सरकारले बालिकालाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप लागेकी प्रदेश सांसद रेखाकुमारी शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि उद्धारकर्ता काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पीडितसँग माफी मागेका छन्।
दाङको तुल्सीपुर स्थायी ठेगाना भएकी शर्मा नेकपा एमालेबाट लुम्बिनी प्रदेश सभाकी सांसद हुन्।
उनले पढाइदिने भनेर दाङबाट एक बालिकालाई काठमाडौँ महानगरपालिका-४, बालुवाटारस्थित आफ्नो घरमा ल्याएर श्रम शोषण र हिंसा गरेको थाहा पाएपछि काठमाडौँ महानगरपालिकाले धुम्रवराह विद्यालयमा अध्ययनरत उनलाई उद्धार गरेको थियो।
यसपछि प्रदेश सांसद शर्माविरुद्ध सो विषयमा काठमाडौँ प्रहरीमा जाहेरी परेको थियो। तर सरकारी वकिलको कार्यालयले उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ।
सोही विषयमा मेयर बालेनले मंगलबार सामाजिक सञ्जालमार्फत पीडित बालिकासँग क्षमा माग्दै नआत्तिन आग्रह गरेका हुन्।
‘सरी नानु, तिम्रा पीडकका विरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले। नआत्तिनु। समय आउनेछ’, बालेनले लेखेका छन्, ‘यस्तै विभेद, अपराध मास्न अनि ति कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमीजस्तै धेरै नानीबाबुले पढ्नपर्छ । समाज बुझ्नपर्छ।’
Shares

प्रतिक्रिया