बागमती


बागमतीमा एकीकृत समाजवादीको दोधार : विश्वासको मत दिन पनि सक्छौँ, नदिन पनि सक्छौँ

बागमतीमा एकीकृत समाजवादीको दोधार : विश्वासको मत दिन पनि सक्छौँ, नदिन पनि सक्छौँ

सुनिता विष्ट
चैत १८, २०८० आइतबार १६:१७, हेटाैंडा

बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार (१९ चैतमा) सदनबाट विश्वासको मत लिँदैछन्।

गत २३ फागुनमा प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि माओवादी नेतृत्वको सरकार अल्पमतमा परेको थियो।

सरकारलाई समर्थन गरेका दलले समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था बमोजिम उनले सोमबार सदनबाट विश्वासको मत लिन लागेका हुन्।

केन्द्रीय सत्ता समीकरण अनुसार बागमतीमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गरी तीन दल मात्रै छन् भने बागमतीमा मात्रै प्रतिनिधित्व गरेको हाम्रो नेपाली पार्टी (हानेपा) प्रदेश सरकारमा सामेल छ।

सरकार जोगाउन मुख्यमन्त्री जम्मकट्टेलले बिहीबार हानेपा संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रीमा नियुक्त गरेका थिए। यद्यपी हानेपाबाट मन्त्री बनेका बज्राचार्य पार्टीको स्वीकृतिबेगर सरकारमा गएको भन्दै विश्वासको मत नदिन सो दलले चेतावनी दिएको छ।

२ जना सांसद रहेको हानेपाका दुवै सा‌ंसदले सरकारलाई साथ दिए बागमती सरकारको पक्षमा ५७ सांसद हुन्छन्। बागमती सरकार जोगाउन ५६ सांसदको समर्थन आवश्यक हुन्छ। एमालेका २७, माओवादीका २१, एकीकृत समाजवादीका ७ र हानेपाका २ गरी ५७ सांसदसहित सत्ता जोगाउने प्रयासमा जुटेका मुख्यमन्त्रीलाई भने गठबन्धनमा रहेकै दलले साथ छाेड्ने चेतावनी दिएका छन्।

राजनीतिक भागबण्डा चित्त नबुझाएको नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिनबारे स्पष्ट देखिएको छैन।

एकीकृत समाजवादी बागमती संसदीय दलका नेता कृष्ण प्रसाद खनाल बागमतीमा आफूहरूले सरकारको नेतृत्व पाउनुपर्ने दाबी गर्छन्। मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिनेबारे उनले प्रष्ट जवाफ दिएनन्।

‘केन्द्रको सहमति अनुसार एक प्रदेशको नेतृत्व नेकपा एसले पाउनुपर्छ भन्ने थियो। अन्य प्रदेशमा हाम्रो सम्भावना न्यून छ। त्यसकारण केन्द्रीय तहका नेताज्यूहरूले पनि बागमतीको नेतृत्वमा पहल गरिरहनु भएको थियो’ नेता खनालले नेपालखबरसँग भने, ‘मुख्यमन्त्रीज्यूले विश्वासको मत माग्न पनि पाउनुहुन्छ। मन्त्री नियुक्त, गर्नु पनि उहाँको अधिकार हो। तर उहाँलाई विश्वासको मत दिने कि नदिने भन्ने चाहिँ हाम्रो कुरा हो।’

केन्द्रले प्रदेशको नेतृत्वको विषयमा कुनै निर्णय नगर्दै जम्कट्टेल नेतृत्व लिन हतारिएको भन्दै विश्वासको मत नदिन सक्ने उनले संकेत गरे।

‘हामीले दिनै पर्छ भन्ने छैन। गठबन्धनमा निर्णय नहुँदासम्म यही गर्छौँ भनेर भन्न सक्ने अवस्था छैन। यो नै हाम्रो प्रष्ट कुरा हो’ उनले भने।

सोमबार नेकपा एसका सांसद सदनमै उपस्थित नहुने र सरकार ढाल्ने रणनीति हो? भन्ने नेपालखबरको प्रश्नमा उनले त्यसको जवाफ संसदको रोष्ट्रमबाटै दिने बताए।

उनले भने, ‘विश्वासको मत नदिए पनि नदिनुको कारण त रोष्ट्रममा उभिएर भन्नुप‍र्‍यो। दिनपरेछ भने दिनुको कारण भन्नुपर्‍यो। सभामुखको रुलिङ मान्न भए पनि सदनमा हाम्रा दलको सबै सांसदको उपस्थिती रहन्छ।’

सात दलकी प्रतिनिधित्व रहेको बागमती प्रदेश सभामा नेकपा एसको ७ सिट छ। नेकपा एसका केन्द्रीय नेताहरूले समेत बागमती नेतृत्व ताकिरहेका थिए। तर मुख्यमन्त्रीले विश्वासको मत लिने दिन तय गरेपछि सत्ता साझेदार दल नेकपा एस असन्तुष्ट बनेको हो।

यदी उसले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत नदिएको अवस्थामा माओवादी नेतृत्वको सरकार अल्पमतमा पर्छ।

११० सदस्य रहेको बागमतीमा सरकारलाई ५६ सांसदको समर्थन आवश्यक हुन्छ। मुस्किलले ५७ सांसदको समर्थन जुटाएका जम्मकट्टेललाई नेकपा एसका ७ सांसदले साथ छोडेको खण्डमा सरकार ढल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .