स्थलगत

ताली बजाउने दर्शक पनि नपाएको खेलकुदको कुम्भमेला



‘सातौं राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चलबाट महिला फुटबलमा भाग लिन विराटनगर हिँडेका स्याङ्जाका नानीहरूलाई नाइट गाडीमा फर्कनेक्रममा खाना र खाजासमेत नखुवाई रातभरि भोको पेट घर फर्काइयो। अब हामी कसरी अरूबेला खाली पेट खेल्न हिँड्ने भनेर गुनासो गरे, स्याङ्जाका महिला फुटबलका नानीहरूले । यो कुरालाई कसरी बुझ्ने ? आशा गरौं– हामी पुरुष खेलाडीलाई त्यस्तो आउन्न होला ।’

सातौं राष्ट्रिय खेलकुदमा भाग लिन धरान आइपुगेका पश्चिमाञ्चल पुरुष फुटबल टोलीका खेलाडी लक्ष्मण रुचालले बुधबार आफ्नो फेसबुकमा राखेको भनाइ हो यो । नेपालका लागि अन्तर्राष्ट्रियस्तरका खेलसमेत खेलिसकेका रुचालको यो सार्वजनिक गुनासोले सातौं राष्ट्रिय खेलकुदको व्यवस्थापकीय पाटो कति फितलो र निराशाजनक छ भन्ने कुरा छर्लङ्ग पार्छ।

पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद आज सातौं दिनमा चल्दैछ। भोलि धरानबाट प्रतियोगिताको समापन हुँदैछ। तर, प्रतियोगिताको सातौं दिनसम्म आइपुग्दा ‘राष्ट्रिय’ भनिएको खेलकुद प्रतियोगिताले कुनै उत्साह सञ्चार गर्न सकेको छैन। बरु, यो वा त्यो बहानामा निराशा छरेको छ। आजसम्मको अवस्था हेर्दा प्रतियोगिता पूर्वाधार तथा व्यवस्थापकीय दृष्टिले ‘कामचलाउ’ अवस्थाबाट चलिरहेको देखिन्छ।

खेल हुँँदै, पूर्वाधार बन्दै

सातौं राष्ट्रिय खेलकुद औपचारिक रूपमा सुरु हुनुभन्दा चार दिनअघि राखेपले इटहरीमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताको ‘सम्पूर्ण तयारी पूरा भइसकेको’ बताएको थियो । तर, राखेप सदस्य सचिव केशवकुमार विष्टले इटहरीबाट पत्रकारसँग त्यसो भन्दै गर्दा नजिकैको बैजनाथपुर (मोरङ) को क्रिकेट मैदानमा एक्स्काभेटर–रोलर चलिरहेका थिए।

यतिसम्म कि, भोलिपल्ट पुरुषतर्फको क्रिकेट खेल हुने उक्त मैदानमा अघिल्लो दिनको अबेर साँझसम्म पनि सयौं कामदार काममै भिडिरहेका देखिन्थे । प्रतियोगिता सुरु भएपछि अन्य दिनसमेत बिहान–बेलुका मैदानको बाराबेरा, रङरोगनलगायत ‘फिनिसिङ’का काम चलिरहे । भित्र प्रतियोगिता र बाहिर निर्माण कार्य चलिरहेको दृश्यले आयोजकलाई नराम्ररी गिज्याइरहेको थियो।


एक ठाउँमा मात्रै हैन, विराटनगर, इटहरी, धरान, झापालगायत धेरै प्रतियोगिता हुने मुख्य–मुख्य सहरमै पूर्वाधार तयारीको सबालमा यही दृश्य देखियो । कतिसम्म भने, नयाँ पूर्वाधार नबन्दा र भएकाको पनि राम्ररी मर्मत–सम्भार नहुँदा कतिपय खेल त्रिपाल टाँगेर सञ्चालन गरियो । क्रिकेट–फुटबलजस्ता चर्चित खेलहरू बुङबुङ धुलो उड्ने मैदानमा सञ्चालन भए।

राज्यस्तरबाट हुने राष्ट्रिय प्रतियोगिताको यो हालत किन ? किन समयमै पूर्वाधार तयार भएनन् ? किन आवश्यक तयारी पूरा गर्न सकिएन ? इटहरी गृहनगर भएका राखेप सदस्य सचिव केशवकुमार विष्टको सोझो जवाफ छ– सरकारले समयमै पैसा नदिँदा पूर्वाधार तयार पार्न सकिएन।

यद्यपि, प्रतियोगिता सुरु हुनुभन्दा केही दिनअघि विष्टले ललितपुरमा पत्रकार सम्मेलन गरी बजेट अभावले प्रतियोगितालाई कुनै असर नगर्ने बताएका थिए । तर, त्यस्तो भएन । सरकारले समयमै रकम नदिएर वा रकम पाएर पनि राखेपले काम गर्न नसकेर, सातौं खेलकुद पनि विगतमा झैं राज्यस्तरबाटै ‘उपेक्षाको सिकार’ बन्न पुग्यो । प्रतियोगिताका लागि अतिआवश्यक पूर्वाधार निर्माण तथा मर्मत–सम्भारमा सरकार तथा राखेपले समयमै तदारुकता नदेखाउँदा आज सिंगो प्रतियोगिता आलोचनाको घेरामा तानिएको छ ।

ताली बजाउने दर्शकसमेत छैनन्

सातौं राष्ट्रिय खेलकुद सुनसान प्रायः छ। तालिकाअनुसार बाक्लैगरी खेलहरू चलिरहँदा मैदानबाहिर गन्न सकिने दर्शकका टाउका मात्र हुन्छन्। कतिपय स्थानमा खेलाडी स्वयंले दर्शकदीर्घाको खडेरी टारिदिएका छन्। खेल सकिँदा–ब्रेक हुँदा यताका खेलाडी उता, उताका खेलाडी यता आएर दर्शकको भीड बाक्लो बनाएको देखिन्छ। अन्यथा, खेलस्थल दर्शकविहीन छन्।

यतिसम्म कि, सबैभन्दा धेरै प्रतियोगिता हुने विराटनगर, इटहरी, धरानलगायत सहरमा समेत आजसम्मका कुनै पनि खेलमा उल्लेख्य दर्शक देखिएका छैनन्। क्रिकेट, फुटबलजस्ता खेलले पनि किन दर्शक पाएनन् ? प्रतियोगिता आयोजक राखेपसँग यसको चित्तबुझ्दो जवाफ छैन । ‘पर्याप्त प्रचारप्रसार नहुँदा दर्शक नआएका हुन्,’ सातौं खेलकुदअन्तर्गत प्रचारप्रसार उपसमिति संयोजक लोकेन्द्र बस्नेतले भने, ‘पटक–पटक खेलको मिति सर्दा पनि असर पुगेको हो ।’

अवस्था कस्तोसम्म छ भने, खेलस्थलमा विजेता खेलाडीलाई अतिथिहरूले पदक थमाइरहँदा उनीहरूको सम्मानमा एकसरो तालीसमेत मज्जाले बज्दैन । छेवैमा बसेका अन्य खेलाडी र अफिसियलले विजेता खेलाडीको सम्मानमा ताली पिट्छन्। खेलकुदको कुम्भमेलामा यतिसम्मको शून्यता किन ? मोरङको बैजनाथपुर क्रिकेट रंगशालमा खेल हेर्न पुगेका विराटनगरका सुबोध खत्री व्यवस्थापनलाई त्यसो हुनुको कारण ठान्छन्। ‘राष्ट्रिय खेलकुदमा दर्शक बस्ने ठाउँसमेत छैन, अनि दर्शक कसरी आऊन् त ?,’ उनले भने, ‘बरु, गाउँस्तरको प्रतियोगिता योभन्दा भव्य र व्यवस्थित हुन्छ ।’

नाम मात्रको प्रचारप्रसारमा तीसौं लाख

खेलस्थल अवलोकनमा निस्कने हो भने खेल हेर्न पुगेका दर्शकको उपस्थिति देख्दा उराठ लाग्छ । मानुम् कि, त्यहाँ राष्ट्रिय प्रतियोगिता हैन, कुनै टोलस्तरको प्रतियोगिता भइरहेको छ । बरु, विद्यालयस्तरमा हुने राष्ट्रपति सिल्डमा धेरै दर्शक हुन्छन्, राष्ट्रिय खेलकुदमा दर्शकको चर्को खडेरी छ । आखिर खेलकुदको कुम्भमेला भनिएको सातौं खेलकुद प्रतियोगितास्थलसम्म दर्शक किन पुग्दैनन् ? कहाँ तयारी पुगेन ? गर्नुपर्ने के–के कुरा छुटे ?

राखेप सदस्य सचिव विष्टका अनुसार जारी सातौं खेलकुदको प्रचारप्रसार शीर्षकमा मात्रै ३० लाख रुपैयाँ खर्च भएको छ । तर, उनले दिएको खर्चको आकार र प्रतियोगितामा दर्शकको उपस्थितिलाई हेर्ने हो भने पत्याउन मुस्किल हुन्छ । फेरि पनि उही प्रश्न उठ्छ– आखिर तीसौं लाख खर्चंदा पनि प्रसारप्रसारको घेरा किन साँघुरो भयो ? प्रतियोगिताले दर्शक किन पाएन ?

यसबारे जिल्ला तथा स्थानीय खेलकर्मीको भद्र आरोप छ– आयोजकले उनीहरूसँग समन्वय नगर्दा यो अवस्था आएको हो । उनीहरू आफूहरूलाई आयोजकले ‘बायस’ गरेको ठान्छन् । ‘स्थानीय प्रशिक्षक, कर्मचारी तथा अन्य खेलकर्मीलाई बेवास्ता गर्दा प्रचारप्रसार फितलो भयो,’ मोरङका एक खेलकर्मीले भने, ‘त्यसकै कारणले पनि दर्शकको खडेरी लागेको हो ।’

त्यसो त एकथरी मानिस राखेपले दैनिक भत्ता सुविधा दिएका सञ्चारकर्मी तथा मिडियाले प्रतियोगिताको भरपर्दो सूचना संवाहकको भूमिका ननिभाउँदा पनि प्रतियोगिताको प्रचारप्रसार हुन नसकेको बताउँछन् । यसबाहेक राखेप स्वयंले प्रतियोगितास्थलमा सूचना डेस्क नराख्नु, पटक–पटक सर्दै आएको खेलतालिकाबारे दर्शकसम्म सूचना नपुर्याउनु, खेलक्रममा ‘एङ्करिङ’ गर्ने व्यवस्था नगर्नुजस्ता साना कुरा पनि प्रतियोगितामा दर्शक नतानिनुका कारण हुन्।

बजेट अभावले पूर्वतयारी नपुग्दा समस्या: राखेप

सातौं राष्ट्रिय खेलकुद अव्यवस्थित र उत्साहहीन भएको भन्दै चौतर्फी आयोजकको आलोचना भइरहँदा बुधबार राखेपले धरानमा एक पत्रकार सम्मेलन आयोजना गरी आफ्नो बचाउ गरेको छ । त्यसक्रममा राखेप सदस्य सचिव विष्टले पैसा अभावले समयमै पूर्वाधार नबन्दा त्यसको असर प्रतियोगितामा परेको बताए । पूर्वाधार तयार गर्नु दुई महिनाअघिसम्म पनि सरकारले रकम नदिँदा प्रतियोगिताको व्यवस्थापन कमजोर बनेको उनको भनाइ थियो।

सदस्य सचिव विष्टका अनुसार राखेपले मागेजति रकम नपाउँदा पूर्वाधार तयारीमा समस्या भएको हो। उनका अनुसार राखेपले सुरुमा २० र पछि ११ गरी कूल ३१ करोड रुपैयाँ मागेको थियो । ‘तर, सरकारले २० करोड दिन्छु भनेकोमा ८ करोड मात्रै दियो,’ सदस्य सचिव विष्टले भने, ‘ढिला त्यसमा पनि निकै काम मात्र बजेट निकासा हुँदा पूर्वाधारदेखि लिएर अन्य कुरा व्यवस्थापनमा केही कठिनाइ भयो।’

यद्यपि, उनले प्रतियोगिता राम्रैगरी सञ्चालन भइरहेको दाबी गर्न भने भने बिर्सेनन्। ‘हो, बजेट अभावमा पूर्वतयारी नपुग्दा कमीकमजोरी रहे,’ उनले भने, ‘तैपनि, हामीले न्यूनतम् अन्तर्राष्ट्रिय मापदण्डअनुसार राम्रैगरी खेल सञ्चालन गरिरहेका छौं।’

प्रकाशित १४ पुस २०७३, बिहिबार | 2016-12-29 11:38:01

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • सिंहदरबार रेट्रोफिटिङ गर्न टेण्डर निकाल्ने तयारी

    भूकम्पले क्षतिग्रस्त बनाएको सिंहदरबार रेट्रोफिटिङ (सबलीकरण) गरिने भएसँगै पुनर्निर्माणले गति लिने भएको छ। सिंहदरबार पुनर्निर्माण सचिवालयले भवनलाई...

  • पश्चिम सेतीले जगाएको आशा

    पश्चिमसेती जलविद्युत आयोजना अघि बढाउन वैधानिक रुपमा बाटो खुलेको छ। नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले बुधबार स्वीकृति दिएपछि ७ सय ५० मेगावाटको...

  • लण्डनले स्वागत गर्‍यो पहिलो चिनियाँ रेललाई

    चीनबाट बेलायतका लागि छुटेको मालबाहक रेल बुधबार लण्डन पुगेको छ। १८ दिनको यात्रापछि ७ हजार ५ सय माइल दूरी पार गरेर सो रेल पूर्वी लण्डनको बार्किङमा...

  • मधेशमा पाँच लाखको शक्ति प्रदर्शन: एमाले

    मधेशमा पाइला टेक्नै नपाउने चेतावनी खेपिरहेको नेकपा एमालेले मेचीदेखि महाकालीसम्म पाँच लाखभन्दा बढी जनता सडकमा उतार्ने तयारी भइरहेको बताएको छ।...