फरक धार

लोकमानले घटाएको ‘वाटरगेट काण्ड’



फोन ट्यापिङ गम्भीर प्रकृतिको अपराध हो। सामान्यतः आतंकवादी, लागूऔषध र मानव तस्करीविरुद्धको कार्य सफल पार्न फोन ट्यापिङको अनुमति दिने चलन छ। तर, त्यो वैधानिक प्रक्रिया र जवाफदेहिताको सीमाभित्र हुन्छ।

अन्य प्रजातान्त्रिक मुलुकको संविधानमा झैं नेपालको संविधानले पनि गोपनीयताको हक सुनिश्चित गरेको छ। यही कारण गोपनीयताको हक उलंघनका घटनालाई गम्भीर अपराध मानिन्छ। लोकमानसिंह कार्कीले संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखको हैसियतमा फोन ट्याप गरी ‘गम्भीर अपराध’ गर्थे। कार्कीको त्यो अपराध सार्वजनिकपछि कसैको पनि गोपनीयता सुरक्षित नभएको रहस्य खुलेको छ।

एक संवैधानिक निकाय प्रमुखको हैसियत अनुसार लोकमानसिंह कार्कीले संविधानले सुनिश्चित गरेको गोपनीयताको हक सुरक्षित गर्न अग्रसरता देखाउनुपर्ने हो। तर, कर्मचारी र नेताहरुको मात्र होइन अर्को संवैधानिक निकाय प्रमुख सर्वोच्च अदालतका प्रधानन्यायाधीश, सभामुख र न्यायाधीशहरुको पनि फोन ट्याप गर्न लगाउँथे। र उनले त्यो फोन ट्यापबाट संकलित सूचनालाई आफू सर्वशक्तिमान हुन प्रयोग गरे।

लोकमानले फोन ट्यापबाट प्राप्त सूचनालाई भ्रष्ट्राचार र अख्तियार दुरुपयोग अनुसन्धान नियन्त्रणमा भन्दा पनि व्यक्तिगत स्वार्थमा बढी प्रयोग गरेका थिए। उदाहरणका लागि सर्वोच्च अदालतमा उनी विरुद्ध परेको रिट खारेज गर्न, प्रधानन्यायाधीश कल्याण श्रेष्ठको फोन ट्यापबाट प्राप्त सूचनाको दुरुपयोग गरियो। मेडिकल काउन्सिल पदाधिकारी र सञ्चार प्रतिष्ठानका मालिकहरुलाई आतंकित बनाउन पनि उनले फोन ट्यापको औजार चलाए। त्यही सूचनालाई दुरुपयोग गर्दै धेरैको मुख थुने। यसरी कार्की आतंक ज्ञानेन्द्रकालीन आतंकलाई पनि माथ गर्ने खालको थियो।

लोकमानसिंह कार्कीले फोन ट्यापिङ काण्ड रच्न नेपाल प्रहरीलाई गर्नसम्म दुरुपयोग गरे। उनले अपराध नियन्त्रण गर्न र आतंककारी घटना हुन नदिन प्रयोग गरिने नेपाल प्रहरीको फोन ट्यापिङ उपकरण र जनशक्तिको दुरुपयोग गरे। एक वर्षअगाडि मात्र स्थापित नेपाल प्रहरीको अत्याधुनिक सञ्चार ल्यावलाई पनि दुरुपयोग गरे। त्यति मात्र होइन, नेपाल टेलिकम र एनसेलको टेलिफोन संवाद रेकर्डिङ प्रणालीलाई पनि दुरुपयोग गरी टार्गेटेड व्यक्तिहरुको व्यक्तिगत सूचना प्राप्त गरे। राष्ट्रिय अनुसन्धान विभागलाई दुरुपयोग गर्न बाँकी राखेनन्। तर, यसबारे मिडियाको ध्यान पुगेको छैन। यसबाट के स्पष्ट हुन्छ भने, व्यक्तिको गोपनीयता उल्लघंन गर्नका लागि कार्कीले राज्यशक्तिको अधिक दुरुपयोग गरेका थिए।

कार्की कतिसम्म तल ओर्लन सक्छन् भन्ने श्रृंखलावद्ध टेलिफोन ट्यापिङबाटै स्पष्ट हुन्छ। उनले सार्वजनिक ओहदामा बस्नेहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान गरिन्छ भनेर मात्र होइन गोप्य निजी कुरा परिवारलाई पोल लगाईदिइन्छ भनेर पनि धम्काए। निजी प्रकृतिका केही सूचना सञ्चार माध्यममा पनि चुहाए। उनले यी सब व्यक्तिगत स्वार्थ पूरा गर्न र आफ्नो नियुक्तिको विरोध गर्ने विरुद्ध बदला लिन अधिक प्रयोग गरे।

फोन ट्यापिङ गम्भीर प्रकृतिको अपराध हो। सामान्यतः आतंकवादी, लागूऔषध र मानव तस्करीविरुद्धको कार्य सफल पार्न फोन ट्यापिङको अनुमति दिने चलन छ। तर, त्यो वैधानिक प्रक्रिया र जवाफदेहिताको सीमाभित्र हुन्छ। यही कारण, राजनीतिक उद्देश्य र पत्रकारिता प्रयोजनका लागि पनि फोन ट्यापिङ गरिनु गम्भीर अपराधन हो। गम्भीर अपराध र आतंकवादी कार्य नियन्त्रणका लागि वैधानिक प्रक्रियाद्वारा फोन ट्यापिङको अनुमति दिने प्रचलन विश्वमा छ। यो बाहेक व्यक्तिको गोपनीयता संरक्षणका लागि फोन ट्यापिङलाई संवैधानिक रुपमा निषेध गर्ने आम प्रजातन्त्रिक मान्यता हो। राष्ट्रिय सुरक्षाको बहानामा पनि जथाभावि रुपले फोन ट्यापिङ गर्न बर्जित छ।

वाटरगेट काण्ड राजनीतिक उद्देश्यका लागि फोन ट्यापिङ गरिएको विश्वप्रशिद्ध घटना हो। सन् १९७३ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको सचिवालयले वासिङ्टनस्थित वाटरगेट कम्प्लेक्समा रहेको डेमोक्र्याट पार्टीको मुख्यालयमा गरिने फोन वार्ता ट्याप गर्ने गरिएको समाचार वासिङ्टन पोस्टमा प्रकाशित भयो। यो घटना सार्वजनिकपछि त्यसबारे अमेरिकी कंग्रेससले छानबिन सुरु गर्यो। राष्ट्रपति निक्सनविरुद्ध महाअभियोग लाग्ने पक्का भएपछि उनले पदबाट राजीनामा दिए। छानबिनमा राष्ट्रपति कार्यालयका ४८ कर्मचारी दोषि ठहरिए र उनीहरुलाई कारबाही भयो।

समाचार प्रतिष्ठानले पनि गोप्य रुपमा फोन ट्यापिङ गरेमा अपराध ठहर हुन्छ भन्ने उदाहरण सन् २०११ मा पर्दाफास भएको बेलायतको न्युज इन्टरनेसनल ट्यापिङ काण्ड हो। न्युज इन्टरनेसनलले समाचारका लागि प्रहरी, सांसद र व्यापारीहरुको फोनवार्ता ट्यापिङ गर्ने गरेको सार्वजनिक हुनासाथ बेलायतमा बबण्डर मच्चियो। तत्कालीन प्रधानमन्त्री डेबिड क्यामरुन त्यसबारे छानबिन गर्न आदेश दिन बध्य भए। छानबिनमा न्युज इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत तथा प्रधान सम्पादक रेविखा ब्रोक्स लगायत ८ जना दोषि ठहरिए। तर, सन् २०१४ मा ब्रोक्सको बिनाजानकारी फोन ट्यापिङ भएको भन्दै अदालतले उनलाई सफाइ दियो।

अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीका पूर्वकर्मचारी एडवर्ड जोसेफ स्नोडेनले सन् २०१३ मा राष्ट्रिय सुरक्षा एजेन्सीले राष्ट्रिय सुरक्षाको बहानामा सर्वसाधारणदेखि विभिन्न देशका राष्ट्रप्रमुख, सरकार प्रमुख र अधिकारीहरुको फोन, इमेल र म्यासेज गोप्यरुपमा हेर्ने गरेको खुलासा गरे। त्यो खुलासापछि उनी हङकङ हुँदै रसियामा गए। त्यहीँ उनले राजनीतिक शरण लिए र अहिले पनि उनी त्यहीँ भूमिगत जीवन बिताइरहेका छन्।

स्नोडेनको त्यो खुलासापछि अमेरिका भित्रैबाट राष्ट्रिय सुरक्षा एजेन्सीको त्यो कार्यको चर्को विरोध भयो। जर्मन चान्सलर एन्जेला मार्केल लगायत राष्ट्रप्रमुखहरुले अमेरिकाको खुलेर विरोध गरे। अमेरिकी राष्ट्रपति बाराक ओबामाले त्यो घटनाबाट आफू लज्जित भएको प्रतिक्रिया दिँदै अब त्यस्तो नहुने भनी विश्वलाई आश्वस्त पारेपछि घटना सेलायो। अहिले अमेरिकामा फोन ट्यापिङ सम्बन्धी प्रक्रियालाई निकै कठोर बनाइएको छ। यसबाट स्पष्ट हुन्छ, राष्ट्रिय सुरक्षाको बहानामा पनि फोन ट्यापिङ गर्न पाइँदैन।

भ्रष्ट्राचार र अख्तियार दुरुपयोग नियन्त्रणको बहानामा लोकमानसिंह कार्कीले गरेको फोन ट्यापिङ काण्ड अमेरिकी वाटरगेट काण्डजस्तै गम्भीर अपराध हो। कार्कीको यो कुकर्मबारे संसदमा चर्को रुपमा बहस हुनुपर्ने हो। फोन ट्यापिङ कार्यमा संलग्नहरुलाई जिम्मेवार बनाउन प्रक्रिया सुरु हुनुपर्ने हो। तर, दुर्भाग्य त्यस्तो भएको छैन। त्यस्तो नहुनु भनेको सांसदहरुले यस घटनाको गाम्भीर्यतालाई कि त नबुझ्नु हो कि त उपेक्षा गर्नु हो। सांसदहरुले यसलाई गम्भीर रुपमा नलिए, फेरि अर्को लोकमानले विभिन्न बहानामा व्यक्तिको गोपनीयताको हकमाथि धावा बोल्ने सम्भावना यथावत छ।

नेपाल प्रहरीसँग फोन ट्यापिङ गर्ने उपकरण भएको यस घटनाबाट सार्वजनिक भएको छ। सम्भवतः राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनासँग पनि त्यस्तो उपकरण भएको हुनुपर्छ। अपराध नियन्त्रण र राष्ट्रिय सुरक्षा सम्वर्धन गर्नका लागि अपराध अनुसन्धान गर्ने प्रहरीसँग त्यस्ता उपकरण हुनुपर्छ तर त्यसको दुरुपयोग हुनु हुँदैन। ती उपकरण दुरुपयोग हुन नदिन र दुरुपयोग गरे तिनलाई कारबाही गर्ने कानुनी व्यवस्था हुनुपर्छ, जुन अहिले छैन। त्यस्तो कानुन नबनाए नेपाल प्रहरीसँग भएको फोन ट्यापिङ उपकरण फेरि दुरुपयोग हुने सम्भावना छ। अहिले कार्कीले आफ्नो स्वार्थका लागि फोन ट्यापिङ उपकरण प्रयोग गरे, भोलि गृहमन्त्रीले विपक्षीलाई दमन गर्न प्रयोग नगर्लान् भन्न सकिँदैन।

प्रकाशित ५ मंसिर २०७३, आइतबार | 2016-11-20 19:10:38

प्रतिकृया दिनुहोस

  • गोर्खाल्याण्ड माग्दै दार्जिलिङका प्रदर्शनकारी

    गोर्खाल्याण्ड चाहिने चार कारण

    तीनतर्फ अन्तर्राष्ट्रिय सीमा (पूर्वमा भुटान, पश्चिममा नेपाल, दक्षिणमा बंगलादेश र उत्तरमा केही पर चीन) रहेको यो संवेदनशील भूगोललाई नाजुक अवस्थामा...

  • हजार वर्षदेखि लडिरहेको छ मधेस

    नान्यदेवको पालादेखि पृथ्वीनारायण शाहको उदय हुनुपूर्वसम्म तिरहुत र नेपाल उपत्यकाबीच संघर्ष चलिरह्यो। यो संघर्षको बीचमा पश्चिमको खस राज्यले नेपाल...

  • सोसल साइन्स वहाका अनुसन्धान पुस्तक सार्वजनिक गरिँदै

    नेपाल-अध्ययनमा 'अन्तर्राष्ट्रिय स्तर' भनेको के हो?

    नेपालमा बेलाबेलामा हुने बहसहरूमा अक्सफोर्डमा यस्तो–यस्तो हुन्छ, हामीले नेपालमा यस्तो गर्न सकेका छैनौं भन्ने खालका बहस सुन्न पाइन्छ। अथवा अक्सफोर्ड,...

  • खेतीमा व्यस्त मधेसी किसान

    तथ्याङ्कमा यस्तो छ तराई–मधेस

    तराईका जिल्लाबाट प्राकृतिक साधन र स्रोतबाट रोयल्टी अन्य जिल्लाभन्दा अपेक्षाकृत कम रहेको छ। जल–सम्पदा जसलाई ‘सेतो सुन’ भनिन्छ। त्यसको स्रोत हिमाली र...

  • स्थानीय निर्वाचन २०७४

    चुनावी घोषणापत्रमा प्रमुख दलका रङ्गीन सपना

    स्थानीय विकासका नाममा रेल कुदाउने सपना बाँड्नु कति उचित हुन्छ? कर्णालीको सिमिकोट गाउँपालिकाले कहाँदेखि कहाँसम्म रेल मार्ग बनाउने? काठमाण्डूमा चालु...

  • प्रदीप गिरी

    सात सालमा कांग्रेसले किन हतियार उठायो?

    चीन स्वाधीन भएको दुई चार महिनामै तिब्बतमा लालसेना आइपुग्यो। लालसेना तिब्बत पुगेको मितिको अघिल्लो दिनसम्म नेपाली कांग्रेसको गतिविधि र लालसेना त्यहाँ...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • दार्जिलिङमा गोर्खाल्याण्ड माग गर्दै प्रदर्शनकारी

    के हुँदैछ दार्जिलिङमा?

    मात्र ३१५० वर्गकिमी क्षेत्रफल र २० लाखभन्दा कम जनसंख्या भएको दार्जिलिङ उपमहाद्वीपमा एक थोप्लो मात्रै हो। तर यसको रणनीतिक महत्व भौगोलिक अवस्थितिमा...

  • क्रान्तिका तीन उद्गम–थलोमा चुनावी दौड

    हरेक इतिहाससँग तिथिमिति हुन्छन् तर तिथिमिति मात्रै हुँदैनन्। त्यसमा पात्र र भू–क्षेत्रले बनाएको बिम्ब पनि हुन्छ। राजनीतिक दलहरूको इतिहाससँग पनि...

  • खेलराज पाण्डे

    बुटवलको चुनावी खेलमा खेलराजले गोल हान्लान्?

    आसपासका अरू नगरमा पार्टीका जिल्ला सचिव, पूर्वजिल्ला उपसभापति र क्षेत्रीय सभापति मेयरका उम्मेदवार छन्। उनीहरूभन्दा पदीय हिसाबले जुनियर खेलराज पाण्डे...

  • फाइल

    दबाबमा कांग्रेसका शीर्ष नेता, को कहाँ छन् सक्रिय?

    कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादव भने काठमाडौंमै आराम गरिरहेकी छिन्। अस्वस्थ रहेकी यादव असार १४ मा हुन लागेको दोस्रो चरणको स्थानीय तह निर्वाचनका...