बाटोमै हराउँछन् दूर्गमका औषधि



सरकारले विपन्न जनताको उपचारमा सहज होस् भनी स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा निःशुल्क औषधि पठाउने गरे पनि बीच बाटामै गायब हुने गरेको पाइएको छ। औषधि नियमित नपुग्दा मुगु, कालिकोट, रुकुम, डोटीलगायत जिल्लाका दुर्गम भेगका जनता बिरामी भएको बेलामा चर्को मूल्य तिर्न बाध्य छन्।

जिल्ला स्वास्थ्य कार्यालयले पठाएको औषधि यातायातको सुविधा नभएका गाउँमा पुर्‍याउन समस्या भएको मुगु, खत्याडका रतनबहादुर शाही बताउँछन्। उनी भन्छन्, ‘गाउँमा जहिल्यै औषधिको चरम अभाव हुन्छ, सरकारले उपलब्ध गराएको निःशुल्क औषधि त्यहाँ बिरलै पुग्ने गर्छ।’ जिमाको सोरुकोट, नाथर्पु, थोतु, भीई, कालाईरारा, धैनकोटलगायत मुगु सदरमुकाम गमगढीबाट उत्तरी क्षेत्रका गाविसमा औषधि नपुग्ने समस्या देखिएको छ। सेरीकोट, गम्था, खमाले, कोटडाँडा, याङ्लु, सुकाढीकलगायत मुगुको पश्चिम क्षेत्रका गाउँमा नियमित औषधि नपुग्ने समस्या छ।

खत्याडका शाहीका अनुसार त्यस भेगका स्वास्थ्य संस्थामा औषधिको चरम अभाव छ। त्यहाँका सात स्वास्थ्यचौकी र एक प्राथमिक स्वास्थ्य केन्द्रमा सिटामोलसमेत छैन। जिल्ला स्वास्थ्य कार्यालयले औषधि पठाइरहेको विवरण दिए पनि गाउँमा अभाव हुनुले बीचबाटै हराएको सरोकारवाला बताउँछन्।

गत भदौ अन्तिम साता गमढीबाट दुई दिनको पैदल दूरीमा रहेको मुगु गाविसको स्वास्थ्य चौकीका लागि जिल्ला स्वास्थ्यले पठाएको औषधि बाटामै सिधिएको थियो। स्वास्थ्य चौकीका कार्यालय सहयोगी जानबहादुर हितानका अनुसार जिल्ला स्वास्थ्य कार्यालयबाट पठाएको औषधि मुगु गाविसको सिसनीचौर तथा मांग्री गाविसको रियुसबजारमा बाँड्दा बाँड्दै सकिएको थियो। उक्त स्वास्थ्य चौकीमा एक एचए, दुई अहेव र एक कार्यालय सहयोगीको दरबन्दी भए पनि एचए र एक अहेव अध्ययन बिदामा छन्। अर्का अहेव हिमाछिरिङ लामा गमगढी आफ्नो पसल गरेर बसेका छन्। उनी कहिल्यै मुगु स्वास्थ्य चौकी जाँदैनन्।

जिल्ला स्वास्थ्य कार्यालय, मुगुका स्टोरकिपर प्रेमबहादुर रावत पछिल्लोपटक विभिन्न गाउँका स्वास्थ्य चौकीमा मागअनुसार औषधि पठाइएको बताउँछन्। ‘म जिल्ला स्वास्थ्यमा आएपछि पाँच महिनायता गाउँका स्वास्थ्य चौकीमा नियमित औषधी पठाउने काम भइरहेको छ, त्यसअघिकोे बारेमा मलाई जानकारी भएन,’ रावतले भने।

बारम्बार गुनासो आइरहेपछि जिल्ला स्वास्थ्य कार्यालयले पठाइएका औषधि सम्बन्धित ठाउँमा किन पुगेन भनी सोधखोज थालेको जनाएको छ। जिल्ला स्वास्थ्य प्रमुख डा. सरोज अधिकारी सदरमुकामबाट ग्रामीण क्षेत्रका लागि पठाइएको औषधि कहाँ गयो भन्ने पत्ता लगाउन अनुसन्धान भइरहेको बताउँछन्। ‘हामीले जिल्लाबाट ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाका लागि औषधि पठाइरहेका छौं, तर गाउँमा औषधि अभाव भएको तथा नपुगेको भन्ने गुनासो आइरहन्छ’, उनले भने, ‘जिल्लाबाट पठाएको औषधि कहाँ जान्छ भन्ने रहस्यमय बन्ने गरेको छ, यसप्रति हामी गम्भीर भएर लागेका छौँ।’

स्थानीय भने औषधि बोकेर गएका कार्यालय सहयोगीले बीच बाटोमै वितरण गरी फर्किने गरेको आरोप लगाउँछन्। केही दिनअघि सोरु भेगका स्थानीय गाउँमा औषधि नपुगेको भन्दै जिल्ला स्वास्थ्य कार्यालयमा आए। उनीहरूले गाउँको नाममा जाने औषधि बीचमै बेचिने गरेको गुनासो व्यक्त गरे। ‘गाउँमा स्वास्थ्यचौकी छ, स्वास्थ्यकर्मी र औषधि हुँदैन, हामीले सधैँ सिटामोल किन्न पनि मेडिकलमा जानुपर्ने बाध्यता छ’, सोरुकोटका तीर्थ मल्लले भने, ‘यहाँबाट पठाइएको औषधि कहाँ जान्छ, खोजी गरिदिनुपर्‍यो।’

मुगुका लागि जिल्ला स्वास्थ्य कार्यालयले वार्षिक १८ देखि २५ लाख रुपैयाँको औषधि खरिद गर्ने गरेको छ। क्षेत्रीय मेडिकल स्टोरबाट पनि उत्तिकै मात्रामा औषधि जिल्लाका लागि आउँछ। तर, ती औषधि जिल्लाका ग्रामीण क्षेत्रमा सधैं अभाव हुने गरेको छ।

नेपालगन्जस्थित क्षेत्रीय मेडिकल स्टोरका प्रमुख डिल्ली पोखरेल पनि औषधि बारम्बार जाँदासमेत मुुगु, जुम्ला, कालिकोटलगायत जिल्लाका विकट गाउँमा औषधि नपुगेको खबर आउनुले आश्चर्य लाग्ने गरेको बताउँछन्। क्षेत्रीय स्वास्थ्य निर्देशनालय तथा जिल्ला स्वास्थ्य कार्यालयहरु वार्षिक करिब ४ करोडको औषधि आपूर्ति हुँदै आएको छ। यसबाहेक क्षेत्रीय मेडिकल स्टोरले पनि छुट्टै औषधि पठाउने गरेको छ।

औषधि कहिल्यै आउँदैन
कालिकोटका दुर्गम गाउँमा पनि सरकारले उपलब्ध गराउँदै आएको निःशुल्क औषधि पुग्न सकेको छैन। जिल्लाका विकट छिन, राम्नाकोट, धौलागोह, मुम्रालगायत गाउँमा निःशुल्क औषधि नियमित पुग्ने नगरेको स्थानीयको गुनासो छ। जिल्ला स्वास्थ्य कार्यालय, कालिकोटले स्वास्थ्य चौकीले ३५ थरि औषधि पठाएको दाबी गरे पनि २९ थरिभन्दा बढी आपूर्ति हुन नसकेको स्थानीयको गुनासो छ। ‘जिल्ला स्वास्थ्यले औषधि पठायौं भन्छ, तर, गाउँमा बुफ्रिन, मेट्रोनजस्ता सामान्य औषधि पनि छैनन्, बिरामीलाई मर्का परेको छ’, दाहाँ गाविसका सर्पे कामीले भने।

सरकारले कालिकोटका विभिन्न स्वास्थ्य चौकीमा ओपिडी समय थपे पनि औषधि पर्याप्त नभएको स्वास्थ्यकर्मी बताउँछन्। कालिकोट, कोटबाडा स्वास्थ्यचौकीका इन्चार्ज प्रकाशकुमार बिष्ट सरकारले ओपिडी समय थपे पनि सोअनुसार औषधि नथप्दा समस्या ज्यूँकात्युँ रहेको बताउँछन्। उनी कार्यरत संस्थामा ब्रुफिनसमेत छैन। ‘औषधिबिनाको रित्तो स्वास्थ्यचौकी कुरिरहेका छौं’, उनले भने, ‘जाँच गर्ने समय थपेरमात्र समस्या समाधान नहुँदोरहेछ।’

जिल्ला स्वास्थ्यप्रमुख डा. कौशल अली भने कोटवाडालगायत स्वास्थ्य संस्थाले माग फारम ढिलो गरेका कारण औषधि अभाव भएको बताउँछन्। तर, स्थानीयको पीडा फरक छ। सदरमुकाम नजिकैको दाहाँ गाविसका सर्पे कामी र उनकी श्रीमती बिरामी परेर गाउँकै स्वास्थ्यचौकी गए। त्यहाँ औषधि पाएनन्। त्यसपछि दुवैजना जिल्ला अस्पताल पुगे। ‘गाउँमा औषधि पाइएको भए त यहाँ आउनुपर्ने थिएन’, सर्पेले भने।

परामर्श दिएर फर्काइन्छन् बिरामी
डोटीका ग्रामीण स्वास्थ्य संस्थामा औषधि नहुँदा स्वास्थ्यकर्मीले बिरामीलाई सामान्य परामर्श गरेर फर्काउने गरेका छन्। केही दिनअघि लाटामाडौं स्वास्थ्यचौकीमा आएका दुईजना बिरामीलाई हेल्थ असिस्टेन्ट वीरेन्द्र शाहीले चेकजाँच गरे। पर्चामा औषधि पनि लेखेर दिए। तर, त्यो औषधि चौकीमा थिएन। त्यसैले खानपिन र अन्य सल्लाह दिएर घर फर्काए। ुहामीले चेकजाँच गरेरमात्र के गर्नु? औषधि नै छैन, ‘निमित्त इन्चार्ज शारदा भट्टले भनिन्, ‘त्यसैले बिरामीलाई परामर्श दिएरै पठाउने गर्छौं।’ स्वास्थ्यचौकीमा सिटामोल, मेट्रो र चिसोयाममा अत्यावश्यक हुने बच्चाको लागि चाहिने सिरप सकिएको उनले बताइन्।

भूमिराजमाडौं स्वास्थ्यचौकीका इन्चार्ज तिलबहादुर बोहरा पनि दुई वर्षदेखि स्वास्थ्य संस्थाले औषधि अभाव झेलिरहेको बताउँछन्। ‘बिरामी आउँदा परामर्श दिएर पठाउनु बाहेक अरु काम छैन, कतिपय बिरामी त रिसाएर जान्छन्’, उनले भने, ‘जे गरे पनि सहेर बस्नुपर्छ।’

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक हरिश शाह पछिल्लो दुई चौमासिकमा औषधि आपूर्ति नियमित हुन नसकेकोले समस्या निम्तिएको बताउँछन्। ‘क्षेत्रीय मेडिकल स्टोरले नै आपूर्ति दिन नसकेका कारण गाउँमा औषधि समयमै गएन’, उनले भने, ‘यसले गर्दा औषधि अभाव झेल्नुपरेको हो।’

रुकुममा औषधि खरिदका लागि टेन्डर ढिलाइ हुँदा औषधीको अभाव चुलिएको छ। आर्थिक वर्ष आधा सकिँदासमेत औषधि पुग्न सकेको छैन। यसले गर्दा जिल्ला अस्पतालसहित अन्य स्वास्थ्यसंस्थामा निःशुल्क औषधि पाउन गाह्रो छ। मग्मा गाविसका हरिबहादुर खनालले स्वास्थ्यचौकीमा औषधि नपाइँदा मेडिकलबाट किन्नुपरेको बताए। ‘हेपोमा त जाँच्ने काममात्रै हुन्छ, औषधि पाइँदैन’, उनले भने, ‘औषधि किन्न त बाहिरै जानुपर्छ।’

जिल्ला स्वास्थ्य प्रमुख राजेन्द्र डिसी निःशुल्क पाइने औषधि अभाव भएको स्वीकार्छन्। यस आर्थिक वर्षको औषधि माघ १ गते जिल्लामा आउने गरी प्रक्रिया सुरु भएको उनको भनाइ छ। नागरिकमा यो खबर छ।

प्रकाशित २८ पुस २०७३, बिहिबार | 2017-01-12 08:43:32

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

    रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न...

  • पूर्वसभासद फुदुङ कुटपिटः यस्तो रहेछ खास कारण

    सुनसरीको इटहरी उपमहानगरपालिकाको ४ नम्बर वडामा पूर्वजर्नेल तथा माओवादी केन्द्रका पूर्वसांसद् कुमार फुदुङ कुटिएका छन्। आफ्नै रिसोर्टमा महिला मृत...

  • प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल? मतदाता झुक्याए नेताले

    एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता...

  •  गोरखाको प्रोकभ्यालीमा गरिएको गहुँ खेती। यहाँ बर्षदिनमा एक खेतीमात्रै उत्पादन हुन्छ।

    उत्तरी गोरखाका यी भोकमरी-स्थान जहाँ राज्यको लगानी शून्य छ

    उत्पादन भएको अन्नले दुई-तीन महिना मात्रै खान पुग्ने, थप उत्पादन बृद्धि गर्न खेतीयोग्य जमिन पनि नभएको र सदरमुकामलगायत क्षेत्रबाट खाद्यान्न ढुवानी...