चिनियाँ नेताले किन भेटेनन् देउवा र ओलीलाई?



कांग्रेस सभापति देउवालाई भेट्दै चिनियाँ टोलीका उपनेता गुओ येचाओ
कांग्रेस सभापति देउवालाई भेट्दै चिनियाँ टोलीका उपनेता गुओ येचाओ

चिनियाँ कम्युनिष्ट पार्टीका प्रचार विभाग प्रमुख तथा पोलिटब्यूरो सदस्य लिउ छिपाओ ३ पुसमा काठमाडौं उत्रिए। सोही दिन अपरान्ह पाँच बजे कांग्रेस सभापति शेरबहादुर देउवा र पौने छ बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने निर्धारित समय थियो। तर लिउले विरामी भएको जनाउ दिँदै दुवै नेतालाई भेटेनन्।

चीन महोत्सवको उद्घाटन र राष्ट्रपति सी जिपिङद्वारा लिखित पुस्तक ‘चीनको शासनव्यवस्था’ को नेपाली अनुवाद विमोचन लिउका मुख्य कार्यक्रम थिए। यही व्यस्तताबीच देउवा र ओलीलाई भेट्ने कार्यक्रम तय भएको थियो। तर अन्तिम समयमा चिनियाँ नेताले देउवा र ओलीलाई भेट्न आफ्नो टोलीका उपनेता तथा चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचाओलाई पठाए।

कुटनीतिक क्षेत्रका विज्ञहरूले कात्तिक १९ मा भारतको गोवामा निर्वासित तिब्बत सरकारका प्रधानमन्त्री लोब्साङ साङ्गेसँग देउवाले गरेको संक्षिप्त भेटलाई आधार बनाएर लिउले देउवासँग भेट्न नचाहेको बताएका छन्। प्रमुख दल कांग्रेसका नेता देउवालाई नभेटेपछि सन्तुलन मिलाउन उनले एमाले अध्यक्ष ओलीलाई भेट्ने कार्यक्रम पनि रद्द गरेको बताइएको छ। दुवै नेतासँग लिउको टोलीका उपनेता गुओ येचाओले भेटवार्ता गरे।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको निम्तोमा लिउ तीन दिने नेपाल भ्रमणमा आएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यकालमा नेपाल भ्रमण गर्ने लिउ अहिलेसम्मका उच्च चिनियाँ नेता हुन्।

चिनियाँ नेता लिउ काठमाडौँ उत्रिएकै दिन परराष्ट्रमन्त्री प्रकाशशरण महतको निमन्त्रणामा भूपरिवेष्ठित मुलुक मंगोलियाका विदेशमन्त्री सेन्द मुन्च–अर्जिल पनि काठमाडौं आए। निर्वासित तिब्बती धार्मिक नेता दलाई लामालाई मंगोलियामा स्वागत गरिएपछि चीन मंगोलियाप्रति आक्रोशित भइरहेको अवस्थामा मन्त्री महतले यही समय मंगोलियन मन्त्रीलाई काठमाडौँमा स्वागत गरेकोमा पनि चीनले असन्तुष्टी जनाएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए।

मंगोलियासँग चीनको सम्बन्ध बिग्रिएकै बेला एकै साथ दुई नेतालाई बोलाउनु नेपालको कुटनीतिक कच्चपन देखिएको विश्लेषकहरुले बताइरहेको सन्दर्भमा मन्त्री महतले भने यसलाई संयोग मात्र भएको दाबी गरेका छन्। उपप्रधानमन्त्री महराले लिउको सम्मानमा रात्रिभोज दिइरहँदा मन्त्री महतले मंगोलियाका मन्त्री सुन्दको सम्मानमा अन्नपूर्ण होटलमा रात्रिभोज गर्दैथिए।

‘चीन र मंगोलियाका दुवै नेता एकैपटक आउनु संयोग मात्र हो। सरकारलाई भारतपरस्त देखाउन केही मान्छेले नियतवश यस्तो हल्ला चलाएका हुन’, चिनियाँ नेता लिउको सम्मानमा मन्त्री महराले सोल्टी होटलमा दिएको पार्टीमा तपाईं किन उपस्थिति हुनु भएन प्रश्नमा मन्त्री महत भन्छन्, ‘उपप्रधानमन्त्री महराजीले उहाँको सम्मानमा रात्रिभोज दिइहाल्नु भयो, उनीहरुले चाहेका मान्छेलाई भेटेकै हुन। मलाई नभेट्नु उनीहरुकै निर्णय हो।’

पार्टीको नेता भएकाले आफूले लिउको सम्मानमा रात्रिभोज दिन जरुरी नभएको परराष्ट्रमन्त्री प्रकाशशरण महतको तर्क छ। तर चिनियाँ विशेष विमानमा ३२ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं उत्रिका लिउको सम्मानमा परराष्ट्रमन्त्रीले नै रात्रिभोज दिएको भए राम्रो सन्देश जाने परराष्ट्रका अधिकारीहरू बताउँछन्।

मन्त्री महतको भूमिकालाई लिएर चिनियाँ अधिकारीहरुले गुनासो गरेको सन्दर्भमा जिज्ञासा राख्दा महतले पार्टीको नेतालाई भेट्न जरुरी नभएको प्रतिक्रिया दिए। तर यो परिस्थितिलाई चिनियाँ नेताले अपमान ठानेको परराष्ट्र मन्त्रालय स्रोतको भनाइ छ।

लिउसँग राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्ताको संयोजन भने परराष्ट्र मन्त्रालयले नै गरेको थियो।
‘चिनियाँ नेताले नै नचाहेकाले मसँग भेट भएन। उनीहरुले भेटन चाहेका नेताहरुको भेटघाटको व्यवस्थापन हामीले गरेका छौं’, देउवालाई डेपुटी गुओले भेट्दा आफू पनि सँगै रहेको जनाउँदै मन्त्री महतले भने, ‘नभएको कुरालाई उचालियो, मंगोलियन मन्त्रीले पनि उनकै चाहनामा नेपाल भ्रमणमा आएका हुन्।’

लिउको भ्रमणलाई चिनियाँ राष्ट्रपति सीको सम्भावित नेपाल भ्रमणको तयारीका रुपमा समेत हेरिएको छ।

मंगोलियन विदेशमन्त्री सुन्द र परराष्ट्रमन्त्री महतले भूपरिवेष्ठित देशका सामुहिक चासो र चिन्तालाई अध्ययन गर्न संयुक्त विज्ञ समूह गठन गर्ने सम्झौता गरेका थिए।

प्रकाशित १३ पुस २०७३, बुधबार | 2016-12-28 12:07:08
author photo

चन्द्रलाल गिरी नेपालखबर विशेष संवाददाता हुन्

@chandralalgiri

चन्द्रलाल गिरीबाट थप


प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • कांग्रेसलाई रोक्न जोसँग पनि तालमेल गर्ने एमाले रणनीति

    एमाले नेताहरुले t उपेन्द्र यादव र विजय गच्छदारसँग तालमेलका लागि विमर्श सुरु गरेका छन्। ‘मधेसमा जोसँग मिल्दा हामीलाई फाइदा हुन्छ त्योसँग मिल्ने नीति...

  • माला पहिरन ठिक्क परेका महा-मेयर

    यसअघि नै दुई–दुई पटकसम्म वडा अध्यक्ष भएर काम गरेका शाक्य काठमाडौंका लागि पार्टीका कुशल संगठक पनि हुन्। उम्मेदवार मात्र नभएर पार्टीको एउटा संगठकले...

  • नवनिर्वाचित मेयर मानबहादुर जिसी

    महानगर हाँक्ने मानबहादुर

    क्याम्पस पढ्न एक ठिटो झोला भिरेर सहर आइपुग्यो। उच्च शिक्षा लिन गाउँबाट सहर आइपुगेको तन्नेरीले मनको चर्खा पढाइमा भन्दा अन्तै घुमाइरहेको थियो। उसलाई...

  • ‘देउवालाई नचिनेर पनि चुनाव जितिँदोरहेछ’

    कुराकानी पछि छुट्टिने बेला चिरिबाबु भन्दै थिए, ‘ चिरिबाबुले ललितपुरका सांस्कृतिक सम्पदाहरु जोगाएरै विकास गर्ने छ, विकासका नाउँमा जथाभावी गर्ने छैन,...