ad ad

बागमती


विद्यालयमाथि ढुंगाले भरिएका जीर्ण डब्बा, विद्यार्थी–शिक्षकको ज्यान जोखिममा

विद्यालयमाथि ढुंगाले भरिएका जीर्ण डब्बा, विद्यार्थी–शिक्षकको ज्यान जोखिममा

सुनिता विष्ट
माघ २०, २०७९ शुक्रबार ९:५१, हेटौँडा

हेटौंडा उपमहानगरपालिका–९, स्थित त्रिवेणी आधारभूत विद्यालयका कक्षाकोठा सामुन्ने माथि चुनढुंगाले भरिएका रोपवेका जीर्ण डब्बाहरू झुन्डिरहेका छन्।

खिया लागेका तारमा झुन्डिरहेका ती डब्बा कति बेला खसेर लाग्ने हो, त्रासमा छन्– विद्यार्थी र शिक्षक। 

सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले चुनढुंगा ढुवानीका लागि २२ वर्षअघि सञ्चालन गरेको रोपवे नहटाउँदा स्कुलका बालबालिका र शिक्षकको ज्यान जोखिममा परेको हो।

०४२ मा उद्योगले आफ्नो खानीबाट सिमेन्ट उत्पादन क्षेत्रसम्म चुनढुंगा ढुवानीका लागि स्थापना गरेको रोपवे १४ वर्ष सञ्चालन भएर ०५६ देखि बन्द भएको थियो। तर, त्यसका डब्बा, तार अहिलेसम्म नहटाइँदा स्कुले बालबालिका तथा शिक्षक दुर्घटनाको जोखिममा परेका हुन्। 

झरेर लाग्ला भन्ने चिन्तामा विद्यार्थी
सिमेन्ट उद्योगको रोपवेका डब्बाहरू सबै खिया लागेका छन्, तार जीर्ण भइसकेका छन्। डब्बामा चुनढुंगा भरिएकाले लोड धान्न नसकेर जुनसुकै बेला खसेर बालबालिकालाई लाग्ने हो कि भन्ने चिन्ता विद्यालय प्रशासनलाई छ।

रोपवे चुँडिएला कि भन्ने डर लागिरहने कक्षा ८ मा अध्ययनरत रुस्का नेपाली बताउँछिन्। ‘रोपवेका कारण खेल्न, कक्षामा बस्न डर लाग्छ, त्यसैले यो हटाइदिए हुन्थ्यो भन्ने लागेको छ’, उनले भनिन्। 

त्यस्तै सोही विद्यालयकी अर्की छात्रा अनिता मोक्तान पनि रोपवेका कारण विद्यालयमा जोखिम बढेको बताउँछिन्। उनले भनिन्, ‘कक्षामा बस्दा अथवा खेलिरहेको बेला झर्छ कि भन्ने डर लाग्छ। यो हटाइदिए हुन्थ्यो भन्ने लागेको छ।’

उद्योगकै भूमिमा विद्यालय हुँदा सास्ती
उक्त विद्यालयको भवन हेटौंडा सिमेन्टकै जग्गामा झन्डै ३ दशकअघि निर्माण गरिएको थियो। जसलाई कारण देखाउँदै सिमेन्ट उद्योगले विद्यालय भवनमाथि नै झुन्डिरहेको ढुंगासहितको रोपवे हटाउन बेवास्ता गरिरहेको गुनासो छ।

विद्यालयकी प्रधानाध्यापक सुशीला पौडेलले करिब तीन सय विद्यार्थी विद्यालय परिसरमै दुर्घटनाको जोखिमबीच अध्ययन गर्न बाध्य भएको बताइन्।

‘सिमेन्ट उद्योगको रोपवेका डब्बाहरू सबै खिया लागेका छन्, तार जीर्ण भइसकेको छ’, उनले भनिन्, ‘डब्बामा चुनढुंगा भरिएकाले लोड धान्न नसकेर डब्बा झरेर जुनसुकै बेला बालबालिका ठूलै दुर्घटनामा पर्ने हुन् कि भन्ने चिन्ता लागिरहेको छ। फलामको तार न हो, खिया लागेर कुन बेला चँुडिन्छ, थाहा हुन्न। हावाहुरी आउँदा अथवा अन्य विपद्‌को अवस्थामा यो चँुडिने त्रास उत्तिकै छ।’ 

उनले सिमेन्ट उद्योगको हेलचक्र्याइँका कारण दुर्घटनाको जोखिम मोलेर वर्षौँदेखि अध्ययन गराउने शिक्षकहरू पनि उत्तिकै चिन्तामा रहेको बताइन्।

त्यसो त विद्यालयले सिमेन्ट उद्योगलाई उक्त रोपवेका डब्बा हटाउन आग्रह नगरेको भने होइन। तर सिमेन्ट उद्योगकै जग्गामा विद्यालय रहेका कारण विद्यालय प्रशासनको कुरामा उद्योगले ध्यान नदिएको हुन सक्ने बताइएको छ। पौडेलका अनुसार ०४६ मा रोपवे सञ्चालन रहेकै अवस्थामा सिमेन्ट उद्योगले १० कट्ठा जग्गा उपलब्ध गराएपछि विद्यालय स्थापना गरिएको हो।

रोपवे सञ्चालनका बेला उद्योगका प्राविधिकहरूले कुनै असर नपर्ने भनेपछि विद्यालय सञ्चालनमा ल्याइएको प्रधानाध्यापक पौडेलले बताइन्।

‘म २०/२५ वर्षदेखि यही विद्यालयमा कार्यरत छु, सुरुदेखि नै रोपवे सञ्चालन भइरहेको देखेकी हुँ’, उनले भनिन्, ‘रोपवे बन्द भएदेखि नै विद्यालय क्षेत्रबाट मात्र भए पनि हटाउन अनुरोध गरेका छौँ। तर, उद्योगले बेवास्ता गर्दै आएको छ।’ विद्यार्थी टावरमा चढ्ने, तारमा झुन्डिन खोज्ने कारण जोखिम अझै बढेको उनले बताइन्।

२३ वर्षसम्म पनि सिमेन्ट उद्योगले रोपवे पुनः सञ्चालन गर्न नसकेको अवस्थामा जीर्ण बनेका संरचना नहटाउँदा विद्यालय मात्र नभई भीमफेदी गाउँपालिका–१ भैँसेदेखि हेटौँडा उपमहानगरपालिका–१, ९, १० नम्बर वडाका बासिन्दासमेत दुर्घटनाको जोखिममा छन्।

स्थानीय तहलाई टेर्दैन उद्योग
त्यसो त यस विषयमा स्थानीय तहका जनप्रतिनिधिहरूले पनि धेरैपटक जोखिमयुक्त रोपवे हटाइदिन अनुरोध नगरेका होइनन्। हेटौंडा उपमहानगरपालिका ९ का वडाध्यक्ष सुकराम केसीले उद्योगले स्थानीय तहको कुरा नमानेको बताए।

‘अहिले मात्रै होइन, अघिल्लो कार्यकालमा म वडासदस्य हुँदा पनि हामी सबै टिमले नै त्यो डब्बा निकाल्न पटकपटक आग्रह गरेका हौं’, उनले भने, ‘त्यो विद्यालय एकदमै जोखिममा छ। हामीले भन्दा सबै डब्बाहरू एकैपटक निकाल्छौं भन्नुहुन्छ। तर वर्षौं भइसक्यो रोपवे निकाल्नेतर्फ ध्यान दिएकै छैन। दुर्घटनाको जोखिममा छन्– हाम्रा वडाका विद्यार्थीहरू। जति भने पनि सुनुवाइ नै हुँदैन।’

उनका अनुसार वडा कार्यालयले पटकपटक डब्बा निकाल्न ध्यानाकर्षण गराए पनि यसलाई सिमेन्ट उद्योगले गम्भीर रूपमा लिएको छैन। 

लिलामी प्रक्रियामा छ, हटाउँछौं : महाप्रबन्धक पाण्डे
हेटौंडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डे रोपवे लिलामी प्रक्रियामा गएको र अबको केही समय भित्रै हटाइने बताउँछन्। ‘त्यो विद्यालय माथि रहेको डब्बा मात्रै होइन, सबै ठाउँका डब्बाहरू निकाल्ने प्रक्रिया अघि बढेको छ’, उनले भने, ‘एक ठाउँको मात्रै निकाल्न सम्भव हुँदैन।

सबै स्थानबाट रोपवे निकाल्न टेन्डर आह्वान गरेका छौं। त्यसपछि उक्त विद्यालयसहित सबैतिरको समस्या हल हुन्छ।’ 

यस्तो छ रोपवेको इतिहास
०३३ मा स्थापना भएको सिमेन्ट उद्योगले भीमफेदी गाउँपालिका–१ स्थित भैँसे खानीबाट कच्चा पदार्थ चुनढुंगाा ढुवानी सहज गराउन ०४२ सालदेखि रोपवे सञ्चालनमा ल्याएको थियो। करिब १४ वर्ष निरन्तर सञ्चालन भएको रोपवेले त्यसबेला दैनिक १२ मेट्रिकटन चुनढुंगा ढुवानी गथ्र्यो। स्थापनाको करिब ७–८ वर्षपछि रोपवेबाट ढुवानी हुने चुनढुंगाा नपुगेपछि सवारीसाधनको प्रयोग थालियो। 

१० वर्षपछि रोपवेमा प्राविधिक समस्या धेरै आउन थालेपछि खर्च निकै बढेकाले ०५६ सालबाट चुनढुंगा सवारीसाधनबाट मात्र ढुवानी गर्ने गरी रोपवे पूर्ण रूपमा बन्द गरिएको थियो।

उद्योगदेखि भैँसे खानीसम्म १८ किलोमिटर दूरीमा रहेको रोपवेका आठवटा टर्मिनल, सातवटा स्टेसन र तीन सय ५३ वटा टावर छन्। रोपवे बिहान ६ देखि राति १० बजेसम्म दुई सिफ्टमा सञ्चालन गर्ने गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .