फरक धार

सामूहिकताले बनाउँछ मात्र हैन डस्छ पनि



सामूहिक सहकार्य विकृतरुपमा प्रयोग हुँदा चाहिँ प्रणालीलाई नै दुषित बनाउँदो रहेछ। उदाहरणका लागि सिन्डिकेट र पक्षपात।

अल्ट्रा म्याराथन धाविका मीरा राई नेसनल ज्योग्राफिक समाजको सहासिक वर्ष व्यक्ति–२०१६ हुने पक्कापक्की छ। मनोनयनमा परेका १० मध्ये राईको खातामा नै सबैभन्दा बढी अनलाइन मत परेको छ। अघिल्लो वर्ष पनि नेपाली चेली पासाङ ल्होमु शेर्पा ‘अकिता’ ले यो उपाधि प्राप्त गरेकी थिइन्।

मतदानबाट हुने भारतीय रियालिटी टेलिजिन शोको प्रतिस्पर्धाामा नेपालीहरु विजयी भएका छन्। तीमध्ये भारत, दार्जिलिङका प्रशान्त तामाङ र यता बुटवलकी तेरिया मगरको नाम उदाहरणको रुपमा लिन सकिन्छ। सन् २००७ को इन्डियन आइडलको प्रतिस्पर्धामा तामाङले उनको निकटवर्ती अमित पलभन्दा ७ करोड बढी मत ल्याएर विजयी भएका थिए। संगीत र गीतका पारखीहरुले तामाङको भन्दा पलको स्वरलाई मन पराएका थिए। तर मतको कारण तामाङ त्यस सालको इन्डियन आइडल भए।

सन् २०१४ को ‘डान्स इन्डिया डान्स’ रियालिटी शोको ताज बुटवलकी तेरिया फौजा मगरले हात पारिन्। यो प्रतिस्पर्धामा पनि तेरियाले बढी मत प्राप्त गरेकीले नै उनले एक से एक भारतीय नृत्य–सहभागीलाई पछारिन्। र, पछिल्लो ‘झलक दिखला जा’ को नृत्य प्रतिस्पर्धामा अन्तिम चरणमै पुगेकी छिन्। यो प्रतिस्पर्धामा पनि भारतीय प्रतिस्पर्धीहरुलाई पछि पार्न मगरले आफ्नो फेसबुकबाट मत मागिरहेकी छिन्।

तीन वर्षअगाडिको ‘डान्स इन्डिया डान्स’ प्रतिस्पर्धामा जस्तै ‘झलक दिखला जा’ को ताज प्राप्त गर्न पनि भारतका नेपाली र नेपालीको दह्रो समर्थन पाउने अपेक्षा तेरियाले गरेकी होलिन्। नेपालीहरु मनकारी छन् र गैह्र नेपालीहरुलाई पछार्न सामूहिक सहकार्य दह्रो गर्छन् भन्ने अल्ट्रा म्याराथन धाविका राईको पक्षमा मत बटुल्न अभियान नै चलाएबाट स्पष्ट हुन्छ। राईलाई २०१६ को नेसनल ज्योग्राफी साहसिक व्यक्ति बनाउनका लागि नेपालमा सामाजिक अभियान र हङकङका नेपालीहरुले ‘मीरा राई’ अभियान नै चलाए।

सन् २०१४ मा डान्स इन्डिया डान्समा मगरलाई विजयी बनाउन सीमा क्षेत्रका नेपालीहरुले पैसा उठाई एसएमएस मत हाले। दार्जिलिङ, आसाम, देहरादून र वैदेशिक रोजगारीमा गएका नेपालीहरुले ‘नेपाली चेली तेरियालाई विजयी गराऔँ’ भन्दै प्रभावकारी अभियान नै चलाए। प्रशान्त तामाङको लागि त काठमाडौँ, धरान, बुटवल, पोखरा, नेपालगञ्ज र धनगढी नै तातेको थियो। नेपालीभाषी भारतीयहरु पनि लामालाई इन्डियन आइडल बनाउन त्यसबेला सक्रिय भए। यही कारण विजयपछि तामाङले नेपाली टोपी लगाई सबै नेपालीको शिर उच्च बनाए। त्यो प्रतिस्पर्धाको अन्तिम प्रदर्शनी टेलिभिजनमा हेर्नका लागि काठमाडौँका रेष्टुरेन्टहरुमा रात्री पार्टीको आयोजना गरिएको थियो। टेलिभिजनको पर्दामा तामाङले नेपाली टोपी लगाउनासाथ रात्री पार्टीहरुमा ‘यो नेपाली शिर उचाली’ भन्ने गीत गाइएको थियो भने उता, आइडलको स्टेजमा चाहीँ तामाङले ‘वीर गोरखाली’ भन्ने गीत गाएर मतदाताको ऋण चुकाए।

सन् २०१५ को नेसनल ज्योग्राफी साहसिक व्यक्ति पासाङको मतदान अवधिमा भने सञ्चारमाध्यममा त्यति चर्चा भएन। तर उनले गोरखा भूकम्प पीडितलाई चाहिँ अधिक सहयोग गरिन्। उनी राहत लिएर सिन्धुपाल्चोक र रसुवाका तामाङ गाउँहरुमा पुगिन्। अब मीरा राईले मतदाताहरुले लगाएको गुण कसरी तिर्लिन, हेर्न बाँकी नै छ। विश्वास छ, केही गर्छिन्, तर तेरिया र तामाङले चाहिँ गुण तिर्न खासै केही गरेनन्। अब यो वर्षको ‘झलक दिखला जा’ मा विजयपछि केही गर्लिन्। तामाङले त इन्डियन आइडलपछि कर्मभूमि नेपाललाई नै बनाई चलचित्रमा अभिनय पनि गरे।

यी माथिका उदाहरणबाट थाहा हुन्छ, नेपालीहरु सामूहिक सहकार्यमा अग्रपंक्तिमै छन्। नेपालीहरुको मान राख्न सामूहिक सहकार्य मार्फत प्रतिस्पर्धा गर्छन्। मीरा राई नेपाली चेली भएकोले उनलाई साहसिक व्यक्ति बनाउन सामूहिक सहकार्य गर्न नेपाली र नेपालीभाषी सबै गोलबन्द भए। सामूहिक रुपमै सामाजिक सञ्जालहरु र सञ्चारमाध्यमहरुलाई परिचालन गरियो। नेपालीहरुको रगतमै सामूहिक सहकार्य भएकोले सामूहिक रुपमै प्रशान्त तामाङलाई इन्डियन आइडल बनाइयो।

सामूहिक सहकार्य नेपालीको मौलिक सँस्कृति हो। पहिले–पहिले जीविकोपार्जन र समस्या समाधानका लागि सामूहिक सहकार्य हुन्थ्यो। अर्मपर्व, जन्त–मलामी र सरसापटी जस्ता कुराहरु परम्परागत रुपमा सामुहिकताका प्रमाण र अनुक्रमहरु हुन्।

उत्पादन प्रणालीको रुपमा सामूहिक सहकार्य जनजातिबीच जीवन्त छ। खेतीपाती, गोरेटो, धारापानी, कुलोकुलेसो बनाउँदा अहिले पनि धेरै ठाउँमा ‘पर्म’ भन्ने सामूहिक सहकार्य गरिन्छ। भूकम्पबाट भत्किएको घर निर्माण गर्न रसुवामा नगदभन्दा पर्म बढी प्रभावकारी हुन्छ। यही प्रणाली मतदानमार्फत कुनै नेपालीलाई विजयी गराई नेपाली पहिचानलाई उच्च बनाउन प्रयोग भइरहेको छ।

सामूहिक सहकार्य विकृतरुपमा प्रयोग हुँदा चाहिँ प्रणालीलाई नै दुषित बनाउँदो रहेछ। उदाहरणका लागि सिन्डिकेट र पक्षपात। आफ्नो समूहको हितको रक्षा गर्न सिन्डिकेट प्रणाली लागु हुँदा किसानजस्ता सर्वसाधारण मारमा परेका छन्। आफ्ना निकट अर्थात् जात, लिंग र भौगोलिक समूहको पक्षपोषण गर्दा सेवाको गुणस्तर खस्किरहेको मात्र होइन, न्याय पनि मरिरहेको छ। नेपाली समाजमा विद्यमान अर्को पाटो अर्थात् यो कलुष पक्षको फैलावट कहालिलाग्दो छ। यो रोग सञ्चारमाध्यमहरु पनि व्यापक भैरहेको छ। साह्रै निष्पक्ष हुनुपर्ने सञ्चारमाध्यममा विरोधी विचार सञ्चार हुन नदिने चर्को सिन्डिकेट हावी भएकै कारण सामाजिक सञ्जाल दिनानुदिन लोकप्रिय भएको हो।

सामूहिक सहकार्यमा आपसी बुझाई, सहयोगीपन र क्षमता सबल हुँदा मात्र त्यो सहकार्य प्रभावकारी हुन्छ भन्ने समाजशास्त्रीय व्याख्या छ। मीरा राई, पासाङ ल्होमु, तेरिया मगर र प्रशान्त तामाङको पक्षमा उभिन सामूहिक सहकार्य गर्दा आपसी बुझाई, सहयोगीपन र क्षमता पक्ष सबल भएकै कारण त्यो सहकार्य सफल भएको हो। उदाहरणको लागि तेरियासँग राम्रो नृत्य गर्ने क्षमता नभएको भए, प्रशन्तसँग राम्रो स्वर नभएको भए र मीरा तथा पासाङसँग दौडन सक्ने क्षमता नभएको भए नेपाली सामूहिक सहकार्यको अर्थ नहुने निश्चित छ। त्यसैले लिंग र जातको पक्षमा बोल्नेहरुले क्षमता नबनाएसम्म सामूहिक सहकार्य प्रभावकारी हुँदैन भन्ने बुझ्न ढिलाई गर्नु हुँदैन।

 

प्रकाशित १० पुस २०७३, आइतबार | 2016-12-25 11:20:58

प्रतिकृया दिनुहोस

  • धनी बन्नु छ? पहिले सडक बनाऊ

    सुधार र खुलापनपछि चीनले ठूलाठूला उपलब्धि हासिल गरेको छ। धेरै नेपाली साथीहरु त्यो उपलब्धिको रहस्य के हो भनेर सोधिरहन्छन्। चीनको यत्रो उपलब्धिको दुई...

  • तस्बिर साभारः इम्पुल्सो डट कम

    डलर खेती नराम्रो काम हो?

    कामको सट्टा रिपोर्टको कागजी घोडा कुदाउन, हिसाबकिताब गोप्य तवरमा खुसुक्क मिलाएर दाता बाहेक कसैलाई नदेखाउन र बोलीमा एउटा काममा अर्को अर्थात् दोहोरो...

  • वसन्त जस्तो छैन कोरिया

    ‘उत्तर कोरियाली सरकारको मुख्य उद्देश्य कम्युनिस्ट शासन बलियो बनाउनु हो’, कम्युनिस्ट सरकारले सपना देखाएको तर त्यो पुरा नहुँदा असन्तुष्टी बढेको...

  • चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

    ओबरमा भारतको हरियो बत्तीको खाँचो

    चिनियाँ अग्रसरताको एक पेटी एक मार्ग (ओबीओआर– ओबर) अर्थात् बेल्ट एण्ड रोड इनिसियटिभको प्रथम अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको तयारी तीव्र हुँदै...

  • पेन्टिङः लियोनिद आफ्टरमुभ

    सपिङ सेलिब्रेसन

    हालसालैको घटना हो। एउटा सपिङ सेन्टरको बाटो भएर पैदल हिँड्दै थिएँ। भर्खरै खरिद गरेका थुप्रै सामान सम्हाल्न खोज्दै एउटा जोडी सडकपेटीतिर आउँदै गरेको...

  • अर्थ मन्त्रालय

    सरकार बनाउँछन् पार्टीले तर बजेट कर्मचारीले

    नेपालमा धेरैपटक राजनीतिक परिवर्तन भइसक्यो। पञ्चायत ढल्यो, राजतन्त्रै ढल्यो, बहुदलीय व्यवस्था पनि बदलियो। तर हाम्रो आर्थिक नीति र आर्थिक कार्यक्रम...

 

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • महानगरमा महिला मेयर उम्मेदवारद्वय भरतपुरमा रेणु दाहाल र काठमाडौंमा रञ्जु दर्शना

    को बन्ला त महानगरमा ‘म्याडम मेयर’?

    स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा महिला प्रतिनिधित्व सार्वजनिक चर्चाको विषय हुन थालेको छ। गाउँ वा नगरका प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला...

  • धनी बन्नु छ? पहिले सडक बनाऊ

    सुधार र खुलापनपछि चीनले ठूलाठूला उपलब्धि हासिल गरेको छ। धेरै नेपाली साथीहरु त्यो उपलब्धिको रहस्य के हो भनेर सोधिरहन्छन्। चीनको यत्रो उपलब्धिको दुई...

  • कास्कीका कांग्रेस कार्यकर्ता निराश हुनुका यस्ता कारण

    स्थानीय तहको निर्वाचनमा आकांक्षीहरु धेरै भएपछि नेपाली काँग्रेस कास्कीलाई उम्मेद्वार सिफारिस गर्न हम्मेहम्मे भएको छ। कांग्रेसका कार्यकर्तालाई भने...

  • संविधान संशोधन विधेयकमा संशोधनको प्रस्ताव दर्ता गराउँदै प्रमुख सचेतक श्रेष्ठ व्यवस्थापिका संसद सचिवालय सिंहदरबारमा शनिबार राति

    मध्यरातमा संविधान संसोधनको संयुक्त प्रस्ताव दर्ता

    व्यवस्थापिका–संसद्मा सरकारले गरेको संविधान संशोधन प्रस्तावमाथि सत्तारुढ दल र मधेसी मोर्चाकातर्फबाट संयुक्त संशोधन प्रस्ताव दर्ता भएको छ।