यी ‘पृथ्वीनारायण’ कसले बनायो?

‘पृथ्वीनारायण भनेर प्रचारित चित्र र मूर्ति उनको वास्तविक मुहार होइन, अमर चित्रकारको कल्पना हो’

पृथ्वीनारायण शाहको समयमा फोटोग्राफी–भिडियोग्राफी थिएन। ‘गोर्खा–राज्य’मा पेन्टिङ र मूर्तिकला शासकको सालिक वा चित्र बनाउने स्तरमा विकसित पनि थिएन। तर, अहिले पृथ्वीनारायण शाहको ‘अनुहार’ धेरै नेपालीबीच प्रचारित छ। पाठ्यपुस्तकमा, पोस्टरमा, सरकारी कार्यालयमा, पर्चामा सबैतिर तिनै पृथ्वीनारायण ‘परिचित’ छन्। यी पृथ्वीनारायण कसले बनायो त?

सो चित्र बनाउँदा अमर चित्रकारले इतिहासकार बाबुराम आचार्यको समेत सुझाव लिएका थिए

मरेपछि पनि अमर बन्ने मोह संसारका धेरै मान्छेको साझा विशेषता हो भन्न सकिन्छ। यस्तो मोह शासकहरूमा झन् प्रगाढ हुने नै भयो। जीवनपछि अमरत्वको चाहना पूर्तिका लागि शब्द, चित्र र कला विविध माध्यमको प्रचुर प्रयोग गरिँदै आएको छ। चोकचोकमा ठडिएका शालिक र पुस्तकलगायत सङ्ग्रालयहरूमा राखिएका चित्र यसका उदाहरण हुन्।

यस्ता चित्र वा मूर्तिमा उतारिएका अनुहार सक्कली होलान्? हुन पनि सक्लान् तर नहुने सम्भावना पनि उत्तिकै बलियो छ।

जसरी भारतीय रवि चोपडाको निर्देशनमा बनेको महाभारत टेलिशृंखलामा देखिने कृष्ण वा अर्जुनभन्दा अरु निर्देशकले बनाएका महाभारतका शृंखलामा अर्कै कृष्ण वा अर्जुन देखिन्छन्, नेपालमा प्रचलनमा आएको विभूति र राजामहाराजाका अनुहार पनि फरक कालखण्डमा पृथक पृथक देखिन्छन्।

यसको एउटा जल्दोबल्दो उदाहरण हुन्, नेपालका शाहवंशीय राजा पृथ्वीनारायण शाह। सिंहदरबारको मूल गेटको सामुन्नेमा ठडिएको शालिकमा देखिने अनुहार नै २०२५ यताका पुस्ताले चिनेका पृथ्वीनारायण हुन्। तर रोचक कुरा के छ भने, यसअघि तिनै पृथ्वीनारायणको सार्वजनिक अनुहार हालको भन्दा नितान्त रूपमा फरक थिए।

कलाकार मनुजबाबु मिश्रले ‘अनुहारका पानाहरू’ पुस्तकको ‘व्यक्तित्व एक अनुहार अनेक’ शीर्षकमा राजा पृथ्वीनारायण शाहका तीन फरक फरक मुहार चित्रबारे बिस्तारमा लेखेका छन्। उनको निबन्धमा गरिएको पहिलो तर्क यस्तो छ, ‘यी तीनैओटामा वेश–भूषा–अनुहार–पृष्ठ दृश्य सबै भिन्न भिन्न प्रकारका छन्। एउटा अर्कोसँग पटक्कै मेल खाँदैनन्।’

सोही निबन्धमा उनले नेपालमा चित्र–मूर्ति रचना गरेर त्यसको मूनि जसको नाम लेखिदियो, त्यो त्यसैको हो भनी मानिलिने संस्कारगत मनस्थिति छ रहेको टिप्पणी गरेका छन्।

उनले सो निबन्ध चित्र होस् वा मूर्ति त्यसमा अनुहार मिले नमिलेको बारे हामीकहाँ प्रश्नै नउठ्ने कुरालाई जोड दिएका छन्। यस हिसाबले हेर्दा, हामीले जुन चित्र वा मूर्तिलाई पृथ्वीनारायण शाह भनेर चिन्छौं त्यो उनको वास्तविक मुहार होइन भन्ने पुष्टि हुन्छ।

कलाकार मदन चित्रकारका अनुसार, हाल प्रचलनमा आउने पृथ्वीनारायणको चित्र वा मूर्तिमा उतारिएको मुहार नितान्त काल्पनिक हो। उनी भन्छन्, ‘अहिलेको जुन अनुहार छ त्यो कलाकार अमर चित्रकारको कल्पना हो।’

यद्यपि कलाकारको कल्पनासँगै तिनको अध्ययन र इतिहासविद्, विज्ञ र सम्बन्धित मान्छेका परामर्शले पनि स्थान पाएको हुन्छ। पृथ्वीनाराणको हाल प्रचलित चित्र र मूर्तिमा पनि यी सबै कुराको मिश्रण भएको चित्रकारको ठहर छ। कलाकार मिश्रले पनि सो चित्र बनाउँदा अमर चित्रकारले इतिहासकार बाबुराम आचार्यको समेत सुझाव लिएको उल्लेख गरेका छन्। कलाकार मुकेश मल्ल पनि यसमा सहमति थाप्छन्। शाहवंशी राजाका सन्तानहरूको अनुहार, चित्र र ऐतिहासिक पक्षलाई समेत ध्यान दिइएकोले यस्ता सिर्जना काल्पनिक भए पनि यथार्थभन्दा धेरै पर नहुन सक्छन्। तर नेपालमा कला क्षेत्रमा सोध र अनुसन्धानको पक्ष कमजोर भएकोले भोलिका दिनमा पनि कसैको अनुहार गलत नै भए पनि त्यसैलाई सही मानेर बसिरहनु पर्ने बाध्यता रहेको उनको गुनासो छ। जे होस्, नेपालीपन झल्काउन प्रशस्त मिहिनेत गरिएको उनीहरूको दाबी छ।

कलाकार मदन चित्रकार सम्झन्छन्, ‘पञ्चायतकालको गाउँ फर्क अभियानकै समय थियो। प्रचार विभागले २०२४ सालमा राष्ट्रिय विभूतिहरूबारे एउटा सानो पुस्तिका प्रकाशित गरेको थियो। त्यसमा गौतम बुद्ध, अरनिको, राजा जनक, सीता आदिका स्केच कोरिएका थिए। त्यसैमा राजा पृथ्वीनारायण शाहको ब्ल्याक एन्ड ह्वाइट स्केच पनि थियो।’

त्यसबेलाका फुच्चे चित्रकार मदनले पनि २०२५ सालमा त्यही स्केचलाई सादाबाट रङ्गीन बनाएका थिए। उनको विचारमा त्यो सादा स्केच चाँहि बालकृष्ण समले बनाएको हुनुपर्छ।

विदेशबाट अध्ययन गरेर आएका पहिलो पुस्ताका चर्चित चित्रकार तेजबहादुर चित्रकार मदनका पिता थिए। मदन सम्झन्छन्, ‘अमर चित्रकार मेरो बुबाको शिष्य भएकोले मैले उहाँ र उहाँको कामलाई नजिकबाट बुझ्ने मौका पाएँ।’ यही निकटताका आधारमा उनले अमरको काममा त्यसअघि सार्वजनिक पृथ्वीनारायण र उनका सन्तानको चित्र, नेपालीपन र ऐतिहासिक पक्षको मिश्रण भए पनि कल्पनाको सहारा लिनुको विकल्प नरहेको निष्कर्ष निकालेका छन्।

चित्रकार मनुजबाबु मिश्रद्वारा व्याख्या गरिएका पृथ्वीनारायण शाहका तीन मुहारचित्र

चित्रकार मनुजबाबु मिश्रद्वारा व्याख्या गरिएका पृथ्वीनारायण शाहका तीन मुहारचित्र

कलाकार मिश्रले आफ्नो पुस्तकमा उल्लेख गरेका तीनमध्ये पहिलो चित्र दरबारिया चित्रकार मोलारामले बनाएको उल्लेख छ। रणबहादुर शाहको पालामा गढवाली कवि–कलाकार मोलारामले तयार पारेको चित्रमा मुगलशैली हाबी भएको उनको दाबी छ। यसैकारण त्यसबेलाका पृथ्वीनारायण मुगल सम्राटजस्तै देखिएको पनि उनको तर्क छ।

उनले दोस्रो चित्रमा भने, प्रकाश छायासमेतको प्रयोग गरेर वस्त्रलाई केही गाढा बनाउँदै यथार्थपरक बनाउने प्रयास गरेको लेखेका छन्। यसको रचनाकार को थिए भन्नेबारेमा भने केही उल्लेख छैन।

माथिका दुई चित्रबाहेक तेस्रो चित्रका रचनाकार अमर चित्रकार थिए। अघिल्ला दुई चित्रभन्दा अमरको तेस्रो चित्र नितान्त फरक रहेको मिश्रले दाबी गरेका छन्। उनी लेख्छन्, ‘सरकारको यो तेस्रो चित्र अरु दुईओटा भन्दा पूर्ण रूपले भिन्न र यथार्थ रूपमा चित्रण गरिएको हुँदा अगाडिका चित्रका कुनै पक्षलाई पनि यसमा समावेश गरिएको छैन।’

सम्बन्धित व्यक्तिको वास्तविक अनुहारबारे यथेष्ट प्रमाणको अभाव भएकोले बुद्ध हुन् वा अरनिको एउटै व्यक्तिका फरक फरक अनुहार प्रचलनमा रहनुलाई कलाकार मदन र मुकेश दुबै स्वभाविक ठान्छन्। त्यसैले नेपालमा फोटोग्राफीको आगमनपूर्वका सबैजसो व्यक्ति वा शासकहरूको अनुहार उनीहरूकै हो भनेर किटान गर्ने आधार कमजोर रहेको छ। भक्तपुर दरबार स्क्वायरमा ठडिएको भूपतिन्द्र मल्लको उदाहरण दिँदै मुकेशले भने ‘उनको वास्तविक अनुहार त्यो हुन पनि सक्ला तर हो भन्ने प्रमाण हामीसँग छैन।’

यसकारण पृथ्वीनारायण शाहका मात्र नभई जंगबहादुरको बेलायत भ्रमणअघिका मुहारमा वास्तविकताभन्दा कल्पना हाबी भएको हुन सक्ने अनुमान गर्न सकिन्छ। जंगबहादुर बेलायत गएको समयमा आँखै अगाडि फोटो वा मान्छे राखेर चित्र वा मूर्ति बनाइने यथार्थवादी आन्दोलन चलेको थियो। जंगबहादुरसँगै बेलायत भ्रमणमा गएका भाजुमान चित्रकारमा त्यो आन्दोलनको प्रभाव पर्यो।

जंगबहादुरले युरोप भ्रमणपछि बनाउन लगाएका शालिक र चित्रमा यथार्थवादी प्रभाव झल्किन थाल्यो। अनि बल्ल त्यसयताका पात्रका सार्वजनिक मूर्ति र चित्रकला काल्पनिक नभएर वास्तविकतामा आधारित हुन थालेका हुन्।

प्रकाशित 2017-01-06 16:23:11