मधेसी-पहाडीबीच बढ्दो सदभाव

फैलँदै विकासको लहर



अढाई दशकअघि मिर्चैया–कटारी सडक निर्माण पूरा भएपछि सिरहा, मिर्चैयामा विकासको लहर सुरु भयो। उदयपुर, सिन्धुली, खोटाङलगायत पहाडी समुदायको बाहुल्य रहेका ठाउँका मानिस त्यहाँ झर्न थाले। सिरहा तथा धनुषाका ‘देहात’का मानिसले पनि बसोबासका लागि त्यही क्षेत्र रोजे।

मधेसी तथा पहाडी समुदायको मिश्रित बस्ती बढ्दै गएको केही वर्षमै यो बजार फस्टाउँदै गयो। भौतिक संरचना विस्तारका साथै शिक्षा, स्वास्थ्य र सञ्चारको क्षेत्रमा पनि प्रगति देखिन थाल्यो।

‘०६२/६३ को जनआन्दोलनपछि मिर्चैया बजारले रूप फेर्दै गयो। पछिल्लो दस वर्षमा यो बजार सिरहाको व्यापारिक केन्द्र बनेको छ’, मिर्चैयाका स्थानीय बुद्धिजीवी विजय साह भन्छन्, ‘पहाड तथा मधेसका विभिन्न ठाउँबाट बसाइँ सरेर आएका मानिसको साझा अठोटले यहाँ उन्नति सम्भव भएको हो।’ गाउँ–सहरको समृद्धिका लागि सद्भाव र स्थानीयबीच अन्तर्घुलन अपरिहार्य रहेको साहको भनाइ छ।

गत वर्षको मधेस आन्दोलनका बेला अन्य जिल्लाभन्दा तुलनात्मक रूपमा संयम र शान्त देखिएको सिरहाका मिश्रित जातजातिको बाहुल्य रहेका गाउँ–सहर समृद्ध बन्दै गएका देखिन्छन्। विजयका अनुसार सिरहाको मिर्चैया मात्र होइन, लहान र गोलबजारमा पनि केही वर्षयता चहलपहल बढ्दै गएको छ। जातीय सद्भावको नमुना बसोबासमा मात्र होइन, व्यापारमा पनि झल्किन्छ यहाँ।

‘सिरहाका यी बजारबाट खाद्यान्नलगायत विभिन्न सामग्री मिर्चैया हुँदै कटारी, घुर्मी, ओखलढुंगा र सोलुको बजारसम्म पुग्छ’, उनी भन्छन्, ‘यहाँको व्यापारको ‘मियो’ पहाड हो।’ यही भएर यहाँको व्यापार बढ्दो क्रममा छ।

मिर्चैया उत्तरतर्फको सगरमाथा राजमार्ग हुँदै सिन्धुली, उदयपुर, ओखलढुंगा र सोलुखुम्बुसम्म गाडी चल्छ। सडकको पहुँच बढेसँगै पहाडबाट मधेसमा बसाइँसराइ गर्ने क्रम बढेको र त्यसले सामाजिक विकासमा मद्दत गर्नुको साथै मिश्रित संस्कृतिको समेत विकास भएको सिरहा जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा मिर्चैयाका बासिन्दा अशोक साह बताउँछन्।

‘यहाँ मधेसी र पहाडी समुदायबीच अत्यन्त राम्रो सम्बन्ध छ। दसैं–तिहार, छठजस्ता पर्व दुवै समुदायका मानिसले उल्लाससाथ मनाउँछन्’ अशोक भन्छन्, ‘यो सामाजिक सम्बन्धले समन्वय बढाउँदै लगेको छ।’ उनका अनुसार सिरहाका मुख्य व्यापारिक केन्द्रमा उद्यम–व्यवसायमा मधेसी समुदायको बाहुल्य रहे पनि क्रेता चाहिँ पहाडबाट आउने गरेका छन्।

गुणस्तरीय शिक्षा, सहज व्यापार, स्वास्थ्य संस्थाको समुचित व्यवस्था तथा रोजगारीले पहाड र मधेसबाट बसोबास गर्न आउनेको संख्या बढेकाले मिर्चैया, लहान र गोलबजार गुल्जार बन्दै गएका छन्। प्रजातन्त्र पुनर्स्थापनापछि आठ वर्षसम्म यी बजारमा विकासका काम निक्कै अगाडि बढेको थियो। २०५२ सालमा माओवादीले ‘जनयुद्ध’ थालेपछि दस वर्षजति यहाँ विकासको गति अवरुद्ध भए पनि पछिल्लो समय आर्थिक तथा सामाजिक परिवर्तन देखिन थालेको छ।

‘केही वर्षअघिसम्म यी बजारमा सामान्य चहलपहल थियो, पछिल्लो समय व्यापार व्यवसाय बढ्दै गएको छ,’ जिल्ला विकास समिति, सिरहाका सामाजिक शाखा प्रमुख अरुणकुमार साह भन्छन्। पहाडी–मधेसी दुवै समुदायका मानिसको मिश्रित बसोबास भएका गाउँमा अन्य ठाउँको तुलनामा छिटो विकास हुने गरेको पाइएको उनको अनुभव छ। ‘जुन ठाउँमा मधेसका यादव, झा, ठाकुरलगायत अन्य जातजाति तथा पहाडका बाहुन, क्षत्री, जनजातिको बसोबास छ, एकअर्काको रहनसहन र संस्कृतिलाई दुवै पक्षले सम्मान गरेका छन्। त्यहाँ सहरीकरण तथा बजार विस्तार चाँडो हुँदै गएको छ’, उनी भन्छन्।

केही वर्षयता यी क्षेत्रमा बसोबास गर्न आउनेको संख्या बढेसँगै जग्गाको मूल्य पनि अकासिँदै गएको छ। पाँच वर्षयता मिर्चैयामा जग्गाको भाउ अत्यधिक बढेको स्थानीय व्यापारीको भनाइ छ।

‘व्यापार–व्यवसाय उँभो लागेकाले यहाँ घडेरीको मूल्य तीव्र रूपमा बढेको हो, एक कट्ठा घडेरीका लागि न्यूनतम ४०–५० लाखदेखि करोडभन्दा माथि पर्छ’, अशोक भन्छन् ।

गोलबजार, लालपुरका ६५ वर्षीय शुभलाल राईका पुस्ता खोटाङबाट यहाँ आएका हुन् । उनका तीन पुस्ताले यहीँ थातथलोमा बिताइसकेका छन्। कृषि कार्य गर्दै आएका राईले छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिए। उनका छोराछोरी अहिले विदेशमा छन्।

यादव, साह, क्षत्री, बाहुन र राईको मिश्रित बसोबास रहेको लालपुरमा राई परिवारको प्रेरणाले तरकारी खेतीबाट जीविकोपार्जन गर्दै आएका मधेसी समुदायले पनि छोराछोरीको शिक्षामा विशेष ध्यान दिन थालेका छन्। ‘शुभलाल पहाडी मात्र होइन, मधेसी समुदायका लागि पनि प्रेरणाका स्रोत हुन्। उनले छोराछोरीको शिक्षामा लगानी गर्नुपर्छ भन्ने सन्देश दिए’, लालपुरका माधव थपलिया भन्छन् ।

गोलबजारका व्यापारी अजित जयसवालका अनुभवमा पहाडी समुदायको कारण यस क्षेत्रका बजारमा व्यापार फस्टाएको हो। ‘पहाडी समुदायका ग्राहक नआउने हो भने यहाँको व्यापारले यो उचाइ पाउँदैनथ्यो’, उनी खुसी व्यक्त गर्छन्। जिल्ला विकास समिति, सिरहाका अनुसार अहिले मिर्चैयाको ७५ हजार, गोलबजारको ६५ हजार र लहानको जनसंख्या १ लाखभन्दा बढी छ।

मिश्रित बसोबासले समृद्धि

सगरमाथा अञ्चलकै प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको लहानमा वर्षौंदेखि मधेसी तथा पहाडी समुदायका मानिस समन्वयात्मक रूपमा बस्दै आएका छन्। आपसी मेलमिलाप तथा सांस्कृतिक अन्तर्सम्बन्धले लहान समृद्धिको बाटोमा अगाडि बढाएको जानकारको भनाइ छ।

‘मारवाडी समुदायको आगमनले लहानलाई सगरमाथा अञ्चलकै व्यापारिक सहर बनाउन थप ऊर्जा प्रदान गर्‍यो। यहाँ मधेसी तथा पहाडी समुदाय मिलेर बस्दै आएका छन्’, लहानका बुद्धिजीवी डा. महादेव साह भन्छन्। जातीय सद्भाव र सहकार्यले लहानको औद्योगिक, शैक्षिक र सामाजिक विकासमा योगदान पुर्‍याएको साहको धारणा छ।

सगरमाथा चौधरी आँखा अस्पताल स्थापना भएपछि लहानको नाम देशभित्र मात्र होइन, विदेशमा पनि फैलँदै गएको छ। आँखाको शल्यक्रियाको आधारमा यो अस्पताल विश्वकै दोस्रो ठूलो अस्पताल हो। लहानका समाजसेवी रवीन्द्रलाल चौधरीको बुझाइमा पछिल्लो समय लहान सबै जातजातिको साझा फूलबारी बन्दै गएको छ। ‘सधैं द्वन्द्व र कलह मात्र गरेर हुँदैन, विकासको काममा एकजुट हुनुपर्छ भन्ने भावना विकास भएको छ, जुन सकारात्मक हो’, चौधरी भन्छन्।

मधेसका जिल्लामा एक अर्कालाई चाडपर्वलाई सम्मान गर्ने संस्कारले सामाजिक सद्भावलाई बढाव दिएको स्थानीय समाजसेवीको भनाइ छ। सिरहाका लहान, मिर्चैया, गोलबजार, बडहारामाल, जमदह, मुक्सारलगायत स्थानमा हिन्दु मुस्लिमको चाडपर्वमा सरिक हुने अनि मुस्लिम रमाउँदै हिन्दुको पर्वमा सामेल गरेको भेटिन्छ।

लहानका समाजसेवी तथा प्राध्यापक भैरव गेलाल भन्छन्, ‘यही जातीय तथा धार्मिक सद्भावले गर्दा नै समाज परिवर्तन हुँदै गएको छ।’ नागरिक दैनिकमा मिथिलेश यादवले यो फिचर लेखेका छन्।

प्रकाशित २६ पुस २०७३, मंगलबार | 2017-01-10 08:58:48

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • श्री एयरलाइन्सको जहाज

    प्राधिकरणको अनुमति ढिलाइले श्री–एअरको जहाज क्यानडामै रोकियो

    नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अनुमति नदिँदा श्री एअरलाइन्सले ल्याउन लागेको दुई वटा जहाज क्यानाडामा रोकिएर बसेका छन्। तीन महिनादेखि बनेको...

  • अन्नपूर्णको फेदीमा आँखा अल्झँदा...

    नेपालको दशौँ अग्लो हिमाल अन्नपूर्ण (८०९१ मि) को आधार शिविर (४१३० मि) संसारभरमा परिचित छ। छपक्क हिउँले छोपिएको अन्नपूर्ण आधार शिविर मात्र होइन...

  • चीनसँग विगतमा भएका सम्झौता लागू गर्न प्रधानमन्त्री दाहाललाई विज्ञको सुझाव

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पूर्व प्रधानमन्त्री तथा चीन विज्ञहरुले चीनले अघि सारेको वान बेल्ट वान रोड–ओबीओआरको समझदारी पत्रमा हस्ताक्षर...

  • खैरेनी बनले हर्यो पर्यटकको मन

    अठार हेक्टर क्षेत्रफलमा फैलिएको खैरेनी सामुदायिक वनमध्ये १२ हेक्टर क्षेत्रफललाई नदीले चारैतिरबाट टापु आकारमा घेरेको छ। नदीले घेरेको वनलाई सानो...