बागमती


हेटौँडा उपमहानगरपालिकाको भवनमा बागमती प्रदेशसभा बैठक राख्ने तयारी

हेटौँडा उपमहानगरपालिकाको भवनमा बागमती प्रदेशसभा बैठक राख्ने तयारी

सुनिता विष्ट
कात्तिक २, २०८२ आइतबार ८:४०, हेटौँडा

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा बागमती प्रदेशसभा भवनमा आगजनी र तोडफोड भएयता बस्न नसकेको संसद् बैठक सञ्चालन गर्ने तयारी थालिएको छ। 

यसका लागि प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिकाको सभाहल मर्मत सम्भार भइरहेको छ। जेन-जी प्रदर्शनका क्रममा प्रदेशसभा भवन काम नलाग्ने गरी तोडफोड र आगजनी गरिएका कारण हाललाई अस्थायी रूपमा हेटौँडा उपमहानगरपालिकाको सभाहलमा प्रदेशसभा बैठक राख्ने तयारी भइरहेको हो। 

प्रदेशसभाका दुवै भवन जलेर बैठक बस्न नमिल्ने भएपछि हेटौँडा उपमहानगरपालिकासँग सहमति गरी उसको सभाहलमा प्रदेशसभा बैठक सञ्चालन गर्ने तयारी भइरहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए। 

उनका अनुसार तिहारलगत्तै सदन सञ्चालन गर्ने गरी हाल उक्त हलको सरसफाइ, रंगरोगन, वाइरिङलगायतका काम भइरहेका छन्। 

‘यसअघि प्रयोग गरिएको भवन काम नलाग्ने गरी जलेको छ। स्थानीय तहसँगको सहकार्यमा हेटौँडा उपमहानगरपालिकाकै सभाहल अस्थायी रूपमा प्रयोग गर्ने सहमतिअनुसार मर्मतको काम भइरहेको हो’, सचिव पौडेलले नेपालखबरसँग भने, ‘जसका लागि हाल मर्मत भइरहेको छ। तिहारपछि बस्ने प्रदेशसभा बैठकका लागि यही हल प्रयोग गर्छौँ।’

त्यसो त उक्त हलमा पनि आन्दोलनका क्रममा आगजनी नभएको होइन। तर मर्मत सम्भारपछि प्रयोग गर्न मिल्ने खालको छ। प्रदेश सरकारको लगानीमा बनेको उक्त सभाहल हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गर्न नपाउँदै आक्रमणमा परेको हो।

कम क्षति भएको उक्त हल प्रदेश सरकारले मर्मत गरेर अस्थायी रूपमा सदन सञ्चालन गर्ने सहमति भएको हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले बताइन्। 

विपद्‌‌का बेला तीनै तहका सरकार मिलेर नागरिकलाई सेवा प्रवाह गर्न जरुरी रहेको बताउँदै मेयर लामाले थपिन्, ‘आगजनी र तोडफोडका कारण प्रदेश सरकारको संरचना, स्थानीय तहको संरचनादेखि व्यक्तिका घरसम्म आगजनी र तोडफोड भएका छन्। यस्तो अवस्थामा मिलेर, सकेको सहयोग गरेर अघि बढ्नु विकल्प छैन। त्यसैले अहिले मर्मत गरेर चलाउन मिल्ने अवस्थामा यही हल रहेछ। मर्मत गरेर बैठक सञ्चालन गर्न सहमति गरेका छौँ।’

संसद् बैठक सञ्चालनका लागि आवश्यक पर्ने कुर्सी, साउन्ड सिस्टमदेखि प्रत्यक्ष प्रसारणका उपकरणसम्म व्यवस्थापन गर्नुपर्नेछ। तत्कालका लागि यी सामग्री भाडामा लिएर भए पनि बैठक सञ्चालन गर्ने तयारी भइरहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

जेन-जी आन्दोलनलगत्तै सभामुख भुवनकुमार पाठकले राजीनामा दिएकाले नयाँ चयन गर्नुपर्नेछ। यसका लागि पनि प्रदेशसभा बैठक चाँडै राख्नुपर्ने अवस्था छ।

अब बस्ने प्रदेशसभा बैठकमा उपसभामुख अप्सरा चापागाईँले सभामुख भुवनकुमार पाठकको राजीनामा पत्र पढेर सुनाउँछिन्। अनि त्यसको १५ दिनपछि सभामुख चयन प्रक्रिया अघि बढ्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad