यस्तो थियो भिन्चीको नउडेको विमान

लियोनार्दो दा भिन्ची मोनालिसा वा अन्तिम रात्रीभोजजस्ता चित्रका कारण चर्चित छन्। आफ्नो समयको एक विख्यात इन्जिनियरको रुपमा उनले अनेकौँ डिजाइन र आविष्कारहरु गरेका छन्। त्यसमध्ये एक हो, ‘फ्लाइङ मेसिन’ अर्थात् विमानको डिजाइन। सन् १४९६ को जनवरी ३ कै दिन भिन्चीले आफ्नो फ्लाइङ मेसिनको असफल परीक्षण उडान गरेको विश्वास गरिन्छ।

भिन्चीले लेखेका जर्नलहरुमा बारम्बार उड्ने यन्त्रको चर्चा गरेका छन्। त्यति मात्र होइन उनले हेलिकप्टर, प्लेन, प्यारासुटजस्ता अनेकौँ उड्न सक्ने यन्त्रहरुको परिकल्पना गरेर त्यसको डिजाइन पनि तयार गरेका छन्। यद्यपि उनका कतिपय डिजाइन अव्यवहारिक भएको निष्कर्ष पछि निकालियो।

भिन्चीको फ्लाइङ मेसिनको डिजाइन पनि उनले आफ्नो नोटबुकमा कोरेका थिए। चरा र चमेरोको शारीरिक बनोटका आधारमा भिन्चीले सो डिजाइन तयार गरेको ठानिन्छ।

भिन्चीले डिजाइन गरेको उक्त मेसिनमा दुई ठूला पखेटा जोडिएका छन्। एक जना पाइलट घोप्टो परेर मेसिनमाथि पल्टिने र दुवै हातले विभिन्न घिर्नी र डन्डीद्वारा जोडिएको पखेटालाई चलाउन ह्याण्डलजस्तो यन्त्र घुमाउनेगरी सो मेसिनको डिजाइन गरिएको थियो।

भिन्चीले यस्तो विमान बनाएर परीक्षण गरेको स्पष्ट प्रमाण इतिहासमा भेटिदैँन। यद्यपि सन् १४९६ को जनवरी ३ मा उनको परीक्षण उडान असफल भएको विश्वास गरिन्छ। यदि भिन्चीले सो मेसिन परीक्षण गरेकै भए पनि असफल हुने निश्चित थियो किनभने मेसिनमा इञ्जिन थिएन। इन्ञ्जिनबिनाको सो यन्त्रले जमिन छोड्ने सम्भावनै थिएन।

संसारले साँच्चिकै उड्ने यन्त्र देख्न ४ सय वर्षभन्दा लामो समय पर्खिनुप¥यो। सन् १९०३ मा राइट दाजुभाइले विमान उडानको सफल परीक्षण गरे।

कतिपय दाबीहरुमा दा भिन्चीले आफ्ना डिजाइनहरुमा जानेरै गल्ती छोडेको, जसका कारण ती सफल नभएको पनि बताइन्छ। त्यसबाहेक उनी एउटा डिजाइनको कुरा एउटै नोटबुकमा समेटेर लेख्दैनथे। बरु उनका डिजाइन अनेकौँ कागजहरुमा छरिएका हुन्थे। एजेन्सी

प्रकाशित 2017-01-03 16:34:32