुनिता विष्ट
कात्तिक ९, २०८२ आइतबार १७:१६, हेटौंडा

गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा नख्खु कारागारबाट भागेका सन्तबहादुर तामाङले आफ्नै श्रीमतीको हत्या गरे। काभ्रेको पनौती नगरपालिका कलाँती घर भएका ३५ वर्षका सन्तबहादुर कारागारबाट भागेर घर गएको बेला आफ्नै श्रीमतीको हत्या गरेर करेसामा गाढेको अवस्थामा शव फेला परेका थियो। 

३२ वर्षीया श्रीमती मनिषा तामाङको हत्या गरी शव लुकाउनका लागि गाढेको अवस्थामा फेला परेको थियो। जर्बजस्ती करणी मुद्दामा जेल जीवन बिताइरहेका सन्तबहादुर जेनजी प्रदर्शनका क्रममा अन्य कैदीबन्दीहरु सँगै भागेका थिए। जेनजी प्रदर्शनका क्रममा कारागारबाट भागेका कैदीहरू अपराधमै फर्किन थालेका छन्।

यता, सोही दिन मकवानपुरको भीमफेदी कारागारमा रहेका ४ सय ४० जना कैदीहरु पनि जेनजी प्रदर्शनकै मौका छोपेर भागे। चारैतिर सुरक्षा संयन्त्र तैनाथ रहे पनि कारागारको पछाडिको गेढ फुटाएर कैदीहरू फरार भएका थिए। फरारहुनेहरु मध्यका एक कैदीबन्दीको गत बिहीबार राति हत्या भयो। चितवनको कालिका नगरपालिका-४ पदमपुरका २८ वर्षीय नारायण कुमाल फरार कैदीको सूचीमा थिए। जर्बजस्ती करणी मुद्धामा जेल सजाय भोगिरहेका कुमाल गत बिहीबार अर्थात् भाइटीकाको राति साथीहरुसँग देउसी खेल्न पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-१ मा पुगेका थिए। 

देउसी खेल्ने क्रममा कुमालको समूह र अर्का देउसी समूहबीच बिवाद बढ्यो। यत्तिकैमा दुई समूहबीच कुटपिट हुँदा धारिलो हतियार प्रहारबाट फरार कैदीको सूचीमा रहेका कुमालको घटनास्थलमै ज्यान गयो। जर्बजस्ती करणी मुद्धामा दोषी ठहरिएका उनी २०७४ साउन ३ गते पक्राउ परेका थिए। २०८४ मा कैद अवधि पूरा गरी मुक्त हुने क्रममा रहेका कुमाल जेनजी प्रदर्शनका क्रममा अन्य कैदीहरुसँगै भागेका थिए। पारिवारिक स्रोतका अनुसार उनलाई पुरानो रिसिभीकै कारण आक्रमण गरिएको अनुमान छ। 

यी दुई घटना फरार कैदीहरूको अपराध पुनरावृत्तिका प्रतिनिधि उदाहरण हुन्। प्रहरीका अनुसार फरार कैदीहरू जुवाको खालदेखि अनैतिक क्रियाकलापमा संलग्न हुन थालेका छन्। बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाको तथ्यांक अनुसार बागमती प्रदेशमा उपत्यकाका कारागार बाहेक मकवानपुर, धादिङ, चितवन, रसुवा र सिन्धुलीमा गरी १ हजार ८ सय १८ कैदी फरार भएका थिए। जसमा हालसम्म ४ सय ८० कैदी अझै फरार छन्। हालसम्म १ हजार ३ सय ३८ कैदीलाई नियन्त्रणमा लिएर कारागार फर्काइएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका प्रहरी प्रवक्ता एवंम् वरिष्ठ प्रहरी उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए। 

उनका अनुसार क्षेत्रिय कारागार भीमफेदीबाट फरार रहेका ४ सय ४० जनामध्ये २ सय ६१ जनालाई मात्रै नियन्त्रण लिइएको छ। बाँकी १ सय ७९ जना कैदी अझै फरार रहेको बताउँदै उनीहरुको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ। यस्तै, हेटौँडा-११ थानाभर्याङमा रहेको बाल सुधार गृहबाट फरार भएका ७२ जना मध्ये १० जना अझै बेपत्ता छन् भने ६२ जनालाई नियन्त्रणमा लिएको बताइएको छ। 

जेनजी प्रदर्शनकै क्रममा चितवन कारागारबाट फरार भएका ७ सय ३८ जना कैदीमध्ये अझै १ सय ४७ जना नियन्त्रणमा लिन बाँकी रहेको प्रहरी प्रवक्ता बस्नेतले जानकारी दिए। उनका अनुसार हालसम्मको अवधिमा ५ सय ९१ जनालाई विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएर कारागार फर्काएको छ।  

यता, रसुवा कारागारबाट फरार ९७ जनाकैदी मध्ये प्रहरीले ९४ जनालाई नियन्त्रणमा लिएको तथ्यांक छ भने अझै तीन जनाका खोजी भैरहेको बताएको छ। सोही दिन सिन्धुली कारागारबाट फरार भएका ४ सय ७१ जनामध्ये अझै १ सय ४१ जना फरार छन्। बागमती प्रदेश प्रहरी प्रवक्ता बस्नेतका अनुसार हालसम्म ३ सय ३० कैदीबन्दीहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको हो।

यसरी अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका कैदीहरू अनधिकृत रूपमा फरार भएपछि समाजमा असुरक्षा र त्रास फैलिएको छ। जेल प्रशासनको कमजोरी र निगरानी प्रणालीको अभावले यस प्रकारका घटनाले निरन्तरता पाएको भन्दै नागरिकले प्रश्न उठाउन थालेका छन्। फरार कैदीलाई नियन्त्रणमा लिन नसक्दा कानूनी शासनप्रति जनविश्वास कमजोर बन्दै गएको सरोकारवालाको टिप्पणी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad