बागमती


बागमती सरकारबारे देउवा निवासमा दोस्रोपटक छलफल, मुख्यमन्त्री लामाका सर्तमा बानियाँ ‘सहमत’

प्रदेश प्रमुख देवकोटा उपचारमा रहेकाले आज रोकियो राजीनामा
बागमती सरकारबारे देउवा निवासमा दोस्रोपटक छलफल, मुख्यमन्त्री लामाका सर्तमा बानियाँ ‘सहमत’

फाइल तस्बिर: मुख्यमन्त्री बहादुरसिंह लामा, कांग्रेस सभापति शेरबहादुर देउवा र बागमती कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ


सुनिता विष्ट
साउन १७, २०८२ शनिबार १३:१४, हेटौँडा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा रोकिएको छ। यसअघि उनले आज राजीनामा दिने भनिएको थियो।

तर प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको उपचार जारी रहेकाले मुख्यमन्त्री लामाले आज राजीनामा नदिने भएका हुन्। 

राजीनामा प्रदेश प्रमुखलाई बुझाउनपर्ने भएकाले मुख्यमन्त्री आजलाई रोकिएको उनीनिकट सांसद रामकृष्ण चित्रकारले नेपालखबरलाई जानकारी दिए। 

मूत्र प्रणालीमा संक्रमण भएपछि प्रदेश प्रमुख देवकोटा बिहीबारदेखि काठमाडौँस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा उपचाररत छन्।

उनको सचिवालयका अनुसार देवकोटाको स्वास्थ्य अवस्था खतरामुक्त भइसकेको छ र आज साँझसम्म डिस्चार्ज हुने सम्भावना छ। 

प्रदेश प्रमुख उपचारमा रहेका कारण राजीनामा दिन आज हेटौँडा आइपुग्ने भनेका मुख्यमन्त्री लामा पनि अहिले काठमाडौँमै छन्।

सांसद चित्रकारका अनुसार अब उनी आइतबार हेटौँडा आइपुग्नेछन्। र, मन्त्रिपरिषद् बैठक राखेर लगत्तै पत्रकार सम्मेलन गरी प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने तयारी छ।

सभापति देउवासमक्ष मुख्यमन्त्री लामाका सर्त
कांग्रेस प्रदेश संसदीय दलको नेता पदमा हारे पनि मुख्यमन्त्रीबाट राजीनामा नदिने अडान लिइरहेका मुख्यमन्त्री लामालाई बिहीबार बेलुका आफ्नै निवास बुढानीलकण्ठमा बोलाएर पार्टी सभापति शेरबहादुर देउवाले मार्गप्रशस्त गर्न निर्देशन दिएपछि उनी पदबाट हट्न तयार भएका हुन्।  

तर यसका लागि मुख्यमन्त्री लामाले सभापति देउवासमक्ष सर्त राखेका छन्।

उनले आफूले बुधबार मात्र नियुक्ति गरेका तीन मन्त्रीलाई  नयाँ बन्ने प्रदेश सरकारमा लानुपर्ने र ‘पावर सेयरिङ’मा अब बन्ने मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफूसँग सल्लाह गरेर मात्रै निर्णय गर्नुपर्ने माग उनले देउवासँग गरेका हुन्। 

यसपछि सभापति देउवाले कांग्रेसको बागमती संसदीय दलका नेता बानियाँलाई सोहीबमोजिम काम गर्न निर्देशन दिएका छन्।

यस विषयमा आज (शनिबार) बिहान देउवाले बुढानीलकण्ठमा मुख्यमन्त्री लामा, सांसद चित्रकारलगायतका सांसदसहित बानियाँसँग छलफल गरेका थिए।

त्यस क्रममा लामाले राखेका माग पूरा गर्न बानियाँ सहमत भएको छलफलमा सहभागी एक सांसदको दाबी छ।

सहमतिअनुसार बुधबार नियुक्त लामा समूहका मन्त्रीहरू गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई अब बन्ने बानियाँ नेतृत्वको क्याबिनेटमा लगिनेछ।  

बागमती प्रदेशसभामा कांग्रेसबाट ३७ सांसद छन्। जसमध्ये गत शुक्रबार २१ सांसदले मुख्यमन्त्री रहेका तत्कालीन दलका नेता लामाविरुद्ध संसदीय दलको कार्यालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए।

त्यसपछि नयाँ दल नेता चयन गर्न गत बुधबार चुनाव हुँदा बानियाँ विजयी भए भने मुख्यमन्त्री लामा हारे। 

यसपछि मुख्यमन्त्री लामालाई पद छाड्न आफ्नै दलबाट चर्को दबाब आयो। यही क्रममा पार्टी सभापति देउवाले उनलाई राजीनामा दिन निर्देशन दिएका हुन्। 

अब उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि बागमती प्रदेश सरकार ढल्नेछ। सोपश्चात् कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री हुनेछन्। यसपछि अन्य मन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।

बागमतीमा हाल कांग्रेस र एमाले गठबन्धनको सरकार छ।

केन्द्रीय सहमतिअनुसार बागमतीमा कांग्रेस र एमालेले २०/२० महिना सरकार चलाउने कुरा छ। 

यसअघि कांग्रेसका तर्फबाट लामा १२ महिना मुख्यमन्त्री भइसकेका छन्। सहमतिअनुसार अब कांग्रेसबाटै मुख्यमन्त्री बन्न लागेका बानियाँले ८ महिना मात्र प्रदेश सरकारको नेतृत्व गर्न पाउने छन्।

यसपछि मुख्यमन्त्री पद एमालेले पाउनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad