ad ad

अटो


हिमालयले विमानस्थललाई २२ करोड तिर्न बाँकी

हिमालयले विमानस्थललाई २२ करोड तिर्न बाँकी

रमेश पोख्रेल
असार १९, २०७६ बिहिबार ७:१९,

तीनवटा एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २५ करोड बक्यौता रकम नतिरेको पाइएको छ। यो मध्ये सबैभन्दा ठूलो रकम हिमालयले तिर्न बाँकी छ।

विमानस्थलले बारम्बार ताकेता गरे पनि हिमालय, सौर्य र सिम्रिक एयरले कुल २४ करोड ९३ लाख बक्यौता तिरेका छैनन्। विमानस्थलका अनुसार हिमालयले विमानस्थलको सेवा शुल्कबापतको २२ करोड बक्यौता तिर्न बाँकी छ।

सौर्य एयरलाइन्सले १ करोड ७४ लाख र सिम्रिक एयरले एक करोड १९ लाख सेवा शुल्कबा पतको बक्यौता रकम तिर्न बाँकी रहेको छ।

विमानस्थलसँग हिमालय एयरलाइन्सले उक्त बक्यौता तिर्ने समय एक महिना माग गरेको छ। बक्यौता नतिरे जहाज ग्राउन्ड गर्ने चेतावनी विमानस्थलले दिँदै आएको छ। विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले हिमालयलाई एक महिनाको समय दिएको बताएका छन्।

नेपाल र चीनका लगानीकर्ताको संयुक्त लगानीमा सन् २०१४ अगष्टमा स्थापित हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानतर्फ मलेसियाको क्वालालम्पुर, साउदीको अरेबियाको दमाम, युएईको दुबई र कतारको दोहामा उडान गर्दै आएको छ। यसअघि सौर्य एयरलाइन्सलाई बक्यौता नतिरेको भन्दै उडान र अवतरण रोक लगाइएको थियो।

विमानस्थल महाप्रबन्धक क्षेत्रीका अनुसार हालसम्म पुरानो बक्यौता भएका एयर एसिया, हिमालय एयरलाइन्स, सौर्य एयरलाइन्सलगायतलाई बारम्बार ताकेता भइरहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को विमानस्थल सेवा शुल्क नियमावलीअनुसार ६० दिनभित्र रकम नबुझाउने एयरलाइन्सको उडान रोक्न र जहाज ‘ग्राउन्डेड’ गर्न सकिने प्रावधान छ।

साँवा रकम नबुझाएपछि ३० प्रतिशतका दरले विलम्ब शुल्क लाग्नेछ। समयमा बुझाउँदा छुटको व्यवस्था छ।

विमानस्थल सेवा शुल्क नियमावली २०६७ अनुसार बिल जारी गरेको ७ दिनभित्र बक्यौता रकम तिरेमा तीन प्रतिशत शुल्क छुट दिने व्यवस्था रहेको छ। ३० दिनभित्र बक्यौता रकम तिरेमा जरिवाना शुल्क तिर्नुपर्दैन। ३० दिनदेखि ४५ दिनसम्म पाँच प्रतिशत जरिवाना लाग्छ। ४५ देखि ५९ दिनसम्म बक्यौता रकम बुझाएमा १५ प्रतिशत जरिवाना तिर्नुपर्ने नियमावलीमा व्यवस्था गरिएको छ।

६० दिनदेखि माथि रकम भुक्तानी नगरेमा ३० प्रतिशतको दरले जरिवाना हुने क्यानको विमानस्थल सेवाशुल्क नियमावली व्यवस्था रहेको छ। विकास शुल्क, ल्यान्डिङ र पार्किङ शुल्क, हवाइ परिवहन, सुरक्षा शुल्क, कार्यालय सञ्चालन कोठा, काउन्टर, होडिङ बोर्ड विमानस्थलभित्र सञ्चालन भएका पसल, भण्डारण, यात्रुलाई सेवा प्रवाहलगायतमा विमानस्थलले शुल्क लिने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .