मानिसका कारण लोप भएका यी पाँच प्रजाति



कुनै पनि प्रजाति लोप हुने चर्चा चल्नेबित्तिकै हामी डाइनोसरलाई सम्झिन्छौँ। वैज्ञानिकहरु एउटा उल्का पिण्ड पृथ्वीमा ठोक्किएपछि भएको जलवायु परिवर्तनका कारण करिब साढे छ करोड वर्षपहिले डाइनोसर लोप भएको तर्कमा लगभग सहमत भएका छन्। तर डाइनोसरबाहेक पनि अनेकौँ प्रजाति पृथ्वीबाट लोप हुने क्रम जारी छ। पहिलेपहिले प्राकृतिक विपत्तिका कारण यस्ता जनावर लोप हुन्थे भने हाल मानवीय क्रियाकलाप कैैयौँ प्रजाति विलुप्त हुनुको कारण बन्ने गरेको छ। मानिसकै कारण लोप भएका यी पाँच प्रजातिबारे पढौँः

१. पश्चिम अफ्रिकी कालो गैँडा

गैँडा एक उपप्रजाति पश्चिम अफ्रिकी कालो गैँडा सन् २०११ मा आधिकारिक रुपमा लोप भएको घोषणा गरिएको हो। यो प्रजाति लोप हुनुको मुख्य कारण यसको सिङका लागि मानिसले गर्ने शिकार हो, जुन कालोबजारमा उच्च मूल्यमा बिक्री हुने गर्दथ्यो।

यो प्रजातिको गैँडाको दृष्टि अत्यन्त कमजोर रहेको थियो, जसका कारण यिनीहरु ३० मिटरभन्दा पर देख्न सक्दैनथे। यद्यपि यिनको घ्राणशक्ति र सुन्ने क्षमता उच्च थियो तर यसैको भरमा आफ्नो प्रजाति जोगाउन यिनीहरु असफल भए।

लोप हुनुअघि अन्तिम पटक यो प्रजातिको गैँडा क्यामरुनमा देखिएको थियो तर सन् २००६ मा गरिएका सर्वेक्षणमा एउटा पनि गैँडा फेला पार्न सकिएन।

२. पाइरेनियन इबेक्स

फ्रान्स, स्पेन र एन्डोरान पाइरेनिसमा पाइने यो जंगली बाख्राका एक प्रजाति सन् २००० मा लोप भएको घोषणा गरिएको हो। सन् १९७३ मै संरक्षित जनावरको सूचिमा राखिएको यो प्रजाति सन् १९८१ मा आउँदासम्म ३० को संख्यामा झरेको थियो।

स्थानीय बोलीमा बुकार्डो भनिने यो प्रजातिको अन्तिम बासस्थान ओर्डेसा नेसनल पार्क रहेको थियो। त्यहाँ १३ वर्षकी पोथी बुकार्डो ‘सेलिया’ सन् २००० मा मरेपछि यो प्रजाति लोप भयो। यद्यपि वैज्ञानिकहरुले सेलियाको मृत्युअघि नै उसको डिएनए झिकेर राखेका थिए। त्यसपछि सेलियालाई ‘क्लोन’ गर्ने अनेकौँ प्रयास भए। उनीहरु सन् २००९ मा बुकार्डोको एउटा पाठा जन्माउन सफल पनि भए तर जन्मेको केही मिनेटपछि त्यसको मृत्यु भयो।

३. प्यासेन्जर पिजन

कुनैबेला अहिलेको अमेरिका भनिने क्षेत्रभरका चरामध्ये करिब ४० प्रतिशत संख्या रहेको यो प्रजाति युरोपेलीहरु अमेरिका आउँदासम्म करिब ५ अर्ब संख्यामा रहेको अनुमान गरिन्छ।

उत्तर अमेरिकाको घना जंगल यिनीहरुको मुख्य बासस्थान थियो। तर जंगलको विनाससँगै यिनीहरुको बासस्थान पनि घट्दै गयो। यसका अलावा यो प्रजाति शिकारीहरुको मुख्य निशाना पनि बन्यो। ठूलो संख्यामा हुल बाँधेर उड्ने यो प्रजातिको चराले बाली नष्ट गर्ने भएकोले बदलाका लागि पनि किसानहरुले यसलाई मार्दथे।

अन्तिम प्यासेन्जसर पिजन ‘मार्था’ को २९ वर्षको उमेरमा सिन्सिनाटी चिडियाखानमा १९१४ मा मृत्यु भएको थियो।

४. क्यारिबियन मंक सिल

सिलको एक प्रजाति क्यारिबियन मंकलाई पाँच वर्षको असफल खोजीपछि सन् २००८ मा आधिकारिक रुपमा लोप भएको घोषणा गरियो। यद्यपि यो प्रजातिको सिल सन् १९५२ मा जमैका र निकारागुवाको बीचमा पर्ने सेरानिल्लामा अन्तिम पटक देखिएको थियो।

यो प्रजाति लोप हुनुमा मुख्य रुपमा मानिस र सार्क माछा जिम्मेवार मानिन्छ। १५औँ शताब्दीमा युरोपेलीहरु क्यारिबियन क्षेत्रमा आइपुगेपछि यसको शिकार गर्ने क्रम बढेको बताइन्छ। पछि छाला, मासु र तेलका लागि यसको शिकार बढ्यो। समुद्रतटमा बढेको मानवीय गतिविधिले पनि यस प्रजातिलाई प्रभावित गरेको विश्वास गरिन्छ।

५. तस्मानियन टाइगर

शरीरमा भएको अनौठो पाटाका कारण तस्मानियन टाइगर भनेर चिनिने यो भुत्ला भएको लामो पुच्छरधारी जनावरमध्ये सबैभन्दा ठूलो यो जीव अष्ट्रेलिया महादेशमा पाइन्थ्यो। तर युरोपेलीहरु त्यहाँ पुग्दासम्म यिनीहरुको बासस्थान तस्मानियाको टापुमा खुम्चिसकेको थियो।

मानिसहरुले अत्याधिक रुपमा शिकार गर्ने गरेको र स्थानीयहरुले दुश्मनको रुपमा हेर्ने हुनाले यसको संख्या लगातार घट्दै गयो। सन् १९३६ मै यसलाई संरक्षित जनावरको सूचीमा राखिएको थियो। त्यही साल यो प्रजातिको अन्तिम सदस्यको मृत्यु भयो। यद्यपि आजका मितिसम्म कहीँकतै यो जीव देखिएको दाबी गरिँदै आएपनि प्रमाणिक रुपमा यो जीव कतै देखिएको छैन।

संसारमा कम्तीमा २० लाख प्रजाति रहेको अनुमान गरिन्छ र प्रत्येक वर्ष दुई सयदेखि दुई हजार प्रजाति लोप भइरहेको अनुमान छ। यद्यपि पृथ्वीमा यति नै संख्यामा प्रजाति छ भन्न अझै वैज्ञानिकहरुले सकेका छैनन्।

मानवीय क्रियाकलापका कारण लोप भएका जीव यी मात्रै होइनन्। अरु हजारौँ जीव पृथ्वीबाट नामेट हुनुमा कहीँ न कहीँ मानिस जिम्मेवार छन्। प्रजाति लोप हुने दर मानिसका कारण प्राकृतिक रुपमा भन्दा एक हजारदेखि १० हजार गुणासम्म बढेको अनुमान वैज्ञानिकहरुले लगाएका छन्। त्यसैगरी ०.०१ र ०.१ बीचको प्रतिशत प्रजाति हरेक वर्ष लोप भइरहेको जनाइन्छ।

हरेक दिन मानवअधिकार, मानिसको जीवनस्तरलगायतका विषयमा चर्चा चलिरहँदा जनावरहरु र तिनको प्रजातिलाई लोप हुन नदिन गरिएको प्रयास पर्याप्त हुन नसकेको तथ्यप्रति सचेत हुन ढीला भइसकेको छ। एजेन्सी

प्रकाशित २७ मंसिर २०७३, सोमबार | 2016-12-12 17:34:07

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • दर्जन देशबाट चामल आयात, वर्षेनि सकिन्छ २३ अर्ब

    वर्षेनि दर्जन देशबाट चामल आयात गरी २३ अर्ब सिध्याइने नेपालमा तीन वर्षभित्र आत्मनिर्भर हुने सरकारी योजना अघि सारिएको छ। नेपालमा खासै उत्पादन नहुने...

  • नेपालखबर हङकङका सम्पादक जेवी पुन मगर

    हङकङ सम्पादक पुनमाथि आक्रमण प्रयास, ज्यान लिने धम्की

    हङकङमा बसोबास गर्ने स्याङजाका कोमल गुरुङले नेपालखबर हङकङ संस्करणका सम्पादक जेवी पुन मगरमाथि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आक्रमण प्रयास...

  • कुन दल होला पहिलो? यस्तो छ कांग्रेस, एमाले र माओवादी लेखाजोखा

    दोश्रो चरणको निर्वाचनमा पनि तीन प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारबीच नै प्रतिष्पर्धा हुने निश्चित छ।...

  • भारतले ‘गल्ती नसच्याएसम्म’ चीनले नाथुला नाका नखोल्ने

    ‘भारतीय तीर्थयात्री नाथुला नाका हुँदै समयमै तिब्बत पुग्न नसक्नुको जिम्मा भारतले लिनुपर्छ’, प्रवक्ता लुले बेइजिङमा भने, ‘कहिले खुल्छ भन्ने कुरा...