संशोधनको पक्षमा दुई तिहाइको सम्भावना सकियो



संसद बैठक अवरुद्ध गर्दै एमाले नेताहरु
संसद बैठक अवरुद्ध गर्दै एमाले नेताहरु

राष्ट्रिय गानको धुन सकिएसँगै सुरु भएको शुक्रबारको संसद बैठकमा सभामुख ओनसरी घर्ती मगरले राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) का सांसद शिवलाल थापालाई विशेष समय दिइन्। पार्टी संसदीय दलका नेता थापाले माइक समातेर बोल्दै गर्दा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदका अनुहारमा चमक देखियो।

सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विपक्षमा आफ्नो दल रहेको धारणा थापाले राखिरहँदा एमालेका सांसदहरुमा चमक देखिनुको कारण भने संसदीय गणितमा आफ्नो जित सुनिश्चित भएको बुझाइ हो। एमालेका प्रमुख सचेतक भानुभक्त ढकाल सरकारले पेश गरेको संशोधन प्रस्ताव विफल हुने अवस्थामा खुसी देखिनु अस्वभाविक नभएको बताउँछन्। भन्छन्, ‘राष्ट्रहित विपरीत आएको संशोधन प्रस्तावको पक्षमा दुई तिहाई नपुग्ने प्रस्ट प्रमाण संसदमा प्रस्तुत भइसक्यो।’

संसदमा थापा नेतृत्वको पार्टीसँग दुई सिट मात्रै छ। तर, यही सानो अंकले संशोधन प्रस्तावको विपक्षमा उभिएको एमालेलाई बलियो बनायो। यसअघि नेकपा माले, नेपाल मजदुर किसान पार्टी(नेमकिपा) र राष्ट्रिय जनमोर्चाका सांसदहरुले संसदमा दलीय धारणा राखिसकेका थिए। यी दलहरुले संशोधनको विपक्षमा मतदान गर्ने बताए पनि सरकारले दुई तिहाई पु¥याउने सम्भावना बाँकी नै थियो। यसर्थ, एमाले नेताहरुको आशा आफूलाई साथ दिँदै आएका साना पार्टीहरुको निर्णयमा अल्झिन पुग्यो।

तर, एमाले नेताहरुको आत्मविश्वास भने १९ मंसिरको कार्यव्यवस्था परामर्श समितिको बैठकबाट बढेको हो। सभामुखको कार्यकक्षमा बसेको बैठकमा नेपाल परिवार दलका सचेतक मिलन राजवंशीले संशोधनको विपक्षमा मतदान गर्ने बताएका थिए। यसै आधारमा संशोधन प्रस्ताव कुनै हालतमा पारित नहुने अभिव्यक्ति दिने एमाले नेताहरुको शृङ्खला नै देखियो।

तर, थापाले मुख नखोलेसम्म १६ मंसिरदेखि लगातार संसद बैठक अवरुद्ध गर्दै आएको एमाले यसै भन्ने अवस्थामा थिएन। जब थापा र राजवंशीले संसदमा प्रस्ट धारणा राखे, यसपछि भने संशोधन प्रस्ताव विफल बनाउन आवश्यक मत एमालेको पक्षमा देखियो। यी ६ दलका सांसद संख्या १९८ पुग्छ, अझ एक सिट रहेको मधेश समता पार्टी नेपाल र नेपा पार्टीका सांसद पनि विपक्षमै उभिएका छन्।

एमाले सचिव योगेश भट्टराई सांसद गनेरै संशोधन प्रस्ताव विफल बनाउन आवश्यक संख्या पुगेको बताउँछन्। फेरि विपक्ष सांसदहरुको अनुपस्थिति हुँदा पनि फरक नपर्ने तर पक्षमा मत संख्या पुग्नैपर्ने संसद नियमावलीको व्यवस्थाले समेत एमालेलाई ढुक्क बनाएको छ।

३७ सिटसहितको चौथो दल राप्रपाले संशोधन प्रस्ताव यथास्थितिमा पारित नहुने निर्णय गरेको र १४ सिटसहितको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले सहमतिबाट मात्रै अघि बढ्नुपर्ने धारणा राख्दा एमालेको आत्मविश्वास थप बढाएको छ। प्रमुख सचेतक ढकाल भन्छन्, ‘आउने बैठकसम्म यी दुवै दल विपक्षमा उभिने सम्भावना बढी छ।’ संसद बैठक आगामी ३० मंसिरमा राखिएको छ।

सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका केही सांसदहरुले समेत विपक्षमा मतदान गर्नेमा प्रमुख सचेतक ढकाल आशावादी छन्। भन्छन्, ‘मतदानकै अवस्था आए सत्तारुढ सांसदहरुले नै विपक्षमा मत दिन्छन्।’

प्रधानमन्त्री पुष्पकमल दाहाल भने अझै पनि संशोधन प्रस्ताव पारित भएर छाड्ने बताउँदै आएका छन्। तर, संसदीय गणितमा भने उनी अल्पमतमा परिसकेका छन्। संसदमा हाल ५९५ सासंद छन्, यसको दुई तिहाई मत वर्तमान सरकारसँग पुग्दैन। दुई सांसद निलम्वित रहेको र सभामुखले मतदान गर्न नपाउने भएकाले संशोधन प्रस्तावको पक्षमा ३९४ आवश्यक हुन्छ। तर, सरकारसँग प्रस्ट मत ३३९ मात्रै छ। यी सांसदहरु कोही अनुपस्थित रहे थप समस्या सरकारलाई नै हुनेछ।

बरु, सरकार गठनका बेला दाहाललाई प्रधानमन्त्रीमा मतदान गरेको पशुपति शमशेर राणा नेतृत्वको राप्रपा समेत कमल थापा नेतृत्वको राप्रपा नेपालसँग एकीकरणसँगै अनिर्णित हुन पुगेको छ। शमशेरसँग १२ सिट थियो। यसले संशोधन पक्ष थप कमजोर बनेको छ। मधेशी मोर्चाको माग पूरा गराउन भन्दै सरकारले गत १४ मंसिरमा संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गराए पनि प्रतिपक्षी दलहरुको अवरोधले संसदमा पेश हुन सकेको छैन।

यस्तो छ संसदको अंकगणितः

सरकारपक्ष

नेपाली कांग्रेस – २०७
नेकपा माओवादी केन्द्र – ८१
संघीय समाजवादी फोरम नेपाल – १५
तमलोपा – ११
सद्भावना – ५
तमसपा – ३
रामसपा – ३
मधेशी जनाधिकार फोरम गणतान्त्रिक – १
संघीय सद्भावना – १
थरुहट तराई पार्टी – २
नेकपा संयुक्त – ३
अखण्ड नेपाल – १
खम्बुवान नेपाल – १
जनजागरण पार्टी – १
समाजवादी जनता दल – १
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च – १
दलित जनजाति पार्टी (लोकतान्त्रिक) – १
स्वतन्त्र – १
जम्माः ३३९

प्रतिपक्ष

नेकपा एमाले – १८२
नेकपा माले – ५
नेमकिपा – ४
राष्ट्रिय जनमोर्चा – ३
राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक – २
नेपाल परिवार दल – २
मधेश समाता पार्टी नेपाल – १
नेपा पार्टी – १
जम्माः २००

अनिर्णित

राप्रपा – ३७
मधेशी जनअधिकार फोरम लोकतान्त्रिक – १४
जम्माः ५१

प्रकाशित २४ मंसिर २०७३, शुक्रबार | 2016-12-09 21:04:52

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • तिब्बतमा नयाँ सरकार प्रमुख

    नेपालसँग सिमा जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्र सरकार प्रमुखमा छि चाला चयन भएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी ल्हासा कमिटिका पूर्व प्रमुख चाला...

  • तस्विरमा यस्तो देखियो राष्ट्रपति भण्डारीकी छोरीको विवाह

    शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वप्रधानमन्त्रीहरु,...

  • ८ जनासँग छ, सबैभन्दा गरीब ५० प्रतिशतको जति नै सम्पत्ति

    विश्वका आठ सबैभन्दा धनी व्यक्तिसँग सबैभन्दा गरीब आधा जनसंख्या बराबरको सम्पत्ति रहेको अक्सफाम नामक सँस्थाले जनाएको छ। संसारभर आर्थिक वृद्धि भइरहँदा...

  • ...तर साथी निकै एक्लो छु अहिले

    रअ बार्जले यमजस्ता धेरैलाई र्‍यापप्रेमी समूह नजिक पुर्यायो। रअ बार्जमा देखाएको सक्रियता र प्रतिभाकै कारण उनी धेरै युवा र्‍यापरको रोल मोडल बनेका...