ad ad

समाज


सीको भ्रमणका लागि चार सय गुप्तचरलाई ‘स्पेसल असाइन्मेन्ट’

सीको भ्रमणका लागि चार सय गुप्तचरलाई ‘स्पेसल असाइन्मेन्ट’

दीपक खरेल
असोज २, २०७६ बिहिबार १४:२६,

चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमणका लागि चारै सुरक्षा निकायका गुप्तचर इकाई सक्रिय भएका छन्। उनीहरुले गोप्य रुपमा ‘स्पेसल असाइन्मेन्टमा’ मा काम गरिरहेको पाइएको छ।

उत्तरी छिमेकी चीनका राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको नेपाल भ्रमण असोज अन्तिम साता हुने निश्चित भएसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरु सुरक्षा योजना बनाउन लागेका हुन्।

उनीहरुले प्राथमिक रुपमा सीलाई काठमाडौंमा हुनसक्ने सुरक्षा चुनौती विश्लेषण गर्नेछन् र त्यसैअनुसार सुरक्षा प्रबन्ध मिलाउनेछन्।

नेपाली सेनाको मिलिट्री इन्टिलिजेन्स (डीएमआई), नेपाल प्रहरीको विशेष ब्युरो, अपराध महाशाखा र काठमाडौं प्रहरी, सशस्त्रको गुप्तचर इकाई र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुले सीको नेपाल भ्रमणका सम्भावित सुरक्षा चुनौती संकलन गरिरहेका हुन्।

उच्च स्रोतका अनुसार नेपाली सेनाको डीएमआईले सहायक रथीकै नेतृत्वको टोली परिचालन गरेर काम गरिरहेको छ।

नेपाल भ्रमणमा रहँदा राष्ट्रपति सीलाई पहिलो घेराबाट नेपाली सेनाले सुरक्षा दिनेछ। सेनाको डीएमआईबाट खटिएका अधिकारीहरु यतिबेला भेष बदलेर सिन्धुपाल्चोक, रसुवा, नुवकोटा र मकवानपुरका गाँउसम्म पुगेका छन्। सेनाको प्रारम्भिक विश्लेषणमा सीलाई भौतिक हानी पुर्याउने किसिमको खतरा छैन।

‘भौतिक हानी पुर्याउने किसिमको खतरा रहेको देखिँदैन, तर विश्वको ध्यान आकर्षित गर्न फ्रि तिब्बत मुभमेन्ट हुन सक्छ’, सेनाका एक उच्च अधिकारीले भने।

सीको सुरक्षाको केन्द्रीय जिम्मेवारी पनि नेपाली सेनाकै हुनेछ। सेनाको नेतृत्वमा केन्द्रीय सुरक्षा सेल बनाएर सीको भ्रमण अवधिभर सुरक्षा दिने तयारी भएको छ। त्यस्तो सेलमा सशस्त्र, प्रहरी र राअविका अधिकारी रहनेछन्।

चिनियाँ टोलीद्वारा विमानस्थल अवलोकन
चीनका विदेश मन्त्री वाङ यी फर्किए लगत्तै चीनबाट आएको १८ जना सुरक्षा विज्ञको विशेष टोलीले पटक–पटक त्रिुभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे, फ्युलिङ, ह्याङगर, विशिष्ठ कक्ष, टावर र बाहिरको वस्तुस्थिति अवलोकन गरेको छ।

चीनबाट आएको सो टोलीसँगै नेपाली सुरक्षा अधिकारी समेतले विमानस्थलको अवस्था अवलोकन गरेका छन्। त्यो टोलीले नेपाली अधिकारीहरुसँग सहकार्य गरिरहेको छ।

‘हामी चिनियाँ समकक्षी अधिकारीहरुसँगको सहकार्यमा काम गरिरहेका छौं’, सशस्त्रका एक अधिकारी भन्छन्, ‘भ्रमण सम्पूर्ण रुपमा सुरक्षित बनाउन काम भइरहेको छ। विमानस्थलसहितका ठाउँहरुको अवलोकन त्यसैका लागि हो।’

सशस्त्र प्रहरीको उपत्यका हेर्ने इकाईले सुरक्षा चुनौती विश्लेषणको जिम्मा लिएको छ।

कुनै ठूलो परिवर्तन भएन भने असोजको अन्तिम साता चिनियाँ राष्ट्रपति सी नेपाल भ्रमणमा आउने निश्चित छ। २३ वर्षपछि हुन लागेको चीनका राष्ट्रपतिको यो पहिलो नेपाल भ्रमण हो। भ्रमण मिति र समय अहिलेसम्म सार्वजनिक गरिएको छैन।

सीको यो भ्रमणलाई सम्पूर्ण रुपले सुरक्षित बनाउन नेपाल प्रहरीले सबैभन्दा बढी सक्रियता देखाइरहेको छ। भ्रमण अवधिमा बाटो व्यवस्थापनदेखि भेटघाटलाई समेत निगरानी गर्ने प्रहरीले तिब्बती गतिविधिमा सक्रियहरुको प्रोफाइल बनाएर निगरानी थालेको छ।

प्रहरीको विशेष ब्युरोबाट खटिएका एसपीले वृत्त बौद्ध र वृत्त स्वयम्भुसहितका इकाईसँगको सहकार्यमा ‘फ्रि तिब्बत मुभमेन्ट’ मा सक्रियहरुको प्रोफाइल तयार पारेको छ। तिब्बतीहरुलाई पनि खतराको दृष्टिले श्रेणी छुट्याएर निगरानी सुरु भएको छ।

नेकपाकै पूर्वमन्त्री प्रहरी निगरानी सूचीमा
नेपाल प्रहरीका उच्च अधिकारीहरुका अनुसार पहिलो श्रेणीमा सक्रिय देखिएका ८० भन्दा बढी ब्यक्तिलाई सीको भ्रमण अघि नियन्त्रणमा लिने प्रहरीको योजना छ। सीकै भ्रमण दृष्टिगत गरी प्रहरी र सशस्त्रले तिब्बतसँगका सीमा नाकामा विशेष कडाइ गरिरहेका छन्।

प्रहरी स्रोतबाट नेपालखबरले प्राप्त गरेको विवरणअनुसार बौद्ध र स्वयम्भुमा विभिन्न धार्मिक संगठन तथा सामाजिक संस्थाका नाममा हुने चीन विरोधी गतिविधिमा सक्रियहरुको अर्को सूची तयारी परिएको छ। यस्तो सूचीमा सत्तारुढ नेकपाका केन्द्रीय नेता, नेकपाकै पूर्वमन्त्रीको नाम समेत उल्लेख छ।

प्रहरीले त्यस्ता संघसंस्थाको कार्यसमितिमा रहेका एवं सल्लाहकार समूहमा रहेकाहरुको निगरानी बढाएको हो। ललितपुर, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, मकवानपुर र रसुवाका अति ग्रामीण भेगमा रहेका गुम्बाहरुमा समेत प्रहरी निगरानी बढाइएको छ।

‘उच्च तहको यो भ्रमण सम्पूर्ण सुरक्षित बनाउने राणनीतिअनुसार काम भइरहेको छ’, प्रहरी प्रधान कार्यालयको उच्च स्रोतले नेपालखबरसँग भन्यो, ‘आवश्यकता परे सूचीमा रहेका व्यक्तिहरूलाई प्रहरीले तत्काल नियन्त्रणमा लिनेछ।’

प्रहरी स्रोतका अनुसार हाल नेपालमा चिनियाँ बौद्ध धर्म गुरु र तिब्बती धर्म गुरुहरुका बेग्लाबेग्लै धार्मिक गतिविधि सञ्चालित छन्। तिब्बती धर्म गुरुका गतिविधि कुनै पनि समय चीन विरोधीमा परिणत हुनसक्ने विश्लेषण सुरक्षा निकायको छ।

‘यसका लागि फरक टोली परिचालन भएको छ। काठमाडौं, ललितपुर र भक्तपुर प्रहरीका इकाईले तिब्बती गुरु तथा गुम्बाका गतविधि निगरानी गरिरहेका छन्’, स्रोतले भन्यो।

अहिले संकलन भइरहेका चार वटै सुरक्षा निकायका विवरण अन्तिममा गृह मन्त्रालय पुग्नेछ। नेपाली सेनाका प्रतिनिधिसहित रहने गृहको बैठकले सीको सुरक्षाका चुनौतीहरुको निष्कर्ष निकाल्नेछ। त्यो अनुसार सुरक्षाकर्मी परिचालन हुनेछन्।

गृह मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘पहिलो चरणको सूचना संकलनमा चारै सुरक्षा निकायका गरी चार सय बढी अधिकारी परिचालन भएका छन्। उनीहरुले ल्याएको सूचना विश्लेषणपछि सादा पोशाकमा सुरक्षा खटाउने सहितका कामहरु हुनेछन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .