पृथ्वीनारायणबारे प्रचण्ड पहिले के भन्थे?

माओवादी दस्तावेजहरूमा पृथ्वीनारायण शाहको भूमिकाबारे कि घुमाउरो प्रशंसा छ, कि मौनता



सिंहदरबार अगाडि पृथ्वीनारायण शाहको सालिक। तस्विरः सन्देश दुमरु
सिंहदरबार अगाडि पृथ्वीनारायण शाहको सालिक। तस्विरः सन्देश दुमरु

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राप्रपाले पृथ्वी जयन्तीका अवसरमा आयोजना गरेको चियापान समारोहमा सहभागी भए। र, भने– ‘पृथ्वीनारायण शाहले बलियो केन्द्रीकृत राज्य निर्माणमा भूमिका खेले। ऐतिहासिक भौतिकवादले उनको यो भूमिकालाई सकारात्मक रूपमा हेर्छ।’

पृथ्वीनारायणको कामलाई प्रचण्डले दस्तावेजमा कतै ‘केन्द्रीकृत सामन्ती राज्यविस्तार’ भनेका छन् भने कतै इतिहासको ‘वस्तुगत आवश्यकता’का रूपमा चर्चा गरेका छन्

चितवनमा मंगलबार भएको कार्यक्रममा पनि प्रधानमन्त्री प्रचण्डले पृथ्वीनारायण शाहले राज्य विस्तार गरेका हुन् या राष्ट्रको एकीकरण भन्ने कुरा अझै बहसको विषय भएको विचार व्यक्त गरेका थिए।

कतिले कम्युनिस्ट प्रधानमन्त्री प्रचण्डलाई नै पृथ्वीनारायण शाहका विरोधीका रूपमा चित्रित गर्छन्। कतिले पृथ्वीनारायणको जन्मदिनमा राष्ट्रिय बिदा नदिएकोमा सामाजिक सञ्जालमा उनको आलोचना पनि गरिरहेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले त माओवादीकै कारण बिदा दिन नसकिएको त्यही मञ्चमा बोले।

तर, राप्रपाको कार्यक्रममा पुगेर मात्रै प्रचण्डले पृथ्वीनारायणको भूमिकालाई ‘सकारात्मक’ भनेर प्रशंसा गरेका होइनन्। उनले जनयुद्धकै समयदेखि शाहको योगदानको ‘सकारात्मक’ मूल्याङ्कन गर्थे भन्ने कुरा उनका यसअघिका भाषण, लेख र दस्तावेजबाट थाहा हुन्छ।
पृथ्वीनारायणको कामलाई प्रचण्डले दस्तावेजमा कतै ‘केन्द्रीकृत सामन्ती राज्यविस्तार’ भनेका छन् भने कतै इतिहासको ‘वस्तुगत आवश्यकता’का रूपमा चर्चा गरेका छन्।

माओवादीले २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनलाई ऐतिहासिक भन्ने गरेको छ। उक्त सम्मेलनको दस्तावेजमा प्रचण्डले पृथ्वीनारायण शाहको भूमिकालाई ‘वस्तुगत आवश्यकता’का रूपमा व्याख्या गरेका छन्। दस्तावेजको राष्ट्रिय परिस्थितिअन्तर्गत ‘इतिहासको सामान्य अवलोकन’ उपशीर्षकमा लेखिएको छ, ‘पृथ्वीनारायण शाहको सामन्ती राज्य विस्तार अभियानले सफलता प्राप्त गर्नुका पछाडि सबै वस्तुगत आवश्यकताले काम गरेको तथ्यलाई अवमूल्यन गर्नु ऐतिहासिक भौतिकवादलाई नै नबुझ्नु मात्र ठहर्छ।’

प्रचण्ड

प्रचण्ड

सोही दस्तावजेमा नेपालमा पृथ्वीनारायण शाहको राज्य विस्तार अभियान चलेको र भारतमा अंग्रेजी पुँजीपतिवर्गको विस्तार अभियान चलेको भनिएको छ। दोहोरो राज्य विस्तार अभियानबीच घमासान युद्ध भएको भन्दै प्रचण्डले आफ्नो दस्तावेजमा भनेका छन्, ‘ती युद्धहरूमा नेपालका बाल, वृद्ध, महिला एवं जवानहरूले देशको निम्ति त्याग, वीरता र बलिदानका ऐतिहासिक कीर्तिमानहरू पनि खडा गरे।’

२०५७ सालबाहेक अरु कुनै दस्तावेजमा तत्कालीन माओवादीले आधिकारिक रूपमा र विस्तारमा पृथ्वीनारायण शाहबारे बोलेको छैन। २०५७ को दस्तावेजमा पनि उनीबारे चर्चा गर्न नेकपाका संस्थापक पुष्पलाललाई उद्धरण गरिएको छ।

माओवादीले ऐतिहासिक भन्ने गरेको २०४८ सालको एकता महाधिवेशनको दस्तावेज र २०५२ मा जनयुद्ध सुरु गर्दाको दस्तावेजमा समेत पृथ्वीनारायण र उनको भूमिकाबारे स्पष्ट चर्चा छैन। त्यसैगरी २०६२ सालको चुनवाङ बैठकको दस्तावेजमा पनि माओवादीले पृथ्वीनारायण शाहबारे कुनै मूल्याङ्कन गरेको छैन।

युद्ध सुरु हुनुअघि २०५१ सालमा लेखिएको दस्तावेजमा प्रचण्डले पृथ्वीनारायण शाहको नाम नलिई नेपाली जनता ‘जीवनको आवश्यकताले नै हिंसात्मक संघर्षमा प्रशिक्षित’ भएको भनेका छन्। पृथ्वीनारायण शाहकालीन लडाइँको चर्चा गर्दै त्यसमा लेखिएको छ, ‘आफ्नै ऐतिहासिक विकास प्रक्रियामा लडाकुपन र रणकौशलको ज्ञान हासिल गरेका नेपाली जनताले पछि आएर आधुनिक ज्ञान, प्रविधि र सशस्त्रबाट सुसज्जित दक्षिणतिर अंग्रेजको फौज एवं उत्तरतिर चीनको तिब्बतसँग भीषण र वीरतापूर्ण लडाइँहरू लडेका छन्।’

शान्ति प्रक्रियामा आएपछि प्रचण्डले आफूहरूले पृथ्वीनारायण शाहको युद्धकौशलबाट छापामार युद्धको तरिका सिकेको बताउने गरेका थिए। उनले आफ्ना अन्तर्वार्ताहरूमा पृथ्वीनारायण शाहबाट युद्धकला सिकेको बताए पनि दस्तावेजहरूमा भने शाहलाई खुलेर जस दिइएको छैन।

शान्ति सम्झौतापछि सम्पन्न तत्कालीन एकीकृत माओवादीको सातौं महाधिवेशनको दस्तावेजमा पनि पृथ्वीनारायण शाहको नाम नलिई नेपाली जनसमुदायले इतिहासका अनेक कालखण्डमा ‘मौलिक रणनीति’सहित लडेको भनिएको छ।

माओवादीका दस्तावेजहरु

माओवादीका दस्तावेजहरु

२०६९ मा हेटौंडामा भएको उक्त महाधिवेशनको दस्तावेजमा भनिएको छ, ‘इतिहासका अनेक कालखण्डमा भए–गरेका वैदेशिक हस्तक्षेपका विरुद्ध र आफ्नो स्वतन्त्रताका पक्षमा आम जनसमुदाय नै लडाइँका मोर्चामा मौलिक रणनीतिसहित वीरता र बलिदानका ऐतिहासिक कीर्तिमानहरू कायम गरेर देशको रक्षा गरिएका गौरवगाथाद्वारा नेपाली इतिहास भरिएको छ।’

पञ्चायतदेखि बहुदलकालसम्म पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारी स्तरमै मनाउने गरिएको थियो। २०६२÷०६३ को जनआन्दोलनपछि राजामहाराजाका जन्मजयन्तीलाई एकता दिवसका रूपमा मनाउने प्रचलन तोडिएको हो।

पहिलोपटक प्रधानमन्त्री हुँदा राजामहाराजाका जन्मदिनलाई राष्ट्रिय दिवस नमनाउने निर्णय गरेका प्रचण्ड दोस्रोपटक त्यसबारे अध्ययन गरेर पुनरावलोकन गर्ने ठाउँमा पुगेका छन्।

प्रचण्डकै अध्यक्षतामा पृथ्वी जयन्तीकै दिन बसेको मन्त्री परिषद बैठकले बिदा र दिवससम्बन्धी अध्ययन गरेर सुझाव दिन गृह मन्त्रालयलाई एक महिनाको समय दिएको छ। सरकारले एक महिनामा लिने निर्णय जे भए पनि इतिहासको अध्ययन र पुनर्अध्ययन भने चलि नै रहने देखिन्छ।

प्रकाशित २७ पुस २०७३, बुधबार | 2017-01-11 20:35:46

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • होमस्टे वर्गीकरणसहित करको दायरामा

    सरकारले नेपालमा सञ्चालित ‘होमस्टे’लाई वर्गीकरण गर्दै करको दायरामा ल्याउने भएको छ। नेपालमा सञ्चालित केही होमस्टले मासिक राम्रो आम्दानी गर्न...

  • कहिले फारिएला काठमाण्डूको धुलो?

    मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रबन्धक नन्दप्रसाद खनाल भन्छन्, ‘हामी दिनरातै काम गरिरहेका छौँ। आठ मिटर चौडाइभन्दा ठूला...

  • पेट्रोलियम पदार्थको हाहाकार हट्ने

    ‘तेल चोर्न’ पाउनुपर्छ भन्दै आन्दोलनमा उत्रिएका ट्यांकर चालकले एक महिनाको समयसीमा दिँदै शुक्रबारदेखि पेट्रोलियम पदार्थ उठाउने भएका छन्। नेपाल आयल...

  • केरुङ–रसुवागढी नाका

    नुवाकोटमा नेपाल-चीन औद्योगिक पार्क निर्माण यसै वर्ष अघि बढ्ने

    विश्वको अल्पविकसित मुलुकमध्ये पर्ने नेपालमा कृषि वस्तुबाहेक अरु अधिकांश कुरा आयातमा निर्भर हुनुपरेको बताउँदै वाङ्ले यसबाट आम नेपालीको आवश्यक मागको...