बागमती


मकवानपुरको विकट कैलाश गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

मकवानपुरको विकट कैलाश गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार १९:४४, काठमाडौँ

मकवानपुरको विकट कैलाश गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना र पूर्ण संस्थागत गर्भजाँच गाउँपालिका घोषणा गरिएको छ।

शुक्रबार गाउँपालिकामा आयोजित एक कार्यक्रमकाबीच पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले पूर्ण खोप सुनिश्चिता गाउँपालिका घोषणा गरेका हुन्। 

१० वटा वडा रहेको यस गाउँपालिकाको सबै वडामा रहेका बालबालिकाहरुको खोपको सुनिश्चिता भएसँगै पूर्ण खोप सुनिश्चिता तथा दिगोपन स्थानीय तह घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण कुमार यादवले जानकारी दिए। उनका अनुसार बालबालिकाको जन्मदेखि १५ महिनासम्मको अवधिमा अनिवार्य लगाउनुपर्ने खोपहरु पूरा गरिएको हो। 

पूर्णखोप गाउँपालिका सुनिश्चित गर्ने राष्ट्रिय पूर्णखोप निर्देशिका बमोजिम सबै वडाका बालबालिकाहरुमा खोप लगाइसकेपछि घोषणा गरिएको उनले बताए। कैलाश गाउँपालिकाले पहिलो पटक पूर्णखोप सुनिश्चिता तथा दिगोपन घोषणा गरेको स्वास्थ्य शाखा प्रमुख यादवले बताए। जसका लागि वडा÷वडामा खटिएका स्वास्थ्य स्वम्सेविका, खोपकर्ता तथा जनप्रतिनिधिहरुको सहयोगले सहज भएको उनले बताए। 

यता, खोप समन्वय समिति गाउँपालिकाका संयोजक एंव कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले संघीयता कार्यान्वयनपछि कैलाश गाउँपालिकाले पहिलो पटक खोप सुनिश्चिता स्थानीय तह घोषणा भएको बताए।

‘यो अब निरन्तर गर्नुपर्ने कार्यक्रम हो। हामी यसलाई दिगोपन दिनका लागि खटिरहने छौं,’ अध्यक्ष मोक्तानले भने, ‘स्थानीय तहहरुले मानव सुचाङ्क बृद्धि गर्नका लागि स्थानीय तहले हरेक बर्ष पूर्ण खोप सुनिश्चिता तथा दिगोपन स्थानीय तह घोषणा गर्नुपर्छ। भौगोलिक विकटता सँगै यहाँको जनचेतना अभिबृद्धिको लागि धेरै कठिन अवस्थाहरु पर गर्नुपरेको छ।’

गाउँपालिकामा कार्यरत स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको लगाव र भूमिकाले पूर्ण खोप सुनिश्चिता स्थानीय तह घोषणा गर्न सकिएको उनले बताए। 

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले खोप भन्ने बित्तिकै डराउने र भाग्ने समुदायहरुलाई जनचेतना जगाएर स्वास्थ्य संस्थामै पुगेर खोप लगाउन अभिप्रेरित गर्ने स्वास्थ्यकर्मीहरुका कारण जिल्लाकै विकट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चिता पालिका घोषणा गर्न सकिएको बताए। देशमा संघीयता कार्यान्वयनमा आएसँगै विकटका बस्तीहरुका विकाससँगै जनचेतनाको स्तरमा समेत बृद्धि भएको उनको भनाइ छ। 

थोरै भत्तामा औषधिको झोला बोकेर स्थानीयको घर दैलोमा पुग्ने स्वास्थ्य स्वम्सेविकाहरुको सेवा सुविधामा बृद्धि गर्न स्थानीय तहहरुले भूमिका खेल्न जरुरी रहेको सांसद बानियाँले बताए। उनले गाउँपालिकाले सुरुवात गरे प्रदेश सरकारको तर्फबाट पनि प्रदेशभित्र रहेका स्वास्थ्य स्वम्सेविकाहरुको लागि सेवा सुविधामा बृद्धि गर्न पहल गरिने प्रतिवद्धता समेत जनाए। 

यता, जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण बहादुर मिजारले आउँदो असार महिनाभित्र मकवानपुरको सबै स्थानीय तहहरुलाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपन स्थानीय तह घोषणा गर्ने लक्ष्य राखिएको बताए। उनका अनुसार हालसम्म मकवानपुरका ४ स्थानीय तहहरुले घोषणा गर्न बाँकी रहेको छ। 

कार्यक्रममा ४२ जना स्वास्थ्यकर्मीलाई प्रशंसा पत्र प्रदान गरिनुका साथै वडाका १० वटा स्वास्थ्य चौकी, ७ वटा स्वास्थ्य र शिक्षा क्षेत्रका काम गर्ने संघसंस्थाहरुलाई सम्मान गरिएको थियो ।

सोही अवसरमा खोप कार्यमा सक्रिय रहेका उत्कृष्ट तीन स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो भने तीन उत्कृष्ट स्वास्थ्य चौकीलाई पनि सम्मान गरिएको थियो। 

गाउँपालिका घोषणा अघि वैशाखको अन्तिम सातामा पूर्णखोप वडा सुनिश्चित घोषणा गरिएको थियो। कार्यक्रममै वडा घोषणा भएको प्रमाणपत्र वडाध्यक्ष र स्वास्थ्य चौकी प्रमुखहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad