यस्तो छ चुनावी तयारी

स्थानीय निर्वाचनका लागि सहमति बनिसकेको छैन, तर सबै पक्ष आन्तरिक तयारीमा

निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटेको छ। मतदाता नामावली अद्यावधिकदेखि निर्वाचन आचारसंहितासम्मको तयारी भइरहेको आयोगले जनाएको छ। आयोग तयारीमा जुटे पनि निर्वाचनका लागि आवश्यक ऐन बनेका छैनन्। दुईवटा कानुन बनेका छन् भने ११ कानुन बन्न बाँकी छन्।

निर्वाचन आयोग अपूर्ण छ। संविधानअनुसार पाँच आयुक्त हुने भए पनि अहिले प्रमुख आयुक्तसहित दुईजना मात्रै छन्। आयोगले पूर्णता नपाए पनि काम भइरहेको आयुक्त इला शर्माले बताइन्।

स्थानीय तहको निर्वाचन गराउन पाँचवटा ऐन बन्नुपर्ने हुन्छ। संसद्ले सोमबार निर्वाचन कसुर र सजायसम्बन्धी ऐन तथा स्थानीय तह निर्वाचन कार्यविधि ऐन पारित गरेको छ। बाँकी तीन ऐनको विधेयक सरकारले २५ जेठमै संसदमा दर्ता गराएको छ। राजनीतिक दलसम्बन्धी, निर्वाचन आयोगसम्बन्धी र मतदातासम्बन्धी ऐनको विधेयक संसदमा दर्ता भएको हो। आजको नयाँ पत्रिका दैनिकमा खबर प्रकाशित छ। यी तीन विधेयक अहिले संसद्को राज्य व्यवस्था समितिमा छलफलमा छ।

प्रकाशित 2017-01-11 07:59:36