मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ चिसापानी घर भएका ३७ वर्षीय मिलन दंगालको हत्या आरोपमा चारजना युवतीसहित सात जना पक्राउ परेका छन्।
१९ गते मंगलबार राति घरबाट निस्किएका मिलन भोलिपल्ट अर्थात् बुधबार बिहान मकवानपुरको बागमती गाउँपालिका र बकैया गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने भुवनचुली भन्ने स्थानमा मृत फेला परेका थिए।
सडकको नालीमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको मकवानपुर प्रहरीले जनाएको छ। शवको प्रकृति हेर्दा हत्या गरिएको जस्तो देखिएपछि अनुसन्धानका लागि मकवानपुर प्रहरीले ७ जनालाई प्रक्राउ गरेको हो।
पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–३ का ३६ वर्षीय प्रशान्त लामा, ललितपुरको गोदावारी नगरपालिका–१२ का २४ वर्षीय किसन दानी, बाराको निजगढ नगरपालिका–३ की १९ वर्षीया इनिसा तिमल्सेना, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ की १९ वर्षीया सुस्मिता तामाङ, सिन्धुलीको मरिन गाउँपालिका–७ की २० वर्षीया शर्मिला मुक्तान, सोही ठाउँ बस्ने १९ वर्षीया रोजिना तामाङ र मकवानपुर हेटौँडा उपमहानगरपालिका–१६ का २८ वर्षीय सुजन पौडेल रहेका छन्।
पक्राउ परेका मध्येका २८ वर्षका सुजन मिलनसँगै बाइकमा गएका थिए। मिलनले चिसापानीमै क्याटरिङ व्यवसाय सञ्चालन गर्दै आएका थिए। शाहाकारी क्याटरिङ सञ्चालन गर्दै आएका मिलन क्याटरिङकै कामका लागि प्रायः अन्य स्थानहरूमा पनि जाने गरेका थिए।
बागमतीको फापरबारीमा क्याटरिङको आवश्यक परेको र सल्लाह गर्नका लागि आफूहरूलाई बोलाएको भन्दै बुधबार राति ८ बजेतिर मिलनको बाइकमा सुजन र मिलन निस्किए। सँगै घर भएका सुजन मितेरी साइनोले मिलनका भतिज थिए। हेटौँडा–१६ का वडासदस्य गुरुप्रसाद ढकालका अनुसार सँगै घर र एउटै ठाउँमा काम गर्ने भएकोले सुजले मिलनलाई काका नाताले सम्बोधन गर्ने गरेका थिए। उनका अनुसार सुजन मिलनकै क्याटरिङमा काम गर्दै आएका थिए।
क्याटरिङको अर्डरका लागि छलफल गर्न भन्दै घरबाट निस्किएका मिलन भोलिपल्ट बिहान सडकको नालीमा मृत अवस्थामा भेटिएका हुन्। मिलनसँगै गएका सुजन भने भुवनचुलीबाट अलि माथि रहेको देउडा सेकुवा घर नामक होटलको कोठामा भेटिएका थिए।
‘हामीलाई बिहान ६ बजेतिरै मिलन मृत अवस्थामा फेला परेको भन्ने खबर आयो,’ वडासदस्य ढकालले भने, ‘त्यसपछि प्रहरीसहित हामी जनप्रतिनिधिहरू घटनास्थल पुग्यौँ। त्यहाँ पुगेर हेर्दा चोटपटक लागेको र माथि भीरबाट लडेको अवस्थामा भेटेका थियौँ।’
देउडी भज्याङबाट करिब ५० मिटर तल लडेर मदन भण्डारी लोकमार्गको भुवनचुलीस्थित दायाँतर्फको नालामा टाउकोमा गम्भीर चोट लागेको अवस्थामा दंगालको शव भेटिएको उनले बताए।
यता, उक्त होटलमा पुगेका केही व्यक्तिका अनुसार मिलनलाई राति ११ बजेतिरको समयमा होटलमा देखा परेका थिए। सँगै एउटै मोटरसाइकलमा गएका पौडेललाई सोधपुछ गर्दा एउटा बोलेरो चालकसँग मिलनको झगडा परेको बताएका थिए।
अध्याँरोमा हेडलाइट डीम नगरेको विषयलाई लिएर झगडा भएको उनले बताए। दुईजनाबीच झगडा हुँदै गर्दा आफूलाई रक्सी लागेर केही थाहा नभएको र सुत्न गएको भन्ने बताएको वडासदस्य ढकालले जानकारी दिए।
त्यसोत, उनीहरू सोही दिन सेकुवा घरमा रहेको र त्यहाँ राति झडप भएपछि घटना भएको मकवानपुर प्रहरीको अनुसन्धानबाट खुलेको छ। यद्यपि, हत्या आरोपमा पक्राउ परेकाहरूले बयान फेरिरहेका कारण ठेट कुरा आउन नसकेको डीएसपी अर्यालले बताए।
‘हामी अनुसन्धानको चरणमा छौँ’ उनले भने, ‘अहिले सोधपुछको काम भैरहेको छ। घटना स्वीकार गर्ने नगर्ने भन्दा पनि एकरुपताको बयान नै आएको छैन।’
डीएसपी अर्यालका अनुसार पक्राउ परेका ४ जना युवतीहरू सेकुवा घरमा काम गर्ने गरेको प्रहरीले जनाएको छ। सेकुवा घरमा शंकास्पद गतिविधिसमेत हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
यस्तै, दानी सेकुवा घरको सम्पर्कमा सञ्चालित टाटासुमोका चालक हुन्। उक्त टाटासुमो सेकुवा घरमा आउने ग्राहकहरूलाई ओहोरदोहोर गराउन प्रयोग हुने गरेको थियो। लामा सेकुवा घरका सञ्चालक हुन्।
प्रहरीले आरोपित ७ जनालाई ज्यान सम्बन्धी कसुरको मुद्दामा मकवानपुर जिल्ला अदालतबाट बिहीबार ७ दिनको म्याद थप गरेको छ। मिलनको शव हेटौँडा अस्पतालमा पोस्टमार्टम पछि आफन्तहरूले बुझेर बिहीबार नै दाहसंस्कार गरेका छन्। मिलनको श्रीमती, एक छोरी र दुई छोरा छन्।
Shares

प्रतिक्रिया