आर्मीलाई हराउँदै संकटा पुग्यो खप्तड गोल्डकपको सेमिफाइलनमा

काठमाडौँको संकटा क्लब सुदुरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ। बुधबार भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाली आर्मीलाई २ – १ ले पराजित गर्दै संकटाले सेमिफाइलन यात्रा तय गरेको हो।

सङ्कटाका लागि दुवै गोल मार्टिन एजीले गरेका थिए। उनले खेलको १६ औँ मिनेटमा पहिलो गोल गरे। त्यस्तै २५ औँ मिनेटमा दोस्रो गोल गर्दै सङ्कटालाई दुई शून्यको अग्रता दिलाए। 

दोस्रो हाफको ६१ औं मिनेटमा सेनाका टङ्क बुढाथोकीले गोल गर्दै अन्तर कम गरेका थिए। तर त्यसपछि खेलमा कुनै गोल भएन र संकटा विजयी भयो।

सुदुरपश्चिम ११ फुटवल क्लबको आयोजनामा पुस २१ गतेदेखि भइरहेको प्रतियोगिताअन्तर्गत बिहीबार पहिलो सेमिफाइनल हुनेछ। बिहीबार हुने पहिलो सेमीफाइनलमा भारतको दिल्ली युनाइटेड र मनाङ मर्स्याङ्दीले प्रतिस्पर्धा गर्नेछन्। शुक्रबारको दोस्रो सेमिफाइनलमा आयोजक सुदुरपश्चिम ११ र सङ्कटाबीच खेल हुनेछ। रासस

प्रकाशित 2017-01-11 21:59:20