नेपालबाट यी दिनमा हेरौँ उल्का वर्षा



के हो उल्का वर्षा?
मानिसको जिज्ञासालाई सभ्यताको सुरुदेखि नै निरन्तर मलजल गरिराख्ने एउटा खगोलीय घटना हो, उल्का वर्षा। हाम्रो सौर्य मण्डलको सृष्टिको समयमा ग्रह, उपग्रह, लघुग्रहसँगै धुमकेतु वा पुच्छ्रेताराहरु पनि बनेको मानिन्छ। जसमध्ये धुमकेतु वा पुच्छ्रेतारा जीवनको सृष्टिका लागि चाहिने तत्व तथा यौगिकका साथै पानीको स्रोत मानिन्छ।

यी पुच्छ्रेताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा यसमा रहेका पदार्थहरु बाफ बन्न गई पुच्छर बन्ने र टुक्रने क्रममा ती कणहरुले पुच्छ्रेतारासँगै सूर्यलाई परिक्रमा गर्ने गर्छन्। यसरी परिक्रमा गर्ने क्रममा ती कणहरु हाम्रो पृथ्वीको वायुमण्डलसँग घर्षण भई पृथ्वीको सतहदेखि करिब ७० किलोमिटर माथि जलेर आगोको झिल्को जस्तो उज्यालो देखिनुलाई उल्का भनिन्छ। यसरी जल्ने क्रममा पृथ्वीको सतहसम्म आइपुगे उल्कापिण्ड भन्ने चलन छ।

यदि पृथ्वीको सतहबाट प्रतिघन्टा १० वा त्योभन्दा बढी उल्का देखिएमा त्यस्तो दृश्य वा घटनालाई उल्का वर्षा भन्ने चलन छ।

उल्का वर्षाको नाम कसरी राखिन्छ?
उल्का वर्षाको समयमा उल्काहरु सामान्यतया आकाशको एउटा निश्चित बिन्दुबाट निस्किएजस्तो देखिन्छ। यस्तो बिन्दु जुन तारामण्डलमा पर्छ त्यसै अनुसार उल्का वर्र्षाको नाम राखिन्छ। उदाहरणका लागि यदि उल्काको स्रोत ययाति तारामण्डलको क्षेत्रभित्र परे त्यसलाई ययाति उल्कवर्र्षा भनिन्छ।

उल्का वर्षा हेर्ने उत्तम समय कहिले हो?
सामान्यतः उल्का हेर्नको लागि उत्तम समय भनेको मध्यरातदेखि सुर्योदय हुनुभन्दा पहिलेसम्म हो। अझ आकशमा चन्द्रमाको उपस्थिति नभएको समय उत्तम मानिन्छ। उल्का वर्षा देखिनका लागि उल्काको केन्द्रबिन्दु हाम्रो आकाशमा उदाउन आवश्यक छ। दक्षिणी गोलार्धबाट मात्र देखिने तारामण्डलसँग सम्बन्धित उल्का वर्षा हाम्रो गोलार्धबाट देखिँदैन। औँसीको समयमा उल्का वर्षा हेर्नु उत्तम मानिन्छ। प्रायः हरेक महिना कुनै न कुनै क्षेत्रमा उल्का वर्षा भइरहे पनि नेपालबाट भने असार, साउन र भदौ महिनाबाहेक अन्य महिनामा उल्का वर्षा हेर्न सकिन्छ। त्यसमा पनि मङ्सिर, पुष, माघ र फागुन महिनामा आकाश खुल्ला रहने हुँदा अवलोकनको लागि उत्तम मानिन्छ।

के हो मृगशिरा उल्का वर्षा?
सन् १९८६ मा ‘हेलीको पुच्छ्रेतारा’ पृथ्वी नजिक आउँदा छोडेर गएका धूलाका कणहरुका कारणले वर्षमा दुईपटक उल्का वर्षा हुन्छन्। जसमध्ये उत्तरी गोलार्धबाट राम्रोसँग अवलोकन गर्न सकिने उल्का वर्षाको नाम को, मृगशिरा उल्का वर्षा। यो उल्का वर्षा हरेक वर्ष असोजको तेश्रो सातादेखि कार्तिकको तेस्रो सातासम्म करिब एक महिना सक्रिय हुने गर्छ। यो वर्ष असोज १६ देखि सक्रिय हुने उल्का वर्षा कार्तिक २२ सम्म रहनेछ। यो वर्ष उल्का वर्षाको चरम सक्रियता कार्तिक ४ देखि ५ सम्म भएको भएता पनि आउँदै गरेको तिहार, जारी सक्रियताका कारण लक्ष्मीपूजाको दिन केही रमाइलो दृश्य देखिने कुरालाई नकार्न सकिन्न।

उल्का वर्षा किन हेरिन्छ?
सामान्यतः उल्का वर्षाको अवलोकन मनोरञ्जनका लागि गरिए पनि वैज्ञानिक हिसाबले यसको ठूलो महत्व छ। उल्का वर्षाको नियमित अवलोकनले अन्तरिक्षमा पुच्छ्रेताराका कारण छरिएर रहेका धुलाका कणहरुको वास्तविक आँकलन गर्न सकिन्छ। साथै, अन्तरिक्षयान पठाउँदा यस्ता कणहरु ठोकिएर हुने दुर्घटनाबाट अन्तरिक्षयानलाई बचाउन सकिन्छ। साथै ती कणहरुमा भएका रासायनिक पदार्थका बारेमा जानकारी लिन सकिन्छ। यस्ता क्रियाकलापले मानवको सौर्यमण्डलको उत्पत्ति तथा ब्रह्माण्डको खोज अनुसन्धानलाई थप टेवा पुर्‍याउँछ।

नेपालबाट अवलोकन किन?
उल्का वर्षा तथा अन्तरिक्षमा छरिएर रहेका पुच्छ्रेताराका धूलाका कणहरुलाई राम्रोसँग आँकलन गर्नका लागि पृथ्वीको सबै भूभागबाट अवलोकन गर्न जरुरी छ। तर उल्कासम्बन्धी अध्ययन, अनुसन्धान तथा अवलोकनका कार्य मुख्यतः युरोप र केही उत्तर अमेरिकी तथा पूर्वी एसियामा मात्र सीमित छन्। हाम्रो भूभागबाट अनुसन्धानको काम नभइरहेको अवस्थामा यहाँबाट पनि अवलोकन गरी विश्व समुदायसँग सहकार्य गर्न सके नेपालको वैज्ञानिक जगतको क्रियाकलापमा वृद्धि हुनुका साथै यस क्षेत्रबाट पनि नेपालको परिचय निर्माण गर्ने सम्भावना रहन्छ।

प्रकाशित १५ कार्तिक २०७३, सोमबार | 2016-10-31 12:03:04

प्रतिकृया दिनुहोस

 

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • दुर्घटनाका घाइतेको उपचार भएन मनिपालमा

    उपचार लागि मनिपाल मेडिकल कलेज पुर्याइएका मुस्ताङका बस दुर्घटनाका घाइतेले उपचार नपाइ फर्कनु परेको छ। चिकित्सकको आन्दोलनका कारण मेडिकल कलेजबाट बिरामी...

  • लगानी बोर्डको कार्यालय

    ३० नयाँ परियोजनाको सम्भाव्यता अध्ययन सुरु

    लगानी बोर्डले ३० वटा नयाँ परियोनाको अध्ययन सुरु गरेको छ। पूर्वाधार, उद्योग, कृषिक्षेत्र, सूचना प्रविधिलगायत ३० वटा परियोजनाको अध्ययन सुरु गरेको...

  • उज्यालोका उस्ताद अर्थात् गोविन्द सर

    जन्मँदै आँखाको ज्योति नलिई आएको यौटा मान्छेको जीवनमा के सपना होला? उसले भविष्यका लागि के–के योजना बुन्ला? त्यस्ता व्यक्ति सायदै भेटिएलान्, जो...

  • मुस्ताङ यात्रामा पूर्वप्रधानमन्त्री भट्टराई र छोरी मानुषी

    छोरी मानुषीलाई बाबुराम भट्टराईको युद्धकालीन चिठी

    पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले दश वर्ष लामो सशस्त्र युद्धमा आफू भूमिगत हुँदा एक मात्र छोरी मानुषी यमि...