ट्राफिक जामको रोग– यसो गरे कसो होला?



हाम्रा नगरपालिका अहिले अपाङ्ग भएका (बनाइएका)ले सडक जनतामैत्री हुनसकेका छैनन् –निजीकार, मोटरसाइकल, सेना, प्रहरी, ठूला नेतामैत्री छन्। काठमाडौँका सडकको दीर्घकालिन र दिगो समाधानका लागि स्थानीय सरकारलाई जिम्मेवार बनाउनुको विकल्प छैन।

सडक चौडा बनाउने अभियान सकिन नपाउँदै काठमाडौँको ट्राफिक समस्या थप भयावह बन्दैगएको छ। सडक चौडा बनाउनासाथ ट्राफिक जामको समस्या हट्ने हाम्रो आशा र विश्वासमा चिसो पानी खनिएको छ। चौडा सडक त चाहिन्छन् तर ट्राफिक जामको समस्या हटाउन अरू पनि काम नगरि हुन्न भन्ने पाठ सम्भवत हामी सबैले सिकेका छौँ।

ट्राफिक जाम सामान्य ‘झिंझो’मात्र होइन। यो समय र पैसाको नोक्सानी त हुँदै हो, यसका अतिरिक्त जाममा लामो समय बिताउँदा यसले मानसिक स्वास्थ्यमा समेत नराम्रो असर पार्छ। कार्यालय वा विद्यालय जान आउन ट्राफिक जाममा दिनहुँ घण्टौँ बिताउँदा मानिसको उत्पादक समय र सिर्जनात्मक उर्जा नासिएर जान्छ।

ट्राफिक सहज भए शहरको जनजीवन सहज र रमाइलो हुन्छ।

काठमाडौँको ट्राफिक यतिबिघ्न बाक्लो हुनमा भौतिक पूर्वाधारको कमीको भूमिका नभएको होइन। चौबाटामा क्रसिङ्ग र फ्लाइओभर छैनन्। बाटा चाहिएजति ठूला छैनन्। काठमाडौँको जनसङ्ख्याको अनुपातमा सार्वजनिक यातायातका लागि चाहिने भूमिगत रेल छैन। यसले गर्दा बाटाहरू व्यस्त र असजिला छन्।

यद्दपि, पूर्वाधारको अभावको भन्दा ठूलो समस्या व्यवस्थापनको छ।

पहिलो त काठमाडौँका बाटा अहिले निजी गाडी र मोटरसाइकलले भरिएका छन्। निजी सवारीसाधन जति बढी भए यातायातको समस्या त्यति नै जटिल बन्दै जान्छ। निजी सवारी साधन वाध्यता र संस्कृति दुबैको मिश्रित परिणाम हुन्। सार्वजनिक साधन सजिला र भरपर्दा नभएर पनि निजी साधनलाई हाम्रो जस्तो अल्पविकसित मुलुकमा प्रतिष्ठाको रूपमा लिइन्छ।

दोस्रो समस्या नीति नियमको छ।

काठमाडौँका बाटाहरू सकेसम्म कार र मोटरसाइकललाई सजिलो हुनेगरि बनाइएका छन्। सार्वजनिक बसका लागि अलग लेन, साइकल ट्रेल र पैदलयात्री काठमाडौँका बाटाको प्राथमिकतामा पर्दैनन्। यसका कारण पनि मानिसका लागि निजी साधन सहज हुन्छन्।

तेस्रो समस्या निजी सिन्डिकेटले चलाउने छाडा र अव्यवस्थित सार्वजनिक साधनको छ। गाडी मालिकहरू यात्रीको सुविधा र सजिलो होइन –थोरै लगानीमा प्रशस्त नाफा गर्न सकिने बाटो खोज्छन् जसलाई सरकारी संयन्त्रले सहज बनाइदिएको छ। केही अपवादबाहेक –गाडीहरू साना र असजिला छन्; गाडी चलाउनेहरूमा तालिम र अनुशासन छैन; गाडी सञ्चालनलाई नियमन गर्ने कुनै संयन्त्र छैन। सबै भार ट्राफिक प्रहरीको काँधमा छ।

साना माइक्रो र टेम्पुमा कोचिएर जोखिमपूर्ण तरिकाले यात्रा गर्नुभन्दा बरु पैसा जम्मा गरेर मोटरसाइकल वा स्कुटर किन्नु नै सजिलो मान्छन् मानिसहरू। सडकमा मोटरसाइकल वा कार जति बढी भए, बाटो त्यति नै साँघुरो हुने नै भयो।

यस अर्थमा हामी निजी साधन किन्नु पर्ने वाध्यता र यसबाट सडक ट्राफिक झनै सकसपूर्ण हुँदै जाने ‘भिसियस साइकल’मा छौँ। यो दुष्चक्रले काठमाडौँको घाँटी दिनदिनै न्याकिरहेको छ।

ट्राफिक समस्याको समाधानका लागि पूर्वाधार निर्माण र विस्तारको दीर्घकालिन योजना चाहिन्छ। यसमा कुनै शंका छैन। यद्दपि, पूर्वाधारले मात्र ट्राफिक समस्याको अन्त्य हुने छैन। माथि भनिए झैँ हामीले आफ्नै अनुभवबाट यो पाठ सिकिसकेका छौँ।

काठमाडौँको ट्राफिक समस्या समाधानका लागि तत्काल सुरु गर्नुपर्ने कुरा पूर्वाधार निर्माणको दीर्घकालिन योजनासँगै व्यवस्थापन सुधारको हो। भौतिक पूर्वाधार निर्माणको योजना बन्दै गर्दा यसका लागि चाहिने नीतिनियम बसाल्न सके पूर्वाधारको पनि उचित प्रयोग गर्न सकिन्छ।

संसारभरका विकासशील सहरको अनुभवले देखाएको प्रस्ट कुरा के हो भने सडक विस्तार वा पूर्वाधार निर्माणबाट ट्राफिक जामको अन्त्य कहिलै हुन्न। यसका लागि सवारी साधन सडकमा निस्किने फ्रिक्वेन्सी र सवारीको दुरीलाई कम गर्नुपर्छ। काठमाडौँको ट्राफिक जाम हटाउने दीर्घकालिन उपायको खोजी यही कुरा आत्मसात गरेर मात्र हुनसक्ला।

तर, काठमाडौँको ट्राफिक व्यवस्थापन सुधार्न व्यवस्थापकीय सुधारका कम खर्चिला उपाय तत्काल सुरु गर्न सकिन्छ जसबाट यात्रु, सवारी धनी र ट्राफिक प्रहरी सबै लाभान्वित हुनसकुन्। मेरा आफ्ना बुझाइमा ती उपायहरू यस्ता हुनसक्छन्।

. साना सवारी साधन (टेम्पु, माइक्रो आदि) लाई फिडर रूटमा मात्र चलाएर मुख्य रुटमा साझाका जस्ता BRT सुहाउँदा ठूला बसमात्र चल्न दिने।

. साना, होचा, असजिला साधनलाई विस्थापित गरेर ठूला बस चल्न सुरु हुनासाथ मोटरसाइकल र कारको आयात र सञ्चालनलाई सकेसम्म नियन्त्रण/नियमन गर्ने। यसका लागि विभिन्न उपाय छन् र यसले जनसमर्थन पाउने पनि निश्चित छ।

३. काठमाडौँका फुटपाथ व्यापारी र घरधनीको कब्जाबाट खाली गराउने; पार्किङ्ग नभएका ठाउँका पसल, कार्यालय, बैंक आदि अन्यत्र सार्न लगाउने। सडकमा गरिने अनियन्त्रित पार्किङ्ग रोक्ने।

४. काठमाडौँका बाटामा चल्ने विभिन्न प्रकारका ठूला लरी वा ट्रकहरूका लागि रातीको निश्चित समय तोक्ने, दिउँसो चल्नै नदिने।

५. Active Transport का फाइदाबारे चेतनामूलक कार्यक्रम चलाउने –मानिसलाई सम्भव भएसम्म छोटो दुरीका लागि हिँड्न वा साइकल चलाउन प्रेरित गर्ने, यसबाट स्वास्थ्यमा पर्ने सकारात्मक फाइदाबारे जानकारी गराउने। कार, मोटरसाइकललाई प्रतिष्ठाको विषय बनाउनु सही होइन भन्ने चेतना प्रवाह गर्ने।

६. असक्षमता र भ्रष्टाचारले थलिएको यातायात व्यवस्था विभाग -जसको काम यातायात व्यवस्थापन गर्ने होइन, लाइसेन्स बाँड्ने र कर उठाउने मात्र हो –मा कुलमान घिसिङ् जस्तै सक्षम नेतृत्व स्थापना गर्ने। अल्पकालिन र दीर्घकालिन योजना बनाएर लागु गर्न लगाउने।

. ट्राफिक नियम मिच्नेलाई गरिने कारवाही अहिलेको भन्दा ३ दोब्बर गर्ने। पटकपटक नियम उल्लङ्घन गर्ने चालकको अनुमति-पत्र आजीवन खारेज हुनेसम्मको व्यवस्था गर्ने।

. सडकमा ट्राफिक प्रहरीको कम र प्रविधिको बढी प्रयोग गर्ने। सवारी साधनको लाइसेन्स प्लेटलाई डिजिटाइज गर्ने। सवारी नियम उल्लङ्घन गर्नेको सूचना व्यवस्थित गर्ने र कर तिर्नेबेलामा सप्रमाण एकमुष्ट जरिवाना तिर्न लगाउने। अहिलेको जस्तो प्रविधिको प्रयोग मिडियावाजी गर्न वा नाफा खान मात्र गर्ने प्रवृत्ति रोक्ने।

९. ट्याक्सीको अनुमति र सञ्चालनलाई व्यवस्थित गर्ने। यसका लागि ठूला कम्पनीलाई आकर्षित गर्ने। प्रविधिको प्रयोग र सञ्जालीकरणमार्फत् सबै ट्याक्सी जुनसुकै बेला सडकमा रहने अहिलेको चलनको अन्त्य गर्ने। मानिसले चाहिँदा फोन वा एपबाट बोलाउन सकिने व्यवस्था मिलाउने।

१०. सडकमा बिग्रने गाडीको अभिलेख राख्ने। हरेक साधनले नियमित मर्मतसम्भार गरेको विवरण आवश्यक पर्दा ट्राफिकलाई र रिन्यु गर्नेबेलामा यातायात कार्यालयमा देखाउनु पर्ने नियम बनाउने।

११. भिआइपीको सवारी भनेर बाटा बन्द गर्ने हास्यास्पद, अव्यवहारिक र अनैतिक काम गरेर प्रहरी र सेनाले ठूलाबडालाई खुशी बनाउने चाकरी प्रथा नियम बनाएर अन्त्य गर्ने।

बाटा अझ चौडा पार्ने काम, फ्लाइओभर वा मेट्रो रेलको काम पनि गर्दै गर्नुपर्छ। यस सँगै सडक निर्माण र मर्मतका क्षेत्रमा हुने अनियमितता सुधार्न पनि नीतिगत सुधारको आवश्यकता छ। यद्दपि, ठूला पूर्वाधार वा समग्र नीतिगत सुधार मात्र पर्खेर बसे हाम्रो जस्तो देशमा दशकौँसम्म काम नहुने र आम मानिसले दु:ख पाइरहने परिस्थिति रहन सक्छ। माथि उल्लिखित कम खर्च लाग्ने ११ काम गर्न सकेमा काठमाडौँका सडक आम मानिसका लागि सहज हुनसक्छन्।

शहरका योजनाकार र व्यवस्थापकले सोच्नुपर्ने मुख्य कुरा के हो भने शहरी विकासका योजना निजी साधनको सहजताका लागि बनाउने होइन –शहरको प्राथमिकतामा सार्वजनिक साधन, साइकल र पैदलयात्री पर्नुपर्छ। बोगोटा शहरका पूर्व मेयर एनरिक पेनालोसाले भनेझैँ –आफ्नो लुगा कहाँ झुण्ड्याउने भन्ने कुराको प्रबन्ध लुगा धनीले आफैँ गरेझैँ, आफ्नो गाडी कहाँ पार्क गर्ने भन्ने कुरा पनि सवारी धनी आफैँले सोच्ने हो।

निजी साधनको पार्किङ्ग सरकारको दायित्व होइन, र हुनुहुँदैन।

सार्वजनिक यातायात अस्तव्यस्त हुनमा अनुशासनको अभावको पनि ठूलो भूमिका छ। हामी सबैले महसुस गर्नुपर्छ –हामी काठमाडौँमा सवारी चलाउनेहरू अनुशासित र संयमित छैनौँ।

जेब्रा क्रसिङ्गमा पैदल यात्रीलाई बाटो काट्न दिने, सही दिशाबाट मात्र ओभरटेक गर्ने, लाइनमा बस्ने आदि सवारी चालकका आधारभूत आनीबानी काठमाडौँका शहरमा देखिँदैन। सकेसम्म अरूलाई पेलेर, उछिनेर अघि बढ्न पाए ठूलो मान्छे हुँदो हुँ भन्ने ध्यान सबैमा छ।
अनुशासन कायम गर्ने यस्तै लेख लेखेर वा सार्वजनिक विज्ञापनमा पैसा खर्च गरेर मात्र सम्भव छैन। सडक अनुशासन कायम गर्नका लागि सम्बन्धित निकायले प्रभावकारी नीतिनियम बनाउनु पर्छ र कडा रूपमा परिपालन भएको सुनिश्चित गर्नुपर्छ।

जेब्रा क्रसिङ्गमा उभिएका मानिसलाई हिर्काउँला झैँ गरेर तीब्र गतीमा सवारी चलाउनेलाई समेत कारवाही नहुने अहिलेको तरिकाले काठमाडौँको सडकमा अनुशासन कायम हुन सक्दैन।

अन्त्यमा, सहरको ट्राफिक व्यवस्थापन त्यो बेलामा प्रभावकारी हुन्छ जुन बेला स्थानीय जनप्रतिनिधिले चलाएको स्थानीय सरकार हुन्छ। काठमाडौँको सडक व्यवस्थित गर्ने काम काठमाडौँ, ललितपुर र भक्तपुर नगरपालिकाको हो। हाम्रा नगरपालिका अहिले अपाङ्ग भएका (बनाइएका)ले सडक जनतामैत्री हुनसकेका छैनन् –निजीकार, मोटरसाइकल, सेना, प्रहरी, ठूला नेतामैत्री छन्। काठमाडौँका सडकको दीर्घकालिन र दिगो समाधानका लागि स्थानीय सरकारलाई जिम्मेवार बनाउनुको विकल्प छैन।

प्रकाशित ११ पुस २०७३, सोमबार | 2016-12-26 15:31:58

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चिनियाँ रक्षामन्त्री चाङ भ्रमणका पाँच सन्देश

    सुरक्षाविद् डा. दीपकप्रकाश भट्ट ‘साउथ चाइना सी’ बाहेक अन्य क्षेत्रमा त्यति चीन त्यति चिन्तित नरहेको बताउँछन्। ‘ट्रप्प र मोदीको क्यामेस्ट्रिी...

  • आहा, उहिलेको पोखरा

    पहिले पाटीरपौवा, धारा–कुवा चौतारी र कुलोकुलेसा धेरै थिए। धान रोप्दा होस् या धान भित्र्याउँदा रमाइलो हुन्थ्यो। चाड पर्व र मेलाको महत्व अलग थियो।...

  • खुसी रहन अपनाउनुपर्ने यी पाँच उपाय

    मानिसको दिमागलाई के कुराले खुसी बनाउँछ त? अथवा एक व्यक्तिले बढी खुसी प्राप्त गर्न कस्ता कुरामा ध्यान दिनुपर्छ त? एक न्युरो साइन्टिस्ट एलेक्स कर्बका...

  • गुरुङ थातथलो पुग्दा यस्तो देखियो इतिहास

    अन्नपूर्ण र लमजुङ हिमालको फेदमा अवस्थित क्होला सोँथरलाई तीन गाउँमा विभाजन गरिएको छ। क्होला सोँथरको पश्चिमी भागमा केही घरहरुको अवशेष देख्न सकिन्छ...