पृथ्वीनारायण शाहलाई सरकारले बेवास्ता गरेको आरोप

सिंहदरबार अगाडि पृथ्वीनारायण शाहको सालिक। तस्विरः सन्देश दुमरु
सिंहदरबार अगाडि पृथ्वीनारायण शाहको सालिक। तस्विरः सन्देश दुमरु
पृथ्वीनारायण शाहको २९५ औँ जन्मजयन्तीको अवसरमा उनको सालिकमा माल्यार्पण गर्दै सरकारले उनलाई बेवास्ता गरेको आरोप लगाएका छन्। विभिन्न सङ्घ संस्थाका प्रतिनिधिका साथै राजनीतिक दलका नेताले सिंहदरबार मूलद्वार अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्दै सो कुरा बताएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पृथ्वीनारायण शाहको योगदानका कारण नेपालले विश्वसामु पहिचान बनाएकाले आज हामी नेपाली भएर बाँच्न पाएको बताए।

मुलुकको राष्ट्रियता, अखण्डता र सार्वभौमिकताको रक्षाका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिँदै अध्यक्ष थापाले पृथ्वीनारायण शाहको योगदानको कदरस्वरुप यो पर्वलाई सरकारले भव्यरुपमा मनाउनुपर्नेमा सार्वजनिक बिदासम्म नदिनु उचित नभएको उल्लेख गरे।
माल्यार्पण कार्यक्रममा बोल्दै
राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले पृथ्वीनारायण शाहले देशलाई एकीकरण गरेर सिङ्गो राष्ट्र निर्माण गरेजस्तै अहिले सबै राजनीतिक दल एकजुट भई मुलुकलाई निकास दिने बेला आएको उल्लेख गरे।

कार्यक्रममा २९५ औँ राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समिति, राष्ट्रिय एकता मञ्च, शिव सेना नेपाल, हिन्दू राष्ट्र जागरण अभियान नेपाल, संयुक्त सुशासनका लागि युवा सङ्गठन नेपाल, शाही युवा शक्ति, गोर्खाली तक्मा नेपाललगायत विभिन्न सङ्घसंस्थाको उपस्थिति थियो। रासस

प्रकाशित 2017-01-11 13:26:02