माओवादी मुख्यालयमा कलाको कन्तविजोग

सन्देश दुमरु
जे गोदाममा थन्काउनुपर्ने हो, ती स्टल–स्टलमा भेटिनु। अनि जे भित्तामा सजाउनुपर्ने हो, ती बोरा र गोदाममा खाँदिनु! माओवादी पार्टीको यस्तो कन्तविजोग कलाक्षेत्रले पनि बेहोरेको छ।

पेरिसडाँडाको स्टोरभरि पेन्टिङ कच्याककुचुक भएर लडिरहेका छन्

नेकपा (माओवादी केन्द्र)को हेडक्वार्टर पेरिसडाँडा जानुस्– क्यानभास झुन्डिरहेको देखिन्छ कतै शौचालय छेउमा, कतै चमेना गृहमा। अलि धेरै थन्किएको छ स्टोर रुममा। स्टोरभरि पेन्टिङ कच्याककुचुक भएर लडिरहेका छन्। फोहर फ्याँक्ने भाँडानिर पनि पेन्टिङ देखिन्छ। नुहाउने बाथरुमतिर पनि लुगा सुकाइएका छैनन्, पेन्टिङ उँधोमुन्टो लगाइरहेका छन्।

माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव प्रल्हाद बुढाथोकी पेन्टिङलाई त्यसरी अलपत्र राख्ने मनसाय आफूहरूको नभएको बताउँछन्। उनी पेन्टिङ कहाँनिर कसरी राख्ने भन्ने योजना नबनेका कारण गोदाममा लगेर थन्क्याउनु परेको बताउँछन्।

‘माओवादी पार्टी कलाको सौन्दर्य नबुझ्ने पार्टी त होइन,’ नेपालखबरसँग उनले भने, ‘हामी छिट्टै यसलाई व्यवस्थित गर्नेछौं।’

२०६५ सालमा अखिल नेपाल ललितकला संघको आयोजनामा भएको राष्ट्रिय ललितकला कार्यशालामा ५० जनाभन्दा बढी कलाकारले निशुल्क चित्र कोरेका थिए। पार्टी अध्यक्ष तथा त्यतिबेलाका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि चित्रै कोरेर कार्यशाला उद्घाटन गरेका थिए।

आयोजक संस्थाका अध्यक्ष ललितकलाकर्मी तथा पत्रकार देवेन्द्र थुम्केली अहिले चित्रकला बेहालमा परेको देखेर चिन्ता व्यक्त गर्छन्। भन्छन्, ‘पेन्टिङ अलपत्र हुनु राम्रो होइन, पार्टीको यसमा ध्यान पुग्ने आशा गरौँ।’ उनले कसैलाई दोष दिन भने चाहेनन्।

संस्कृतिकर्मी तथा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य बलराम तिमल्सिना चित्रकला अलपत्र पर्नु राम्रो नभएको स्वीकार्छन्। ‘पार्टीमा कलाको सौन्दर्यमूल्य नबुझ्ने मान्छे भएकाले त्यस्तो भएको होइन’, तिमल्सिनाले भने, ‘सबैले कला बुझ्छन् भन्ने होइन, सबैले सबै कला नबुझ्न पनि सक्छन्। गीतको क्यासेट भएको भए मानिसले तुरुन्तै लान्थे। चित्रकारिताको विज्ञान बुझ्न कमजोरी नै भयो।’

उनी अलपत्र परेको पेन्टिङको जिम्मा पार्टीका संस्कृतिककर्मीहरूले लिनुपर्ने बताउँछन्।

कलाकारहरूले आफ्ना सपना–विपना र विचार–दृष्टिकोण अभिव्यक्त गर्ने माध्यम कलालाई नै बनाएका हुन्छन्। तर, राजनीतिक पार्टी र नेताहरूले त्यसको मर्म सही ढंगले बुझ्दैनन् भन्ने उदाहरण बनेको छ पेरिसडाँडाको पेन्टिङ स्टोर।

प्रकाशित 2017-01-06 16:23:04