पोखरा महानगरको पहिलो कार्यपालिका बैठकः वृद्धभत्ता बढाउनेमै ढिपी



पोखरा महानगरपालिकाको कार्यालय
पोखरा महानगरपालिकाको कार्यालय

केही दिनअघि पोखरामा संघीय मामिला तथा स्थानीय विकास सचिव दिनेशकुमार थपलियाको जनप्रतिनिधिलाई सुझाव थियो, ‘अनुदान रकमबाट सुरक्षा भत्ता बढाउने निर्णय त गर्दै नगर्नुस्, आन्तरिक स्रोतबाटै बढाउनु परे पनि नियम बनाएर बढाउनुस्। भरसक त वृद्धभत्ता बढाउने कुरै नगर्नुस्।’

पोखराका लागि भने स्थानीय विकास सचिवको यो सुझाव ‘आफ्नै खुट्टामा बञ्चरो हान’ भने जस्तो बन्यो। पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पदबहाली गर्दाकै दिन निर्णय गरेका थिए, ‘पोखरा लेखनाथ महानगरपालिकाका ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई १० प्रतिशत भत्ता बढाउने छौं।’

सरकारले स्थानीय तह सेवा सञ्चालन र व्यवस्थापन आदेश जारी गर्दै राष्ट्रिय बजेटबाट सुरक्षा भत्ता बढाउन नपाउने आदेश जारी गरेपछि पोखराका मेयर मानबहादुर जिसीले कानुन बनाएर आन्तरिक स्रोतबाट भत्ता बढाएरै छाड्ने बताउँदै आएका छन्।

न्तरिक स्रोतबाटै भए पनि भत्ता बढाउने जनप्रतिनिधिले बताएपछि स्थानीय विकास सचिव थपलियाको जवाफ थियो, ‘पोखराका ५ वटा अस्पतालका २-२ बेडहरु ८० वर्ष नाघेका ज्येष्ठ नागरिकहरु विरामी भएर आउँदा निःशुल्क होस्। पैसा नगरपालिकाले तिर्छ भन्नुहोस् न बरु। लोकप्रियताका लागि भत्ता बढाउनुको सट्टा एउटा वडामा एउटा वृद्ध दिवा सेवा केन्द्र खोल्नुस्।’

पहिलो निर्णय नै भएकाले पनि दबाब महसुस गर्दै मेयर मानबहादुरले आफ्नो महानगरवासीलाई कानुन बनाएर भत्ता बढाएरै छाड्ने दाबी गरे। भत्ता बढाउने निर्णय सोमबार विरोधकाबीच कार्यपालिकाको पहिलो वैठकले अनुमोदन गरेको छ।

बैठकमा भत्ता नबढाउने पक्षमा कांग्रेसका वडा सदस्यले आवाज उठाएका थिए। ‘केन्द्रले पनि नबढाउ भनेकाले हामीले यो निर्णय अनुमोदन नगरौं भनेका थियौं,’ वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछानेले भने, ‘यो निर्णयको माइन्युटसमेत कसरी कहाँ लेखियो हामीलाई जानकारी भएन।’ महानगरमा एमालेका प्रतिनिधिको बहुमत भएपछि कांग्रेसका प्रतिनिधि अल्पमतमा परे। १० प्रतिसतभन्दा बढी दिए पनि आपत्ति नहुने भन्दै आफूहरुले प्रक्रियाको विरोध गरेको उनको भनाइ थियो।

‘राष्ट्रिय अनुदानको रकमबाट भत्ता बढाउन नपाए पनि कानुनसम्मत आन्तरिक स्रोतबाट हाम्रा नगरवासीलाई बढाएर भत्ता दिन कसैले रोक्ने कुरै भएन,’ मेयर जिसीले समाधानसँग भने, ‘आन्तरिक स्रोतबाटै नगरवासीले १० प्रतिशत बढी वृद्ध भत्ता पाउँछ्।’ अहिले ज्येष्ठ नागरिकको मासिक भत्ता २ हजार रुपैयाँ छ। त्यसको १० प्रतिशत बढाएर दिँदा २ हजार २ सय रुपैयाँ हुन्छ।

महानगरको कार्यपालिकाको पहिलो वैठकले १० प्रतिशत वृद्धभत्ता बढाउने, महिलाका समस्या समाधानका लागि हेल्प डेस्क स्थापना गर्ने र भ्रष्टाचार न्यूनीकरण गर्ने पदबहालीसँगै भएको निर्णयलाई अनुमोदन गरेको छ।

बैठकले पोखरा महानगरपालिकाकोे भवन निर्माणका लागि जग्गा खोजी गर्न ४ सदस्यीय समिति गठन गरेको छ भने भवन नभएका वडाध्यक्षहरुलाई जग्गा खोजी गर्न निर्देशन दिएको छ। भवन निर्माणका लागि जग्गा खोजी गर्न वडा नम्बर १७ का वडाध्यक्ष तीर्थ अधिकारीको संयोजकत्वमा वडा नम्बर १ अध्यक्ष शारदा पराजुली, वडा नम्बर ४ अध्यक्ष शंकरप्रसाद बास्तोला र महानगरपालिकाका वरिष्ठ इन्जिनियर शारदामोहन काफ्ने सदस्य सचिव रहने गरी जग्गा खोजबिन समिति गठन भएको हो।

मापदण्डविपरीत बनेको संरचनाको लगत संकलन गर्ने निर्णय भएको छ। यसअघि साविकको पोखरा उपमहानगरपालिले मापदण्डविपरीतका संरचनाको लगत संकलन गरेर सार्वजनिक गर्ने निर्णय गरे पनि समस्या देखिएको भन्दै सार्वजनिक गरेको थिएन। महानगरपालिकाभित्रका सार्वजनिक जग्गाको लगत संकलन गर्ने बैठकले अर्को निर्णय गरेको कार्यपालिका सदस्य तथा वडा नम्बर ५ का अध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए।

बैठकले परिषदको तयारीका लागि ११ गते आइतबार बैठक बस्ने निर्णय गरेको कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले जानकारी दिए। ११ गतेको बैठकले परिषदका लागि योजना बनाउन विभिन्न उपसमिति गठनसमेत गर्ने छ। कम्युटर नभएका २२ वडामा कम्युटर उपलब्ध गराउने, फोहोर व्यवस्थान, प्रभावकारी सेवा प्रवाहलाई अझै चुस्त बनाउँदै भ्रष्टाचार न्यूनीकरण गर्ने लगायत बैठकले निर्णय गरेको मेयर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए।

यस्ता छन् निर्णय
१० प्रतिशत वृद्धभत्ता बढाउने लगायत पदबहालीमा भएका ३ निर्णय अनुमोदन
महानगरको भवन बनाउन जग्गा खोज्न समिति
मापदण्ड विपरीतका संरचनाको लगत संकलन गर्ने
सार्वजनिक जग्गाको तथ्यांक संकलन गर्ने
परिषद्का लागि ११ गते तयारी बैठक बस्ने
२२ वडालाई कम्प्युटर

 

प्रकाशित ५ असार २०७४, सोमबार | 2017-06-19 21:01:15
author photo

अमृत सुवेदी नेपालखबर पोखरा संवाददाता हुन्

@AmritGurans

अमृत सुवेदीबाट थप


प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चर्चामा मोदीको ‘अंकमाल कुटनीति’

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिने गरेको भाषणको जति चर्चा हुन्छ, त्यति नै चर्चा हुने गर्छ उनले गर्ने अंकमालको। विश्वका नेताहरुसँग मोदीले...

  • एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

    रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न...

  • पूर्वसभासद फुदुङ कुटपिटः यस्तो रहेछ खास कारण

    सुनसरीको इटहरी उपमहानगरपालिकाको ४ नम्बर वडामा पूर्वजर्नेल तथा माओवादी केन्द्रका पूर्वसांसद् कुमार फुदुङ कुटिएका छन्। आफ्नै रिसोर्टमा महिला मृत...

  • प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल? मतदाता झुक्याए नेताले

    एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता...