ad ad

बागमती


नयाँ वर्षमा घुम्नैपर्ने बागमतीका यी १० पर्यटकीय गन्तव्य

नयाँ वर्षमा घुम्नैपर्ने बागमतीका यी १० पर्यटकीय गन्तव्य

सिन्धुलीगढी। तस्बिर : नेपालखबर


सुनिता विष्ट
चैत ३०, २०८० शुक्रबार १८:२७, काठमाडौँ

नयाँ वर्ष भन्नेबित्तिकै प्रायः सबैले नयाँ ठाउँ घुम्न जाने योजना बनाइहाल्छन्। नयाँ ठाउँमा घुम्नु, नयाँ खानेकुरा चाख्दै नयाँ वर्ष मनाउने चाहना कसको नहोला र? 

तर घुम्न जाने ठाउँमा आफूले चाहेजस्तो सुविधा, मनोरम वातावरण तथा समयको पनि ख्याल गर्नुपर्ने हुन्छ। 

नयाँ वर्ष २०८१ मा बागमती प्रदेशका यस्ता पर्यटकीय क्षेत्रहरुमा घुम्न सकिन्छ। जहाँ पुग्नुमा रमाइलो मात्रै होइन, गर्वान्वित पनि हुन सकियोस्! 

कुन कुन हुन् त ती १० गन्तव्य?

१. सौराहा 
बागमती प्रदेशका पर्यटकीय क्षेत्रमध्ये पहिलो नम्बरमा पर्ने गन्तव्य हो चितवनको सौराहा। आन्तरिक र बाह्य दुवैखाले पर्यटकलाई यस स्थानले तानिरहेको छ। 

सौराहा विशेष गरी जंगल सफारीका लागि परिचित छ। विश्वमै दुर्लभ एकसिंगे गैंडा यहाँको अर्को आकर्षण हो। सामुदायिक वनमै राम्रो वासस्थान भएकाले यहाँ घुम्न जाने पर्यटकहरुले सहजै गैंडा देख्ने अवसर पाउँछन्। 

यसबाहेक हात्ती तथा जिप सफारीमार्फत जंगल घुम्ने र अन्य विभिन्न जनावरको अवलोकन गर्न सकिन्छ। काठमाडौंबाट नजिकको गन्तव्य भएकाले पनि चितवन तथा नवलपरासी पर्यटकका लागि पहिलो रोजाइ हुने गरेको छ।

यस ठाउँमा वाइल्डलाइफ टुरिजमको मज्जा लिन सकिन्छ। 

२. इन्द्रसरोवर ताल 
यो कृत्रिम ताल मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी खोलामा पर्छ।

बीचमा ठूलो ताल, तालमाथि बनेका साना घर अनि डुंगा सयर। त्यतिमात्रै होइन, तालमा पालिएका विभिन्न प्रकारका माछाको स्वाद चाख्दै नयाँ वर्ष मनाउनुको मज्जा झनै बेग्लै हुन सक्छ। यसलाई कुलेखानी ताल समेत भनिन्छ।

वरिपरि माथिल्लो भेगमा बस्ती तथा तल्लो भेगमा जंगलले घेरिएको सफा नीलो पानीले आन्तरिक तथा बाह्य पर्यटकलाई मन्त्रमुग्ध पार्छ। 
तालनजिकैको भेडाफार्म यहाँ घुम्न र फोटोसुटका लागि उपयुक्त स्थान पनि हो। 

३. सिन्धुलीगढी 
नयाँ वर्षमा घुम्नैपर्ने बागमतीको महत्वपूर्ण गन्तव्य हो सिन्धुलीगढी। सिन्धुली जिल्लामा रहेको सिन्धुली गढीको ऐतिहासिक महत्त्व भिन्नै छ। 

यहाँबाट गढीको अवलोकनसँगै तराईको मनोरम फाँट र उत्तरका हिमालको रमणीय दृश्य हेर्न पाइन्छ। पूर्खाको वीरताको इतिहास हेर्न यहाँ आउने धेरै हुन्छन्। सिन्धुलीगढीमा युद्ध संग्रहालयको अवलोकन गर्न पाइन्छ। 

संग्रहालयको डिजिटल बोर्डमा वीर योद्धाहरूको नामांकन गरिएको छ भने छ हजार २८१ वर्गफिटको संग्रहालयमा युद्धको झल्को दिने लोपोन्मुख सामग्रीहरू राखिएका छन्। संग्रहालयभित्र तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हातहतियार, तोप, गोला, दस्तावेज, युद्धकालीन समयमा घरेलु सेना र अंग्रेज सेनाको पोशाक प्रदर्शनलगायत सामग्री हेर्न पाइन्छ। 

यस्ता ऐतिहासिक पर्यटकीय क्षेत्रको भ्रमण गरेर नयाँ वर्ष मनाउँदा रमाइलो नहुने त कुरै भएन।

४. दोलखाको सय थुम्का
दोलखाको शैलुङस्थित ‘सय थुम्का’ देशकै रमणीय पर्यटकीयस्थलका रूपमा परिचित छ।

समुद्री सतहबाट करिब ३४ सय मिटर उचाइमा अवस्थित ‘सय थुम्का’ अछिल्लो समय आन्तरिक पर्यटकको रोजाइको स्थल बनिरहेको छ। गर्मी छल्दै नयाँ वर्ष मनाउनका लागि सय थुम्का उत्कृष्ट गन्तव्य बन्न सक्छ। 

प्रत्येक थुम्काबाट पर्यटकले आकर्षक दृश्यावलोकन गर्न पाउँछन्। शैलुङ डाँडाबाट मनमोहक गौरीशङ्कर, सगरमाथा, माछापुच्छ्रे, गणेश हिमाललगायतका हिमाल र काठमाडौँ उपत्यकासँगै तराईका केही भाग देखिन्छ। 

चारैतिर देखिने मनोरम हिमशिखरहरू, वनैभरि नाच्ने डाँफेमुनाल, चौँरी र विभिन्न जातजातिका चराचुरुङ्गी एवं जङ्गली जनावरले शैलुङका डाँडाकाँडामा जोकोही रमाउन सक्छन्। त्यसैले, नयाँ वर्षमा घुम्न जाने सोत बनाउँदै हुनुहुन्छ भने दोलखाको शैलुङ पनि महत्वपूर्ण पर्यटकीय गन्तव्य हो। 

(क्रुज एक्स क्रुज)

५. नुवाकोट दरबार
काठमाडौं लगायत क्षेत्रबाट पनि नजिक। रमणीय बतावरण। सहरको कोलाहालबाट अलि पर शान्त ठाउँ हो नुवाकोट दरबार। नुवाकोटको साततले दरवार ऐतिहासिक तथा पर्यटकीय क्षेत्र हो।

काष्ठकलामा भएको मार्मिकताले दरबारको सुन्दरतालाई मात्र बढाएको छैन, पुरातत्वको एउटा अनुपम उदाहरण पनि बनेको छ। डाँडामा रहेको दरबारबाट देखिने मनोरम दृश्यले साँच्चै मनै लोभ्याउँछ भन्दा फरक पर्दैन। 

दरबार परिसर करिब ९ सय ७० मिटर उचाइमा छ। जसले गर्दा दरबार परिसर प्राकृतिक भ्यु–टावर पनि बनेको छ।

यहाँबाट रानीपौवा, थानसिंङ फाँट, ढिकुरेफाट, विदुर बजार, पीपलटार, बट्टार, सामरी भञ्ज्याङ, खड्क भञ्ज्याङ, जिलिङलगायत दर्जनौ गाउँ र बस्तीहरु अवलोकन गर्न सकिन्छ। जुन गाउँ र भञ्ज्याङको बीचमा बग्ने त्रिशूली र तादी खोलाले मनै शान्त पारिदिन्छ।

६. रसुवागढी
रसुवा जिल्लामा पर्ने रसुवागढी पनि पर्यटकीय तथा व्यापारिक हिसाबले महत्त्वपूर्ण क्षेत्र हो।

समुद्र सतहदेखि करिब ६ हजार फिटको उचाइमा अवस्थित रसुवागढी नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा क्षेत्रमा छ।

पर्यटकीय गन्तव्यको हिसाबले रसुवागढी पनि एक उचित गन्तव्य हो। ऐतिहासिक, पर्यटकीय महत्वको रुपमा गोसाइकुण्ड, ट्रेकिङका लागि लाङटाङ क्षेत्र, नागथली, पार्वती कुण्ड र रसुवागढी छन्। 

७. नगरकोट
काठमाडौँबाट करिब ३५ किमिको दूरीमा रहेको नगरकोट पर्यटकीय गन्तव्यको एक उत्कृष्ट रोजाइ हो। यो ठाउँ प्राकृतिक रूपले समेत सुन्दर छ त्यसैले पनि धेरैको रोजाइमा पर्ने गरेको छ नगरकोट। 

नयाँ वर्षको हर्षोल्लास व्यक्त गर्ने उचित गन्तव्य हो नगरकोट। त्यहाँको प्राकृतिक सौन्दर्यले मोहित बनाइदिन्छ।

मनोरम हिम शृङ्खला सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न पाउनु त्यहाँका थप आकर्षण हुन्। आसपासका दृश्य हेर्न त्यहाँ भ्यु टावर बनाइएको छ। नगरकोटमा स्तरीय रिपोर्टको कमी छैन भने जलपादेवी, कालीदेवी, महादेव कुण्डजस्ता देवस्थल पनि छन्। 

८. लटारम्भेश्वर
काठमाडौंबाट छोटो दूरीमा नै पुग्न सकिने रमणीय गन्तव्य हो मकवानपुरको भीमफेदी गाउँपालिका ८ मा अवस्थित लटारम्भेश्वर।

काठमाडौंको धूलो, धूवाँ र कोलाहलबाट मुक्त भएर शान्त ठाउँमा घुम्ने सोच बनाउनेहरुको लागि आकर्षणको केन्द्रविन्दु पनि हो यो ठाउँ।

काठमाडौंबाट लटारम्भेश्वरसम्म पुग्न कान्तिराजपथको बाटो ४५ किलोमिटरको यात्रा गर्नुपर्ने हुन्छ। यसपछि लगभग १ घण्टा पैदल हिँडेपछि पुगिन्छ।

डब्लु डाँडा भनेर समेत परिचित रहेको यस ठाउँको शिखरमा पुगेर रमणीय दृश्य अवलोकन गर्दा स्वर्गको एक अंश भनेर व्याख्या गर्न मन पराउँछन् आन्तरिक पर्यटकहरु।

हेटौंडा र काठामाडौंबाट उत्तिनै दूरीमा पर्ने यस लटारम्भेश्वरमा दिनहुँ सयौं मानिसहरु भगवानको दर्शन गर्न, घुम्न तथा ट्रेकिङ गर्नसमेत आउने गरेका छन्। नयाँ वर्षको दिन भगवानको आरधाना पनि गर्ने सोचमा हुनुहुन्छ भने तपाईंका लागि यो उत्कृष्ट गन्तव्य बन्नसक्छ।

९. काठमाडौँ उपत्यका
काठमाडौँमै बस्ने मानिसहरुलाई पो उपत्यका बाहिर घुम्न जाने रहर हुन्छ, बाहिरी जिल्लाका मानिसलाई त उपत्यका घुम्ने पनि रहर पनि हुन्छ नि होइन त? त्यसैले उपत्यकाबाहिरका मानिसहरुलाई काठमाडौँ उपत्यका पनि घुम्नका लागि महत्वपूर्ण स्थान बन्नसक्छ। 

काठमाडौँ, ललितपुर, भक्तपुरमा रहेका ऐतिहासिक धार्मिक स्थलहरु तथा पर्यटकीय गन्तव्यको अवलोकन गर्न सकिन्छ। 

काठमाडौँमा घुम्नको लागि विश्वसम्पदा सूचीमा परेका ७ वटा सम्पदाहरू छन्। यसले काठमाडौँ शहरलाई विश्वप्रसिद्ध शहरको रूपमा चिनाएको छ। यो नेपालको राजधानि हो यस ठाउँ भएर देशका विभिन्न पर्यटकीय स्थलहरुमा जाने गरिन्छ। 

यो ठाउँ प्राचीन कला, कौशल, संस्कृति, सभ्यता एवं ऐतिहासिक श्रोतको भण्डार पनि हो। देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल यसै क्षेत्रमा छ। यहाँ घुम्नको लागि नागार्जुन, शिवपुरी, चन्द्रागिरि र कीर्तिपुर उपयुक्त स्थान हुन्।

१०. चिसापानी
नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौंको संगमस्थल चिसापानी नयाँ वर्षको अवसरमा घुम्नैपर्ने गन्तव्य हो।

जहाँ पुग्न सुन्दरीजलबाट करिब सात घण्टा हाइकिङ गरेर पुग्न सकिन्छ। घना जंगल र तामाङ बस्तीहरूको अवलोकन गर्दै सात घण्टा यात्रा गरेर चिसापानी पुगेपछि भने स्वर्गको एक टुक्रामै पुगेझैं अनुभूति हुन्छ। 

शिवपुरी निकुञ्जमा टिकट काटेर जंगल र बस्ती छिचोल्दै चिसापानी डाँडामा पुग्न सकिन्छ। गौरीशंकर, लाङटाङ हिमालको मजाले दृश्यावलोकन गर्न सकिने यहाँ हाइकिङ गर्दै नयाँ वर्ष २०८१ लाई स्मरणीय बनाउन चिसापानी अब्बल गन्तव्य हो।

चिसापानी ड्याम (हिमालयन सिनरी ट्रेक एन्ड एक्सपिडिसन)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .