ad ad

अटो


कर घटेपछि नेपाल आउँदै छन् यी कम्पनीका विद्युतीय कार

कर घटेपछि नेपाल आउँदै छन् यी कम्पनीका विद्युतीय कार

वसन्त अर्याल
जेठ २३, २०७८ आइतबार १०:५७,

सरकारले विद्युतीय गाडीमा कर घटाएसँगै नयाँ मोडलका कार नेपाल भित्रिने भएका छन्।

आर्थिक अध्यादेश २०७८ मार्फत अन्तःशुल्क खारेजसँगै भन्सार महशुल समेत घटेपछि व्यवसायीहरु नयाँ गाडी आयात गर्न तयार भएका हुन्।

अटो व्यवसायीले यसअघि नै विद्युतीय गाडी नेपाल ल्याउन घोषणा गरे पनि गत वर्ष विद्युतीय गाडीमा ह्वात्तै कर बढाएपछि स्थगन गरेका थिए।

गत वर्ष भन्सारमा आएका गाडी समेत नेपाल भित्रिन सकेनन्। सरकारले बजेट घटाएसँगै १ वर्षदेखि भन्सारमा रहेका गाडी भित्रिन थालेको भन्सार कार्यलयले जनाएका छन्।

चर्चिच ब्रान्ड टाटा र निसानले पहिल्लै ल्याउने घोषणा गरेपछि कर बढाएपछि योजना स्थगन गरेका थिए।

गत वर्ष नै ल्याउने योजना भएको टाटाको इभी नेक्सन र निसान ब्रान्डको निसान लिफ रोकिएका थिए। उक्त कम्पनीहरुले नेपालमा कर बढेकाले विद्युतीय गाडी तत्काल बिक्री गर्न नसकिने बताएका थिए।

हुन्डाई, एमजी, बीवाईडी, महेन्द्रा लगायतका कम्पनीले भने युवराज खतिवडा अर्थ मन्त्रालयबाट हटेसँगै विद्युतीय गाडीमा थप गरिएको अन्तःशुल्कमा संशोधनपछि केही गाडी भित्र्याएका थिए।

तर पहिलाको वर्षको तुलनामा एक चौथाइ गाडी पनि आयात नभएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

संसद विघटनसँगै चुनावी सरकारको रुपमा परिणत भएको सरकारले विद्युतीय गाडीमा बढाएको कर घटाएसँगै अटो व्यवसायी उत्साहित भएका छन्।

टाटा र निसानले नयाँ विद्युतीय गाडी ल्याउने विषयमा तयारी सुरु भएको जानकारी दिएका छन्।

सबै गाडीमा ४० प्रतिशत भन्सार लगाउँदै आएको सरकारले अब १०० किलोवाट मोटर भएका विद्युतीय गाडीमा १० प्रतिशत मात्रै भन्सार लगाउने भएको छ।

मोटर १०० देखि २०० किलोवाट भए १५ प्रतिशत भन्सार लाग्नेछ।

मोटरको पिकपावर २०० किलोवाटदेखि ३०० किलोवाटसम्मका गाडीको लागि ३० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरिएको छ।

पिकपावर ३०० किलोवाटभन्दा बढीका कार, जिप र भ्यानमा ४० प्रतिशत भन्सार लाग्नेछ।

निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटेकर्पले अबको डेढ महिनमा निसान लिफ नेपाल आइपुग्ने जनाएको छ।

‘सरकारले कर घटाएसँगै हामी निसान लिफ नेपाली बजारमा भित्र्याउन आतुर छौँ’, पायोनियोर मोटोकर्पका एसिस्टेन्ट जनरल म्यानेजर ज्ञानेन्द्र चन्दले भने, ‘अबको डेढ महिनामै नेपाली बजारमा ल्याउने लक्ष्य रहेको छ।’

२०१० मा जापानमा सार्वजनिक भएको निसान लिफ जापानबाटै इम्पोर्ट हुने चन्दले जानकारी दिए।

उनले उन्नत फिचर र उत्कृष्ट लुक भएको निसान लिफ विश्वव्यापी रूपमा सबैभन्दा धेरै बिक्री हुने सवारीका रूपमा परिचित रहेको बता।

निसान लिफ हचब्याग सेगमेन्टको विद्युतीय गाडी हो। विश्वमा पछि सार्वजनिक भएका विद्युतीय गाडी नेपालमा आउँदा पनि निसान लिफ भने आउनसकेको थिएन।

निसानले ४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने सो गाडीमा अत्याधुनिक इ–पेडल टेक्नोलोजी पनि समावेश गरिएको जनाएको छ।

पछिल्लो समय कार सेगमेन्टमा राम्रो बजार विस्तार गरेको टाटाले एसयूभी सेगमेन्टमा नेक्सन इभी भारतमा २०१९ को अन्तिममा सार्वजनिक गरेको थियो।

नेपालमा टाटाको लागि आधिकारिक वितरक सिप्रदी टेड्रिङले गत वर्षकै २०२० कै अप्रिलसम्म नेपाल आउनसक्ने बताएको थियो। तर महामारीसँगै विद्युतीय गाडीमा कर बढेपछि इभी नेक्सन ल्याउने योजना रद्द गरेको थियो।

‘अहिले भारतमा टाटा कम्पनीसँग इभी नेक्सन ल्याउने विषयमा छलफल भइरहेको छ’, सिप्रदी ट्रेडिङका एक अधिकारीले भने, ‘भारतमा महामारीको कारण उत्पादनमा कमी आउँदा तत्काल डेलिभर गर्न सक्छ कि सक्दैन भन्ने विषयमा छलफल भइरहेको छ।’

टाटाले गत वर्ष नेपालमा हचब्याग अल्ट्रोज सार्वजनिक गरे पनि महामारीका कारण कम्पनीले पर्याप्त मात्रमा डेलिभरी गर्नसकेको थिएन।

‘गत वर्ष अल्ट्रोज हामीले सार्वजनिक गरे पनि कम्पनीले सप्लाई समयमा दिन सकेन’, उनले भने, ‘हामी विद्युतीय गाडी फरक प्रविधिको भएकाले पूर्वतयारी गरेर मात्रै भित्र्याउँछौँ।’

नेपालमा टाटा सबैभन्दा धेरै नेटवर्क रहेका छन्। कम्पनीले विद्युतीय गाडीको लागि अवश्यक पर्ने पूर्वाधार नेटवर्कमार्फत विस्तार गर्ने योजना रहेको छ।

‘टाटाले चाजिङ स्टेसन लगाएको कुरामा कति सहयोग गर्छ, त्यसैअनुसार हामीले योजना बनाउँछौँ’, सिप्रदीले भनेको छ।

नेक्सन इभीले फुलचार्जमा झन्डै ३०० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ।

यसमा रहेको ब्याट्री चार्ज गर्न घरायसी चार्जरबाट ८ घण्टा लाग्छ भने डिसी फास्ट चार्जरबाट १ घण्टामा ८० प्रतिशत चार्ज गर्न सकिन्छ।

त्यस्तै केही महिनाभित्रै विशाल ग्रुपले चिनियाँ कम्पनी ग्रेटवालका विद्युतीय गाडी भित्र्याउँदै छ।

गत डिसेम्बरमा ग्रेटवाल मोटर्सले विशाल ग्रुपअन्तर्गतको भिजी इम्पेक्स प्रालि नेपालको आधिकारिक वितरक नियुक्त गरेको छ।

भिजी इम्पेक्सले ग्रेटवाल र हावल ब्रान्डका गाडी नेपाल भित्र्याउने जनाएको छ।

कम्पनीले विद्युतीय गाडीमै सस्तो मानिने ग्रेटवालको ओराआर वान केही महिनाभित्रै नेपाल ल्याउने तयारी गरेको छ।

कम्पनीले केही समयपछि यसको बारेमा जानकारी दिने उल्लेख गरेको छ।

हाल नेपालमा हुन्डाईको कोना र आयोनिक, कियाको निरो, एमजीको इजेटएस, बीवाईडीको ई६, एम ३, टी ३, महिन्द्राको ईटुओ, दी गोको ई८ विद्युतीय गाडी नेपाली बजारमा उपलब्ध छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .