ad ad

अटो


ट्याक्सीमा सामान हराउने तथा छोडिने क्रम बढ्यो

ट्याक्सीमा सामान हराउने तथा छोडिने क्रम बढ्यो

नेपालखबर
असार १२, २०७६ बिहिबार ११:४९,

 पछिल्लो समय काठमाडौँ उपत्यकामा सञ्चालित ट्याक्सीमा सामान छोडिने तथा हराउने क्रम बढ्दो छ। वि.सं. २०७५ मङ्सिर ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि मण्डिखाटार जाने क्रममा बा.१ज ५४२८ नम्बरको ट्याक्सीमा दुई थान हिराको औँठी र अन्य सामग्री छोडिएकोमा मङ्सिर १० गते ट्राफिक प्रहरीले खोजतलास गरी सामानको धनी मोनिका शाहलाई जिम्मा लगाएको थियो।

वि.सं. २०७५ पुस १ गते ठमेलदेखि माइतीघर न्यूरो अस्पतालसम्म जाने क्रममा बा.२ज ३९५५ नम्बरको ट्याक्सीमा छोडिएको नगद एक लाख ५० हजार र खोजतलास गरी पैसाको धनी दीपबहादुर राईलाई जिम्मा लगायो । वि.सं. २०७६ वैशाख २९ गते रातोपुलदेखि ठमेल जाने क्रममा बा.२ज १७५२ नम्बरको ट्याक्सीमा भारतीय नागरिक डा. लक्ष्मी नाडगिरको भारतीय नगद पाँच हजार, हीराको हार एक, सुनको चेन एक थान, ट्याब्लेट एक थान, पासपोर्ट एक थान हराएकोमा ट्राफिक प्रहरीले खोजतलास गरेर सम्बन्धित धनीलाई बुझाएको थियो।

काठमाडौँ उपत्यकामा ट्याक्सीमा सामान हराउने तथा छोडिने क्रम बढेर गएको छ। चालू आर्थिक वर्षको जेठ मसान्तसम्म महानगरीय ट्राफिक प्रहरी महाशाखामा ४०६ ले ट्याक्सीमा सामान हराएको तथा छुटेको निवेदन दिएका छन्। जसमा २ सय ४९ को सामान फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको महाशाखाले जनाएको छ। महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले ट्याक्सीमा छोडिएको वा हराएको यात्रुको सामान सिसी क्यामरामार्फत पत्ता लगाएर सम्बन्धित धनीलाई जिम्मा लगाउँदै आएको जानकारी दिए। “कतिपय चालकले सामान इमान्दारिताका साथ सम्बन्धित धनीलाई बुझाउन महाशाखामा आउँछन् भने कतिपय चालकले नदिने गरेका छन्, जसलाई महाशाखाले कारवाहीसमेत गर्दै आएको छ”, उनले भने। उपत्यकामा सिसीटिभीको जडान भएकै कारण सवारीसम्बन्धी धेरै घटना पत्ता लगाउन सजिलो भएको उनको भनाइ छ।

कुनै पनि यात्रुको छोडिएको सामान बदनीयतपूर्वक नदिएमा त्यस्ता चालकलाई एक हप्तादेखि एक महीनासम्म महाशाखामा तारेख धाउनुपर्ने व्यवस्था गरेको छ । यस्तै, महाशाखाले ५४ सवारीसाधन फेला पारे पनि सवारी साधनमा सामान नभेटिएको बताएको छ भने १०३ चालकमाथि अनुसन्धान गरिरहेको जनाएको छ । महाशाखाले चालू आर्थिक वर्षमा ट्याक्सीमा खोजतलास गरी रु एक करोड ४९ लाख ३२ हजार ७०० मूल्य बराबरको नगद र सामानसम्बन्धित धनीलाई बुझाएको छ। नेपाल मिटर ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष अर्जुन गौतमले उपत्यकामा चल्ने अधिकांश ट्याक्सी चालकले आफ्नो ट्याक्सीमा छोडिएको सामग्री सम्बन्धित धनीलाई बुझाउने गरे पनि केहीको नियत ठीक नभएका चालकका कारण ट्याक्सी चालक बदनाम हुन पुगेको बताए।

“उपत्यकामा ट्याक्सी चलाउने सबै चालकले सामान छुटेका यात्रुलाई सामान फिर्ता गरी उपहार लिने वातावरण निर्माण गर्नुपर्छ”, उनले भने। सामान फिर्ता नगर्ने चालकलाई सङ्घले कारवाहीसमेत गर्ने गरेको उनको भनाइ छ। यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा मात्र १० हजारभन्दा बढी ट्याक्सी सञ्चालनमा रहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .