मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित कोगटे खोलामा पौडी खेल्ने क्रममा एक किशोरको डुबेर मृत्यु भएको छ।
मृतक काठमाडौँ महानगरपालिका–१२, लाजिम्पाट निवासी अन्दाजी १७ वर्षीय हगंजबेगु हुन्। उनी आफ्ना ८ जना साथीहरूका साथ कोगटे घुम्न आएका थिए। मंगलबार (हिजो) दिउँसो करिब २ः२० बजे खोलामा पौडी खेल्ने क्रममा डुबेर अचेत भएपछि उनलाई तत्काल पानीबाट निकालिएको थियो।
घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी सिस्नेरीबाट सई रामप्रसाद यादवको नेतृत्वमा टोली घटनास्थलमा पुगिएको थियो। प्रहरी पुग्नुअघि नै मृतकका साथीहरूले उनलाई पानीबाट बाहिर निकालेका थिए। त्यसपछि प्रहरी र स्थानीयको सहयोगमा उनलाई सिस्नेरी स्वास्थ्य चौकी पुर्याइएको थियो।
तर, उपचारका क्रममा साँझ करिब ९ बजे उनको मृत्यु भएको स्वास्थ्यकर्मीहरूले पुष्टि गरेका छन्। थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सन्त बहादुर श्रेष्ठको कमाण्डमा अर्को टोली पनि खटिएको थियो।
मृतकको शवलाई पोष्टमार्टमका लागि टिचिङ अस्पताल, महाराजगञ्ज, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया