ad ad

अटो


उपत्यकाका आठ स्थानमा ट्राफिक लाइटको मर्मत तथा जडान पूरा

उपत्यकाका आठ स्थानमा ट्राफिक लाइटको मर्मत तथा जडान पूरा

रमेश पाेख्रेल
असार ३१, २०७६ मंगलबार ११:५,

सडक विभागले जडान गरेको आठ स्थानका ट्राफिक लाइटको मर्मतसम्भार गरिएको छ। विभागअन्तर्गत रहेको सडक सुरक्षा तथा ट्राफिक शाखाका अनुसार काठमाडौँ उपत्यकाभित्र सिंहदरबार, पद्मोदयमोड, तीनकुने, कालीमाटी, बागबजार, गौशाला, मित्रपार्क र पुरानो बानेश्वरमा ट्राफिक लाइट जडान तथा मर्मत गरिएको छ।

तीनकुने, कालीमाटी, पुरानो बानेश्वर चोक, गौशाला र मित्रपार्कमा नयाँ लाइटहरु जोडिएको हो भने अन्य स्थानमा रहेका पुरानै ट्राफिक लाइट मर्मत गरी सञ्चालनमा ल्याउन लागिएको सडक विभागका प्रवक्ता शिवहरी सापकोटाले जानकारी दिए। तीनकुनेमा विद्युतको तार जोड्न बाँकी भएकाले त्यसमा बत्ती बाल्न केही समय लाग्ने उनले बताए।

ट्राफिक लाइट सञ्चालनमा आएसँगै प्रहरीलाई ट्राफिक व्यवस्थापनमा सहज हुनेछ। हाल अधिकांश सडकका ट्राफिक लाइटले काम गरेका छैनन्। उपत्यकामा २० भन्दा बढी स्थानका ट्राफिक बत्ती बिग्रिएका छन्। सडक विभागका अनुसार उपत्यकाको १ सय ३९ स्थानमा ट्राफिक लाइट जडान गरिएको छ। अब अत्याधुनिक ट्राफिक बत्ती राख्ने प्रक्रिया सुरु गरिएको पनि प्रवक्ता सापकोटाले बताए।

कतिपय स्थानमा ट्राफिक लाइट नै नहुँदा र कति स्थानमा भएका लाइटले पनि काम नगर्दा ट्राफिक व्यवस्थापन मिलाउन अप्ठ्यारो हुँदै आएको छ। यसका कारण ट्राफिक प्रहरीले हातको सङ्केतले यातायात आवागमनको व्यवस्थापन गर्दै आएको छ। दुईपट्टि प्रहरी बस्दा एक जनाले जान सङ्केत गर्ने र अर्कोले रोक्न सङ्केत गर्ने अवस्था समेत दोहोरिने हुँदा मानवीय नियन्त्रणले दुर्घटनाको जोखिम बढ्छ। ट्राफिक लाइट जडानका लागि विभागले प्रजील कन्स्ट्रक्सनलाई ठेक्का दिएको थियो । उक्त कम्पनीले ९७ लाख ५० हजार रुपैयाँमा उक्त टेन्डर पारेको थियो।

२०२३ सालमा सुन्धारा, न्युरोड गेट, सिंहदरबार र दरबारमार्गमा पहिलोपटक ट्राफिक लाइट जडान गरिएको थियो। तर अहिले तीमध्ये कुनै पनि स्थानका ट्राफिक लाइट चालू अवस्थामा छैनन्। वि.सं. २०५८ सालमा जापान सरकारको सहयोगमा रिङरोडका विभिन्न स्थानमा र कोटेश्वर–भक्तपुर सडकमा जडान भएका २० वटा ट्राफिक लाइटमध्ये पनि धेरैजसो काम नलाग्ने अवस्थामा पुगिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .