सुधारको बाटोमा सेयर व्यवसाय

वित्तीय प्रणालीमा तरलता संकुचनको संकेत देखिएसँगै गत महिनादेखि सेयर बजार घट्दो क्रममा देखियो। पछिल्लो समयमा वित्तीय प्रणालीमा लगानीयोग्य पुँजीको केही सहजतापछि धितोपत्र बजार पुनः उकालो लाग्ने संकेत गरेको छ। चालू आर्थिक वर्षको पहिलो महिना साउन १२ गते हालसम्मकै उच्च बिन्दु १८८१ कायम गरेको नेप्सेको बजार पुँजीकरण त्यसबेला २० खर्बभन्दा बढी थियो। त्यसपछि वित्तीय प्रणालीको तरलतालाई मुख्य कारण मान्दै घट्न थालेको नेप्से करिब ५ अंकले घटेको हो।

निरन्तर ओरालो लागेको सेयर बजार सूचक १४०७ सम्म आइपुगेको थियो। सो न्यून बिन्दुवाट सुधारको गतिमा देखिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४७६.९० अंकमा पुगेको छ।

पछिल्लो समयमा सेयर आपूर्ति समेत बढेकाले बजार घटेको थियो। बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएर छोटो अवधिको निक्षेप माग गरेपछि सेयर बजारको लगानीको कही अंश बैंक वित्तीय संस्थामा आएको थियो। वित्तीय प्रणालीको ब्याजदर बढेको तथा आपूर्ति समेत बढ्दा समग्र सेयर बजार नकरात्मक भएको थियो।

पछिल्लो समयमा सेयर आपूर्तिमा कमी आएसँगै सेयर बजार पनि सुधारको गतिमा देखिएको हो। पछिल्लो समयमा वित्तीय प्रणालीको केही पैसा सेयर बजारमा गएको हुनसक्ने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक त्रिलोचन पंगेनी बताउँछन्। अन्तर बैंक कारोबारको व्याजदर ४ प्रतिशतभन्दा तलै रहेको उल्लेख गर्दै पंगेनीले भने, ‘अन्तर बैंक कारोबार पनि न्यून छ।’

उनका अनुसार मंगलबार वित्तीय प्रणालीमा ३ अर्ब रुपैयाँभन्दा अधिक तरलता छ। ‘तत्काल तरलता संकुचनको सम्भावना पनि देखिँदैन,’ उनले भने। सोमबार केन्द्रीय बैंकले निष्कासन गरेको टे«जरी बिल्सको व्याजदर पनि १.९५ प्रतिशत मात्र कायम भएको उनले बताए।

केन्द्रीय बैंकले जारी गरेको रिपो बिक्री नहुुनु तथा ट्रेजरी बिल्सको व्याजदर पनि न्युन हुँदा तरलता समस्या नभएको संकेत गर्छ। वित्तीय प्रणालीको तरलता समस्या नभएको अवस्थामा केही अंश सेयर बजारमा आउनु स्वभाविक मानिन्छ।

असोज अन्तिममा १९ खर्ब ९८ अर्ब ६८ करोड रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण मंगलबारसम्ममा घटेर १६ खर्ब ५५ अर्ब ४५ करोडमा झरेको छ। नेप्से परिसूचकमा कमी आएपछि बजार पुँजीकरण पनि स्वभाविक रुपमा घट्छ। नेप्सेको बजार पुँजीकरण गणना गर्दा सूचिकृत कम्पनीको सेयर मूल्यको महत्वपूर्ण भूमिका हुन्छ। औसत दैनिक एक अर्ब रुपैयाँभन्दा धेरै कारोबार हुने नेप्सेमा ३० करोड रुपैयाँ हाराहारीमा मात्र सेयर किनबेच हुने गरेको छ।

सेयर बजारमा सुधारको संकेत देखिएको कृति क्यापीटलका महाप्रवन्धक दिपेश वैद्यले बताए। ‘छोटो अवधिका लागि वित्तीय प्रणलीको तरलता र सेयरको आपूर्तिले बजारलाइ असर गर्ने भए पनि दीर्घकालीन रुपमा ग्रोइङ इकोनोमीमा सेयर बजार वढ्ने नै हो,’ वैद्य भन्छन्, ‘पछिल्लो समयमा आर्थिक गतिविधि वढेको देखिन्छ, त्यो सकरात्मक हो।’

गत साताभर १० अंकभन्दा धेरैले वढेको नेप्से यो साताको पहिलो दिन आइतबार ६ अंकले घटेको थियो। तर, सोमबार ११ र मंगलबार १७ अंकले वढेको नेप्सेको कारोबार रकम भने ३० देखि ४० करोडको हाराहारीमा सिमित छ। कारोबार दैनिकमा भुवन पौडेलले यो खबर लेखेका छन्।

प्रकाशित 2017-01-11 08:51:03