नेपालखबरको हङकङ संस्करण सुरु

हङकङ संस्करण नेपालखबरको पहिलो अन्तर्राष्ट्रिय संस्करण हो। आफ्नो घेरा र गुणस्तर अझ् बढाउँदै हामीले थप संस्करणहरू ल्याउने लक्ष्य राखेका छौँ।

नेपालखबरले आज छ महिना पूरा गरेको छ। यो अवधिमा हामीले पाठकलाई नयाँ खबर, विश्लेषण र गम्भीर विषयका सामाग्री बाँड्ने प्रयास गरेका छौँ। पाठकबाट हामीले धेरै सुझाव र प्रतिक्रिया पाएका छौँ, जसले हामीलाई थप अगाडि बढ्न प्रेरित गरेको छ।

छोटो अवधिमै नेपालखबर नेपालीबीच लोकप्रिय अनलाइन पत्रिकाको रुपमा स्थापित भएको छ। आफ्नो घेरा फराकिलो बनाउँदै जाने क्रममा थप संस्करण सुरु गर्ने प्रतिबद्धता अनुरुप हामीले आजैदेखि नेपालखबरको हङकङ संस्करण सुरु गरेका छौँ।

नेपालखबरले यो अवधिमा मूलतः हङकङ, बेलायत, अमेरिका, भारत र चीनमा रहेका नेपालीलाई जोड्ने प्रयास गरेको छ। र, हामी अन्य देशमा विस्तार हुने क्रममा छौँ। हङकङका नेपालीबीच नेपालखबर सुरुदेखि नै लोकप्रिय बनेको छ। पाठकको यही विश्वासले हामीलाई हङकङ संस्करण सुरु गर्न उत्प्रेरित गरेको हो।

नेपालखबरको हङकङ संस्करण हङकङमा नेपालीले सञ्चालन गर्ने पहिलो व्यवसायिक अनलाइन पत्रिका हो। हङकङमा रहेका व्यवसायिक नेपाली पत्रकारहरूको टिमले हङकङ संस्करण सञ्चालन गर्नेछ। आज हङकङ संस्करण जुन रुपमा सुरु भएको छ, यो प्रारम्भिक स्वरुप मात्र हो। हामी यसलाई अझै परिष्कृत बनाउँदै हङकङका नेपालीबीच नयाँ खबर र सूचनाको भरपर्दो अनलाइन बनाउने छौँ। यसमा हामीले सदा झैँ पाठकको साथ र सुझावको अपेक्षा राखेका छौँ।

हङकङ संस्करणले मूलतः चीनको विशेष प्रशासनिक क्षेत्र हङकङ, मकाउ र आसपासका नेपाली समुदायका गतिविधिलाई समेट्ने छ। साठीको दशकमा जब बेलायती सेनामा गोर्खा फौजका रुपमा नेपालीहरू हङकङ पुगे, त्यसयता हङकङसँग नेपाली साइनो निरन्तर रही आएको छ। पछिल्लो समय नेपाली कला र साँस्कृतिक गतिविधिमा हङकङ अग्र स्थानमा आउँछ।

हङकङस्थित नेपाली समुदायका व्यापार व्यवसाय, नेपाली कला र सांस्कृतिक गतिविधि, नेपाल र हङकङबीच हुने वाणिज्य र व्यापार तथा पर्यटन र सांस्कृतिक आदानप्रदानलाई हामी खबर र विश्लेषणका रुपमा बाँड्ने छौँ। हङकङका नेपाली मूलतः सिपमूलक काममा संलग्न छन् र राम्रो आय भएका नेपालीमध्ये पर्छन्। हङकङमा आर्जन गरेको सिप र पूँजी नेपाल भित्र्याउन तथा यहाँ हुर्कंदै गरेको नयाँ पुस्तालाई नेपालसँग जोड्न हामी उत्प्रेरकको भूमिका खेल्ने छौँ।

छ महिना पूरा भएको अवसरमा हामी फेरि दोहोर्‍याउन चाहन्छौँ, नेपालखबरले सत्य–तथ्यमा आधारित सन्तुलित पत्रकारिता गर्ने क्रममा कसैसँग सम्झौता गर्ने छैन। राष्ट्रियता र राष्ट्रहित, लोकतन्त्रका मूल्य–मान्यता, आर्थिक–सामाजिक परिवर्तन र नागरिक अधिकारप्रति नेपालखबर सधैँ प्रतिबद्ध रहने छ।

हङकङ संस्करण नेपालखबरको पहिलो अन्तर्राष्ट्रिय संस्करण हो। आफ्नो घेरा र गुणस्तर अझ् बढाउँदै हामीले थप संस्करणहरू ल्याउने लक्ष्य राखेका छौँ।

नयाँ खबर र विश्लेषण सहित नेपालखबर सधैँ तपाईसँगै हुनेछ।

प्रकाशित 2017-01-08 18:38:11