बागमती


प्राधिकरणका केन्द्र प्रमुखमाथि कुटपिटबारे युवा संघ : ढोकामा चिप्लिएर लड्नुभयो क्यार!

डिजिटल बोर्डमा आपत्तिजनक सामग्री कसरी डिस्प्ले भयो?
प्राधिकरणका केन्द्र प्रमुखमाथि कुटपिटबारे युवा संघ : ढोकामा चिप्लिएर लड्नुभयो क्यार!

सुनिता विष्ट
चैत १२, २०८१ मंगलबार २१:५, हेटौँडा

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लेखिएको अपशब्दका विषयमा वितरण केन्द्रका कार्यालय प्रमुख वरिष्ठ इन्जिनियर रामु श्रेष्ठले बोर्ड ह्याक गरेर आफूलाई फसाइएको बताएका छन्। 

पासवर्ड ह्याक गरेर उक्त डिजिटल बोर्डमा अपशब्द लेखेर सार्वजनिक गरिएको उनले बताए।

अन्य समयमा उक्त बोर्डमा बिजुलीको मितव्ययीताका सूचनाहरु मात्रै डिस्प्ले हुन्थ्यो। सोमबार (हिजो) नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पद जाने हल्ला चलिरहेकै बेला भरतपुर वितरण केन्द्रको बोर्डमा प्रधानमन्त्रीलाई गाली गरेर लेख्ने काम कसले गर्योर? यो विषयम पेचिलो बनेको छ। 

सोमबार दिउँसो १२ बजेदेखि १ बजेसम्म यो नारा डिस्प्लेमा देखिएको थियो। बिजुलीको बिल तिर्न कार्यालय परिसर पुगेका सेवाग्राहीले हो–हल्ला गरेपछि १ बजेको समयमा उक्त नारा हटाइएको सत्तारुढ नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ, चितवनको दाबी छ।

कार्यालय प्रमुख श्रेष्ठ भने हिजो एकैछिन डिस्प्ले भएको र थाहा पाउने बित्तिकै आफूले कन्ट्रोलमा ल्याएको बताउँछन्। 

‘एउटा कार्यालय प्रमुख जस्तो व्यक्तिले यस्तो तल्लो स्तरको काम कहिल्यै गर्न सक्दैन,’ उनले नेपालखबरसँग भने,‘कार्यालयमा को को कर्मचारी थिए? सिसिटिभि फुटेज हेर्न सकिन्छ। कसरी यस्तो हुन पुग्यो भनेर साइबर सेक्युरिटीलाई अध्ययन गर्न लगाएको छु। कसैले पासवर्ड थाहा पाएर यस्तो काम गरेको हुनसक्छ।’

उक्त डिजिटल डिस्प्लेको पासवर्ड आफूसँग मात्रै भएको स्वीकार गर्दै कार्यालय प्रमुख श्रेष्ठले कसैले चोरी गरेर बोर्ड ह्याक गरेको हुनसक्ने बताए। 

युवा संघका टोलीले कुटपिट गर्दा घाइते भएको बताउँदै उनले थपे, ‘बोल्न नसक्ने अवस्थामा उपचार गराइरहेको छु। कुटपिट भएपछि ज्यान जोगाएर उपचार गराउन काठमाडौँ आएँ।’

घटनालाई अतिरञ्जित बनाउन आफ्नै कार्यालयका कर्मचारीले आज बिहान ९ बजेतिर फेसबुकमा राखिदिएको उनले बताए। आफूसँग असन्तुष्ट कर्मचारीका कारण समस्या सिर्जना भएको उनको दाबी छ।

यता, प्रधानमन्त्री विरुद्ध सरकारी कार्यालयकै बोर्डमा अपशब्द लेखिएको विषयमा जिल्ला प्रशासन कार्यालय चितवनले छानबिन सुरु गरेको छ। कार्यालयको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी ओलीविरुद्ध आपत्तिजनक शब्द लेखिएपछि कार्यालय प्रमुख सहित कर्मचारी छानबिनको दायरामा ल्याइएको छ भने कार्यालय प्रमुखलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ। 

चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलका अनुसार घटनाका सम्बन्धमा स्पष्टीकरण सोधेर कारबाही प्रकृया अगाडि बढाइएको छ।

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले विज्ञप्ति निकालेर डिजिटल बोर्ड ह्याक भएको दाबी गरेको छ। 

साथै प्रधानमन्त्री ओलीविरुद्धको नारा डिस्प्ले भएको घटनाबारे छानबिन हुनुपर्ने माग गर्दै कर्मचारीहरुको संयुक्त हस्ताक्षर सहितको विज्ञप्ति सार्वजनिक गरिएको छ।

 

के भन्छ युवा संघ?
यता, युवा संघ चितवनका सचिव उत्तम सेढाइँका अनुसार उनीहरू उक्त विषयमा बुझ्नका लागि कार्यलय प्रमुख श्रेष्ठको कार्यकक्षमा पुगेका थिए। हिजो कसरी यस्तो कुरा पोस्ट भयोर? भनेर उनीहरुले प्रश्न गरे। 

श्रेष्ठलाई उदृत गर्दै सेढाइँले भने, ‘खै कसरी भयो भनौँ। हामीले पनि पछि सेवग्राहीहरुले भन्नुभएपछि मात्रै देख्यौँ। डिजिटल बोर्ड ह्याक भयो जस्तो लाग्यो।’

युवा संघको टोलीले उनलाई विज्ञप्ति बुझाउन गएको र लिन नमानेपछि आफूहरू बाहिर निस्किएको पौडेल दाबी गर्छन्। 

‘विज्ञप्ती दिन खोज्दा लिन मान्नुभएन,’ सेढाइँले नेपालखबरसँग भने, ‘बाहिर निस्कन लाग्नु भएको थियो। ढोकामा चिप्लिएर लड्नुभयो क्यार। हामीले अरु केही गरेका छैनौँ।’

तर उनको कार्यकक्ष तोडफोड भएको तस्बिरहरू सार्वजनिक भैसकेका छन्। कार्यालय प्रमुख श्रेष्ठमाथि कुटपिट गरेर कार्यकक्ष समेत तोडफोड गरेको प्राधिकरणका कर्मचारीहरू बताउँछन्। 

यो विषयमा जिल्ला प्रशासान कार्यालय, चितवन र जिल्ला प्रहरी कार्यालय चितवनले छानबिन सुरु गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad