चीनले प्रक्षेपण गर्यो अहिलेसम्मकै ठूलो अन्तरीक्ष यान लङ मार्च–५



लङ मार्च-५ प्रक्षेपण हुँदै
लङ मार्च-५ प्रक्षेपण हुँदै

चीनले नयाँ पुस्ताको अन्तरीक्ष यान लङ मार्च–५ बिहीबार प्रक्षेपण गरेको छ। भारी तौल बोक्न सक्ने उक्त यान बिहीबार स्थानीय समअनुसार बेलुकी ८ः४३ बजे हाइनानस्थित वेनच्याङ स्पेस स्टेसनबाट प्रक्षेपण गरिएको हो।

सो यान प्रक्षेपणपछि चीन अन्तरिक्षमा मानवसहितको स्टेसन बनाउने दिशामा एक कदम अघि बढेको छ। ५७ मिटर लामो त्यो यान चीनको अहिलेसम्मकै ठूलो भारवाहक अन्तरीक्ष यान हो।

लङ मार्च–५ मा शिजियान–१७ नामक प्रयोगात्मक स्याटेलाइट र युआनझेङ–२ नामक रिस्टार्टेबल यानको माथिल्लो भाग समेत समाविष्ट छन्। यान प्रक्षेपणलाई झण्डै एक लाख मानिसहरुले प्रत्यक्ष अवलोकन गरेका थिए। उनीहरु केही दिनअघिदेखि वेनच्याङमा भेला भएका थिए।

लङ मार्च–५ चीनको सबैभन्दा आधुनिक र प्राविधिक रुपले सम्पन्न प्रक्षेपण यान भएकोले पृथ्वीको कक्षमा मानवसहितको अन्तरीक्ष स्टेसन स्थापना गर्ने चीनको योजनामा यो कोसेढुंगो भएको जनाइएको छ। त्यसैगरी मंगल ग्रहको अध्ययनअनुसन्धानका लागि यो यान महत्वपूर्ण हुने चीनको 'स्टेट एडमिनिस्ट्रेसन अफ साइन्स'ले जनाएको छ।

चीनले सन् २०१८ बाट स्थायी रुपमा मानिस रहन मिल्ने अन्तरीक्ष स्टेसन निर्माण सुरु गर्ने र २०२२ सम्ममा निर्माण सम्पन्न गर्ने योजना सार्वजनिक गरिसकेको छ। उक्त स्टेसनमा तीन भाग हुनेछन्, जसमध्ये एउटा मुख्य मोड्युल र त्यसैसँग गाँसिएका दुई अन्तरीक्ष ल्याबरोटरीहरु हुनेछन्। उक्त भागको तौल २० मेट्रिक टन हुने जनाइएको छ।

अधिकारीहरुका अनुसार चीनले मंगल ग्रहमा पनि सन् २०२० सम्ममा एक मानवरहित यान पठाउने तयारी गरिरहेको छ।

प्रक्षेपणको बेला लङ मार्च–५ को तौल ८७० मेट्रिक टन रहेको जनाइएको छ, जसको ‘लो अर्थ अर्बिट’मा अधिकतम भारवहन क्षमता २५ टन र ‘जियोसिंक्रोनस ट्रान्सफर अर्बिट’मा १४ टन रहेको जनाइएको छ। यसअघिका लङ मार्च परिवारका अन्य यानहरुले यसभन्दा अढाई गुणा कम मात्र तौल बोक्न सक्थे।

इन्धनको रुपमा यस यानले तरल अक्सिजन र मट्टितेलको मिश्रण तथा तरल हाइड्रोजन र तरल अक्सिजनको मिश्रण प्रयोग गर्ने हुनाले लङ मार्चका अघिल्ला यानहरुभन्दा यो वातावरणमैत्री समेत रहेको यसको निर्माता ‘चाइना एकेडेमी अफ लञ्च भेइकल टेक्नोलोजी’ले जनाएको छ।

लङ मार्च–५ को पहिलो खण्डमा दुई ओटा ठूला वाईएफ अक्सिजन–हाइड्रोजन इञ्जिन छन्। त्यसैगरी यो यानसँग चार ओटा बुस्टर रहेको छ, जसका दुईदुई वाईएफ–१०० अक्सिजन– मट्टितेल इञ्जिन रहेको छ।

यस यानमा दुई ओटा ब्याकअप प्रणाली प्रयोग गरिएको छ, जबकि अघिल्ला लङ मार्च यानहरुमा एउटा मात्रै ब्याकअप प्रणाली प्रयोग गरिएको हुन्थ्यो। त्यसैगरी लङ मार्च–५ यान पूर्ण रुपमा नयाँ प्रविधिमा आधारित रहेको जनाइएको छ।

चिनियाँ भाषामा यस यानलाई ‘चाङ झेन’ पनि भनिन्छ, जसको अंग्रेजी अर्थ लङ मार्च हुने गर्दछ। सन् १९३४–३५ मा चिनियाँ जनमुक्ति सेनाले गरेको ३७० दिन लामो यात्राको सम्झनामा उक्त नाम राखिएको हो।

वेनच्याङस्थित अन्तरीक्ष यान प्रक्षेपण केन्द्र

वेनच्याङस्थित अन्तरीक्ष यान प्रक्षेपण केन्द्र

वर्षौँको असफलता र ढिलाईपछि यो उडान सफल भएको हो। मुख्य इञ्जिनको पहिलो मात्र होइन दोस्रो, तेस्रो र चौथो परीक्षण पनि असफल भएको थियो। गत अप्रिलमा लङ मार्च–५ का मुख्य डिजाइनर ली दोङले सिसिटिभीलाई भनेका थिए, ‘पूरै रकेट टोलीका लागि प्रत्येक असफलता ठूलो धक्का थियो। केही विदेशी विशेषज्ञहरुले तिमीहरुले कहिल्यै पनि यो इञ्जिन बनाउन सक्दैनौ भनेका थिए।’

सुरुका दुई परीक्षणमा इञ्जिन पड्किएको थियो। असफलतापछि नयाँ इञ्जिन बनाइएको थियो। बेइजिङको दक्षिणतिर अवस्थित एक उपत्यकमा यानको इञ्जिनको विकास र परीक्षण गरिएको थियो।

लङ मार्च–५ को व्यास ५ मिटर रहेको छ, जसले गर्दा यो विश्वका ठूला यानमध्ये पर्दछ। यो नौलो पुस्ताको यान हो। यसअघिका मध्यम आकारका दुई यान लङ मार्च–७ र लङ मार्च–११ पहिले नै सफलतापूर्वक प्रक्षेपण गरिसकिएको छ। यद्यपि लङ मार्च–५ लाई लङ मार्च परिवारको सबैभन्दा पुरानो मोडेल पनि मानिन्छ।

लङ मार्च–५ कै समकक्षमा रहेको अमेरिकी डेल्टा–आइभी हेभीले ‘लो अर्थ अर्बिटमा’ २८ टन तौल बोक्न सक्छ। सो यान अमेरिकाले यसैसाल मात्र चार पटक प्रक्षेपण गर्ने तयारी गरिरहेको छ। जसमध्ये दुई जासुसी स्याटेलाइट, एक स्पेस सर्भिलेन्स स्याटेलाइट र एक सैन्य सञ्चार स्याटेलाइट रहनेछन्।

चीनले लङ मार्च–९ नामक १० मिटर व्यास भएको ठूलो यानको पनि डिजाइन गरिसकेको र निर्माण भइरहेको जनाइएको छ। सो यान निर्माण सम्पन्न भएमा अहिलेसम्म बनेकोसबैभन्दा ठूलो यान अमेरिकी स्याटर्न–भी भन्दा ठूलो हुनेछ। एजेन्सी

प्रकाशित १९ कार्तिक २०७३, शुक्रबार | 2016-11-04 07:32:59

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • कांग्रेसलाई रोक्न जोसँग पनि तालमेल गर्ने एमाले रणनीति

    एमाले नेताहरुले t उपेन्द्र यादव र विजय गच्छदारसँग तालमेलका लागि विमर्श सुरु गरेका छन्। ‘मधेसमा जोसँग मिल्दा हामीलाई फाइदा हुन्छ त्योसँग मिल्ने नीति...

  • माला पहिरन ठिक्क परेका महा-मेयर

    यसअघि नै दुई–दुई पटकसम्म वडा अध्यक्ष भएर काम गरेका शाक्य काठमाडौंका लागि पार्टीका कुशल संगठक पनि हुन्। उम्मेदवार मात्र नभएर पार्टीको एउटा संगठकले...

  • नवनिर्वाचित मेयर मानबहादुर जिसी

    महानगर हाँक्ने मानबहादुर

    क्याम्पस पढ्न एक ठिटो झोला भिरेर सहर आइपुग्यो। उच्च शिक्षा लिन गाउँबाट सहर आइपुगेको तन्नेरीले मनको चर्खा पढाइमा भन्दा अन्तै घुमाइरहेको थियो। उसलाई...

  • ‘देउवालाई नचिनेर पनि चुनाव जितिँदोरहेछ’

    कुराकानी पछि छुट्टिने बेला चिरिबाबु भन्दै थिए, ‘ चिरिबाबुले ललितपुरका सांस्कृतिक सम्पदाहरु जोगाएरै विकास गर्ने छ, विकासका नाउँमा जथाभावी गर्ने छैन,...