'अमेरिकाको कथा भनेकै प्रगतिको कथा'

जनताका नाममा अन्तिम पत्र लेख्दै ओबामाले भने: अब पनि हामी मिलेर अघि बढ्नु पर्छ



एपी

अन्ततः अमेरिकाको कथा भनेकै प्रगतिको कथा हो। यात्राको प्रत्येक बिसौनीमा जतिसुकै अवरोधपूर्ण, अपूर्ण वा जतिसुकै चुनौतीपूर्ण किन नहोस्, अमेरिकाको कथा भनेको प्रगतिको कथा हो।

मेरा मित्र अमेरिकीहरुका लागि,

आठ वर्षअघि दशकौँसम्म हामीले नदेखेको जोखिमपूर्ण क्षणको सामना अमेरिकाले गर्नुपर्यो।

बढ्दो वित्तीय संकटले अर्थव्यवस्थालाई धीमा बनाएर गहिरो अवसादमा पुर्याउने खतरा देखापरेको थियो। अमेरिकी निर्माणको मुटुको रुपमा रहेको अमेरिकी मोटर उद्योग पतनको मुखमा पुगेको थियो। केही समुदायमा झण्डै पाँचमध्ये एक अमेरिकी बेरोजगार थिए। करिब १ लाख ८० हजार अमेरिकी सैनिक इराक र अफगानिस्तानमा थिए र अमेरिकी भूमिमा सबैभन्दा खराब आतंकवादी आक्रमणको ‘मास्टरमाइन्ड’ अझै जिउँदै थियो। र स्वास्थ्य सेवादेखि जलवायु परिवर्तनसम्मका चुनौतीहरुका बारेमा हामी लामो समयसम्म अनिर्णित थियौँ।

तर मध्य जाडोको बेला २० जनवरी २००९ का दिन मैले तपाईंहरुको सामुन्ने उभिएर एक पवित्र शपथ लिएँ। मैले त्यस दिन तपाईंहरुलाई भनेको थिएँ, हामीले बेहोरिरहेको चुनौती सजिलै वा छोटो समयमा समाधान हुने छैनन्– तर ती अवश्य समाधान हुनेछन्। र व्यस्त आठ वर्षपछि हामीले ती चुनौतीलाई समाधान गरेका छौँ, तपाईंहरुका कारण।

आठ वर्षपछि ८ प्रतिशतका दरले घटिरहेको अर्थतन्त्र अहिले ३ प्रतिशतका दरले वृद्धि भइरहेको छ। रोजगारी कटौती गरिरहेका व्यवसायहरुले अहिले सबैभन्दा लामो रोजगारी सिर्जनाको क्रम कायम राखेर रेकर्ड बनाएका छन्। मोटर उद्योग पुरानै गतिमा फर्किएको छ, जसले दश लाख रोजगारी जोगाउनुका साथै ९० को दशकपछि पहिलो पटक रोजगारीमा वृद्धि ल्याएको छ। र गत ४० वर्षको कुनै समयमा भन्दा बितेका केही वर्षमा ज्यालामा चाँडो वृद्धि भएको छ।

आज ‘अफोर्डेबल केयर एक्ट’का कारण थप दुई करोड वयष्क अमेरिकीहरुले स्वास्थ्य बीमाका गर्दा वित्तीय सुरक्षाका साथै मानसिक शान्ति पनि हासिल गर्न सकिन्छ भन्ने थाहा पाएका छन्। थप ३० लाख केटाकेटीले स्वास्थ्य बीमा प्राप्त गरेका छन्। इतिहासमै पहिलो पल्ट ९० प्रतिशतभन्दा बढी अमेरिकीहरुले बीमा गराएका छन्। हामीले स्वास्थ्य सेवा शुल्कमा गत ५० वर्षभरीकै सबैभन्दा धीमा वृद्धि देख्यौँ। साथै बिरामीको सुरक्षामा आएको सुधारका कारण अनुमानित ८७ हजार मानिस मृत्युको मुखबाट बचे। बीमा गरिएका अमेरिकीहरुलाई इतिहासकै सबैभन्दा बलियो उपभोक्ता सुरक्षाद्वारा सुरक्षित गरियो। ‘प्योसेन्ट्स बिल अफ राइट्स’ का कारण दुर्घटना वा बिरामीका कारण उनीहरुको सपना अधुरो रहला भन्ने डरबाट उनीहरु मुक्त भए किनभने वर्तमान अमेरिकामा मानिसको अवस्थाका आधारमा गरिने भेदभाव विगतको कुरा भएको छ। नयाँ स्वास्थ्य बीमाअन्तर्गत तपाईंले जागिर गुमाउनु भयो वा परिवर्तन गर्नुभयो वा नयाँ व्यवसाय सुरु गर्नुभयो भने पनि गुणस्तरीय र सस्तो स्वास्थ्य सेवा लिन सक्नुहुने भयो। लगातार दोस्रो वर्षमा उद्यमशिलतामा वृद्धि हुनुको एउटा कारण यो पनि हो।

विदेशी तेलमा रहेको निर्भरतामा आधाभन्दा बढी कटौती भएको छ र हाम्रो नवीकरणीय उर्जा उत्पादनमा दोब्बरभन्दा बढी वृद्धि भएको छ। देशका विभिन्न स्थानमा हावाबाट उत्पादित सफा उर्जा अरु फोहोर उर्जाका स्रोतहरुभन्दा सस्तो भएको छ र कोइला खानीले भन्दा सोलार उद्योगले बढी अमेरिकीलाई रोजगारी दिएको छ, जहाँ औसतभन्दा बढी ज्याला दिइनुका साथै आउटसोर्स पनि गर्न मिल्दैन। उपभोक्ता रक्षा र फेरि कहिल्यै वाल स्ट्रिट (विश्वव्यापी वित्तीय समुदाय) ले मेन स्ट्रिट (व्यक्तिगत लगानीकर्ता तथा साना व्यवसायी) लाई दण्डित नगरोस् भनेर हामीले ग्रेट डिप्रेसनपछि सबैभन्दा व्यापक सुधार ल्याएका छौँ। आलोचकहरुले अनुमान गरेझैँ यी कदमले वृद्धिलाई रोकेनन्। त्यसको सट्टा स्टक मार्केट झण्डै तेब्बर भयो। मैले ‘ओबामाकेयर’लाई कानुनका रुपमा हस्ताक्षर गरेपछि अमेरिकाको व्यापारले डेढ करोडभन्दा बढी रोजगारी सिर्जना गरेको छ। र अस्थिर राष्ट्रहरुको तेलमा भर परेको र तपाईंको पैसामा बैंकहरुले जोखिमयुक्त जुवा खेलेको बेलामा भन्दा अहिले अर्थतन्त्र निसन्देह दिगो बनेको छ।

हाइस्कुल पास हुने दर हाल ८३ प्रतिशत छ, यो हालसम्मकै उच्च रेकर्ड हो र हामीले हालसम्मकै बढी युवाहरुलाई कलेज पास हुनका लागि मद्दत गरेका छौँ। सँगसँगै कलेजको पढाइ अघि बढाउन नचाहने अमेरिकीहरुलाई तालिमको अवधिमा काम उपलब्ध गराउनेदेखि लिएर हाइटेक उत्पादन सँस्था खोल्ने, तालिममा सुधार गर्ने, उच्च दर्जाको काम पाउन सहयोगी तालिम सञ्चालन गर्नेजस्ता धेरै विकल्प दिनका लागि हामीले मेहनत गरेका छौँ। हामीले थप विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट पु¥याएका छौँ, २१ औँ शताब्दीको अर्थतन्त्रका लागि हाम्रा सबै बालबालिकालाई तयार गर्नका लागि शिक्षकहरुलाई सहयोग गरेका छौँ।

गत वर्षमा सबैभन्दा तीव्र गतिमा गरिबी दर घट्यो भने औसत घरेलु आय सबैभन्दा तीव्र गतिमा बढ्यो। र यो सबै हामीले हाम्रो घाटामा दुई तिहाईले कटौती गर्दैगर्दा सम्पन्न गरेका हौँ। र मध्यम वर्गको वृद्धि गर्नेगरी लगानी रक्षा ग¥यौँ।

यसैबीच गत आठ वर्षमा कुनै विदेशी आतंककारी संगठनले हाम्रो भूमिमा योजनाबद्ध तरिकाले आक्रमण गर्ने सफलता पाएनन्। षड्यन्त्रहरुलाई बीचैमा नष्ट गरियो। ओसामा बिन लादेनजस्ता आतंककारीहरुलाई युद्धभूमिबाट बाहिर निकालियो। हामीले झण्डै १ लाख ८० हजार सैनिकहरुलाई इराक र अफगानिस्तानजस्ता खतरनाक स्थानबाट बाहिर निकालियो र अब मात्र १५ हजार मात्र बाँकी छन्। ७० भन्दा बढी देशसहित गठबन्धनको अथक अभियानमा हालसम्म १६ हजार हवाई हमला सम्पन्न गरेका छौँ र हामीले इस्लामिक स्टेटको ढाड भाँचेर उसका सुरक्षित भूमि फिर्ता लिइरहेका छौँ। यो सबका लागि दुई वर्षमा हामी १० अर्ब डलर खर्च गर्यौँ, त्यति नै रकम इराक युद्धको बेला एक महिनामै खर्च भएको थियो।

यही बेला विश्वव्यापी चुनौतीहरुको सामना गर्न अमेरिकाले विश्वको नेतृत्व गर्यो। कूटनीतिकै माध्यमबाट हामीले इरानको परमाणु कार्यक्रम बन्द ग¥यौँ, क्युबाका जनतासँग नयाँ अध्यायको सुरुवात गर्यौँ र झण्डै दुई सय देशलाई जलवायु सम्झौतामा ल्यायौँ, जसले यो ग्रह हाम्रा छोरानातिका लागि बचाउन सक्छ। विकासका नयाँ मोडेलका माध्यमबाट अमेरिकीहरुले विश्वभरका मानिसहरुलाई खाना खुवाउन, बिरामीको हेरचाह र अफ्रिकाका गरिब समुदायलाई सहयोग गरिरहेका छन्। पृथ्वीका लगभग सबै देशले आज अमेरिकालाई आठ वर्षअघिभन्दा बलियो र सम्मानपूर्वक रुपमा हेर्छन्। यो सबै प्रगति लाखौँ अमेरिकीहरुले गुप्तचर निकाय, प्रहरी, होमल्यान्ड सेक्युरिटी, कूटनीति र सशस्त्र बलका महिला तथा पुरुषहरुको सेवाबाट सम्भव भएको हो।

अमेरिकाको बदलिँदो अनुहारलाई अझ सफा र न्यायपूर्ण बनाउनमा पनि हामीले काम गर्यौँ। सो क्रममा आपराधिक न्यायको सुधारमा उल्लेखनीय प्रगति, बराबरी भुक्तानीमा प्रगति, ‘डन्ट आस्क, डन्ट टेल’ (अमेरिकी सैन्य सेवामा रहेका यौनिक अल्पसंख्यकका बारेमा सोधखोज गर्न नपाइने कानुन, जसअन्तर्गत खुला रुपमा एलजिबिटी भएको घोषणा गर्नेलाई सैन्य सेवामा लिइँदैनथ्यो) को खारेजी तथा नागरिक अधिकार, महिला अधिकार र एलजिबिटी अधिकारका तर्फ प्रगतिजस्ता काम भए। मैले दुई असाधरण महिलालाई सर्वोच्च अदालतमा नियुक्त गरेँ, जसले गर्दा इतिहासमा पहिलो पल्ट एकै इजलासमा तीन महिला बस्ने मौका जु¥यो, जसमध्ये एक ल्याटिन अमेरिकी पनि थिइन्। आज अमेरिकामा वैवाहिक समानता बल्ल पचासै राज्यमा यथार्थ बनेको छ।

आठ वर्षको प्रगतिपछि अमेरिका यस स्थानमा उभिन आइपुगेको छ। हामीले सुरु गरेभन्दा अहिले धेरै तरिकाले हाम्रो देश बलियो र सम्पन्न भएको छ। यो परिस्थितिमा उत्तराधिकार हस्तान्तरण गर्दा म गौरवान्वित छु। र यसका लागि तपाईंहरु सबैलाई धन्यवाद दिन चाहन्छु, तपाईंले गर्नुभएको मेहनत, तपाईंले परिवार र समुदायका लागि गर्नुभएको योगदान र एकअर्कालाई पुर्याउनुभएको सहयोगका लागि।

तैपनि हरेक विजय र हरेक पराजयमार्फत मैले जोड दिँदै आएको छु कि परिवर्तन कहिल्यै सहज र चाँडो हुँदैन। हामी सबै चुनौतीहरुको हल एक कार्यकाल वा एक राष्ट्रपतित्व वा भनौँ एक जीवनमा गर्न सक्दैनौँ। र हामीले हासिल गरेका यी कुराबाहेक अझै धेरै काम गर्न पाएको भए हुन्थ्यो भन्ने मलाई लाग्छ। न्युटनजस्ता स्थानमा भएको आम गोलीबारीबाट हाम्रा बालबालिका तथा प्रहरीलाई जोगाउन बन्दुकसम्बन्धी कानुन लागु गर्नेदेखि लिएर संसारभरका उत्तम व्यक्तिहरु अध्ययन गर्न, बस्न र रोजगारीको सिर्जना गर्न अमेरिका आउन सहयोग गर्ने आप्रवास सुधार कानुनलाई पास गर्ने सम्मका काम गर्न पाएको भए हुन्थ्यो जस्तो लाग्छ।

मात्र आठ वर्षमा हाम्रो अर्थतन्त्रले अतुलनीय प्रगति गर्दागर्दै पनि हामीले हरेक अमेरिकीका लागि धेरै गर्न बाँकी छ। उनीहरुलाई अझै गतिलो काम वा तलबमा वृद्धि, तलबी विदा वा सम्मानजनक सेवानिवृत्तिको खाँचो छ। बढ्दो भूमण्डलीकृत अर्थतन्त्रका कारण सिर्जना भएको असमानतालाई हामी ध्यानमा राख्न जरुरी छ। उच्च स्थानमा भएका मात्र होइन यसलाई सबैका लागि काम लाग्ने बनाउनका लागि हामीले आफूलाई प्रतिबद्ध बनाउन जरुरी छ।

र मुख्य कुरा के हो भने हामीले गत आठ वर्षमा हामी गर्न सक्छौँ भन्ने देखाएका छौँ। गत वर्ष सबैभन्दा तल्लो स्तरका र मध्यम वर्गका परिवारको आयमा धनी परिवारको भन्दा ठूलो वृद्धि भएको थियो। हामीले कर प्रणालीलाई अझ न्यायपूर्ण बनाएका छौँ। गत आठ वर्षमा करमा आएको परिवर्तनले एक प्रतिशत अत्यन्त धनी अमेरिकीहरुले आफ्नो कमाइको ठूलो हिस्सा तिर्नुपर्ने सुनिश्चित भएको छ। कम्तीमा १९६० देखिका प्रशासनमा भन्दा हामीले अन्य परिवारको कमाइमा वृद्धि गरेका छौँ। सोझै भन्ने हो भने हामीले असमानतालाई कम गर्ने लामो प्रक्रियाको वास्तवमै सुरुवात गरेका छौँ। तर विश्वव्यापी अर्थतन्त्र परिवर्तन भएसँगै यी प्रवृत्तिलाई गति प्रदान गर्न हामीले अझै धेरै काम गर्नुपर्ने हुन्छ। त्यसका लागि कामदारहरुको पक्षमा बोल्ने युनियनहरुलाई सबल बनाउनेदेखि लिएर मेहनती विद्यार्थीलाई चर्को शुल्क लिन कलेजहरुलाई रोक्ने, सबैभन्दा कम ज्याला पाउने कामदारको ज्याला बढाउने र उही काम गर्ने महिला र पुरुषलाई बराबरी भुक्तानी दिनेजस्ता काम गर्नुपर्ने हुन्छ। तर धेरैजसो श्वेत र कामदार वर्गका मानिस रहेको ३ करोड अमेरिकीहरुको स्वास्थ्य सेवा हटाउनु, कामदारहरुलाई उनीहरुले पाउने ओभरटाइमको पैसा नदिनु, ‘मेडिकेयर’ र ‘सोसल सेक्युरिटी’ लाई निजीकरण गर्नु तथा वाल स्ट्रिटलाई पुनः स्वनियन्त्रण गर्न दिनुले कुनै सहयोग गर्दैन। यी कुनै पनि कुराका लागि मध्यमवर्गीय अमेरिकीले मत दिएका होइनन्।

हामीले सधैँझैँ यसपटक पनि साथै मिलेर अघि बढ्नुपर्नेछ। कुनै जात वा धर्मका कारण नभई हामी एउटै उद्देश्यले बाँधिएका छौँ, हामी ईश्वरको आँखामा बराबर सिर्जना गरिएका हौँ, त्यसैले अरु धेरै मानिस झैँ म पनि हामी एकै हौँ भन्ने कुरामा विश्वास गर्छु। म विश्वस्त छु, हामी एक हुनेछौँ। यो तपाईंको कुरा हो। तपाईं अमेरिकी जनता नै हो, जसले गत आठ वर्षको प्रगति सम्भव बनायो। तपाईंहरु नै हो, जसले हाम्रो भविष्यको प्रगतिलाई सम्भव बनाउनेछ। अन्ततः अमेरिकाको कथा भनेकै प्रगतिको कथा हो। यात्राको प्रत्येक बिसौनीमा जतिसुकै अवरोधपूर्ण, अपूर्ण वा जतिसुकै चुनौतीपूर्ण किन नहोस्, अमेरिकाको कथा भनेको प्रगतिको कथा हो।

हालै मेरो प्रतिभाशाली र समर्पित क्याबिनेटका हरेक सदस्यलाई गत आठ वर्षमा हामीले गरेको प्रगति र हामीले गर्न बाँकी कामको विस्तृत विवरण तयार गर्न भनेको थिएँ। आज म यसलाई तपाईंहरुसँग बाँड्दैछु। मलाई आशा छ, तपाईं अरुलाई पनि यी कुरा बाँड्नुहुनेछ र हामीले सँगै गरेको प्रगतिलाई निरन्तरता दिन तपाईं आफ्नो भूमिका निभाउनुहुनेछ।

तपाईंहरुको राष्ट्रपतिका रुपमा सेवा गर्न पाउनु मेरो जीवनको सुअवसर हो। र छडी हस्तान्तरणको तयारी गरिरहँदा हामीले अमेरिकाका लागि नयाँ जग तयार गरेका छौँ भन्न पाउँदा म गौरवान्वित छु। एक नयाँ भविष्य लेख्ने जिम्मेवारी हाम्रो काँधमा छ। त्यो भविष्यको नेतृत्व अमेरिकाले गरेको हुनेछ र हाम्रो सबैभन्दा उत्तम दिन अझै अगाडि छ भन्ने कुरामा म सधैँझैँ विश्वस्त छु।

भवदीय
बाराक ओबामा

(कार्यकालको अन्तिम समयमा आइपुगेका अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो क्याबिनेटको ‘एक्जिट मेमो’सँगै अमेरिकी जनताको नाममा लेखेको पत्रको भावानुवाद)

प्रकाशित २२ पुस २०७३, शुक्रबार | 2017-01-06 17:51:28
author photo

बाराक ओबामा अमेरिकी राष्ट्रपति हुन्

@POTUS


प्रतिकृया दिनुहोस

  • यो कस्तो संविधान? यो कुन समाजवाद?

    यो चर्को दलीयकरणका दुई वटा आधारहरू छन। पहिलो श्रोतको आधार। दलहरूले सरकारी, सार्वजनिक र नीजी तीनै क्षेत्रहरूमा हात लामो पारिरहेका छन्। स्थानीय...

  • अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प

    कता जाँदैछ अमेरिका?

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिएको एक महिनामात्र भएको छ। तर यस्तो लाग्दैछ- उनी आफ्नो कार्यकालको अन्तिम दिनमा छन्। समयले होइन, उनले...

  • : माझीटार, धादिङका शमशेर कुमाल यसरी खाजा बेचेर आफ्नो परिवार पाल्छन्

    घरबाट धपाइने मानिस

    चितवनको पदमपुर गाउँका १,७०० परिवारका झन्डै १५ हजार मानिसलाई नेपाल सरकारले बसाईँ सारेको थियो। बसाईँ सार्दा थोरै जग्गा हुनेलाई जग्गाको सट्टा जग्गा...

  • चैतन्य मिश्र

    लभमा लभ मात्रै छैन, चिराचिरा समाज छ

    भ्यालेन्टाइन्स डेले काठमाडौं र दिल्लीजस्ता सहरलाई निकै बलियो गरी समातेको छ। यस्तो आकर्षण म अमेरिकामा देख्दिनँ। युवाहरू २२ वर्ष पुगेपछि...

  • श्रम तथा रोजगार मन्त्रालय

    बिदेसिनेका दुःख एकातिर, भ्रम अर्कैतिर

    अरु केही देशका उदाहरण हेर्‍यो भने मूलतः आफ्नै देशमा बसेर छोराछोरीको हेरविचार गर्नुलाई ठूलो योगदान मानिन्छ। त्यसो गरेन भने तिनीहरूको भविष्य अन्धकार...

  • नेपाल राष्ट्र बैंक

    बैंकहरू रातारात नाफा कमाउने खेलमा लागे

    नेपालको वित्त क्षेत्रमा अनेक किमिसका तरङ्गहरू आउने गर्छन्। केही समयअघि तरलता अधिक भयो भनियो। कालान्तरमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्न मात्रै...

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • होमस्टे वर्गीकरणसहित करको दायरामा

    सरकारले नेपालमा सञ्चालित ‘होमस्टे’लाई वर्गीकरण गर्दै करको दायरामा ल्याउने भएको छ। नेपालमा सञ्चालित केही होमस्टले मासिक राम्रो आम्दानी गर्न...

  • कहिले फारिएला काठमाण्डूको धुलो?

    मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रबन्धक नन्दप्रसाद खनाल भन्छन्, ‘हामी दिनरातै काम गरिरहेका छौँ। आठ मिटर चौडाइभन्दा ठूला...

  • पेट्रोलियम पदार्थको हाहाकार हट्ने

    ‘तेल चोर्न’ पाउनुपर्छ भन्दै आन्दोलनमा उत्रिएका ट्यांकर चालकले एक महिनाको समयसीमा दिँदै शुक्रबारदेखि पेट्रोलियम पदार्थ उठाउने भएका छन्। नेपाल आयल...

  • चुनाव र मेरो गाउँ

    सपना स्वीटजरल्याण्ड, सिंगापुर र जापानको देखाइन्छ। तर पञ्चायत जानु, बहुदल आउनु र गणतन्त्रको बजार लाउनुले मेरा बा आमाको जीवनमा खासै अन्तर आएको छैन।...